शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती संसदमा ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस,  मङ्गलबार मतदान हुँदै

मङ्गलबार, ०१ माघ २०७५, १३ : ३४
मङ्गलबार, ०१ माघ २०७५

लन्डन– युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) का बारेमा बेलायती संसदमा सोमबार अबेरसम्म चर्को बहस भएको छ । सांसदहरु ब्रेक्जिटका बारेमा पक्ष र विपक्षमा बाँडिएका छन् । 

सत्तारुढ दल र विपक्षी दलभित्रै पनि ब्रेक्जिटको समर्थन र विरोधमा छलफल भइरहेका छन् । संसदमा मङ्गलबारका दिन मतदान गर्नेगरी समयसीमा तोकिएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियनसँग भएको सम्झौतालाई संसदबाट अनुमोदन गराउनुपर्नेछ । 

हाउस अफ कमन्समा जारी ब्रेक्जिट बहसमा सङ्घर्षरत पक्षहरु निम्न छन् : 

सरकार : 
सरकारी तलबभत्ता बुझ्नेहरु सबैले सरकारी नीतिको समर्थन गर्नु पर्दछ वा राजीनामा दिनुपर्दछ । सहायक मन्त्री ग्यारेथ जोन्सनले सोमबार राजीनामा दिएका छन् तर अन्तिम समयमा धेरै मन्त्रीको राजीनामा आउने सम्भावना छैन । ब्रेक्जिटको पक्षमा खुलेरै लागेका मन्त्रिपरिषदका सदस्यहरु जस्तै माइकल गोभ र लियाम फक्सले समर्थनमा मतदान गर्नेछन् । 

प्रधानमन्त्रीको पक्षमा अभियान चलाउनेहरु : 

केही कन्जरभेटिभ सदस्यहरुले सरकारको पक्षमा बहस चलाइरहेका छन् र उनीहरुले ब्रेक्जिट सम्झौता ठीक हो भनिरहेका छन् । तर उनीहरुको संख्या कम छ । 

कन्जरभेटिभ सांसदहरु :

निर्णायक समय आइपुग्नै लाग्दा केही सांसदले आफ्नो धारणामा परिवर्तन ल्याएका छन् । प्रधानमन्त्री थेरेसा मेका पूर्व नीति प्रमुख जर्ज फ्रीम्यान यही समूहभित्र आबद्ध भएका छन् । केही सांसदहरु भने नराम्रै भए पनि ब्रेक्जिट ठीकै छ भन्नेहरु पनि छन् । 

ब्रेक्जिटका विपक्षीहरु : 

ज्याकोब रीज–मगको नेतृत्वमा रहेको एक समूहले ब्रेक्जिटबाट बेलायतलाई फाइदा नपुग्ने बनाइरहेका छन् । यो समूहमा पूर्व विदेश मन्त्री बोरिस जोन्सन, पूर्व ब्रेक्जिट सचिव डेभिड ड्याभिस र डोमिनिक र्याब समेत रहेका छन् । उनीहरुको भनाईमा ब्रेक्जिटबाट बेलायत स्वतन्त्र होइन अझ बढी पराधीन हुने खतरा छ । 

रीज–मोगको युरोपेली अनुसन्धान समूहले गत डिसेम्बरमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । तर उक्त प्रस्ताव पारित भएन । 

लेबर पार्टीको असन्तुष्टी 

लेबर पार्टीका अधिकांश सांसदहरु युरोपेली पक्षधर छन् र उनीहरु पार्टीकै पक्षमा उभिएका छन् । पार्टी नेता जेरेमी कोर्बाइन उक्त सम्झौता हुन नदिने पक्षमा दृढ रहेका छन् । उनी ब्रेक्जिट सम्झौता असफल पारेलगत्तै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा रहेका छन् । 

ब्रेक्जिट प्रस्ताब पारित नभए दोस्रो ब्रेक्जिट जनमतसङ्ग्रह गर्ने प्रस्ताव ल्याइने पार्टीको तयारी छ । 

अरु बिपक्षीहरु : 

स्कटल्यान्डका ३५ जना राष्ट्रवादीहरु, ११ जना युरोपेली पक्षधर लिबरल डेमोक्र्याट, चारजना वेल्सका राष्ट्रवादीहरु तथा ग्रीन पार्टीका एक जना सांसद युरोपेली पक्षधर छन् र उनीहरु कन्जरभेटिभ विरोधी पनि हुन् । 

डेमोक्रेटिक युनियनिस्ट पार्टी (डियुपी) का १० जना सांसदले के गर्ने हुन् भन्ने प्रस्ट छैन । संसदमा बहुमतका लागि डियुपीको महत्वपूर्ण भूमिका हुनेछ । उनीहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका छन् । आइरिस सीमाका विषयमा उनीहरुको माग सम्बोधन गर्ने सरकारी आश्वासन भएपनि उनीहरु अझै निर्णयमा पुग्न सकेका छैनन् । 

प्रधानमन्त्री थेरेसा मेले गत साता लेबर पार्टीका सांसदसँग भेटेर व्यवहारिक निर्णयमा पुग्न आग्रह गरेका छन् । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप