शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पुस ३०, प्रदेश ५ हेडलाइन : कहाँ के–के भयो ?

सोमबार, ३० पुस २०७५, १८ : ४३
सोमबार, ३० पुस २०७५

नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक

बुटवल– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज सम्पन्न भएको छ । झण्डै पाँच महिनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पुर्याउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

यस्तै, प्रदेशसभाअन्तर्गत रहेका विभिन्न संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालयलाई कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यलाई विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले बताए ।

सो अवसरमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा कानून निर्माणमा चासो राखेर कस्तो कानून निर्माण गर्ने तथा प्रदेशको विकास, समृद्धि र सुशासन कायम गर्ने विषयमा ध्यान दिन संसदीय समितिलाई आग्रह गरेका थिए । उनले प्रदेशसभा सदस्यले सरकारले अगाडि सारेका विकास निर्माणका आयोजनामा आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी अनुगमन र निरीक्षण गरी समयमा काम सम्पन्न गर्न र गुणस्तरीयता कायम राख्नमा आवश्यक सहयोग पुर्याउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

मुख्यमन्त्री पोखरेलले आ–आफ्ना मन्त्रालयको काम कारवाहीलाई प्रभावकारी बनाउन तथा कामको गतिलाई द्रुतगतिमा अघि बढाउने कुरामा ध्यान दिन मन्त्रीहरुलाई निर्देशन दिएका  थिए ।

राष्ट्रिय जनमोर्चाले संगठनात्मक अभियान चलाउने

बुटवल– राष्टिय जनमोर्चा नेपालले सांगठनात्मक अभियान चलाउने भएको छ । जनमोर्चा केन्द्रीय समितिको बुटवलमा भएको प्रथम राष्ट्रिय परिषद्को बैठकबाट उक्त निर्णय गरेको हो । पार्टीले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी गत पुस २७ र २८ गते बुटवलमा सम्पन्न प्रथम राष्टिय परिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिएको हो । लामो समयदेखि संघियताको विरोध गर्दै आएको पार्टीले  आज भएको पत्रकार संघियता  खारेजको मागलाई दोहार्याएको हो ।

निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले अभियानको बारेमा जानकारी गराएका छन् । यस्तै, जनमोर्चाले माघ १९ गते देशव्यापीरुपमा विरोधसभा समेत गर्ने  भएको छ । महँगी, भष्ट्राचार, कालोबजारी नियन्त्रण लगायतका विषयमा दबाब दिने उदेश्यले उक्त सभा गर्न लागिएको हो ।

अहिलेको परिस्थितिममा देश विकास भन्दा पनि अधोगतितर्फ  गएको भन्दै राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण समेत भएको जनाएको छ  । यस्तै बैठकबाट संघीयता खारेजी गर्न माग गरिएको छ । अहिले अनावश्यक खर्च बढेको, जातिय क्षेत्रीय द्वेष बढाएको, राष्ट्रयतानै विखण्डनतर्फ अगाडी बढेको भन्दै जनमोर्चाले अविलम्ब संघीयता खारेजीको विकल्प नभएको  बताएको छ । पार्टीलाई अझ सशक्त बनाउन पनि विभिन्न  निर्णय गरिएको जनाएको छ ।

सहकारीले पेट्रोल पम्प र टायर पसल व्यवसाय सञ्चालन गर्ने

बुटवल–ट्रक व्यवसायी बचत तथा ऋण सहकारी संस्था लिमिटेड पडषरी रुपन्देहीको दोस्रो साधारण सभाले संस्थाको कार्य क्षेत्रलाइ प्रदेश स्तरीय बनाउने निर्णय गरेको छ ।
प्रदेशभर छरिएर रहेका ट्रक व्यवसायीको हकहितका लागि सहज रुपमा कर्जा प्रवाह तथा गुणस्तरिय सामान उपलब्ध गराउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको सहकारीले स्थापनाको दोस्रो वर्षमै लोकप्रियता कमाउन सफल भएको छ ।

सोमवार भएको साधारण सभामा नेपाल ट्रक व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले सहकारीका शेयर सदस्यलाई गुणस्तरीय तथा सहज रुपमा सेवा उपलब्ध गराउन माग गरे ।
नेपाल ट्रक व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले  सहकारीमा आबद्ध ट्रक व्यवसायीलाई सहज हुने गरी पेट्रोल पम्प, टायर पसल र मोटरपार्टसको व्यवसाय सञ्चालन गरी व्यवसायीलाई फाईदा दिलाउने गरी काम अगाडी बढाएकोले त्यस्तो कार्यलाई छिटो सञ्चालन गर्न हुनेछ ।

बुटवलमा ‘ट्राफिक मजदुर हातेमालो’ कार्यक्रम

बुटवल– नेपाल स्वतन्त्र मजदुर संगठन र प्रदेश नम्बर ५ ट्राफिक प्रहरी कार्यालय बुटवलको आयोजनामा ‘ट्राफिक मजदुर हातेमालो’ कार्यक्रम गरिएको छ । नेपाल स्वतन्त्र मजदुर संगठनको आयोजनामा बुटवलको अस्पताल लाईनमा सडक पैदल यात्रुहरुको लागि सचेतनामुलक कार्यक्रम गरिएको  हो ।

नेपाल स्वतन्त्र मजदुर संगठनकी केन्द्रीय सदस्य सरस्वती रिजालले कार्यक्रम अन्तरगत सडक पैदल यात्रुहरुलाई जेब्रा क्रसीङ्गबाट बाटो काट्न सिकाउनुको साथै अशक्त,बृद्धि अपाङ्गता भएका व्याक्तिहरुलाई सडक पार गर्नको लागि समेत सहयोग प्रदान गरिएको जानकारी दिइन् ।

प्रत्येक हप्ता ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा यो कार्यलाई निरन्तरता दिइने रिजालले बताइन् । मजदुरहरुले नै अभियानको थालनी गरी थप सचेतना प्रदान गर्न लागिएको प्रदेश नम्बर ५ का अध्यक्ष कृष्ण कँडेलले बताए ।

माघेसङ्क्रान्ति रूरू क्षेत्र रिडीमा मेला लाग्दै 

बुटवल– चारधाम मध्ये एक रूरू क्षेत्र रिडीमा भोली मंगलबारदेखि माघेसंक्रान्ति मेला सुरू हुँदैछ । पाल्पा, स्याङ्गजा र गुल्मीको संगम यहाँ मेला भर्न अघिल्लो दिनदेखि नै श्रद्धालु र व्यापारी यहाँ आउने गर्छन् । माघे संक्रान्तिको दिन भने बिहानैदेखि घुँईचो लाग्छ । कालीगण्डकीको तट रिडी रूरूमा बिहानैदेखि नुहाउनेको भीड लाग्ने गर्छ ।  भक्तजनहरू लामो लाइन लागेर पाल्पाको अर्गली क्षेत्रमा रहेको ऋषिकेशव मन्दिरको दर्शन गर्ने गर्छन् । मेलाको तयारी पुरा भएको जनाएको छ ।

मेलामा साधुसन्तको पनि भीड लागिसकेको छ । जेठी, माहिली र कान्छी संक्रान्तिको नामले यहाँको मेला चर्चित छ । मेला गर्न देशका विभिन्न भाग तथा स्थानीय बासिन्दा आउने गर्छन् । रूरू क्षेत्रको धार्मिक तथा साँस्कृतिक महत्व भएकोले मेला भर्न देशका विभिन्न भागबाट आउने गर्छन् । 

पाल्पा क्षेत्रमा रहेको प्रसिद्ध ऋषिकेशव मन्दिरमा मेलामा आउने दर्शनार्थीहरूको घुँइचो लाग्ने गर्छ । सोह्रौ शताब्दीका राजा मणिमुकुन्द सेनले कालीगण्डकीमा स्नान गर्दा भगवान ऋषिकेशवको मूर्ति फेला परेको र सोही मूर्तिलाई प्रतिस्थापन गरको भन्न किवंदन्ती रहिआएको छ । कालीगण्डकी नदीमा स्थान गरेर ऋषिकेशवको मूर्ति दर्शन गरेमा मनले चिताएको पुग्ने धारणा छ ।

बुटवलमा खानेपानी आयोजना

बुटवल– बुटवल वडा नम्बर १ र २ मा खडकिएको खानेपानीको समस्या अब अन्त्य हुने भएको छ । बटौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–१ को पहलमा बुटवल मावि नजिकै खानेपानी आयोजनाको निर्माण थालिएको हो । आयोजनाको सोमबार बुटवल वडा नम्बर १ र २ का वडा अध्यक्षहरू महेन्द्रप्रसाद लिगल र रमेश नेपालले संयुक्त रूपमा शिल्यान्यास गरे । सो अवसरमा बोल्दै लिगलले वडा नम्बर १ र २ का जनताले भोग्दै आएको खानेपानीको सास्ती अब अन्त्य हुने बताए । आयोजनाबाट करिब १ हजार घरधुरीमा पानी पुर्याइने बताए ।

बटौली संरक्षण सम्बर्द्धन समितिको मागमा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलको पहलमा पाँच करोडको लगानीमा आयोजना निर्माण थालिएको हो । एक करोड जनसहभागितामा उठाइने छ । त्यहाँका जनता वर्षातमा धमिलो पानी खान बाध्य थिए भने हिउँदमा पानी नपाउँदा टाढा–टाढासम्म लिन जानुपर्ने बाध्यता थिए ।  २ लाख लिटरको टयाङकी बन्नेछ । जहाँ दुई वटा बोरिङ पनि जडान गरिएछ । जसबाट २४ सै घण्टा वडाका जनतालाई पानी उपलब्ध गराइने योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप