मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझा फुट प्रकरण : मिश्र र थापाका आ–आफ्नै दाबी, को कति दोषी ?

सोमबार, ३० पुस २०७५, १८ : ११
सोमबार, ३० पुस २०७५

काठमाडौँ– विवेकशील साझा पार्टीबीच एकता भएको १७ महिनामै विभाजन भयो ।

झण्डै १७ महिनासँगै बसेका रवीन्द्र मिश्र र उज्ज्वल थापाबीचको खट्पटी उत्कर्षमा पुगेपछि  थापा समूहले आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दियो ।

थापा समूहले विवेकशील साझाको नेतृत्वमा समस्या रहेको आरोप लगाउँदै आए पनि संयोजक रवीन्द्र मिश्रले पार्टी फुटपछि शनिबारै पत्रकार सम्मेलन गरेर नेतृत्वमा कुनै समस्या नरहेको दलिल पेश गरे ।

विगतमा भिन्दाभिन्दै राजनीतिक दलका रूपमा स्थापना भएका विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साउन ११ गते एकीकरण भएको थियो । 

१७ महिनाअघि रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल एक भएर विवेकशील साझा नामको नयाँ पार्टी बनेको थियो, जसमा मिश्र र थापा संयोजक बनेका थिए । 

प्रादेशिक र सङ्घीय निर्वाचनमा एकीकृत भएर भाग लिएको विवेकशील साझा राष्ट्रिय पार्टी बन्न नसके पनि प्रादेशिक चुनावमा सन्तोषजनक उपस्थिति जनाएको थियो । प्रतिनिधिसभा निर्वाचनमा मिश्र काठमाडौँ–१ मा काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग ८ सय १९ मतले मात्र पराजित भएका थिए । 

यसरी कोरियो विभाजनको रेखा

घटना १ : राष्ट्रियसभा सदस्य छान्न काँग्रेसका राधेश्याम अधिकारीलाई भोट दिने निर्णय नै यो पार्टीका लागि विवादको सुरुवात भएको नेताहरू बताउँछन् । अधिकारीलाई भोट दिने निर्णय संयोजन समितिबाट भएपनि केही केन्द्रीय सदस्यहरूले त्यसको चर्को विरोध गरे । विरोध गर्नेहरू थापा समूहका बढी थिए । सो निर्णय गलत भन्दै उनीहरूले संयोजक थापालाई दबाब नै दिए । अन्ततः थापा पनि अधिकारीलाई भोट दिने निर्णय गलत रहेको निष्कर्षमा पुगे ।  

घटना २ :  संयोजक मिश्रले केही समय पहिले एउटा उपाय निकाले । थापा पक्षमा सशक्त रूपमा देखिएकी रञ्जु दर्शना (न्यौपाने)लाई विदेश पढ्न जान सुझाव दिए । मिश्रको उक्त सुझावलाई दर्शनाबाट आफूलाई पार्टीमा खतरा हुने देखेर विदेश अफर गरेको थापा समूहको बुझाइ बन्यो । 

घटना ३ :  २०७५ साललाई विवेकशील साझाले सङ्गठन निमार्णको वर्षका रूपमा लियो । पार्टी विभिन्न प्रदेश संयोजक चयनको काम लाग्यो । तर गत साउनमा प्रदेश ३ का संयोजक चयन गर्ने क्रममा पार्टीभित्र तनाव भयो । लोकतान्त्रिक प्रक्रियाबाट संयोजक चयन नभएको भन्दै थापा समूहका नेताहरूले नाराबाजी नै गरे ।

सबैसँग परामर्श नगरी संयोजक मिश्रले प्रदेश ३ को संयोजकमा समीक्षा बाँस्कोटालाई चयन गरिएको थापा पक्षले आरोप लगाए । यसबाहेक गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा मिश्र पक्षधर संयोजक चयन भए । विवादकै कारण प्रदेश १ र २ मा संयोजकबारे कुनै निर्णय भएको थिएन । तर १ मा मिश्र निकटलाई संयोजक बनाउने कार्य सुरु भएको थापा समूहले सङ्केत पायो । 

घटना ४ : संयोजक मिश्रले पाँच केन्द्रीय सदस्य थप्ने प्रस्ताव केन्द्रीय समितिमा राख्ने तयारी गरिरहेका थिए । त्यसका लागि उनले पार्टीका सबै विभागहरू भङ्ग गर्न लगाए । विवेकशील साझाका १२ वटा विभाग थिए । पछिल्लो समय पार्टी विभाग भङ्ग गरेर सङ्गठन निमार्णमा लाग्यो । 

सङ्गठन निर्माण गर्ने क्रममा पनि संयोजक मिश्र आफू निकटलाई नेतृत्वमा ल्याउन लागिपरे, जसको उदाहरण हो युवा सङ्गठन र महिला सङ्गठन । 

आफू निकटका अब्दुस मियाँ र शोभिता परियारलाई नेतृत्व सुम्पिए । यसबाट थापा समूह थप त्रसित बन्यो । 

घटना ५ : अजयभद्र खनाल, ओमप्रकाश अर्याल, सरोज धिताल, रेशु अर्याल ढुङ्गानालगायत विवेकशील साझाबाटा बाहिरिए । यसलाई संयोजक मिश्रमा क्षमतावान मान्छेलाई पार्टीमा ल्याउँदा आफ्नो कुर्सी धरापमा पर्छ भन्ने भयका कारण उनीहरूलाई पार्टीमा रहिरहने वातावरण बनाउन नसकेको थापा समूहको बुझाइ आयो । 

जसका कारण पार्टीमा देखिएको मतभेदलगायतका विषयमा छलफल गर्न मिश्रले पुस ३० गते केन्द्रीय समितिको बैठक बोलाए पनि त्यसअगावै थापा छुट्टै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगे ।

मिश्र र थापामध्ये को कति दोषी ?
पार्टी एकीकरणको केही महिनासम्म मिश्र र थापा एउटै सोचअनुसार चलेका थिए । कारण थियो– गत वर्ष सम्पन्न निर्वाचन । सानो पार्टी भएकाले टिकट वितरणमा पनि कुनै समस्या  थिएन । विवेकशील साझालाई बरु देशैभर उम्मेदवार पाउन मुस्किल थियो । 

सबै  राजनीतिक दलहरू चुनावमा होमिएका थिए । उनीहरू पनि त्यसरी नै लागिपरे । पछिल्लो समय मिश्र पक्षले विवेकशील नेपाली दलबाट आएका नेताहरूलाई यी केटाकेटी हुन् । यिनीहरूलाई राजनीति राम्रौसँग थाहा छैन भन्ने खालको व्यवहार देखाउन थाले । त्यसपछि थापा समूह चिढिन पुग्यो । 

विगतमा अभियान केन्द्रित अभ्यास गर्दै आएको थापा नेतृत्वको समूहले अभियानलाई जोड दिन थाल्यो । यता मिश्र निकटहरू राष्ट्रिय राजनीतिमा अन्य राजनीतक दलझैँ प्रस्तुत हुन थाल्यो । मिश्र र थापामा समन्वयकारी भूमिकाको अभावले पनि पार्टी फुट्न बाध्य भएको कतिपयको विश्लेषण आउन थालेको छ । 

विवेकशील साझाका एकजना केन्द्रीय सदस्यले भने, ‘मिश्र पार्टीको अङ्कगणितको खेलमा  लाग्नुभो । थापाको सोच विचार बुझ्नतिर लाग्नु भएन । हामी थापालाई भन्ने गथ्र्यौं, मिश्रले पार्टीमा एकलैटी गर्नुभयो ।’ 

यसो भन्दा थापाले भन्ने गरेको स्मरण गर्दै ती सदस्यले भने, ‘तपाईंहरू भोलि बुझ्दै जानुहुन्छ । यसबाट आत्तिनुपर्ने कुरा छैन’, उनका अनुसार थापा पहिले नै पार्टी फुटाउने सोचमा रहेछन् । 

के भन्छन् मिश्र र थापा ?
मिश्रले पार्टीलाई गतिहीन बनाएको थापाको आरोप छ । ‘१७ महिनासम्म पार्टी सदस्यहरुलाई कुनै जिम्मेवारी दिन सकिएको छैन । सबै प्रदेश संयोजक पनि तोक्न सकिएको छैन । क्षमतावान व्यक्तिलाई जिम्मेवारी दिन खोजिएन । सदस्यहरुको सद्भावको सम्मान हुन सकेन । मिश्रजी एस म्यानको खोजीमा लागेको भान भयो । हामी एसम्यान बन्न सक्दैनौँ । अनि हामी बाहिरियौँ’, थापाको भनाइ छ । 

मिश्रमा आफूले बुझेको राजनीति मात्रै राजनीति हो भन्ने दम्भ रहेको भन्दै उनले सबैको कुरा सुन्ने र सबैको भावनलाई सम्मान गर्ने काम नभएको पनि बताए ।

यता मिश्रले सबै काम सहमतिका साथ हुने गरेको भन्दै विधि र प्रक्रिया नमिचेको दाबी गरे । 

उनले भने, ‘उज्ज्वलजीले एक अन्तरवार्ता दिँदा संयोजक सेरेमोनियल भन्नुभएछ । मलाई अचम्म लागेको छ । ३२ बुँदे सम्झौतापत्र अहिलेको पार्टी सञ्चालनको आधार हो । हामी त्यहीअनुसार चलेका छौँ ।’ 

पार्टी सञ्चालनको आधारपत्रबारे नेतृत्वमै गलत बुझाइ रहेकाले पार्टी विभाजन हुन पुगेको मिश्रको तर्क छ । 

मिश्रको साथमा को–को छन् ?

मिश्रको पक्षमा रहेकाहरू
पार्टी विभाजनपछि मिश्रतर्फ उनीसहित सूर्यराज आचार्य, किशोर थापा, शोभा शाक्य, केशव दाहाल, मुमाराम खनाल, माया पौडेल, राम तपस्या, कुमार साह, प्रकाशचन्द्र परियार, रमेश मर्हजन, अब्दुस मियाँ, किरण कृष्ण श्रेष्ठ, उमेश पुन, ताराकुमारी काफ्ले, शोभिता परियार र निरुपमा यादव छन् । 

यस्तै प्रदेश ३ संयोजक समीक्षा बाँस्कोटा, गण्डकी प्रदेशका संयोजक महेश भण्डारी प्रदेश ५ का संयोजक अनुपमान सैंजु, कर्णाली प्रदेशका संयोजक गेहेन्द्रप्रसाद दाहाल र सुदूरपश्चिम संयोजक गोपाल हमाल विवेकशील साझामै छन् । प्रदेश ३ का तीन सांसदमध्ये २ जना विवेकशील नेपाली दलमा गएका छन् भने एक जना विवेकशील साझामै छन् । 

उज्ज्वलको पक्षमा रहेकाहरू
थापासहित रञ्जु दर्शना (न्यौपाने), मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, शशिविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, आशुतोष तिवारी, विराजभक्त श्रेष्ठर अर्जुनसिंह ठकुरी छन् । 

यसमा पूर्व विवेकशील नेपाली दलका सबै फर्किएका हुन् । यो समूहको पार्टीमा युवाहरुको जमात धेरै रहेको बताइन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप