शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डलाई विप्लवको प्रश्न – बाबुराम भट्टराईको सहयोग किन लिएको ?

सोमबार, ३० पुस २०७५, १४ : ०१
सोमबार, ३० पुस २०७५

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एक साताअघि स्थायी कमिटीको बैठक बस्यो ।

बैठकमा पार्टी प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डको पक्राउ र रिहाइको विषयलाई लिएर चर्को बहस भयो । 

बहसको विषय मुख्य थियोे– पार्टीका दस्तावेज बाहिर सार्वजनिक भएको प्रशङग । प्रकाण्ड प्रक्राउ परेपछि पार्टीका दस्तावेज बाहिर सार्वजनिक भएका थिए । बैठकमा धेरै नेताको प्रश्न र त्यसको जवाफ प्रकाण्डसँग जोडिएका थिए । 

बैठकमा विप्लवलगायतका नेताहरूले ‘पार्टीका गोप्य दस्तावेज’ कसरी बाहिर सार्वजनिक  भए भन्दै प्रकाण्डसँग त्यसको जवाफ मागेको एक नेताले बताए ।

त्यस्तै प्रकाण्ड रिहाइ हुने समय उनले पार्टीमा कुनै परामर्शबिना व्यक्तिगत पहलमा रिहाइ भएको भन्दै प्रकाण्डको आलोचनासमेत भएको ती नेताले बताए । 

‘पार्टीसँग समन्वय नगरिकन आफ्नो व्यक्तिगत निर्णयले सरकारसँग वार्ता गर्ने जुक्ति लगाएर उहाँ रिहा हुनुभयो । उहाँको रिहाइमा पार्टीसँग कुनै परामर्श भएन, ती नेताले भने, ‘झुक्कायो भनेर अहिले सरकारका मान्छे पनि असतुष्ट छन् । यता विप्लव कमरेडलगायत अन्य नेताहरू पनि असन्तुष्ट हुनुहुन्छ ।’

यसअघि नेकपामा प्रकाण्डको पक्राउलाई लिएर पनि पार्टीभित्रैबाट प्रश्न उठेको थियो । पार्टी मूल नेतृत्वको निर्देशनविपरीत प्रकाण्ड काठमाडौँ आएर प्रक्राउ परेको आशङ्का नेतृत्वले गरेकोे थियो ।

‘पार्टी महासचिवले तपाईं अहिले राजधानी नजानुस् भन्नुभएको रहेछ । त्यो पनि एक पटक होइन, तीन–तीन पटक । नेतृत्वको सुझावलाई बेवास्ता गरेर प्रकाण्ड कमरेड काठमाडौँ आउनुभएको रहेछ’, ती नेताले भने, ‘त्यहीबेला उहाँ पक्राउ पर्नुभयो । पाटीभित्र उहाँको पक्राउलगायतका विषयलाई लिएर पनि केही आशङ्का थिए ।’ 

प्रकाण्ड साउन २२ गते काठमाडौँबाट प्रक्राउ परेका थिए भने असोज ९ गते रिहा भएका थिए ।  

बैठकमा प्रकाण्ड रिहाइ हुने समय पार्टीका नेताहरूभन्दा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईको सहयोग लिएको भन्दै प्रकाण्डको आलोचना भएको थियो । 

‘पहिला पार्टी नेतृत्वले भनेको मान्नुभएन । पछि पक्राउपरेपछि रिहाइ हुनकै लागि उहाँले पार्टीभित्र भन्दा बाहिरका व्यक्तिहरूसँग परामर्श र सहयोग लिएको विप्लव कमरेडलाई सूचना पुग्यो । प्रकाण्ड कमरेडको यस्ता क्रियाकलापले विप्लव कमरेड असन्तुष्ट हुनुहुन्थ्यो । ती नेताले भने, ‘प्रकाण्ड कमरेडले आफू रिहाइ हुन बाबुरामको सहयोग लिनुभयो । उहाँहरूको परामर्शपछि नै बाबुराम संसदमा बोल्नुभएको हो ।’

भदौ ११ गते संसदमा बोल्दै भट्टराईले अदालतले छोड्न बारम्बार आदेश दिँदा पनि पटक–पटक प्रकाण्डलाई प्रक्राउ गरेकोमा असन्तुष्टि जनाएका थिए ।  संसदमा बोल्दै उनले भनेका थिए, ‘उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका थिए, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’

उनले अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको भन्दै पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ भट्टराइृले भनेका थिए, ‘विव्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ ।’

झन्डै एक साता चलेको बैठकमा प्रकाण्डले उठेका यी सबै विषयमा स्पष्ट पारेको ती नेताले बताए । साथै यसअघि भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ । नेकपाको स्थायी कमिटी पाँच सदस्यीय रहेको छ । जसमा विप्लव, प्रकाण्ड, हेमन्तप्रकाश ओली सुदर्शन, धम्रेन्द्र बास्तोला र सन्तोष बुढामगर रहेका छन् ।  

सरकारसँग वार्ता नगर्ने

स्थायी कमिटी बैठकले सरकारसँग वाता नगर्ने निर्णय पनि गरेको छ । औपचारिक रूपमा सरकारले वार्ताका लागि एजेन्डासहित प्रस्ताव नगरेको र वार्ता गरेजस्तो नाटक गरेर झुक्याउने खेल भएको भन्दै नेकपाले सरकारसँग वार्ताको कुनै औचित्य नरहेको निष्कर्ष निकालेको हो । 

‘सरकारको प्रस्ताव साँच्चै वार्ता गर्नेखालको छैन । आलटाल गरेर हामीलाई कमजोर बनाउने नियत देखियो’, ती नेताले भने, ‘त्यसकारण अब वार्ताको कुनै औचित्य छैन ।’ 

३ केन्द्रीय सदस्यलाई निष्काशन

स्थायी कमिटी बैठकले पार्टीमा क्रियाशील नभएको र आफ्नो जिम्मेवारी निर्वाह नगरेको भन्दै ३ जना केन्द्रीय सदस्यलाई निष्काशन गरेको ती नेताले रातोपाटीलाई बताए । 

केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइएकामध्ये ललितपुरका नारायण महर्जन, जाजरकोटका सविता सिंह र धरानका किरण राई रहेका छन् । त्यस्तै बैठकले पत्रकार सङ्गठनको नाम परिवर्तन गर्ने पनि निर्णय गरेको ती नेताले बताए । 

२ महिने अभियान सञ्चालन गर्ने

बैठकले माघ र फागुन महिनामा जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले यो अभियान सञ्चालन गर्नुपूर्व पार्टीका नेताहरूको जिम्मेवारी क्षेत्र हेरफेर गर्ने निर्णय पनि गरेको छ । ती नेताकाअनुसार यो दुई महिने अभियानमा केही जनप्रतिनिधिलाई कारवाही गर्ने योजना पनि नेकपाको रहेको ती नेताले बताए । ‘दुई महिने अभियान भने पनि त्यहाँ एक्सन वरेन्टेड कार्यक्रम पनि रहेका छन् । केही जनप्रतिनिधिहरूलाई कारवाही गर्नेदेखि अन्य कार्यक्रम पनि छन् ।’

दुई महिने अभियानको जानकारी दिन एक विज्ञप्ती जारी गर्दै भनिएको छ, ‘सामाजिक दलाल सरकार असफल भएको छ । जनता समस्यामा छन् । देश सङ्कटमा छ । क्रान्ति अगाडि आउँदैछ । हाम्रो पार्टी क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको छ ।’

उसले अघि भनेको छ, ‘२०७४ सालको चुनावमा केपी—प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’, ‘गाउँगाउँ सिंहदरबार’को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल’, ‘गाउँगाउँमा भ्रष्टाचार, बलात्कार’मा परिणत हुन पुगेको छ । भोट हाल्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला बलात्कार तथा हत्याकाण्ड, ठूलो जहाजकाण्ड, चिनीकाण्ड, बूढीगण्डकीकाण्ड, चन्द्रागिरिकाण्ड, एनसेलकाण्ड, क्रिस्चियन धर्म प्रचारकाण्डजस्ता काण्डैकाण्डको आतङ्कमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा अरू छैन ।’

वर्तमान सरकारले जति नै समाजवादको कुरा गरे पनि ऊ फासिवादतिर उन्मुख भएको भन्दै  ‘देशमा जति नै विकासको नारा दिए पनि उद्योगधन्दाको अवस्था कमजोर भएर गएको छ । व्यापारघाटा बढेको बढ्यै छ । महँगीले जनताको ढाड भाँचेको छ । अर्थतन्त्र दलाल र सुदखोरहरूको हातमा पुगेको छ । राष्ट्र बैङ्कबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैङ्क माफियाहरूले जनतालाई लुटेका छन् । उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्बाद भएका छन् । युवा पलायन बढ्दै गएको छ । एमाले–माकेहरूले खुलेआम वेश्यालय खोली यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरूको छाडापनलाई पनि उछिनेका छन् । नदीनाला बेचेर खाने क्रम जारी छ । महिलाहरूमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा, स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ । न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झुट्टामुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ । यी सबैबाट देश सङ्कटमा परेको प्रष्ट छ ।’

अहिलेको सरकार सबैतिर असफल भएको भन्दै विज्ञप्तीमा अघि भनिएको छ, ‘सामाजिक दलाल सरकारको असफलता र देशको सङ्कटलाई एमाले–माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आफू पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस— राप्रपाले ‘कम्युनिस्ट सरकार’को असफलता भनेर आफू सरकारमा पुग्ने वा चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस, कम्युनिस्टको असफलता भन्दै आफूहरू सरकारमा आउनुपर्ने नारा दिएका छन् तर हाम्रो पार्टीको सुरुदेखिको धारणा छ– यो असफलता र सङ्कट केवल सरकार र मन्त्रीहरूको मात्र होइन  दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र सामाजिक दलाल पुँजीवादको असफलता र सङ्कट हो । यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले–माके सरकारको परिवर्तन होइन र हुन सक्दैन । दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।’

विज्ञप्तीको अन्त्यमा भनिएको छ, ‘जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे । एमाले–माके संशोधनवादी कम्युनिस्टलाई हेरे । कसैले पनि जनता र देशको हितमा काम गर्न सकेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अब कुनै अस्पष्टता छैन । हाम्रो पूरा प्रतिबद्धता छ– जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुन कुनै मूल्य चुकाउन तयार छौँ । तसर्थ २१औँ सदीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरू एकताबद्ध बनेर हातेमालो गरौँ । जनताको विजय अवश्यम्भावी छ ।’

एक्सन ओरिन्टेड कार्यक्रम स्थगित

त्यस्तै नेकपाले प्रकाण्ड प्रक्राउ पर्नुअघि तय गरेको कार्ययोजनालाई स्थगित गरेको छ । ‘प्रकाण्ड कमरेड पक्राउ परेपछि पार्टीका आधिकारिक दस्तावेज बाहिर सार्वजनिक भए । ती एक्सन ओरिन्टेट कार्यक्रम थिए पार्टीका । तर अब ती स्थगित भए’, ती नेताले भने, ‘अहिले नयाँ कार्ययोजना बनेका छन् । त्यही अनुरूप पार्टीका गतिविधि अगाडि बढ्छन् ।’ 

पार्टीको नेतृत्व गरेका विप्लव अहिले भूमिगत शैलीमा सक्रिय छन् । उनी भूमिगत भएपछि पार्टीमा दोस्रो वरियताका नेता प्रकाण्ड सक्रिय देखिएका छन् ।

जसले गर्दा नेकपामा दुई गुट देखिएका छन् । एउटा गुटको नेतृत्व विप्लवले गरेका छन् भने अर्को गुटको नेतृत्व प्रकाण्डले गरेका छन् । गुटकोे प्रभाव पार्टीका सबैजसो जनवर्गीय सङ्गठनमा देखिएको छ । विप्लव र प्रकाण्ड समूहका छुट्टा–छुट्टै कमिटी बनेका छन् । पत्रकारहरूको सङ्गठनबाट उत्पन्न भएको विवाद अरू सङ्गठनमा देखिएका छन्, जसको कारण पछिल्लो समय नेकपाका सबैजसो जनवर्गीय सङ्गठनमा समानान्तर कमिटी बनेका छन् । उक्त स्थायी कमिटी बैठकले सबै विवादलाई मिलाएर जाने निर्णय पनि गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप