शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारु नोटको प्रतिबन्ध फुकुवाका लागि राष्ट्र बैंकले पठाएको पत्रको जवाफ अझै आएन

सोमबार, ३० पुस २०७५, ११ : ००
सोमबार, ३० पुस २०७५

नेपालमा भारतीय ठूला दरका नोट चल्ने/नचल्ने अन्यौलता बढेर गएको छ ।  एक साताभन्दा बढी भइसक्दा पनि नेपालमा भारतीय ठूला दरका नोट प्रतिबन्ध फुकुवाको आशयले नेपाल राष्ट्र बैंकले पठाएको पत्रको जवाफ भारतीय पक्षले दिएको छैन  । 

गत पुस २० गते नेपालका ठूला दरका नोट सटहीका लागि नेपाल राष्ट्र बैंकले गर्भनरमार्फत् भारतीय रिजर्व बैंकलाई पत्र पठाएको थियो ।  

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख भिष्मराज ढुंगानाले हालसम्म भारतीय पक्षले नेपालको सो पत्रलाई लिएर कुनै पनि प्रतिक्रिया नपठाएको बताए । 

यो पनि पढ्नुहोस्

नेपालमा ठूलादरका भारु नोटको प्रतिबन्ध हटाउने तयारी, एक महिना पनि टिकेन निर्णय

राष्ट्र बैंकका अनुसार राष्ट्र बैंकले आफूहरुसँग भएको पुराना ठुला नोटसँगै नयाँ नोटसमेत साट्ने व्यवस्था मिलाइयोस् भन्दै पत्राचार गरेको थियो । राष्ट्र बैंकसँग अहिले ७ करोड ८५ लाख पुराना भारतीय नोट रहेको छ । नेपालमा ठूलादरका नयाँ नोट प्रतिबन्ध गर्ने निर्णय मन्त्रिरिषदले गत मंसिर २४ गते गरेको थियो । नेपाल अहिले भारतीय पक्षको जवाफ कुरिरहेको छ । 

भारत सरकारले कालोधनलाई निरुत्साहीत गर्न सन २०१६ नोभेम्बरदेखि ५ सय र हजार दरका पुराना नोट विस्थापित गरी २ सय, ५ सय र २ हजारका नयाँ नोट प्रचलनमा ल्याएको थियो । सोही बेलादेखि नेपालमा रहेका पुराना नोट साटिएका छैनन् । 

यो पनि पढ्नुहोस्

भारुमा प्रतिबन्ध भारतले नै लगायो’

यता, भारतमा पुगेका पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि पुराना भारु नोट साट्न आग्रह गरेको तर चासो नदिएको बताएका छन् । भारतको विदेश मन्त्रालयसँग अब्जर्भर चियर्स फाउण्डेसनले गरेको संवादमा भारु साट्न आग्रह गरेको उनले बताएका हुन् । 

नेपालको अधिकांश व्यापार भारतसँगै निर्भर रहेकाले ठूला नोट प्रतिबन्ध गर्दा त्यसको प्रत्यक्ष असर नेपाललाई नै पर्ने विज्ञहरु बताउँछन् ।

नेपालमा भारतीय नोट प्रतिबन्धको विषयलाई भारतीयले पनि चासोका साथ हेरेका छन् । भारतको प्रतिपक्षी दल कंग्रेसले त यसको खुलेरै विरोध गरेको छ भने नोट प्रतिबन्ध लगाउनुको धारणा मोदी सरकारसँग मागेको थियो ।

भारतीय ठूला नोट प्रतिबन्धले भारतमा काम गर्न जाने नेपाली कामदार बढी मारमा परेका छन् भने भारतबाट सामान आयातमा पनि व्यापारीलाई समस्या परेको छ । 

यता, भारु नोट प्रतिबन्धको विषयलाई नेपाल र भारतको सम्बन्धसँग जोडेर पनि ब्याख्या गर्न थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप