केन्द्रीय संस्करण
अन्तरवार्ता

यसरी बन्दैछ टीआईए ‘बुटिक एयरपोर्ट’

अतिथि देवो भवः चरितार्थ गर्नेछौं : महाप्रवन्धक राजकुमार क्षेत्री

person explore access_timeपुस २९, २०७५ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अब बुटिक एयरपोर्टमा परिणत हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक एयरपोर्टमा रूपान्तरण गर्ने प्रक्रियाको थालनी भइसकेको छ । 

६ महिनाभित्र नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई नेपाली मौलिकपनले सुसज्जित पारेर सिँगार्ने काममा नेपाल सरकार र विमानस्थल व्यवस्थापन सक्रिय रूपमा लागिपरेको देखिन्छ । 

जहाजबाट उत्रिएर आवागमनतर्फ आउने द्वारमा बुद्धको मूर्तिसहित ठूलो अक्षरले ‘वेलकम टु नेपाल’ लेखेको देखिन्छ । ती अक्षरमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको चिनारी झल्कने तस्बिरहरू देख्न सकिन्छ । साथै तामाका गाग्रीमा पानी र फूल राखी पर्यटकलाई स्वागत गरिएको छ । 

सरसफाइ, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा नयाँ कुर्सी तथा सोफा परिवर्तन भएका छन् भने नयाँ कार्पेट फेरिएको छ । भित्र प्रवेश गर्दा भित्ताहरूमा विभिन्न नेपाली कला झल्कने पोस्टरहरू राखिएका छन् । पार्किङलाई व्यवस्थित गरिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले एयरपोर्ट सुधारमा देखाएको सक्रियताले एयरपोर्ट व्यवस्थापनलाई थप ऊर्जा मिलेको विमानस्थलमा छोटो समयमै आएको ‘कस्मेटिक’ परिवर्तनले देखाउँछ । 

अब विमानस्थलको भित्री स्वरूपमा धेरै नै परिवर्तन आउने र व्यवस्थित हुने विमानस्थलको दाबी छ । ‘बुटिक एयरपोर्ट’ बनाउने सरकारको योजनामा विमानस्थल व्यवस्थापन के गर्दैछ र बुटिक एयरपोर्ट कस्तो बन्छ भन्नेबारे हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग कुराकानी गरेका छौं ।

क्षेत्री विगत ३० वर्षदेखि ‘सिभिल एभिएसन’मै क्रियाशील रही हाल ११ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक पदमा कार्यरत छन् । क्षेत्रीको नियुक्तिपश्चात विमानस्थलमा देखिएका परिवर्तनका कामले उनको चर्चा हुने गरेको छ । उनै महाप्रबन्धक क्षेत्रीसँग रातोपाटीका लागि टुना भट्टले गरेको कुराकानी प्रस्तुत छः

–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउने चर्चा छ । कस्तो हुन्छ बुटिक एयरपोर्ट ?
बुटिक एयरपोर्ट भन्ने वित्तिकै आधुनिक सुविधाले भरिपूर्ण तर आफ्नो मौलिकता झल्कने खालको भन्ने बुझिन्छ । जस्तोः हामीले धारा खोल्दा सबै धाराबाट पानी नै आउने हो तर कुनै धारा केही कलात्मक अनि आकर्षक (बुट्टा कुँदिएको वा कुनै चित्रसहितको) भयो भने त्यो धाराप्रतिको आकर्षण स्वभाविक रूपमा बढ्छ । त्यसै गरेर विमानस्थल पनि यात्री आवतजावत गर्ने ठाउँ हो तर यसलाई आफ्नो कला र संस्कृति झल्कने गरी सजावट गरियो भने सबैको आकर्षणको केन्द्र बन्नेछ । हामी कला र संस्कृतिमा धनी छौं र विमानस्थललाई सोही प्रतिविम्बित हुने गरी कलात्मक बनाउन सकियो भने पर्यटकलाई सजिलै आकर्षित गराउन सकिन्छ ।

बुटिक एयरपोर्टको विचार प्रधानमन्त्री केपी ओली र पर्यटनमन्त्री रवीन्द्र अधिकारीबाट आयो । हामीले पनि विमानस्थल सुधार अनि मौलिकतामा केन्द्रित भएर काम गरिराखेका नै थियौं । उहाँहरूको विचार आएपछि हामीलाई थप बल र हौसला पनि मिलेको छ ।

नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बनाउनुपर्ने नै बुटिक शैलीको हो । हाम्रा पुरानो संरचनाहरू पनि वास्तवमै बुटिक शैलीमै छ । आउँदो वैशाखबाट विमानस्थललाई बुटिक एयरपोर्टमा ढाल्ने कामको सुरुवात हुँदैछ । 

बुटिक एयरपोर्टका लागि कस्ता योजना तय गर्नुभएको छ ? विमानस्थलको भित्री स्वरूपमा मात्र परिवर्तन आउँछ कि भौतिक संरचनामा पनि परिवर्तन आउँछ ?
भौतिक संरचनामा परिवर्तन आउँदैन । अहिले जस्तो छ, त्यसैमा मौलिकपन दिने र व्यवस्थित गर्ने मात्र काम हुन्छ । आन्तरिक बनावटमा भने केही परिवर्तन हुन सक्छ । भित्री संरचनालाई कसरी व्यवस्थित गर्नेबारे गृहकार्य भइरहेको छ । 

नेपाल सरकारको परियोजना भएकाले सरकारी तवरबाट कामहरू भइरहेका छन् । वैशाख १ गतेबाट सुभारम्भ गरिने भनिएकाले त्यसको खाका अगाडि नै आउने छ र त्यसपछि जोडतोडका साथ हामी लाग्ने छौँ ।

भौतिक संरचनाका कुरा गर्दा काठमाडौँ भ्याली कचौरा आकारको छ, जतिबेला विमानस्थल बन्यो, त्योबेला आजको अवस्थाबारे सोचिएको देखिँदैन । आज चारैतिर बस्ती बसिसकेकाले विमानस्थललाई विस्तार गर्न असम्भव छ । तर पनि सक्दो परिवर्तन गर्ने र थप्न मिल्ने स्थानमा थप संरचना निर्माण कार्य भइरहेको छ र भएको संरचनालाई व्यवस्थित गर्न लागिपरेका छौँ । 

अप्रिलबाट नयाँ रनवे बनाउँदै छौँ । ७० दिनको योजना छ, जसमा राति १० बजेदेखि बिहान ८ बजेसम्म रनवे बन्द गराएर नयाँ रनवे बनाउँदैछौं ।

त्यसैगरी, समानान्तर रूपमा ट्याक्सी वे पनि बढाउँदै छौँ । नयाँ स्ट्रायर हल बनाउँदै छौ । ४ वटा कम्पाएयर वेल्ट  थप्दैछौँ । चारवटा पार्किङ वे थप्दैछौँ, तीन चार महिनामै सक्नेगरी । 

ट्राफिक जामको समस्या समाधानका लागि गोल्डेन गेटबाट दुईतर्फी सवारी साधन सञ्चालनमा रोक लगाई एकतर्फी प्रवेशका लागि मात्र खुला गर्ने तयारी हुँदैछ । त्यसैगरी पार्किङलाई तल सारेर माथि खाली बनायौँ । अब अन्डर ग्राउन्ड पार्किङमा सीधै यात्रु पुग्ने गरी बाटो मिलाउँदैछौँ । बाहिर निस्कन विमानस्थलको पश्चिम पट्टीबाट ‘एक्जिट प्वाइन्ट’ सञ्चालनमा छ ।

वैशाख १ गतेबाट बाहिरबाट आएका यात्रुहरूलाई सीधै लिफ्टमार्फत् तल पार्किङमा लगिने व्यवस्था हुन्छ । त्यसले गर्दा अराइभल र डिपार्चर प्यासेन्जरको हुलमुल हुन पाउँदैन । त्यसपछि बाहिर देखिने भीडभाडमा कमी आउनेछ र यात्रुलाई हुने अलमल र असहजताको पनि अन्त्य हुनेछ । 

–सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने कुरा भ्रमण वर्ष लक्षित मात्र हो कि दीर्घकालीन योजनाअन्तर्गत नै आएको हो ?
यो एकदमै दीर्घकालीन योजना हो, नेपाल भ्रमण वर्षलाई मात्र लक्षित गरिएको होइन । बुटिक एयरपोर्टको अवधारणा आउनु र २०२० मा नेपाल भ्रमण वर्ष मनाइनु संयोग मात्र हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक एयरपोर्टको रूपमा दीर्घकालसम्म रहन्छ । नेपाल भ्रमण वर्ष मनाउने सरकारको योजनामा पनि यसले पूरै सहयोग गर्नेछ ।

–विमानस्थल अव्यवस्थाबारे धेरै नै टीकाटिप्पणी हुने गरेका छन् । आपराधिक गतिविधिहरू निर्वाध हुने गरेको, कर्मचारीको खराब व्यवहार अनि लापरवाहीले यात्रुले सधैँ सास्ती बेहोर्नुपरेको जस्ता खबरहरू बारम्बार आउँछन् । अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बेथिति किन र कसरी भयो ?

विगतमा के भयो त्यो म भन्न सक्दिनँ तर अहिले विगतको तुलनामा विमानस्थलमा धेरै सुधार आएको छ । विगतमा हुने गरेका घटनामा ८० प्रतिशतले कमी आएको छ । अहिले हामी हरेक महिना सुरक्षा समितिको बैठक राखेर सुरक्षा अवस्थालाई चुस्त पार्न तल्लीन छौँ । 

मसहित भन्सार प्रमुख, टर्मिनल प्रमुख, प्रहरीको तर्फबाट डीआईजी, नेपाल आर्मीका जर्नेललगायत एयरलाइन्सका डाइरेक्टरहरू सम्मिलित समितिले हरेक महिना विमानस्थलको सुरक्षा र यात्रुको सहजताका लागि काम गर्दै आइरहेको छ । 

हामीले विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरेका छौँ, जसले गर्दा अहिले विभिन्न खालका आपराधिक गतिविधिमा कमी आएको छ ।

पहिले जसरी समयमा ब्यागेज नआउने, आए पनि तोडफोड भएर आउने, सामान हराउने जस्ता समस्यामा धेरै नै कमी ल्याउन सफल भएका छौँ । 

पार्किङबाटै ट्याक्सी ड्राइभरले लुट्ने, धेरै भाडा लिने जस्ता समस्यामा कमी ल्याएका छौँ । कमिकमजोरी देखिएमा कसरी रोक्ने र सुधारका कार्यलाई अगाडि बढाउन पहल गरिरहेका छौँ । 

हो, पहिलेदेखि विद्यमान अव्यवस्थालार्य पूर्णरूपमा निमिट्यान्न पार्न सकिएको छैन । यसका लागि समय लाग्छ । तर धेरै व्यवस्थित भने भएको छ विमानस्थल । 

अध्यागमनका कर्मचारीले राम्रो व्यवहार नगरेको गुनासो आउँछ । त्यसलाई सम्बोधन गर्ने र सच्याउने काम पनि गरेका छौँ । हामीले युवा पुस्तालाई स्थान दिनुका साथै पुराना कर्मचारीहरूको यथोचित व्यवस्थापनको पहल गरेका छौँ । कमसेकम यात्रुसँग राम्रो व्यवहार गर्ने कर्मचारीलाई छनौट गरेर अध्यागमनमा राख्न हामी लागेका छौँ ।

यात्रुलाई मुस्कानसहितको सेवा दिन हामी प्रतिबद्ध छौँ । युवा पुस्तालाई स्थान दिनुपर्छ भन्ने हाम्रो सोच छ । पुराना कर्मचारीहरू पूरै परिवर्तन गर्नलाई अहिले नै सम्भव त छैन तर  गृह मन्त्रालयलाई हामीले प्रस्ताव गरेका छौँ, युवा अनि छरिता कर्मचारीहरू विमानस्थलको लागि जरुरी छ भनेर । 

तपाईंको विचारमा विमानस्थललाई व्यवस्थित गर्न विगतका सरकार अनि विमानस्थल व्यवस्थापन किन अग्रसर भएनन् ? कर्मचारीप्रति आम जनमानसमा स्थापित खराब छविमा कसरी परिवर्तन ल्याउनुहुन्छ ?
त्यो सुधारका लागि पहिले पनि काम नभएको होइन । कर्मचारीमा प्रोत्साहन र उत्प्रेरणाको कमी भने पक्कै थियो । अधिकांश कर्मचारी तलब पकाउने काम मात्र गर्थेे । उनीहरूमा मेरो जिम्मेवारी के हो र यसलाई कसरी निर्वाह गर्ने भन्ने तदारुकता शून्य थियो । 

मैले कर्मचारीलाई उत्प्रेरणा दिने काम मात्र गरेको हुँ । सरसफाइदेखि यात्रुसँग कसरी व्यवहार गर्ने भन्नेबारे म आफै अग्रसर भएर कार्य गर्ने गरेको छु । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म प्रायः म विमानस्थलमै हुन्छु र हरेक स्थानमा निरीक्षण गरिरहेको हुन्छु । यसले कर्मचारीमा आफ्नो कामप्रति केही सजकता भने ल्याएको छ । 

अहिलेका पर्यटनमन्त्री रवीन्द्र अधिकारी पनि निकै ऊर्जावान हुनुहुन्छ । उहाँको कार्यशैलीले  हामीलाई थप हौसला थपेको छ । मन्त्री स्वयम् बेलाबेला आएर निरीक्षण गर्नेदेखि मलाई घच्घचाउने काम गरिरहनु हुन्छ । मन्त्री स्वयम् निरीक्षणमा आउँदा कर्मचारीमा सतर्कता बढ्ने गरेको छ र उनीहरूले लगनका साथ काम गरेका छन् । विमानस्थललाई व्यवस्थित बनाउन उहाँले देखाउनुभएको तदारुकताले यहाँका कर्मचारीलाई पनि ऊर्जा मिलेको छ र सबै आफ्नो कार्यप्रति निकै संयम छन् ।

विमानस्थलका कर्मचारी ड्यूटीप्रति उत्तरदायी नहुने कारण के होला ? आफ्नो उत्तरदायित्व निर्वाह गर्नका लागि कर्मचारीलाई मन्त्री र हाकिमकै निगरानी भइबस्नुपर्ने हो र ?
खराब प्रवृत्तिको जड दण्डहीनता हो । कर्मचारीलाई आफू काममा प्रवेश गर्दा सेवा सुविधा तलबलगायत सबै कुराको राम्रो जानकारी हुन्छ । तर उनीहरू जब काममा प्रवेश गरिसकेपछि आफ्नो काम र संस्थाप्रति उत्तरदायी हुन नचाहनुको जरो कारण नै त्यहाँ मौलाएको  दण्डहीनता हुन्छ । माथिल्लो तहदेखि नै बसेको खराब संस्कारजन्य प्रवृत्ति उनीहरूमा पनि हाबी हुन्छ । त्यसले कर्मचारीमा कामप्रति उत्तरदायी र जवाफदेही हुनबाट वञ्चित गरिरहेको हुन्छ । 

त्यसैले हामीले अब ऊर्जा र संस्कारवान युवा पुस्ताको माग गरेका छौँ । विमानस्थल भनेको स्वदेशीदेखि विदेशी, सर्वसाधारणदेखि विशिष्ट, अतिविशिष्ट हरेक किसिमका व्यक्तित्वहरूसँग प्रत्यक्ष व्यवहार गर्नुपर्ने ठाउँ हो  । यस्तोमा मुख्य काम भनेको यात्रुप्रति गरिने शिष्ट र सभ्य व्यवहार नै हो । रिसाएर, झर्किएर अनि ठाडो स्वभावमा यात्रुसँग व्यवहार गर्ने हो भने के हुन्छ ?

यात्रुका विभिन्न समस्या हुन्छन् । उनीहरूको समस्या समाधानमा विमानस्थल कर्मचारीको भूमिका महत्त्वपूर्ण रहन्छ  । त्यसैले पनि विमानस्थलका कर्मचारीमा जागिर मात्रै खानेभन्दा पनि बढी सेवाभाव हुनु जरुरी हुने भएकाले हामीले शिष्ट संस्कारयुक्त नयाँ पुस्तालाई स्थान दिइनुपर्छ भन्ने सोच बनाएका हौँ ।

विमानस्थललाई व्यवस्थित गर्न तपाईंको भावी योजनाहरू के–के छन् ?

संजोग नै भन्नुपर्छ, प्रधानमन्त्रीको बुटिक एयरपोर्टको योजना मेरै कार्यकालमा आयो । मैले यहाँभित्र धेरै नै परिवर्तन ल्याउने कोशिस गरेको छु र अझै गर्छु पनि । मेरो दुई वर्षे कार्यकालमा ११ महिना सकिसकेको छ । 

बुटिक एयरपोर्ट बनाउने योजनाका अलावा म चाहन्छु– स्वदेशी–विदेशी यात्रुलाई यहाँ प्रवेश गर्दा पनि राम्रो व्यवहार होस् । विदेशी पाहुनायात्रुले आफ्नो देशमा नपाएको स्वागत सत्कार यहाँ पाओस् । भएको सुविधाको भरपुर प्रयोग गरेर मीठो बोलीका साथ उनीहरूलाई सेवा प्रदान गर्ने वतावरण बनाउन म तल्लीन छु । 

विशेषतः अध्यागमन कर्मचारीका व्यवहारलाई लिएर आलोचना हुनेगर्छ । त्यसमा सुधार ल्याउन हामीले कडा निगरानी राख्ने गरेका छौँ । साथसाथै, हाम्रो कर्मचारीलाई भन्ने गरेका छौँ कि कमसेकम विदेशी पाहुनालाई मीठो बोलीका साथ सेवा दिनुहोस् ।  

अतिथि देवो भवः लाई आत्मसाथ गर्दै काम गरेका छौं र अतिथि हाम्रा पाहुना हुन्, उनीहरूको सेवा हाम्रो धर्म हो भन्ने भावनालाई हामीले मनन गरेका छौँ । 

विमानस्थलका ड्राइभर कर्मचारीलाई कसरी यात्रुसँग व्यवहार गर्ने, उनीहरूलाई कसरी खुसी पार्ने, विदेशीहरूलाई कसरी सेवा दिने भन्नेबारे कक्षा सञ्चालनका लागि प्रहरीसँग अनुरोध गरेको छु । यो काम छिट्टै हुनेछ र विमानस्थलका कर्मचारीहरूलाई पनि उत्प्रेरणा जगाउने र उनीहरूमा सकारात्मक ऊर्जा थप्ने खालका कक्षाहरू सञ्चालन गर्नेबारे सोचेका छौँ । 

–अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा, म एउटै कुरा भन्न चाहन्छु, त्यो हो हामी सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गरौं । मिडियाले पनि राम्रो कामलाई राम्रो र नराम्रोलाई नराम्रो भनी खबरदारी गर्ने काम गरोस् । हामीले गरेका राम्रा काममा ऊर्जा थप्ने काम सबै क्षेत्रले गरिदियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक एयरपोर्ट मात्रै होइन, उदाहरणीय एयरपोर्ट बन्नेमा म ढुक्क छु ।


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ