शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवबाट सञ्जय 'टकला'को होला ‘कल्याण’ ?

आइतबार, २९ पुस २०७५, १० : २६
आइतबार, २९ पुस २०७५

काठमाडौँ । जेलमा रहेका सञ्जय साह ‘टकला’ का नेता कार्यकर्ताहरु उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । 

विजयकुमार गच्छदारको तत्कालिन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट अलग भएर साहले मधेश क्रान्ति फोरम गठन गरेका थिए । मधेश क्रान्ति फोरम गठन गरेपनि उनले त्यसलाई औपचारिक तहमा पार्टीको रुपमा दिएनन् । 

सोही नाममा केही समय राजनीति गरेपछि साह राजेन्द्र महतोको सद्भावना पार्टीबाट दोस्रो संविधानसभा चुनावमा भाग लिएका थिए । उनले जनकपुरबाट चुनाव पनि जितेका थिए तर संविधानसभा सदस्य रहेकै बेला भ्रष्टाचार तथा हत्याको आरोपमा उनी पक्राउ परे । 

जेल गएपछि साहले आफ्ना विश्वासिलो नेता नविन यादवलाई मधेश क्रान्ति फोरम जिम्मा लगाएका थिए । अहिले नविन यादव संयोजक रहेको मधेश क्रान्ति फोरम संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छ । 

आफ्नो संरक्षणका लागि साह कहिले विजय गच्छदारको पार्टी त कहिले राजेन्द्र महतोको पार्टीको शरणमा पुगेका थिए । तर उनलाई कसैले साथ दिएनन् । प्रतिनिधिसभा चुनावमा उनले विमलेन्द्र निधिलाई जेलबाटै साथ दिएका थिए । 

यो पनि पढ्नुहोस्

राजपा नेपाल अघि–अघि, फोरम नेपाल पछि–पछि

जेलमा रहेका सञ्जय ‘टकला’ आफै चुनाव लड्न खोजेका थिए । तर, राजपा नेपालले उनलाई टिकट दिएन । बरु राजपा नेपालका संयोजक राजेन्द्र महतो सञ्जय टकलाको क्षेत्रमा गएर चुनाव लडे । 

यसरी महतो आफ्नो क्षेत्रमा आएर चुनाव लडेपछि सञ्जयले विमलेन्द्र निधिलाई साथ दिएका थिए । उनले साथ दिएपनि निधिले चुनाव जित्न सकेनन् । चुनावमा महतोले नै बाजी मारे ।

चुनावमा सघाए सरकारबाट मुद्दामा सहयोग गर्ने आश्वासन निधिले दिएका थिए । तर, निधि नै हारेपछि उनलाई त्यहाँबाट पनि सहयोग भएन । 

त्यसपछि उनले एमालेका रघुवीर महासेठको सहयोग खोजे । आफ्नो मुद्दामा सहयोग गरे, एमाले पार्टीमा नै प्रवेश गर्ने उनले सोच बनाएका थिए । 

तर, रघुवीर महासेठले पनि साथ नदिएपछि अन्त्यमा उनले नविन यादवलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग कुरा गर्न लगाएका थिए । 

उपेन्द्र यादव अहिले वर्तमान सरकारमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हुन् । 

स्रोत भन्छ, ‘टकलालाई उनको मुद्दामा सहयोग गर्ने आश्वासन दिएपछि मात्र नविन यादव आफ्ना पुरै कार्यकर्ताका साथ पार्टीमा प्रवेश गर्ने तयार भएका हुन् ।’ 

यादवले सञ्जय टकलालाई मुद्दामा के कस्तो सहयोग गर्छन्, त्यो हेर्न बाँकी छ । तर सञ्जयको साथ पाएपछि फोरम नेपाल जनकपुरमा बलियो भएको छ । 

यदि आउने चुनावमा राजपा र फोरमबीच कुनै प्रकारको तालमेल नभए राजेन्द्र महतोको क्षेत्रमा फोरम बलियो भएको जानकारहरु बताउँछन् । 

पहिलो संविधानसभा चुनावमा पनि साहले फोरम नेपालबाट नै चुनाव जितेका थिए । तर गच्छदारले फोरम नेपाल टुक्राएर छुट्टै पार्टी गठन गर्दा उनले गच्छदारलाई साथ दिएका थिए । 

तर, उनी गच्छदारको पार्टीमा पनि धेरै दिनसम्म टिक्न सकेनन् । लामो उतारचढावपछि अहिले उनी पुनः फोरम नेपालमा फर्केका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप