शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिक्किममा हरेक परिवारका एक सदस्यलाई सरकारी जागिर, ११ हजार बढीले पाए नियुक्ति पत्र

आइतबार, २९ पुस २०७५, १० : १३
आइतबार, २९ पुस २०७५

सिक्किमका मुख्यमन्त्री पवन कुमार चामलिङले एउटा यस्तो योजनाको सुरुवात गरेका छन् जसअनुसार त्यहाँका हरेक परिवारमध्ये एक सदस्यलाई सरकारी जागिर प्रदान गरिनेछ ।

चामलिङले शनिबार ‘एक परिवार, एक रोजगारी’ नामको योजनाको शुभारम्भ गरेका छन् । साथै, चामलिङले कृषि क्षेत्रका मानिसहरुका लागि ऋण माफीको घोषणा पनि गरेका छन् ।

चामलिङले पलजोर स्टेडियममा आयोजित रोजगार मेला–२०१९ को क्रममा यो योजनाको आरम्भ गरेका हुन् । साथै, उनले राज्यका ३२ विधानसभा क्षेत्रमध्ये दुई–दुईलाई आफैंले अस्थायी नियुक्ति पत्र पनि दिए । यस्तै, यो क्रममा ११ हजार ७ सय ७२ लाई नियुक्ति पत्र जारी गरियो । स्मरण रहोस्, चामलिङ स्वतन्त्र भारतमा सबैभन्दा लामो समयसम्म मुख्यमन्त्री पदमा रहने व्यक्ति हुन् ।

यसअघि सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारले यो योजना अनुसार २० हजार युवालाई तुरुन्त अस्थायी रोजगारी दिने घोषणा गरेका थिए । अब ती उम्मेद्वारलाई नियुक्ति पत्र दिइएको छ । यस्तै चामलिङले अन्य परिवारका सदस्यलाई पनि दस्तावेज दिइने जानकारी दिए । साथै, मुख्यमन्त्रीले यी अस्थायी नियुक्तिलाई अबको पाँच वर्षमा नियमित गरिने र सबैजना स्थायी कर्मचारी बन्ने घोषणा गरेका छन् ।

स्मरण रहोस्, १२ सरकारी विभागको ग्रुप सी र ग्रुप डीमा नयाँ भर्ना गरिँदै छ । साथै रोजगारीको पदबारे जानकारी दिँदै चामलिङले भने, ‘हामी सुरक्षाकर्मी, माली, अस्पतालमा वार्ड अटेन्डेन्ट, अन्य स्वास्थ्य सुविधा, ग्राम पुलिस र गार्ड र सहायक ग्राम पुस्तकालयाध्यक्षसहित २६ विभिन्न पदका लागि नियुक्ति दिइरहेका छौं ।’

‘यो हाम्रो र हाम्रो राज्यका युवाका लागि खुसीको एक अवसर हो,’ चामलिङले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप