शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारको दोषी ठहराउँदै दिइयो मृत्युदण्डको सजायँ, ७० वर्षपछि चारजना निर्दोष साबित

आइतबार, २९ पुस २०७५, ०८ : १३
आइतबार, २९ पुस २०७५

अमेरिकाको फ्लोरिडामा ७० वर्षअघि एक किशोरीको बलात्कारको मामलामा सजाय काटेका चारजनालाई मरणोपरान्त माफी दिइएको छ । गभर्नर रन डिसेन्टिस र उनको क्याबिनेटले माफीबारे पुष्टि गरेको हो । चारजनाका परिवारसँग गलत मुद्दा चलाएको भन्दै माफी मागियो ।

१७ वर्षे किशोरीले लगाएकी थिइन् आरोपः

सन् १९४९ मा फ्लोरिडाको ग्रोवल्याण्डमा स्यामुअल शेफर्ड, वाल्टर इरविन, चार्ल्स ग्रीनली र अर्नेस्ट थोमस नामका अफ्रिकी मूलका चार अमेरिकी युवकमाथि त्यतिबेला १७ वर्षकी नोरमा प्याजेटले बलात्कारको आरोप लगाएकी थिइन् । प्याजेटले कार बिग्रिएपछि चार अश्वेतले उनको अपहरण गरेर दुष्कर्म गरेको पुलिसलाई जानकारी दिएकी थिइन् ।

पुलिसले उनको बयानपछि चारैजनालाई पक्राउ गरेको थियो । सबैलाई निकै यातना दिइएको स्रोतले बताएको छ । यतिमात्र होइन, शेफर्ड नामका एक आरोपीको घरमा मानिसहरुले आगोसमेत लगाइदिएका थिए ।

रातभरी कुटपिटपछि अर्नेस्ट थोमसले जेलबाहिर भएको दलदलमा लुकेर भाग्ने कोसिस गरे । हजारबढी बन्दुकधारी पुलिसले ३० घण्टासम्म उनको खोजी गरे । शुक्रबार फ्लोरिडाको सदनमा पेश भएको रिपोर्ट अनुसार थोमसको मुद्दा चलाउनुअघि नै गोली हानी हत्या गरिएको थियो ।

यस्तै, दोस्रो विश्वयुद्धमा अमेरिकाका लागि लड्ने इरविन र शेफर्डलाई मृत्युदण्डको सजायँ सुनाइएको थियो । १६ वर्षका ग्रीनलीलाई नाबालिग भएका कारण जन्मकैदको सजायँ दिइएको थियो ।

पटकपटक हमलाः

तीनै आरोपीले जब सर्वोच्च अदालतमा अपिल गर्दा उनीहरुमाथि पुनः हमला भयो । त्यसपछि फ्लोरिडाको लेक काउन्टीका शेरिफ विलिस म्याकलले उनीहरुलाई हतकडी लगाएर शहर बाहिर लगेर गोली हाने । यसमा शेफर्डको तत्काल मृत्यु भयो भने इरविन गम्भीर रुपमा घाइते भए । यद्यपी, विलिसले आत्मरक्षाका लागि गोली चलाएको बताए ।

सर्वोच्च अदालले इरविनलाई मृत्युदण्डको सजायँ तोक्यो । केही समयपछि उनको सजाय आजीवन कारावासमा परिवर्तन भयो । सन् १९६९ मा इरविनको जेलमा नै मृत्यु भयो । अर्कोतर्फ ग्रीनलीलाई सन् १९६२ मा जेलबाट रिहा गरियो । उनको सन् २०१२ मा मृत्यु भयो ।

गभर्नरले भने, ‘दोषी होइन चारैजना पीडित थिए’

फ्लोरिडाको टेलाहासीमा अधिकारीसँगको छलफलको क्रममा बलात्कारको आरोप लगाउने नोरमा पेजेट (८६) पनि उपस्थित भइन् । उनले ती चारजनाले नै उनको बलात्कार गरेका कारण माफी दिन नहुने भन्दै अधिकारीसमक्ष अपिल गरिन् । यद्यपी, डिसेन्टिस गभर्नर हुनुअघि नै मामलालाई न्यायको असफलता बताउँदै चारैजनालाई माफी दिनुपर्ने बताइसकेका थिए ।

डिसेन्टिसले भनेका थिए, ‘चारैजनालाई त्यो अपराधको सजाय दिइयो जुन उनीहरुले गरेकै थिएनन् । उनीहरु दोषी नभई पीडित थिए ।’

फ्लोरिडाको सदनले पनि चारजनाको परिवारसँग गल्तीका लागि माफी मागेका थिए ।

 उपन्यासबाट सार्वजनिक भयो घटनाः

गिलबर्ट किंगको उपन्यास ‘डेविल इन द ग्रोव’ यी चार व्यक्तिमाथि आधारित छ । सन् २०१३ मा उनलाई यसका लागि पुलित्जर पुरस्कार पनि दिइएको थियो । किंगले यो उपन्यास शेफर्ड, इरविन, ग्रिनली र थोमसको रक्षामा उत्रिएका वकिल थर्गुड मार्शल (जो पछि अमेरिकी सर्वोच्च अदालतका न्यायाधिस बने) को जीवनलाई आधार बनाएर लेखेका थिए । किताब सार्वजनिक भएपछि चार पीडितको कहानी निकै चर्चित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप