बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा एक महिनाभित्र सातवटा बलात्कारको घटना सार्वजनिक

शनिबार, २८ पुस २०७५, १९ : ०७
शनिबार, २८ पुस २०७५

सिरहा । सिरहामा एक महिनाभित्र सात बलात्कारको घटना सार्वजनिक भएको छ । अधिकतम बलात्कारको घटना चाडपर्वको दिन भएको हो । कात्तिकको पहिलो सातामा मात्र चारअ‍ोटा बलात्कारको घटना सार्वजनिक भएको छ । 

सिरहाको सुखीपुर–२ मा एक २६ वर्षीया महिलालाई कात्तिक २७ गते बलात्कार गरेको सार्वजनिक भएको छ । बलात्कार भएको दुई दिनपछि उजुरी परेको प्रहरी बताएका छन् । उजुरी परेपछि सोही दिन सुखिपुर नपा–२ का ३० वर्षीय मोहमद समशुललाई इलाका प्रहरी कार्यालय महेशपुर पतारीले नियन्त्रण लिएको हो । 

यसैगरी भाइटिकाको दिन कात्तिक २३ गते राति सामूहिक बलात्कारको घटना सार्वजनिक भएको छ । १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । दुवै जनालाई सात जना युवकहरुले बलात्कार गरेका हुन् ।

उक्त घटनामा संलग्न रहेका तीनजनाको नाम खुलेको र चारजनाको नाम नखुलेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । लहान नपा–११ का २३ वर्षीय हरि चौधरी, २१ वर्षीय अनिल चौधरी र २१ वर्षीय सुनिल चौधरीको नाम खुलेको र बाँकी चारजनाको नाम नखुलेको डिएसपी थापाले बताए ।

उता, गोलबजार नपा–१२ का २५ वर्षीय आबिद अन्सारीविरूद्ध अपहरण तथा बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरिएको छ भने आरोपितले असोज १० गते पीडितकै घरमा बलात्कार गरेको दावी गरिएको छ । 

पछिल्लो पटक कात्तिक ८ गते बालिकालाई जनकपुर लगेर बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा कात्तिक ९ गते उजुरी दिएको थियो ।

यस्तै, बरियारपट्टीमा एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भारतको मधुवनी जिल्ला भरचौराहा पञ्चायत–१२ का ३७ वर्षीय कासिनाथ सिंह, २५ वर्षीय उगन सहनी, ३१ वर्षीय मुकेश सहनी र सोही पञ्चायत–९ का २५ वर्षीय विजय यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले कात्तिक ५ गते नियन्त्रण लिएको छ । 

यता, लहान २४ मा कात्तिक २ गते दुर्गा मेला हेरेर घर फर्किरहेकी एक १९ बर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तीन जनामाथि प्रहरीमा उजुरी परेको छ । उता, सिरहामा दुर्गा मेलाको नाच हेर्ने क्रममा एक युवतीलाई स्थानीय केही युवाले बलात्कारको प्रयास गरेको छ । सो घटनाको प्रहरीमा उजुरी परेको छैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप