शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामग्रीको अभावमा खेल्दै बक्सिङ खेलाडी

शनिबार, २८ पुस २०७५, १६ : १९
शनिबार, २८ पुस २०७५

धनगढी । ‘खेलाडीले राष्ट्रको झण्डा बोक्छन् तर राज्यले प्रशिक्षक र खेलाडीमा लगाउनु पर्ने लगानी लगाउन सकेको छैन,’ धनगढीमा भएको बक्सिङको छनोट प्रतियोगितामा ओलम्पियन तथा वरिष्ठ बक्सिङ प्रशिक्षक विष्णुबहादुर सिंहले भने । 

स्वस्थ्य शरीर बनाउन र आत्मरक्षाका लागि निकै उपयोगी मानिने बक्सिङ खेलप्रति युवा पिँढीको बढ्दो आकर्षणलाई खेल सामग्रीको अभावले भने नमिठो बनाइदिने गरेको छ । 

बक्सिङ रेफ्री सङ्घका सचिव दिनकलाल श्रेष्ठ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको समयमा बाहेक अन्य कुनैपनि समयमा बक्सिङको विकास र विस्तारका लागि राज्यको लगानी शून्य रहेको बताउँछन् ।
 
यो खेलमा राज्यबाट चाहिने जति लगानी हुन नसक्दा इच्छुक व्यक्ति, खेलाडी र संस्थाले व्यक्तिगत वा संस्थागत लगानीका साथै अरुबाट चन्दा मागेर बक्सिङको प्रतियोगिता सञ्चालन गरिरहनु परेको जनाइएको छ । 

बक्सिङ खेल खेलाउन चाहिने सामग्री प्रयाप्त नहुँदा जिल्लामा जसोतसो बक्सिङको प्रशिक्षण गर्नुपर्ने अवस्था रहेको रेफ्री शेरबहादुर साहुले बताए ।

‘बक्सिङ ग्लोब बिनै खाली हातले खेलाडीले प्रशिक्षण लिनुपरेको अवस्था छ,’ रेफ्री साहुले भने, ‘वर्षेनी प्रशिक्षक पनि घट्दै जाँदा इच्छुक हुनेले पनि प्रशिक्षण नपाएको अवस्था छ ।’ 

बक्सिङ खेलका लागि रिङ (बक्सिङ खेलाइने ठाउँ) बक्सिङ ग्लोब, प्याड, पञ्चिङ प्याड, किट ब्यागलगायतका खेल सामग्री चाहिने भए पनि यी सामग्रीको अभाव रहेको छ । 

बक्सिङ खेलाइने रिङको अभावकै कारण प्रदेश नं ५, कर्णाली प्रदेशका खेलाडीलाई सुदूर पश्चिम प्रदेशको धनगढी बोलाएर छनोट प्रतियोगिता सञ्चालन गर्नुपरेको छ । 

प्रदेश नं १, ३, ४ र सुदूर पश्चिम प्रदेशका क्षेत्रीय खेलकूद विकास समितिका कार्यालयमा मात्र रिङको व्यवस्था भए पनि अन्य प्रदेशमा छैन । 

राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत स्थायी नियुक्ति पाएका झण्डै डेढ दर्जन प्रशिक्षकले बक्सिङ खेलका लागि गर्नुपर्ने काम नपाएर तलब पारिश्रमिक लिइरहेको अवस्था छ ।

‘हाल स्थायी रुपमा कार्यरत प्रशिक्षक पाँच वर्षपछि उमेरका कारण अनिवार्य अवकाश पाउन लागेका छन्,’ रेफ्री सङ्घका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले भने, ‘पाँच वर्षपछि नेपालमा बक्सिङका कोच शून्य देखिने छन् ।’  

एशियाली, सार्क राष्ट्र र ओलम्पिक खेलकूदमा उत्कृष्ट प्रतिस्पर्धा गरी नेपाली बक्सिङका खेलाडीले देशको नाम चिनाएका छन् । 

दलबहादुर रानामगर, पुष्करध्वज शाही, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, रमेश मास्के, रविराज थापा, हरिशबहादुर चन्द, लक्ष्मण साउद, कुलबहादुर थापालगायतका बक्सिङका खेलाडीले विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको नाम चिनाएका थिए । 

यसैबीच राष्ट्रिय खेलकूद परिषद् र गणेशमानसिंह फाउण्डेशनको संयुक्त आयोजनामा यहाँ कर्णाली प्रदेश, सुदूर पश्चिम प्रदेश र प्रदेश नं ५ स्तरीय बक्सिङ खेलको छनोट प्रतियोगिता सम्पन्न भएको छ । 

आगामी माघ २२ देखि २६ सम्म काठमाडौँमा हुने राष्ट्रियस्तरको बक्सिङ प्रतियोगिताको तयारीको क्रममा यो छनोट प्रतियोगिता गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप