बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मान्छेपिच्छेको रोजाई, मान्छेपिच्छेका कथा

शनिबार, २८ पुस २०७५, १२ : ०२
शनिबार, २८ पुस २०७५

(हिमालयका दूत अर्थात लाङटाङ सद्भावनादूत अशोक सिलवाल केही समयअघि श्रीलङ्का गएका थिए । सगरमाथा उभिएको देशबाट सागरले घेरिएको देश गएका तिनै यात्रुको यात्रा संस्मरणको चौथो शृङ्खला हो यो ।) 

इन्टरनेटबाट पढिएका कुरा अर्कै हो । तर, आफ्नै पाइतालाले त्यही धर्तीमा टेकेर गरिने अनुभव अर्कै । 

जस्तो कि, केही दिनअघि मैले लाङटाङ ट्रेकबाट फर्किएको एउटा स्पेनिसलाई काठमाडौँ  घुमाएको थिएँ । उसलाई मैले प्रश्न गरें, ‘तिमीलाई नेपालको कुन पक्षले बढी आकर्षित गर्यो ?’

‘दालभात । हिमाली यात्रामा प्रत्येक साँझ र बिहानको दालभात मलाई जीवनकै सबैभन्दा मीठो परिकार लाग्यो । चामलको भात त सधैं उही हुने नै भयो, सरदर तरकारीको परिकार र दाल पनि उही हुन्थ्यो । त्यही बन्दा, त्यही आलु, त्यही कालो दाल । तर, प्रत्येक पटक उही खानामा पनि मैले फरक स्वाद पाएँ । र, हरेक पटक मलाई नेपाली दालभात उत्तिकै स्वादिस्ट लाग्यो । जीब्रोमैत्री । शरीरमैत्री । म अनेक देश गएँ, अनेक खाना खाएँ । तर, म नेपाल मलाई मनपर्ने खानाको देश भनेर सम्झिन्छु । किनभने, यहाँ खानामा मानिसले मन पनि मिसाएका हुँदा रहेछन्’, उसले नेपाली खानाबारे यतिमात्र भनेन, अरु थुप्रै अनुभव र विश्लेषण पनि सुनायो ।

ऊ कुनै चौरासी व्यन्जनको प्रशंसा गरिरहेको थिएन । हिमाली क्षेत्रमा पाइने सामान्य दालभातबारे उसको अनुभुति त्यहाँको उसको दैनिकीले दिलाएको थियो, खासमा । दिनभर उकालीओराली हिंड्दै गर्दा जागेको उसको भोक नै उसको जिब्रोको स्वाद बनेको थियो । तर, उसले त्यसलाई बिर्स्यो र खानामा उसको चित्त बस्यो ।

अघिल्लो मार्चमा लाङटाङमै भेटिएको एकजना अमेरिकनलाई मैले उही प्रश्न सोधेको थिएँ, ‘तिमीलाई नेपालको कुन पक्षले बढी आकर्षित गर्यो ?’
‘गुड स्लिप’, एक छिन पनि नसोची उसले भनेको थियो ।

‘मैले जीवनमा सबैभन्दा सुन्दर सुताई यही हिमालयको काखमा पाएँ । लस एन्जलसमा मेरो ठुलो घर छ । बेडरुम पनि निकै विलाशी छ । तर, मैले त्यहाँ कयौं रात अनिदै बिताएको छु । नेपालमा मेरो प्रत्येक रात 'टेन्सन फ्री' रहे । सामान्य ओछ्यानमा म मस्त निदाएँ’, उसले निष्कर्ष सुनायो, ‘यदि कोही साँच्चैको 'गुड स्लिप' चाहन्छ भने नेपालजस्तो कुनै देश छैन ।’

उसको हकमा पनि अघिको स्पेनिसकै कथा दोहोरिन्छ । लामो बाटो हिंडेपछि थाकेको शरीरलोई विलाशी बिछ्यौना होइन, पल्टने ठाउँ भए पुग्छ । आनन्दको निद्रा त्यसै लाग्छ । उसलाई भएको पनि त्यही थियो ।

नोभेम्बरको दोस्रो साता एकजना डचलाई ऊ पोखराबाट फर्केको भोलिपल्ट मैले केही घन्टा भक्तपुर घुमाएको थिएँ । उसलाई मैले नेदरल्यान्डस् र नेपालबीच के भिन्नता पायौ भनेर सोधेको थिएँ ।
‘पोखराबाट काठमाडौँ आउँदा मैले राजमार्ग छेऊका स–साना घर र छाप्राहरुका छानाबाट धुँवा फुस्फुसाइरहेको देखें । सडक छेऊछाउमा मानिसहरु दाउरा बालेर वरिपरी बसिरहेका थिए । तर, त्यहाँ आगो भन्दा धुँवा बढी देखिन्थ्यो । बाटा छेउछाउका स–साना होटलहरु चिया खान छिर्दा त्यहाँ पनि त्यस्तै धुवाँ देखें । यहाँ आइसकेपछि मलाई सिंगो भक्तपुर नै धुवाँको मीठो बास्नाजस्तो लाग्यो । नेपालको धुँवाले मलाई हाम्रा पुर्खाहरुको समयमा पुर्यायो’, छिनछिनमा चुरोट खानुपर्ने उसले नेपाललाई धुवाँको देश भन्दै अलग अनुभव सुनायो ।

याे पनि....

तिनको बनावटी मुस्कान र मेरो तयारी

अर्की एकजना सिंगापुरियन केटी थिई । केही बर्षअघि ऊसँग म पाटनका गल्लीहरु चहार्दै थिएँ । उसलाई अरु केही मतलब थिएन, उसले पाटनका पुराना घरका झ्यालहरुको फोटो खिचेरै दिन बिताई । उसका लागि नेपालको सबैभन्दा सुन्दर केही थियो भने ती झ्यालहरु नै थिए । ‘झ्याल र त्यसको बनावटले स्थानीय संस्कृति, सपना र उनीहरुको संघर्ष बुझ्न सकिन्छ’, उसले भनेकी थिई ।

पुरै काठमान्डु घुम्ने भनेर हिँडेको एउटा आइरिसले स्वयम्भुमै एकजना पसल्नीसँग गफ गरेर पुरै दिन बिताइदियो । ‘म नेपालमा पहाड हेर्न आएकै होइन । पहाड त जहाँ पनि छन् । मलाई यात्रामा अनायास भेटिएका मान्छेसँग गफ गर्न पाए केही चाहिँदैन । र, त्यसका लागि नेपाल मलाई उपयुक्त लाग्यो’, उसले भन्यो ।

टूर गाइडका रुपमा मैले विश्वका अनेक मान्छे भेटेको छु र तिनका लागि भिन्ना भिन्नै कुरा विशेष लागेको प्रतिक्रिया पाएको छु । कसैलाई यहाँका गल्ली विशेष सम्झना बने । कसैलाई अक्टोबरको नीलो नेपाली आकाश र उत्तरका उज्याला हिमाल । कसैलाई नगरकोटको सुर्योदय । कसैलाई ह्वाइट वाटर र्याफटिङ् । कसैलाई प्याराग्लाइडिङ । कसैलाई बन्जी । कसैलाई किर्तीपुरको बिहानी जीवन । कसैलाई चोभारका गुफाहरु । कसैलाई पशुपतिनाथको आर्यघाट । कसैलाई बेखबर उडिरहेका नेपाली आकाशका चीलहरु । कसैलाई नेपालीको मुस्कान ।

हो, धेरैले नेपाली मुस्कान नेपालका हिमालभन्दा पनि सुन्दर लाग्ने गरेको बताएका छन् मलाई । हुन पनि, सडक, चोक, गल्ली र आँगनहरुमा रमाउने मान्छे एयरहोस्टेसले जसरी पेसाको कर्तव्य मिसाएर हाँसी रहनु पर्दैन ।

‘तिमी साँच्चै यात्रा गर्दैछौ भने तिमीले सडक र गल्लीहरुलाई छाम्नुपर्छ, गल्लीमा भेटिने पात्रहरुसँग साक्षात्कार गर्नुपर्छ’, श्रीलंका जानुअघि अस्ट्रेलियाकी जुलीले मलाई पठाएकी लामो मेलमा भनेकी थिई ।

त्यसैले म आफ्नै अनुभुतिमा आफ्नै खालको अलग श्रीलंकालाई सम्झँदै नेपाल फर्कन चाहन्थें । म श्रीलंकालाई छाम्न चाहन्थें । मेरो योजना थियो, म त्यो देशको पत्रपत्र बुझ्नेछु । अनेक पात्रहरुसँग अन्तर्वार्ता गर्नेछु । त्यहाँको प्रकृति, जीवन र संस्कृतिलाई गहिरिएर बुझ्नेछ ।

श्रीलंकामा मैले सहज रुपले भेट्न र कुरा गर्न सक्ने पात्रहरु भनेका ड्राइभर, कन्डक्टर, वेटर, सेक्युरिटी, गाइड र कार्यक्रम आयोजकहरु हुन् । म तिनीहरुसँग कुरा गर्नेछु र नजिकै भएर तिनीहरुको व्यवहारलाई अवलोकन गर्नेछु । स–साना छाप्रे होटलहरुमा चिया खान जानेछु । र, बुझ्ने प्रयत्न गर्नेछु, श्रीलंकन जीवनलाई । यद्यपि कार्यक्रमतालिका अनुसार हामी तारे होटलमा बस्दै थियौं । त्यो एक विरोधाभाष थियो तर त्यो मेरो लागि अवसर पनि थियो । तारे होटल र छाप्रे होटल दुवैको संयुक्त अवलोकन अनुभव श्रीलंका केलाउन अझ प्रभावकारी हुनेछ भन्ने मलाई लागिरहेको थियो । 

काठमाडौँदेखि दुबाइसम्मको उडान अवधि यति हुनेछ । अहिले हामी यो उचाईमा छौं । तापक्रम यति छ । जहाजमा बेलाबेलामा यस्तै सन्देश बजिरहेको थियो । म नेपाली आकाशमै थिएँ । हिमाल झनै खुल्दै थिए ।

याे पनि....

श्रीलंका सिरिजस्:  हुलियाले कहिले हँसायो, कहिले रुवायो

अन्माएकी दुलहीजस्ती उदाश र खुशी दुवै थिएँ म । उदास किन ? केही दिन मैले मेरो माटो टेक्न पाउने छैन । घरको खाना खान पाउने छैन । छोरीसँग हल्का पिटापिट गरेर झगडा गर्न पाउने छैन । काठमाडौँका गल्ली र रेस्टुरेन्टहरु चहार्न पाउने छैन । आत्मीयहरुसँगका कफी विथ सिगरेट मीस हुनेछ ।

‘लक्कीली हिमालपट्टिकै सीट पाइएछ’, सँगैको बीचसीटमा परेकी केटीले उडेको केही मिनेटमा भनी । त्यसरी उसकै बोलीबाट हामीबीच सम्वाद सुरु भयो । ऊ नेपालमा नौ दिन घुमेर स्पेन फर्किदै रहिछ । दुबईमा दुई रात बिताउने रे ।

काठमाडौँ उपत्यकाका तीनवटै (वसन्तपुर, पाटन, भक्तपुर) दरबार स्क्वायर, स्वयम्भु, पशुपति र बौद्धसमेत घुमेकी उसलाई मैले सोधें, ‘कुनचाहिँ बेस्ट लाग्यो’
‘भिन्न । सबैका आ–आफ्नै किसिमले सब एक से एक’, सुरुमा डिप्लोम्यट बनेकी उसले एक छिन सोचेर भनी, ‘तर, बौद्ध सबैभन्दा बेस्ट ।’

ऊ क्याथोलिक रहिछ तर उसलाई कट्टर हुनु छैन रे । ऊ ‘रिच्युल्स’हरु त्यति फलो पनि गर्दिन रे ।

‘म आफुलाई क्याथोलिक भन्ने गर्छु तर मलाई म क्याथोलिक हुँ भन्ने पनि लाग्दैन । सानो छँदाको कुरा बेग्लै थियो । ड्याड निकै कट्टर हुनुहुन्थ्यो । उहाँ त अफिसियल्ली नै चर्ची हुनुहुन्थ्यो । उहाँकै कारण पनि हामीले नियमित चर्च जानु पर्थ्यो । तर, मम् चर्च जानैपर्ने धार्मिक शास्त्रीयतामा विश्वास गर्नुहुन्थेन । उहाँहरुबीच त्यसकै निहुँमा झगडासमेत पर्थ्यो । तर, अहिले ड्याड पनि नरम हुनु भएको छ’, कुरैकुरामा उसले थपी, ‘नेपालमा धर्मका लागि मानिस होइन्, मानिसका लागि धर्म रहेछ । हिन्दु भन्नेहरु बुद्धिस्ट मन्दिरमा पुजा गर्दै थिए । बुद्धिस्ट भन्नेहरु हिन्दु मन्दिरमा, कस्तो राम्रो ।’
उसकै लोलीमा मैले पनि बोलि दिएँ, ‘धेरैलाई लाग्छ, नेपाल धर्महरुको देश हो । तर, खासमा नेपाल त दर्शन, संस्कृति र परम्पराहरुको देश हो । तिनै दर्शन, संस्कृति र परम्परालाई कन्टिन्यु गर्ने अनेक औजारमध्ये धर्म पनि एक हो।'

ऊ विस्कुट खान थाली । दुई पीस खाइसकेपछि मलाई पनि अफर गरी । मैले एक किस खाइदिएँ । सरी ! मैले एक पिस खाइदिएँ ।

भुगोलमा हिमाल यतै छुट्यो । तर, मनमा हिमालको आर्शिवाद बोकेर उड्दै थिएँ । म हिन्द महासागरले घेरिएको देश जाँदै थिएँ । भुपरिवेष्ठित नेपालबाट जलपरिवेष्ठित श्रीलंका जाँदै थिएँ । समुद्री सतहबाट ८ हजार ८ सय ४८ मिटरको विश्वशीर सगरमाथाको देशबाट समुद्री सतहमा जाँदै थिएँ । समुन्द्र किनारको कोलम्बो शहर जाँदै थिएँ । सगरको देशबाट सागरको देश जाँदै थिएँ ।

एयरहोस्टेस एउटी नेपाली थिई । दुइटी चाँही युरोपियन,  स्लिम र हँसिलीसँग पटक–पटक आँखा जुधे मेरा ।

पश्चिम क्षितिजले राताम्मे लाली फाल्न अझै छाडिसकेको थिएन । तल पृथ्वीमा प्लेनको झ्यालबाट जे देखिदै थिए, ती धमिला विगतजस्ता देखिन थाले । प्लेन बादलभन्दा माथि माथि दौडिरहेको थियो । एक छिनमा बादल पनि कता हराएछ । तलमाथि दुवैतिर नीलो मात्र देखियो । सागर र आकाशको एकनासको नीलोमा मैलेसंगै सीटकी स्पेनिस केटीको नीलो आँखा भने देखिरहेको थिइनँ । अघिदेखि नै ऊ निदाइरहेकी थिई ।

याे पनि.....

श्रीलङ्का सिरिज : हुलियाले मान्छेलाई खै केके बनाउँछ

बिस्तारै त्यही नीलो पनि हट्यो । साँझ बाक्लिन थालिसकेको थियो । संसार अध्यारिँन थाल्यो ।

मभन्दा पछिल्लो सीटमा दुई नेपाली केटी थिए । उनीहरु एकअर्कामा साथी रहेछन् । सँगैको अर्को सीटमा नेपाली केटा थियो । उनीहरु तिनै जना दुबई जाँदै रहेछन् । केही बर्षदेखि उनीहरु त्यहाँ काम गर्दारहेछन् । तर, उनीहरु दुबई नपुग्दै परदेशी जीवनप्रति दिक्दारी फलाक्न थालिसकेका थिए । एउटी भन्दै थिई, अहिले नै घर जाउँ लागिसक्यो । अर्की चाहिँ उसलाई सम्झाउँदै थिई । तर, मैले उनीहरुसँग एकाध पटक हाँस्नुबाहेक बोलचाल गरिनँ ।

प्यासेज छेउको अर्को सीटमा कपाल सेतै फुलेको अधवैशें थियो । उसको कपाल फुलेर सेतो भएको थियो कि जन्मजात ? सोच्दै थिएँ । रमाइलो त के भने उसलाई किताबले पढिरहेको थियो, उसले होइन । उसको काखको किताब खुल्ला थियो । पेज नम्बर ४३ र ४४ । किताबले निदाइरहेको उसलाई पढेर के सोच्दै थियो होला भनेर म सोच्दै थिएँ !

रात पर्दै गएपछि मैले मेरै टाउको माथिको बत्ती बालें । टाउको भित्रको बत्ती चाहिँ कसले बालिदिने हो ?

तल शहर कता हो कता थाहा थिएन । तर, बेला बेला फाट्फुट्ट देखिने ती शहर वा बस्ती उस्तै गरी बलिरहेको थियो । मानौं, तल तिहार चलिरहेको छ । लक्ष्मीपुजा चलिरहेको छ ।
तल प्रकृतिको अध्याँरोमा उज्यालाका थुप्राहरु थिए । र, ती वास्तवमा मान्छेको थुप्रा थिए । उज्यालो मानवनिर्मित थियो ।

दुबई एयरपोर्ट पुग्दा रात निकै रंगीन मात्र देखिन्थेन, झरीले निथ्रुक्क भिजेको पनि थियो ।

फ्लाई दुबईबाट बाहिरिएर बसबाट अलि पर पुगेपछि लाइन लागेर अगाडि बढ्दै गर्दा लाइन दुईतिर छुट्टियो । एउटा लाइन एक्जिटतिर अर्को ट्रान्जिटतिर । त्यहाँ बहुसंख्यक नेपाली थिए । ती नेपाली जो कामका लागि दुबई र दुबई हुँदै अन्यत्र जाँदै थिए ।

मैले दुबाइ एयरपोर्टमा ती घन्टा बिताएँ । साना साइजका दुइटा समासो र एक बोतल मिनी मिनरल वाटर किनें । जाबो त्यत्तिको मैले ५ डलर तिर्नुपर्यो । त्यसो त प्लेनमै पनि एउटा हो कि दुईटा रोटीको पनि ५ डलर नै तिरेको थिएँ । मनमनै नेपाली रुपैयाँमा हिसाब गरें, १ हजार १ सय रुपैयाँभन्दा बढी नै झ्वाम भएछ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सिलवाल
अशोक सिलवाल

पत्रकार/ लेखक  तथा   टुर-ट्रेकिङ गाइड  सिलवाल लाङटाङ सद्भावना दूत पनि हुन् ।  उनी  नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का ट्रेकिङ प्रशिक्षकसमेत रहेका छन् । 

लेखकबाट थप