केन्द्रीय संस्करण

कविता : इच्छा

explore access_timeपुस २८, २०७५ chat_bubble_outline0

मनोज लम्साल 

असीमित भोक जगाएर कर्मको
सपनालाई म ब्युझाँउन सकूँ
काँडाहरू हटाएर पथको 
दिव्य मार्ग म बनाउन सकूँ

विचलन मनमा कहीँकतै नआओस् 
चट्टानसरी अडिग बन्न म सकूँ 
तिर्खाएका काकाकुल मनहरूलाई 
पानी बनेर मेटाउन सकूँ ।

हारेर मुर्झाएका फूलहरूमा 
लाली बनेर झर्न म सकूँ
अभावले पिल्सिएका ओठहरूलाई  
आशा बनी हरदम हँसाउन सकूँ 
अँध्यारोको कहरमा बाटो भुल्नेहरूलाई
प्रकाश बनी बाटो देखाउन सकूँ
अन्यायको जाँतोमा पिसिएकाहरूलाई 
न्यायरूपी डोरी बनी बाध्न म  सकूँ 

आफूभित्रका हरेक कमजोरीलाई 
खुल्ला हृदयले स्वीकार गर्न म सकूँ 
आफूलाई आफैले प्रश्न गर्दै हरदम 
एक असल मानिस बनी देखाउन सकूँ


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha