केन्द्रीय संस्करण

कविता : समय

explore access_timeपुस २८, २०७५ chat_bubble_outline0

–लक्ष्मण सिटौला

     समय 
     तिम्ले र मैले चाहेर रोकिने भए 
     हाम्रो त्यो पहिलो भेटलाई
     पहिलो हेराइलाई 
     पहिलो मुस्कानलाई
     पहिलो स्पर्शलाई 
     रोकिरहन्थे नि !

     चौबाटोमा घण्टौँ कुर्दाको
     त्यो छट्पटी  
     तिम्रो आगमनको त्यो व्यग्र प्रतीक्षा 
     कति मीठो थियो त्यो सादृश्य अभिजिता 
     तिम्लाई कुर्दा पनि आनन्द आइरहेको पल
     एक प्रकारको माधूर्य मौनता !

     छोडेर हिँड्न मन लागेन साँझको त्यो चोक
     स्वयम्भुको देब्रे पाटो
     चिसो बतासले गालामा  छोएर गएको
     स्कुल अगाडिको त्यो बाटो 
     तिम्लाई कुरिरहे 
     पछाडिबाट आयौ
     नदेख्दै मलाई नुतन आभाष भो
     तिमीसँगै आइरहेको तिम्रो सुवास 
     मुटुको अत्तर मगमगायो !

    रोकेर रोकिने भए समय
    हाम्रो त्यो पुलकित  हेराइ
    हामीलाई छोडेर गएको बिहानको
    शारदीय घाम
    रोकिरहन्थे हत्केलामा

    पहिलो भेट पहिलो स्पर्शबोधिता
    पहिलो उत्कन्ठ 
    पहिलो बोलाई
    पहिलो सम्बोधन 
    खै कुन्नि बिर्सिएँ !
    के भनेर बोलाएकी थियौ मलाई 
    अलिकति सम्झना भए भनन
    फेरि त्यो मीठो अतीततिर फर्किन मनलाग्यो 
    
   समयको नदी रोकिँदैन 
   नरोकिने नाम नै समय हो
   जसै आकाशमा चराहरू रोकिँदैनन्
   जिन्दगी जसै रोकिन्न
   रोक्न सक्ने भए म
   हिजो हामीले एक अर्कालाई छुँदाको 
   त्यो पहिलो समयलाई रोक्ने थिए
   त्यस्तै न्यानो त्यस्तै प्रदिप्तता 
   त्यस्तै त्यस्तै मीठो आहा !

शिवपुरी गाउँपालिका, नुवाकोट 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha