शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : मोडल अफ दि इयर

शनिबार, २८ पुस २०७५, ११ : १४
शनिबार, २८ पुस २०७५

अर्जुन थापा

गाडीको सिसा हल्का खोल्छिन् । शीलत हावाले अङ्कमाल गरे जस्तो हुन्छ उनलाई । सुन्दर शान्त रूपमा रहेको समुन्द्रको किनारै किनारामा बनेको बाटोमा गाडी गुडी राखेको हुन्छ । उनको ध्यान पूरै अस्ताउँदै गरेको सूर्यमा हुन्छ ।

गाडी रोक्ने अनुरोध गर्छिन् र लस्करै राखिएको मेचमा गएर बस्छिन् । आफ्नै गतिमा डुबुल्की मार्दै गरेको सूर्यको सुनौला किरण छरिएर चम्किरहेको सफा आकाश । आआफ्ना वासस्थानका लागि फर्किँदै गरेका हुलका हुल पन्छीहरू । समुन्द्रको छालले निकालेका तरङ्ग । अँगालोमा बाँधिएर, हातमा हात समाएर बसेका जोडीहरू । सफा र स्पष्ट देखिएको दृश्यहरू, क्यानभासमा कोरिएका सुन्दर चित्र जस्तै लाग्छ उनलाई । दुई हात फिजाएर छरिएर रहेका सुगन्धलाई निमन्त्रणा गर्छिन् । 

    “हजुर, अब हिँड्न पाए हुने सबै हजुरको प्रतीक्षामा छन्”, भनेको आवाजतर्फ फर्कंदै गाडीमा बस्छिन् । 
 

   ठूलो हल बाहिर हजारौँ सङ्ख्याको भीडको बीचमा ओछ्याइएको रातो कार्पेट । सयौँ सङ्ख्यामा क्यामेरा र माइकहरू लिएर फोटो खिच्न बसेका फोटोग्राफरहरू । गाडीबाट ओर्लेर रातो कार्पेटतिर बढ्दै जाँदा ताली र क्यामेराका क्लिक क्लिक गरेका आवाजहरू तथा अटोग्राफका लागि तँछाड मछाड गर्दै गरेका भीडबाट बढ्दै भित्र पुग्छिन् उनी । अगाडिपट्टि राखिएको मेचमा गएर बस्छिन् । कार्यक्रम सुरु भइसकेको हुन्छ । 
    “हामी आजको यस कार्यक्रमको महत्त्वपूर्ण क्षणमा आइपुगेका छौँ । यस वर्षको “मोडल अफ दि इयर, २०१८” गोज टु मिस माधुरी शाह । स्टेजबाट अनाउन्स हुन्छ । 
चारैतिर तालीको आवाज सुनिन थाल्छ । उनी विस्तारै स्टेजमा गएर सबैलाई अभिनन्दन गर्दै उक्त ट्रफी समात्छिन् । 

   “यस खुशीको घडीमा केही भन्न चाहनु हुन्छ तपाईंको शुभचिन्तकहरूलाई ?” उद्घोषिकाले माइक उनको हातमा थमाउँदै भन्छिन् । 

“धन्यवाद, सबैलाई आज म जे छु मात्र तपाईंहरूको कारण छु र आजको सम्पूर्ण श्रय यहाँहरूको नाममा । थ्याङ्क्यु वान्स एगेन एन्ड स्पेसल्ली फर राकेश” भन्दै अघिकै स्थानमा गएर बस्छिन् । 

  
बिहानको दस बजेको अपोइन्टमेन्ट अनुसार पत्रकारहरू उनलाई कुरिराखेका हुन्छन्, होटलको लनीमा ।

“नमस्कार, धेरै कुर्न त परेन नि तपाईंहरूलाई ?” भन्दै सोफामा आएर बस्छिन् । 

“ठीक समयमा आउनुभएको छ । बरू हामीले चाँडै आएर डिस्टर्ब पो गर्यौँ कि ?” पत्रकारले सोध्छिन् ।

“नो, नट याट अल ।”

“अब सुरु गरौँ हामी ?” मुस्कुराउँदै प्रश्न गर्छिन् पत्रकार ।

“प्लिज ।”

“सबैभन्दा पहिला त यस वर्षको मोडल अफ दि इयर अवार्ड प्राप्त गर्नुभएकोमा बधाई छ ।”
“थ्याङ्क्यु सो मच ।”

“विश्वभरिका मोडलहरूलाई पछि पार्दै जित प्राप्त गर्छु भन्ने लागेको थियो ?”

“जित्छु नै भन्ने थिएन तर आशा चाहिँ धेरै थियो ।”

“नेपालको सानो गाउँमा जन्म लिएर यहाँसम्मको यात्रा पार गर्न कतिको गाह्रो भयो ? केही बताइदिनुहुन्छ, तपाईंका शुभचिन्तकहरूलाई ।”

“रियल्ली द्याट वाज... दुःखपीडाका साथ बितेका समयको चाङका चाङ किताबहरू छन् । मानसिक द्वन्द्व, विरोधाभास र आफ्नैले दिएका चोटका आलो चिहान, जुन अझै खोतल्दै छन् र पुर्दै छु म ।”
“कहाली लाग्दैन ती सब सम्झिँदा ?”

“पहिला धेरै लाग्थ्यो । साँझ पर्न पाएको छैन खुट्टाहरू डरले काँप्न थाल्थे । मलाई  नै किन यस्तो बनायौ भनेर मन्दिर अगाडि धेरै रोएको छु ।”
“केही व्यक्तिगत प्रश्न गर्न सक्छु ?”

“हा हा हा ! खुल्ला किताब हु म । के नै लुकेका छन् र मेरो कुराहरू ।”

“तपाईंले हिजो अन्तिममा राकेश भनेर सम्बोधन गर्नुभएको थियो, उहाँ नै हो तपाईंको प्रेरणाको स्रोत ?”

“आज म एक डाक्टर तथा मोडल हुनुमा ठूलो हात छ उसको । असल मित्र हो मेरो ऊ ।”

“तपाईं र तपार्इंको टिम एउटा ठूलो अनुसन्धानको चुचुरोमा पुगिसक्नुभएको भन्ने सुनेका छौँ । केही जान्न सक्छौँ ?”

“समय आएपछि सबै थाहा पाउनुहुनेछ । हामी धेरै नजिक पुगिसकेका छौँ ।”  

लामो इन्टरभ्युपछि उनी कोठामा फर्किन्छिन् । होटलको ठूलो पर्दा उघारी बाहिर देखिएको निलो समुन्द्रलाई हेर्न थाल्छिन् ।

थाहा पाउने भएदेखि घरमै दाजुभाइहरूबाट अपहेलित हुनुपरेको उनलाई हरेक कुरामा पक्षपात गरिन्थ्यो । घर, आफन्त, साथीभाइ र समाजबाट हरेक पल भोग्नुपरेका पीडाहरू । उनका लागि प्रयोग गरिने अपशब्दहरू र ती सब सुनेर बस्न बाध्य थिइन् उनी । साथीभाइका त कुरै छाडौँ आफन्तैबाट पटक पटक यौन हिंसाको सिकार हुनुपरेको थियो । 

ज्योतिको किरण बनेर आएको थियो उनको जिवनमा राकेश । छोटो समयमै एउटा असल मित्रबाट धेरै माथि पुगिसकेका थिए दुवै । अँध्यारो रातलाई सूर्यको किरणले ढाकिदिए जस्तै अन्धकार बनिरहेको उनको जीवन एक पटक प्रकाशमय भएको थियो । 

   “तिमी जे छौ त्यसैमा रमाउन सिक, कसले के भन्यो भनेर मन दुखाएर बस्यौ भने यस दलदलबाट कहिल्यै माथि निस्कन सक्ने छैनौँ तिमी । जे हौ, त्यसैमा गर्व गर्न सिक र यो समाजलाई देखाई देऊ कि मान्छेले चाहेमा जे पनि गर्न सक्छ । जुन समाजमा हामी बाँचिराखेका छौँ । त्यस समाजले हामीलाई हेर्ने दृष्टिकोेणलाई नै बदल्न सक्नुपर्छ अनि मात्र सफल हुने छौँ । हो, यो काम भनेजस्तो सजिलो छैन तर आँट गरेर राम्रो गर्छु भन्नेलाई सदैव भगवानको साथ हुनेछ । तिमी, म र सबै जना उनै भगवानको सृष्टि हौँ ।” भन्दै उनलाई सम्झाएको थियो । 

आफन्त, साथीभाइ तथा समाजले उनीहरूको सम्बन्धलाई मजाक बनाए पनि सधैँ उनको साथ दिन्थ्यो राकेश । उसले देखाएको बाटोलाई पछ्याउँदै एमबीबीएस उत्तीर्ण गरेर फुल स्कलरसिपमा अगाडिको पढाइको लागि यूके आएकी थिइन् । पढाइ सँगसँगै आफ्नो सौखलाई निरन्तरता दिँदै आज एक मोडल बन्न सफल भएकी थिइन् । 

  यूके आएकी केही महिनामा नै उनीहरूको प्रेममा ग्रहण लाग्न पुग्यो । एउटा सच्चा साथी, प्रेमी र आदर्शको रूपमा लिएकी थिइन् राकेशलाई, जसले एक शब्द नसोधी अर्कैसँग विवाह गरेको थियो । प्रेमको अर्थ सिकाएर बाँच्नुको आभाष दिलाएको मान्छेले बीच बाटोमै अलपत्र छाडिदिएको थियो उनलाई । राकेशको साथमा एउटा छुट्टै संसार बनाउँछु भन्ने सपना तुहिएको थियो उनको । 

  “आमाबाबु, आफन्त र समाज वा तिमीमध्ये एक छान्नुपर्ने बाध्यतामा लाचार भएर यो निर्णय लिए मैले । माफीको म योग्य छैन तर पनि तिम्रो मन ठूलो छ । मेरो बाध्यतालाई बुझ्ने छ्यौ भन्ने आशा राखेको छु ।” राकेशले  अन्तिम पटक म्यासेज गरेको थियो ।

  जमेको सिमन्टी जस्तै आफैभित्र, अव्यक्त रूपमा खाली हात, रित्तो मन लिएर कैयौँ दिन आफूलाई एउटै कोठामा थुनिराखिन्, रक्सीमा डुबाएर । चुरोटका धुँवामा उडाएर र अन्तमा यो निक्र्योल निकालिन कि मायामा पाएर मात्र खुशी हुनुभन्दा पनि जे–जति राकेशको साथ र माया पाइन्, त्यसलाई एउटा ढाल बनाएर अगाडि बढ्ने र जुन कारण आज राकेशले उनको साथ छोड्यो । समाजले उनलाई अलग गर्यो । ती सबको अगाडि आफू एक नमुना बनेर देखाउँछु भन्ने अठोटका साथ अगाडि बढिन् । 

  “हेल्लो, बधाई छ तिमीलाई । हाम्रो अनुसन्धान सफल भएको छ । भोलि प्रेसको माध्यमबाट संसारभरि यो खुशीको खबर बाहिर आउने छ ।” साथीले फोनमा भन्छ । 
खुशीका आँशुहरू तप्प तप्प झरिराखेको हुन्छ उनको आँखाबाट ।

“सानो देश नेपालबाट त्यसमा तेस्रो लिङ्गी हुँदाहुँदै पनि एकपछि अर्को सफलता हात पार्नुभएकोमा बधाई छ ।”

“कल्पना नै गर्न नसकिने अद्भूत चमत्कारको रूपमा एक पुरुषले पनि बच्चा जन्माउन सक्छ भन्ने वैज्ञानिक चमत्कारको सफल परीक्षण गर्नु भएकोमा बधाई छ ।”

“कहिले सम्ममा ती पीडित व्यक्तिहरूले यसको फाइदा लिन सक्छन् ?”

“आफू स्वयम् पुरुषबाट नारी भएकै कारण यसमा सफलता मिलेको भन्दा गलत हुन्छ कि हुँदैन ?”

“विवाहको बारेमा के योजना छ ? तपाईंको मन चोर्ने राजकुमार भेटाइसक्नुभएकोे छ कि छैन अझै ?”

“तेस्रो लिङ्गी भएको कारण पहिला तथा अझै भेदभाव हुन्छ कि हुँदैन तपाईंसँग ?”

   यस्ता एकपछि अर्को प्रश्नहरूको जवाफ उनले मधुर स्वरमा दिँदै गइन् ।

[email protected]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप