केन्द्रीय संस्करण
विचार दृष्टिकोण

जनहितविरुद्ध सलबलाउने मानव देहधारी बहुला कुकुरहरु

person explore access_timeपुस २८, २०७५ chat_bubble_outline0
प्रतीकात्मक तस्विर । wafflesatnoon.com
मुक्तिबन्धु

रातोपाटी

वर्षौंअगाडिको कुरा हो । नदीकिनारको हाम्रो गाउँमा पल्ला गाउँतिरबाट दगुर्दै आएको एउटा बहुलाहा कुकुर गौंडा उक्लन खोज्दा नदीको एउटा दहमा खसेछ । बहुलाहा कुकुर यसै त पानीबाट डराउने, त्यसमा पनि पानीमै खसेपछि धेरै सलबलाएछ । त्यहीँ नजिकै माछा मारिरहेका एक जना माझी दाइलाई दया लागेछ । पानीमा खसेको त्यस बहुलाहा कुकुरलाई उनले  मिहिनेत गरेरै पाखामा निकालिदिएछन् ।

पाखामा निस्केपछि त्यस कुकुरले पहिले त तिनै माझी दाइलाई झम्ट्यो, टोक्यो । त्यसपछि उसका अगाडि परेका एक एकलाई झम्टँदै, टोक्दै गाउँमा पसेर बस्तुभाउलाई समेत पनि टोक्यो । हाहाकार मच्चिएपछि गाउँलेहरु जुटेर ढुंगा हान्दै लखेट्दै त्यस कुकुरलाई मारे र खाडल खनेर गाडे ।

त्यस बहुलाहा कुकुरको टोकाइले गाउँमा केही मानिस र बस्तुभाउको ज्यान गयो ।

पानीमा खसेको बहुला कुकुरलाई पानीबाहिर निस्कन नदिई त्यहीँ सिध्याइदिनुपर्छ भन्ने चिनियाँ महान् साहित्यकार लु स्युनको निबन्धमा पढिएका कुरा त्यति बेला मैले छर्लंङ्ग बुझेँ । लु स्युनका निबन्धमा जनहितविरुद्ध सलबलाउने मानव देहधारी बहुला कुकुरहरुको सन्दर्भमा यो धारणा व्यक्त गरिएको थियो ।

जहिले म ०४८ को आम निर्वाचनपछिका नेपाली कांग्रेसहरुलाई सम्झन्छु, तिनीहरुले टोकेर ध्वस्त पारेका नेपालका उद्योग प्रतिष्ठानहरुलाई सम्झन्छु, नेपालको अर्थतन्त्र र राजनीतिक–संस्कृतिलाई सम्झन्छु, मलाई गाउँको त्यो बहुला कुकुर र पानीको सम्झना आउँछ । दयालु माझी दाइको सम्झना आउँछ । लु स्युनको निबन्धको सम्झना आउँछ ।

नामावशेष भएर पानीमा डुबिसकेको नेपाली कांग्रेसलाई दयालु नेपाली जनताले ०४८ मा नदी किनारमा उतारिदिएका थिए । जसको प्रतिफल नेपाली जनताले विकास निर्माणमा झण्डै तीस वर्ष पछि परेर चुकाएका छौं । नेपाली जनताले नेपाली कांग्रेसलाई नीतिगत र प्रवृत्तिगत रुपमा चिनेर व्यवहार गर्न खोजेको त यो पछिल्लो आमनिर्वाचनमा मात्र हो । त्यो पनि पूर्ण रुपमा होइन ।

गाउँमा एक जना काका प्रत्येक भेटमा एउटा प्रहसन सुनाउनु हुन्थ्यो । ‘एक पटक बस्तीका मरनघाटनजिकै बाटोमा एक वैद्य र एक पुरेतको जम्काभेट भएछ । वैद्यले घाटतिर देखाउँदै भनेछ, पुरेतजी, तपाइँलाई शान्तिस्वस्ति गर्न बोलाको पनि होइन, मलाई उपचार गर्न बोलाको पनि होइन, त्यसै त्यत्तिकै बस्तीको मान्छे कसरी मरेछ र यो मरनघाटमा पोलिन आइपुगेछ हँ ?’ मलाई लाग्छ, लाउडा, धमिजा आ िदइत्यादि पचाइआएका कांग्रेसलाई लाग्दो हो– ‘सत्तामा अहिले हामी त छैनौं तै पनि यत्रा यत्रा भ्रष्टाचार, अत्याचार र अनाचारका काण्ड कसरी भइरहेका छन् हँ ? अहिलेका सत्तासीनहरु प्नि झण्डै झण्डै हाम्रा कांग्रेसीबन्धुहरु जस्तै पो छन् त !?’

अहिले बनेका भ्रष्टाचारका कहाली लाग्दा खाडलहरु,  र जनप्रतिनिधिहरुमा उम्रे–झाङ्गिएका उग्र–प्रलोभनका बिखालु लहराहरुको गाइजात्रे प्रदर्शनी अवलोकन गर्दा नेपाली कांग्रेसका मर्मज्ञ नेताहरुलाई आफ्ना चरित्रको सङ्क्रामक क्षमताप्रति  रोमान्चकारी गौरव जागेको हुनु पर्छ !

हामी नेपाली जनताका लागि भने यो यस्तो कांग्रेसी गौरव गम्भीर चिन्ताको विषय बनेको छ । वर्तमानको नेकपा नामधारी राजनीतिक दल असली नेकपा बन्न नसके पनि असली नेकाङ्ग्रेसमा अनुदित नहोस् भन्ने आजका नेपाली जनताको  हार्दिक चाहना हो ।

नेपाली कांग्रेस आफ्नो स्थापित यथास्थितिको विषाक्त सांस्कृतिक धरातलमा लडेर पनि उठ्ने सपना देख्न सक्छ । उसले आत्मसात् गरेको वर्ग र संस्कृतिमा यो स्वाभाविक हो । नेकपा नामधारी दलका नेता कार्यकर्ताहरुले भ्रष्ट यथास्थितिको हूबहू कांग्रेसी अनुशरण–म्याराथुनमा  लडेर पनि उठ्ने सपना देख्नु भने अति दुःखद र भयङ्कर भूलसिवाय अरु केही सावित नहुन सक्छ !      

सांस्कृतिक अनुशरणबाट प्रकृति र प्रवृत्ति नै समान बनिसकेपछि वर्तमान नेकपाका सत्तासीनहरुलाई चाहेर पनि जनअपेक्षित रुपमा फेरिन गाह्रो हुनसक्छ । पन्चतन्त्रका विष्णु शर्मा भन्थे, ‘मन मस्तिष्कमा छाप बसिसकेपछि मेट्न गाह्रो हुन्छ ।’ एक जना नामुद अंग्रेजी कविले आफ्नो कवितामा भनेका छन् ‘खेती बिग्रियो भने त्यसको कारण माटोमा होइन, आफ्नो खेतीको तौरतरिकामा खोज्नुपर्छ ।’ प्रकारान्तरले यो संस्कृतिको सवाल हो । नेपालको राजनीतिले जनताका सर्वाङ्गीण हित– भलाइतर्फ गति लिन नसक्नुमा राजनीति गर्नेहरुको संस्कार संस्कृति नै प्रमुख कारण रहँदै आएको यथार्थ छर्लंगै छ ।

काङ्ंग्रेसीहरु भ्रष्टाचारमा पाकेका हुन्छन्, फत्केका हुन्छन् । आलोचना सुनेर उम्लँदैनन्, उर्तिर्र्सँँदैनन् । उनीहरुले आलोचना पचाउन पनि सक्छन् । जनतालाई कांग्रेसीहरुको यो ज्याद्रोपना असह्य लाग्छ । नेकपा नामक दलका सत्तासीनहरु संस्कृति र क्रियाकलापमा कांग्रेसकै पाइला पछ्याएर दगुर्छन्, तर आलोचना सहन सक्दैनन् । जनतालाई यो छिचरोपन पनि त्यत्तिकै असह्य लाग्न थालेको छ ।

कम्युनिष्ट नाम छ । पार्टीभित्र आफ्नो आलोचना आफै गर । अर्थात् आत्मआलोचना गर । साँचो बोल । साबिती बयान देऊ । समयमा गल्ती सुधार । जनतालाई सुसूचित गर । अहिलेका सत्तासीनहरुबाट नेपाली जनताले चाहेको यत्ति नै हो ।

गरीब जनताका प्रतिनिधिहरुलाई गरीब जनताका अगाडि ठान मान र शान किन चाहिन्छ ? बस्दा भव्य महल र प्राङ्गणहरु किन चाहिन्छ ? हिँड्दा महँगा गाडीका लश्कर र हेलीकोप्टर किन चाहिन्छ । सबारी चल्दा सिङ्गै सडक किन चाहिन्छ । उड्दा सिङ्गै आकाश किन चाहिन्छ ? ज्ञान र सिपको जानकारी लिएर त्यसबाट मुलुकको जनजीवन रुपान्तरण गर्ने चेत, चेतना र बौद्धिकता नभएको आत्मिक स्थितिमा राष्ट्रि«य ढुकुटीको अपव्यय हुने गरी गरिने विदेशभ्रमण किन चाहिन्छ ? निर्लज्जताको भकारी ओढेर परिवार र आफन्तलाई समेत ढकाउने विलास वैभव किन चाहिन्छ ?

नेकपा नामबाट निर्वाचित आजका सत्तासीनहरुमा देश र जनताको स्थिति र मनस्थिति अनुकूल यति चेतना पलाएको नपाइनुले जनतालाई दुःख लागेको छ । गलत संस्कार संस्कृति बोकेर प्रवेश गरेकाहरु र अङ्गीकृत संस्कार संस्कृति फेर्न नसक्नेहरु समयमै पाखा लाग्दा जनतालाई पुनः आन्दोलित हुनुपर्ने झन्झट आइहाल्दैन । जनता सत्तासीन नेता कार्यकर्ताका अनुप्रासयुक्त एवम् कलात्मक शब्द होइन यथार्थ व्यवहार हेर्छन् । सत्तासीन नेता कार्यकर्ताहरु आफ्ना व्यवहारबाट क्रमशः कङ्गिरमा परिणत हुँदै गए भने जनताले वाध्य भएर कुच्चो उठाउनु पर्ने क्षण छिट्टै पनि आउन सक्छ ।

कामना गरौं, सत्तासीनहरुमा समयमै चेतना पलाओस् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...