बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अंगोलाकी क्रान्तिकारी सीता बायस : २६ वर्षमै हत्या गरिएकी सिद्धान्तमा अडीग योद्धाको संघर्ष गाथा

आफ्ना
शनिबार, २८ पुस २०७५, ०७ : २४
शनिबार, २८ पुस २०७५

सन् १९६१ मा गोवा पोर्चुगाली शासनबाट मुक्त भयो । त्यसभन्दा अघि गोवाका मानिस पोर्चुगाली साम्राज्यका कुनै पनि अरु उपनिवेशमा बिना रोकतोक जान सक्थे । पोर्चुगलले उपनिवेश बनाएका अफ्रिकी राज्यहरू जस्तै मोजाम्बिक, अंगोला र केप भर्देमा पनि उनीहरू आवतजावत गर्न सक्थे । यस्तो अवसरलाई गोवाका केही आप्रवासी र तिनका केटाकेटीले सुखपूर्ण जीवनयापनको लागि प्रयोग गरे भने कसैकसैले भने आफू जुन देशमा पुगे, त्यही देशको उपनिवेशवादविरोधी स्वतन्त्रता आन्दोलनमा भाग लिएका थिए ।

 

त्यस्तै एक जना क्रान्तिकारीको नाम हो– सीता बायस । उनका आमा–बुबा रोजगारको सिलसिलामा भारतको गोवाबाट अफ्रिकी देश अंगोला पुगेका थिए । अंगोलामा नै सीताको जन्म भएको थियो । आउनुहोस्, इतिहासका पानामा झण्डै छायाँ परिसकेकी बहादुर, विद्रोही क्रान्तिकारी गोवाकी छोरीको वियोगान्त कथा सुनौं ।

विद्यार्थी नेतृको रुपमा राजनीतिक गतिविधिमा सामेल भएकी थिइन्– सीता । त्यत्तिबेलादेखि सन् १९७७ को अगस्ट १ मा जीवनबाट सधैंको लागि विश्राम नगर्दासम्म राजनीतिक सक्रियताबाट उनले कहिल्यै आराम गरिनन् ।

‘पहिला उनका दुवै हातमा गोली हानियो, अनि दुवै खुट्टामा । त्यसपछि उनलाई पुर्नकै प्रयोजनले खनिएको खाल्डोमा उनी खसे । अनि उनीमाथि हानिएको गोलीले उनको प्राणपखेरु उड्यो । यसप्रकार २६ वर्षकी एक जना चिकित्सकले जीवनबाट बिदा लिइन् ।’, बायसको जीवनी लेखेका पोर्चुगाली–अंगोली पत्रकार लिओनर फिग्युरेदोले लेखेका छन् ।

सन् १९७८ को मार्च महिनामा उनका दाजु अल्देमर बायसको हत्या भयो । उनी इलेक्ट्रिकल इन्जिनियर थिए । अल्देमर राजनीतिक गतिविधिमा संलग्न थिएनन् । तथापि उनको विना कुनै कानुनी सुनुवाई हत्या गरियो । कारण एउटै थियो, उनको थर बहिनी सीता बायससँग मिल्नु । जीवनी लेखक फिग्युरेदोका अनुसार सीता र अल्देमरको हत्याबारे उनीहरूको परिवारलाई कहिल्यै कुनै खबर गरिएन । वर्षौंसम्म उनीहरूका आमाबुवा आफ्ना ‘बेपत्ता’ सन्तानको खोजीमा कहिले कहाँ कहिले कहाँ भौंतारिरहे । बुढो उमेरका आमाबुवा आफ्ना छोराछोरीको खोजीमा यताउता भौंतारिरहनु कम कष्टकर थिएन । उनीहरूले एम्नेस्टी इन्टरनेशनल, पोर्चुगल तथा अंगोला सरकार र संयुक्त राष्ट्र सङ्घीय जबरजस्ती बेपत्तासम्बन्धी कार्यसमूहको ढोका घच्घच्याए ।

आफ्ना दाजुभाइहरु अल्देमर र एड्गरका साथ सीता । सबैभन्दा जेठा अल्देमरको पनि बिना सुनुवाई हत्या गरिएको थियो

इतिहासको घुम्ती

सीता बायस २६ वर्षकी थिइन् । अंगोला सरकारले उनीविरुद्ध सन् १९७७ को मे २७ मा भएको सत्ताविप्लवका प्रमुख योजनाकारमध्ये एक जना भएको आरोप लगायो । उनीसँगै उनका श्रीमान होसे भान–दुनेम पनि यो योजना पछाडि संलग्न भएको सरकारको आरोप थियो । होसे अंगोला मुक्ति जनआन्दोलन (एमपीएलए) नामको राजनीतिक पार्टीका पूर्व केन्द्रीय सदस्य थिए । उनीहरूसँगै एमपीएलएका पूर्व गुरिल्ला लडाकू तथा अपदस्थ गृहमन्त्री निटो एल्भिसमाथि पनि यस्तो अभियोग लगाइएको थियो । सीता बायसले केही समय एल्भिसको कार्यालयमा सचिवको रुपमा काम गरेकी थिइन् ।

नवोदित स्वतन्त्र देश अंगोलाको इतिहासमा मे २७ लाई इतिहासकै महत्वपूर्ण दिन मानिन्छ । केही इतिहासका पुस्तकमा त्यो दिन एमपीएलएकै एल्भिस र भान–दुनेम नेतृत्वको समूहले सत्ताविप्लवको प्रयास गरेको भनी व्याख्या गरिएका छन् । तर केही स्रोतले भने यसमा विमति राख्दै क्रान्तिकारीमाथि दमन गर्न रचिएको चालबाजीको रुपमा सो घटनालाई लिएको छ । एमपीएलएबाट टुक्रिएको सो समूहले अंगोलाको अलग नीतिको वकालत गरेको थियो । उनीहरूले सोभियत सङ्घ पक्षधर बलियो विदेशनीतिको वकालत गरेका थिए । तर राष्ट्रपति अगस्टिनो नेटो सरकार भने असंलग्न नीतिका पक्षपाती थिए । राष्ट्रपति अंगोलामा पश्चिमा लगानी भित्र्याउने र उदार नागरिकता कानुनको पक्षमा थिए ।

मे २७ को दिन भएको विद्रोहले केही घण्टा सरकार रेडियोमा कब्जा जमाएको थियो । तर अंगोलाको मुक्ति सेनाले सो विद्रोहलाई दबाएको थियो । अंगोलाको सेनालाई त्यहीं तैनाथ क्युवाली सेना र ट्याड्ढले पनि सघाएको थियो ।

सत्य जे भए पनि, त्यो विद्रोहमा परी सत्तासीन एमपीएलएकै सात जना उच्चपदस्थ सदस्यहरू मारिएका थिए । इतिहासकारहरूका अनुसार सो घटनाको प्रतिक्रियामा निटो सरकारले लगातार दुई वर्षसम्म चर्को दमनचक्र चलाएको थियो । त्यस्ता दमनका घटना भने अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा मुस्किलले मात्र आएका थिए । सरकारले कति मानिस गिरफ्तार गरेको थियो, त्यसको कुनै हिसाबकिताब नै थिएन । कसै–कसैले दस हजार मानिस गिरफ्तारीमा परेको बताए । गिरफ्तार गरिएका मानिसलाई शिविरमा पुनर्शिक्षाको लागि राखिएका थिए अथवा बेपत्ता पारिएका थिए । सरकारी दमनका कारण दसकौंसम्म अंगोलामा सत्तासँग भिन्न मत राख्न एक प्रकारले डरको अवस्था बनेको थियो ।

बायस अन्तर्राष्ट्रिय शक्ति राजनीतिको यो चंगुलमा कसरी परिन् ? गठन भएर १७ महिना मात्र भएका नेटो सरकारमाथि प्रश्न गर्ने खेमामा सामेल हुने निर्णय उनले कसरी गरिन् ?

सीता बायसः जीवनको अन्तिम श्वाससम्म क्रान्तिकारी (अनुदित) पुस्तकको आवरण

फिग्युरेदोले लेखेको बायसको जीवनीमा यी र यस्ता धेरै प्रश्नको जवाफ दिइएको छ । उक्त पुस्तकलाई हालै डीए स्मिथले अङ्ग्रेजी भाषामा अनुवाद गरेका छन् । ‘सीता बायसः ए रिभोल्युशनरी अन्टिल डेथ’ (सीता बायसः जीवनको अन्तिम श्वाससम्म क्रान्तिकारी) नाम दिइएको सो पुस्तकले तेलमा धनी काबिलान्दा क्षेत्रमा उनको बाल्यकाल कसरी बितेको थियो भन्नेदेखि कसरी उनी विद्यार्थी राजनीतिमा सामेल भइन् भन्नेसम्मका कुरा व्याख्या गरिएको छ । काबिलान्दामा उनका बुवा काम गर्थे । अंगोलाको जटिल भूराजनीतिक परिस्थितिमा उनलाई राजनीतितिर डोर्याएको विचारधारा के थियो भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ ।

राजनीतिमा प्रवेश

सन् १९६८–६९ मा ल्वण्डास्थित मेडिकल कलेजमा अध्ययन थाल्दैबाट बायसले विद्यार्थी राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यत्तिबेलाको राजनीतिक अवस्था अस्थिर खालको थियो । अंगोलाका विद्यार्थीहरू सन् १९६८ को मे महिनामा फ्रान्समा भएको आन्दोलनबाट प्रभावित थिए । उपनिवेशवादविरोधी उभारले अंगोलाका विश्वविद्यालयहरूमा पनि उत्साहको बहार ल्याइरहेको थियो । पोर्चुगलको उपनिवेशवादी शासनबाट मुक्तिको निम्ति एमपीएलएले गरिरहेको अँन्दोलनलाई क्याम्पस क्याम्पसमा विद्यार्थीहरूले समर्थन गरिरहेका थिए । ‘राज्य रक्षाको लागि अन्तर्राष्ट्रिय प्रहरी’ नाम दिइएको पोर्चुगलको प्रहरीले भूमिगत संगठनमा आबद्ध धेरै विद्यार्थीलाई गिरफ्तार गरे । ल्वाण्डाको मेडिकल कलेजबाट पनि धेरै विद्यार्थीलाई गिरफ्तार गरिएको थियो ।

त्यत्तिबेलाका धेरै क्रान्तिकारी विद्यार्थीझैं बायसको सम्पर्क पनि पोर्चुगाली कम्युनिस्ट पार्टीसँग थियो । सन् १९७१ मा उनी लिस्वन मेडिकल कलेजमा पढ्न गइन् । त्यहाँ पनि उनी विद्यार्थी राजनीतिमा संलग्न
भइन् । अफ्रिका र एसियाली उपनिवेशमा फैलिएको स्वतन्त्रता आन्दोलन दबाउन विश्वविद्यालय र कलेजहरूबाट विद्यँर्थीहरूलाई पठाएकोमा त्यहाँका विद्यँर्थी आक्रोशित थिए ।

आफ्ना समर्थकहरूबीच बायस निकै जुझारु, आकर्षक र निडर थिइन् । आलोचकको आँखामा उनी लापर्बाह, भावुक र महत्वाकांक्षी थिइन् । उनको जुझारु भावना र सांगठनिक कौशलका कारण उनी कम्युनिस्ट विद्यार्थी संगठनको दोस्रो उच्च पदको जिम्मेवारीमा थिइन् । आन्दोलनको मोर्चामा उनी उपनिवेशवादविरुद्ध आकस्मिक बैठक र पर्चा छर्ने आदि काम गर्थिन् । उनी धेरै पटक क्रुर पोर्चुगाली प्रहरीको पञ्जामा पर्नबाट जोगिएकी थिइन् । पोर्चुगाली प्रहरी उनका हरेक गतिविधिको रेकर्ड राख्थे । उनी तत्कालीन सोभियत सङ्घमा आयोजित युवा सम्मेलनमा सहभागी बनेकी थिइन् । त्यही भएकाले उनमा सोभियत समाजवादीप्रति बलियो विश्वास थियो ।

सन् १९७४ को अप्रिलमा पोर्चुगलमा क्रान्ति भयो । त्यो आन्दोलनले पोर्चुगलमा तानाशाही शासनको अन्त्य गर्यो । बायसलगायत उनीसँग वैचारिक निकटता राख्नेहरू अंगोला फर्के । अंगोला फर्के लगत्तै उनले चिकित्सकीय अभ्यास थालिन् । तर उनको ध्यान मूलतः राजनीतिक संगठन बिस्तारमा बढी केन्द्रित थियो ।

सन् १९७५ मा अंगोलालाई स्वतन्त्र घोषणा गरियो । तर तेल र हिराको स्रोतको धनी देश अंगोला लगत्तै गृहयुद्धमा फस्यो । एकातिर एमपीएलए थियो जसलाई सोभियत सङ्घ र क्युबाले समर्थन गरेका थिए भने अर्कोतिर संरा अमेरिकी गुप्तचर संस्था– सीआईए र दक्षिण अफ्रिकाको रङ्गभेदी सरकारको सहयोग प्राप्त अंगोला पूर्ण मुक्तिको लागि राष्ट्रिय युनियन (युनिटा) तथा अंगोला मुक्ति राष्ट्रिय मोर्चा थिए । शीतयुद्ध उत्कर्षमा थियो । संरा अमेरिका र सोभियत सङ्घबीच राष्ट्रपति नेटोलाई आफ्नो प्रभावमा ल्याउने प्रतिस्पर्धा भइरहेको थियो । नेटो भने असंलग्नताको पक्षमा थिए ।

फिग्युरेदोले बायसका परिवारजन, मित्र र आलोचकसँगका कुराकानीसँगै अन्य दस्तावेजका आधारमा जीवनी लेखेका हुन् । उनलाई एक जना निडर, सिद्धान्तनिष्ठ युवा महिला, प्रतिबद्ध कम्युनिस्ट र जीवनको अन्तिम समयसम्म राजनीति र विचारधाराप्रति दृढ योद्धाको रुपमा जीवनीमा चित्रण गरिएको छ । एक जना योद्धाको रुपमा आफूले विश्वास गरेको विचारधारामा उनी प्रतिबद्ध थिइन्, तर त्यसले उनका मातापिता र परिवारलाई भने दुःख पनि पुर्यायो ।

“सीता अंगोलामा क्रान्ति गर्न अघि बढिन् । नेटो एल्भिस र जोसे भान–दुनेमसँग उनको निकै गहिरो र गोप्य सम्पर्क थियो । तीमध्ये होसे उनका जीवनसाथी थिए र वैचारिक रुपमा पनि निकट थिए । उनीहरूको टोलीमा विशेषतः क्रान्तिकारी माक्र्सवादी–लेनिनवादीहरू नै बढी थिए ।”, जीवनीमा लेखिएको छ ।

“अंगोलामा अरु पनि वामपन्थी समूह थिए । उनीहरूलाई सत्तासीन एमपीएलए विखण्डनकारी भन्थ्यो । एमपीएलएमाथि उनीहरूले गरेको आलोचनाले आन्दोलनलाई कमजोर बनाउने मुख्य नेता समूहको भनाइ थियो । तर नेटो एल्भिस, सीता बायस र होसे भान–दुनेम आफूलाई मार्क्सवादी–लेनिनवादी सिद्धान्तप्रति दृढ क्रान्तिकारी बताउँथे ।

अर्कोतिर बायस र उनको समूहमाथि पनि आलोचना हुने गरेको थियो । अंगोलाको मुक्ति आन्दोलनअन्तर्गत गुरिल्ला युद्धमा उनीहरूको कुनै प्रत्यक्ष सहभागिता नभए पनि विदेशी शक्तिको पक्षमा त्यो खेमाले काम गर्ने गरेको भनी आलोचना हुने गरेको थियो । राष्ट्रपति नेटो र उनको सत्तासीन पार्टी एमपीएलएले कुनै पनि देशको पछि नलागी आफ्नै देशको हितमा आर्थिक र विदेश नीति बनाएर अघि बढेको सीताका आलोचकहरूको भनाइ थियो ।

सन् १९७७ को मे २७ को सत्ताविप्लवपछि नेताहरूबीच विभाजन गहिरो बन्दै गयो । बायसका जीवनी लेखकका अनुसार सीताले आफ्ना हत्याराको वीरतापूर्वक सामना गरेकी थिइन् । उनले आँखामा पट्टी बाँध्न मानेकी थिइनन् र अन्तिम समयसम्म क्षमा माग्न तयार भएकी थिइनन् । उनको हत्या हुँदा उनको तीन महिनाको छोरो थियो । चे ग्वेभाराबाट प्रभावित भएर उनले आफ्नो छोरोको उपनाम चे राखेकी थिइन् ।

बायसको जीवनकथामा कहींकतै केही स्पष्ट हुन बाँकी कुरा पनि छन् । “सीतालाई तत्कालीन समयको विशिष्टतामा मात्र बुझ्न सकिन्छ ।... सीता बायस र उनको हत्या हुनुको कारण २७ मेबारे अझै पनि अनुत्तरित केही प्रश्न छन् । के वास्तवमा त्यो दिन सत्ताविप्लव नै गर्न खोजिएको थियो ? के त्यो प्रतिसत्ताविप्लव थियो ? त्यो शक्ति सङ्घर्ष कसरी अघि बढेको थियो भन्ने बारे अझै पनि अस्पष्टता छन् ।”, जीवनी लेखकले उपसंहारमा लेखेका छन् ।

सन् १९९४ मा संयुक्त राष्ट्र सङ्घको समितिले बायस परिवारलाई एउटा पत्र पठाएर “सीता विद्रोहको हिस्सा भएको, अरुलाई जस्तै उनलाई कारागारमा राखिएको, न्यायिक छानबिन गरिएको, विभिन्न अपराधको लागि दोषी भेटिएको र गोली हानी मारिएको, उनलाई जस्तै होसे भान–दुनेम र अल्देमर बायसको पनि हत्या गरिएको” अंगोला सरकारले जानकारी दिएको खबर गरेको थियो ।

आफ्ना बच्चाका साथ सीता बायस । उनले बच्चाका उपनाम चे ग्वेभाराका सम्मानमा चे राखेका थिए

सन् २००१ मा ल्वाण्डामा मे २७ मा छानबिन आयोग बनाइएको थियो । मे २७ को घटनासम्बन्धी सत्यतथ्य फेला पार्न सो आयोग गठन गरिएको थियो । सन् २००४ मा पोर्चुगलमा पनि मे २७ आयोग समिति गठन भएको थियो । सो आयोगमा एदेमर र सीताकी भाइ एडगर बायसलाई पनि सदस्य राखिएको थियो । सो समितिले हरेक वर्ष सो घटनाबारे चर्चा गर्दै न्याय खोज्ने काम गर्दै आएको छ । साथै, उनीहरूले सीतालगायत मे २७ को घटनामा मारिएकाहरूको सम्झना सधैँ जीवित राख्ने प्रतिबद्धता जनाउँदै आएका छन् । उनीहरू एक दिन सो घटनाबारे सत्य निरुपण आयोग गठन गर्ने आशा व्यक्त गर्छन् । साथै सीतालगायत योद्धालाई नबिर्सेर सधैं सम्झनामा जीवन्त राख्न यो समितिले काम गरिरहेको छ । 

स्रोतः स्क्रोल.आइएन . नेपाली अनुवादः नीरज लवजू

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पामेला डीमेलो
पामेला डीमेलो
लेखकबाट थप