शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी नेपालको प्रमुख पर्यटकीय केन्द्र : मन्त्री अधिकारी

शुक्रबार, २७ पुस २०७५, १९ : १२
शुक्रबार, २७ पुस २०७५

बुटवल । गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (पर्यटन मेला) शुरु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले शुक्रबार एक समारोहका बीच मार्टको उद्घाटन गरेका हुन् । 

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले लुम्बिनी नेपालको प्रमुख पर्यटकीय केन्द्र रहेकाले यसको प्रचार अन्तर्राष्ट्रिय स्तरमा गर्न आग्रह गरे । उनले लुम्बिनीलाई नै केन्द्रबिन्दुमा राखेर सरकारले भैरहवामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई तिव्रता दिएको बताए । उनले आउँदो सेप्टेम्बरसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुने दाबी गरे । 

उनले सरकारले सन् २०२० को नेपाल भ्रमण बर्षलाई लक्षित गरेर सरकारले विभिन्न कार्यक्रम गर्न थालेको बताए । भ्रमण बर्ष २०२० सम्म २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यभन्दा धेरै पर्यटक आउने उनको विश्वास छ । 

उनले बुद्धिस्ट सर्किटको विकासमा सरकारले काम गरिरहेको समेत बताए । सरकारले समृद्धिका लागि पर्यटनलाई निकै महत्व दिएकाले लुम्बिनीको प्रचार अन्तर्राष्ट्रिय तहमा फैलाएर पर्यटक भित्र्याउन निजि क्षेत्रलाई आग्रह गरे । 

उनले सरकार पर्यटन प्रवद्र्धनका लागि लगानीको वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले लुम्बिनीको विकासका निम्ति प्रदेश सरकारले काम गरिरहेको बताए । उनले लुम्बिनीको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले २०७६ लाई भ्रमण बर्षको रुपमा घोषणा गरेको समेत बताए । 

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले लुम्बिनी पर्यटकीय क्षेत्र मात्रै नभई मानवता र आध्यात्मको पवित्र बगैंचा भएको बताए । बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टमा नेपालसहित विभिन्न १८ देशका ट्राभल्सहरुको सहभागिता रहेको छ । 

लुम्बिनीका बारेमा अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न सहयोग पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन गरिएको हो । यो सम्मेलनबाट लुम्बिनी र बुद्धका बारेमा पर्याप्त प्रचार हुने र टुर प्याकेजमा सहकार्य हुने अपेक्षा व्यवसायीहरुले गरेका छन् । 

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले लुम्बिनी विश्वकै पवित्र भूमी भएकाले यहाँ बौद्धिष्टहरु आउन चाहेकाले त्यसलाई जोड्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । विहिबारदेखि शुरु भएको मार्ट शनिबारसम्म सञ्चालन हुने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप