न्यायको बाटो छाडेकाले जोशीलाई हटाइयो : प्रधानन्यायाधीश जबरा
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायको बाटो छाडेकाले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई संवैधानिक इजलासबाट हटाउनु परेको बताएका छन् । बहालवाला वरिष्ठ न्यायाधीश जोशीलाई कामको जिम्मेवारीबाट हटाउने काम गरिएको भन्दै नेपाल बार एशोसिएशनले प्रश्न उठाइरहेका बेला प्रधानन्यायाधीश जबराले न्यायको बाटो छोडेर कूबाटोमा लागेकाले जोशीलाई संवैधानिक इजलासबाट हटाउनुपरेको स्पष्टीकरण दिएका हुन् ।
‘जो मान्छे न्यायको विवेकलाई, न्यायको आचरणलाई कायम राख्न सक्दैन, त्यस्ता व्यक्तिलाई प्रधानन्यायाधीशको रुपमा आफूले घर फर्काउन सक्ने अवस्था नरहेको’ प्रधानन्यायाधीश जबराको भनाई छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वरिष्ठ न्यायाधीश जोशीले ‘न्यायको मन्दिरमा बलिरहेको द्धिपलाई निभाउने क्रियाकलाप गरेको’ आरोप पनि लगाए ।
गत बिहिबार प्रधानन्यायाधीश जबराको अध्यक्षतामा बसेको न्याय परिषदको बैठकले वरिष्ठ न्यायाधीश जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय गरेको थियो । त्यसप्रति नेपाल बार एशोसिएनको आपत्ति छ । कार्यक्रममा बोल्दै बारका अध्यक्ष शेरबहादुर केसीले बहालवाला न्यायाधीश जोशीलाई किन जिम्मेवारी नदिएर गलत काम गरेको भन्दै तत्काल सच्याउन प्रधानन्यायाधीश जबरासँग माग गरे ।
उनले जोशीलाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गराउने प्रयास भएकोमा आपत्ति जनाउँदै तत्काल नसच्याए त्यो गलत काम हुने र त्यसले प्रधानन्यायाधीश जबरालाई पश्चातापबाहेक अरु केही नदिने दावी पनि गरे ।
यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपाल बार एशोसिएशनले जोशीलाई संवैधानिक इजलासबाट हटाउने न्याय परिषदको अधिकारमाथि धावा बोलेको भन्दै आपत्ति जनाए । उनले सर्वोच्च अदालतका न्यायाधीशलाई इजलास तोक्ने अधिकार प्रधानन्यायाधीशलाई रहेको उल्लेख गर्दै त्यसमाथि प्रश्न उठाउन नपाउने तर्क पनि गरे ।
मन्त्री ढकालले जोशीलाई संवैधानिक इजलासबाट हटाउने निर्णय सही भएको उल्लेख गर्दै त्यसमा बहस गर्न आफू पनि तयार रहेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र