केन्द्रीय संस्करण

राष्ट्रनिर्माता कसरी राष्ट्रघाती हुन्छ ?

personaccess_timeJan 11, 2019 chat_bubble_outline0
photo : www.shankerhotel.com.np

आज घुसखोरी दुष्चरित्रले मुलुक विछिप्त छ । देशमा एकताका कुरालाई साँघुर्याएर राष्ट्रियता खुम्चिन थालेको स्पष्टै छ । जेजसरी आजका दिनमा इतिहासको सम्मानार्थ आवाज आउँछन् तिनमा वास्तविकता, भावना र सत्यतामा पारदर्शिता होस् । राष्ट्रनिर्माताका बारेमा केही विचारकहरूले गलगिज्ज इतिहासमा बोक्रे कुतर्क छाँटेको देखेँ । मलाई पनि त्यो इतिहासभित्र घुस्नै पर्छ भन्ने भयो । जसले राष्ट्रिय एकताको जग बसाल्यो कसैले उनलाई भगवान् बनाउँदै हुँदै नभएको व्यक्तित्वको बखान गरेछन् । फेरि आजभोलि पश्चिमा छाँटले भुटिएका दिमागहरू कुतर्क पस्केर बडप्पनको धुरीमा चढ्दा रहेछन् । भोलिको सुदूर यात्रामा भावी सन्तततिद्वारा बाबु बिर्सने छोरोको आरोपित इतिहास रच्न नदिनुको बुद्धिमत्ता पनि बिर्संदा रहेछन् । विगतलाई गाली गर्ने अमौलिक दर्शनका पारखीले यहाँका यथार्थ इतिहासलाई बङ्ग्याएर व्यक्तिगत स्वार्थको गन्ध पैmलाउँदा रहेछन् । 

हामी कसरी मदनलाई बिर्सन्छौँ न त बीपीलाई नै । पूर्वाग्रह राखेर कुनै व्यवस्था नयाँ भयो भनेर नाम दिँदैमा इतिहासको सत्यता मेटाउनुपर्छ भन्ने पनि त होइन । राष्ट्रिय एकताको स्वरलाई साहित्यका पानाले मात्र समेटेर इतिहास पूर्ण बन्दैन ! हुनलाई इतिहासले वीरतालाई लेख्छ । राजा कि राष्ट्रनिर्माता भन्ने हल्ला मच्चाएर राष्ट्रनिर्माताको इतिहास लुक्दैन । राजतन्त्रको वकालत पो हुने हो कि भन्ने भयलाई लिएर राष्ट्रिय एकता दिवस मनाउन आनाकानी गर्नुपर्ने कुनै तुक पनि देखिन्न । विश्वका अमेरिका, युरोप भनिएका विकसित क्षेत्रले गोर्खाली सान र स्वाभिमानलाई उँचो मान्छ । विनास होइन, क्रान्ति होइन बुद्धत्वको सिङ्गो सारलाई मनन गर्छ । इतिहासका पानामा पृथ्वीनारायणको दूरदर्शितालाई जाँच्छ । नेपाल र चीनलाई हिजो दुई ढुङ्गा र नेपाललाई तरुलको संज्ञा दिएर सचेतनाको गहन भाव त्यसै पोखेका होइनन्– पृथ्वीनारायणले । 

दिव्योपदेशका पानाभरि दिगो विकास र सुशासनमा जनताप्रेमको सुगन्ध छर्लङ्ग छ । हामी बडप्पनको लक्कु बोकेर देशको झन्डाभित्र पुर्खाको गरिमालाई गलहत्याउँदा लाज र डरै मान्दैनौँ तब कुतर्कले सत्यता किन छोप्नुपर्यो र ! राष्ट्रिय एकता दिवस कुनै पार्टी, राजतन्त्रको वकालत गर्ने वा कुनै शासन पद्धतिलाई पक्षपोषण गर्ने पाटोबाट एक, दुई जनाको नेतृत्वभित्र खुम्चिएको सङ्कीर्णतावादी आवाज होइन । यो सिङ्गो नेपालको कालजयी इतिहासको मेरुदण्ड हो । अलिकति राष्ट्रकविको मर्मतिर ध्यान दिँदा सत्यता नियाल्छु म ः
खोलेर यहाँ मृग एक मारी
बाँडी कलेजो जति छन् सिकारी
बिलो लिएर मै शरमा उनेर
यो राज्य बाँढ्ने चीन होइन हेर ।

यो राज्य लिन्छौँ जुन आज अंश
बाँड्दै चुँड्दै अनि वंश वंश
रहन्छ त्यो केवल गाउँ मात्र

(राष्ट्रनिर्माता खण्डकाव्य, माधवप्रसाद घिमिरे)

दलमर्दनको सोचलाई पृथ्वीनारायणको महानताले बोध गराउँछ । उनमा भएको दूरदर्शिता र निःस्वार्थताले राष्ट्रिय स्वार्थलाई बोल्छ ! नेपाली भूमिमा पृथ्वीनारायणपछि भनिएका परिवर्तनभित्र एकताभन्दा धेरै विखण्डनकारी रक्तिम इतिहास नरचिएका पनि होइनन् । ‘देशका महाजनलाई गोड प्रसाहदेखि उँभो आउन नदिनु । देशका महाजन हाम्रा मुलुकमा लाया भन्या दुनिया कङ्गाल गरी छाड्छन्’ दिव्योपदेशभित्र देशप्रेम छैन र ! युद्धको डोरो र रक्तपात होस्– आज त नेपाली एकतामा व्यक्ति, सम्प्रदाय र जातिको सङ्कीर्णता थोपरिएका छन् । सार्वभौकिताका कुरा गर्दै भ्रष्ट चरित्रले केवल आडम्बर पस्कँदा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा प्रहार हुन्छ । नेपाली मनलाई नियाल्दा सायदैले सोच्लान्– ‘म अब पृथ्वीनारायणको योगदान भुल्न सक्छु ।’ एक दिनका लागि मात्र पनि उसको नाम लिनलाई भारी लाग्छ । यो देशले इतिहासलाई कसरी सम्मान गर्ला ? 

सत्यताभित्र गहन बन्दा इतिहासको गरिमाभित्र हाम्रा राष्ट्रिय विभूतिको नाम स्वर्ण अक्षरमा अङ्कित हुन्छ । टुक्रिएका बाइसे चौबिसे राज्यलाई एउटा थुँगाको शोभामा राजा पृथ्वीनारायणले पूर्णता दिने महान् कार्य गरे । राष्ट्रकविले आफ्नो राष्ट्रियताको मर्मस्पर्शी खण्डकाव्यभित्र पृथ्वीनारायणको राष्ट्रिय भावनालाई जगाएका छन् । भाइ दलमर्दन शाहको सोचभित्र घुसेको व्यक्तिवादितामा सङ्कीर्णता स्पष्ट भेटिन्छ ः 

माटो जहाँको मुटुले छुँदैन
त्यहाँ हरि या ममता हुँदैन
कोरल्छ चल्ला त्यति मात्र पोथी
न्यानो भुवाले जति सक्छ छोपी ।  

 

यद्यपि पृथ्वीनारायणले भाइको वचनलाई नमान्नु राष्ट्रिय स्वार्थ हो । केवल खिचातानी, सङ्क्रमण र अन्योलको घनचक्करमा देश सधैँ रुमल्लिरहँदा नेपाली र नयाँ नेपाललाई भौतिक उन्नतिमा लगेर साँघुर्याइएको आभास हुन्छ । आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई वि.सं. १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ गर्यो । तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात पैmलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय । मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ । कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर व्यक्ति मारिए, जयन्त रानाले निर्मम रूपमा छाला काढिएर मर्नुपर्यो, शूरप्रतापले कानो हुनुपर्यो, इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निष्काशित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो । उपत्यकाबाट अङ्ग्रेजको राजनीतिक कुचाला लघारियो । उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो । फलतः किराँत र लिम्बुवान प्रदेशका राजाले गोर्खाली झण्डामुनि एकै साथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे । तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन । सबै जातको फूलबारी हो’, भन्ने महान् अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौँ । सैनिकले कदर पाए । कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो सङ्ग्रामको महायज्ञमा दिलो ज्यान दिए, एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन् । ससाना राज्यलाई एक्लैले डोल्याएपछि अङ्ग्रेजको सपनामा भेलबाढी आयो त्यसैले त आज हामी छौँ । त्यसैले त एकीकरणका भावसँग कवि सुवानन्द दासको कवित्व पोतियो –

नेपालको सिनकि लुटि मंरातको घिउले भुटि
पालपाको ल्याउ हिंग जिरो, रिसिंगको ल्याउ पिरो
तनहुँको भातसित भीर्कोटको दालसित
कन्चन कचौराभरि स्वर्णका थलियाभरि
अष्टदल चौकी बसि गंगाजल झारिभरि
पुरव मुहडा गरि
महाराजको जिउनार बनाउ है ।  

विश्वको नक्सामा सानो नेपालभित्र जबजब मनसुनी हावामा रम्छ, भूपरिवेष्ठित देशले चिनिन्छ, जलाशयको खानी, सौन्दर्यकी रानी, अन्नको भण्डार भनिन्छ तबतब नेपाली स्वाभिमानका स्वर्णाक्षरित नाम बन्छन् । बहुजातिका परम्परा, भेष र पर्वका एकताको श्रृङ्गारमा स्वर्गले आफ्नो स्वरूपलाई बिर्सन्छ । यहाँ कृत्रिमता विरोधी भाव छ त्यसैले संसारको दौलत नेपालका लागि नगन्य बन्छ । अतः फुर्सदमा भगवानले सोचेर बनाएको संसारमा कुनै ठाउँ छ भने त्यो हो– नेपाल । आखिर कसैले त जोड्यो यो अमर हृदयस्पर्शी इतिहासलाई ! आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई सलोट गर्दै छ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र ? आजसम्ममा थुप्रै परिवर्तन भए, घटना घटे, समयसँग तीता–मीठा अनुभवले भरिएको थैली छँदै छ । राज्यले परिवर्तन पाउला तर इतिहासबाट सिकेर सम्मान गर्दै भविष्यको स्वप्ना तुन्न पनि जान्नुपर्छ ।  

२६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ । उनका “प्रजा योग्य भए दरबार बलियो हुन्छ । जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ” भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ । आज संसारको एउटा विन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ । उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ । घुस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुञ्जिन्छ । 

कृषि विकासको सपना– ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’, स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अङ्ग्रेजको कालो नीतिको चर्को विरोधी भाव, राष्ट्रिय स्वाधीनतामा, जडीबुटी बेचेर पैसा साट्ने, खानी सदुपयोग गर्ने सबै आत्मनिर्भरताका दूरदर्शी भाव उच्छ्वलन हुन् । किल्लालाई दह्रो बनाउने भावमा परराष्ट्रको कूटनीति– ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिभित्र राज्य र सीमारक्षाबाट सैनिक सबलता पोखिनुमा कलात्मकता छ । ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ भन्ने रामराज्यको आदर्श राजधर्म झल्किन्छ । अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाडेको इतिहास कालजयी छ । हिजो जानीनजानी मानिएका भए पनि यी युगपुरुषको यादमा हरेक सच्चा नेपालीले भावना बोधमा माथ झुकाउन जान्नुपर्छ :
पारिन्छ सत्ता जब खण्ड खण्ड
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड
थुत्तिन्छ पत्ता जब खात खात
सिद्धिन्छ शोभा अनि फूलबाट । 

राष्ट्रकविले कवित्व भावमा ऐतिहासिक गाथामा राष्ट्रिय गौरवको अखण्ड, सुन्दर र सिङ्गो नेपाल निर्माणको योगदानलाई उरालेका छन् । चन्द्र सूर्य अङ्कित नेपाली झण्डाको अस्तित्व अटल रहनुको देन पृथ्वीनारायणलाई जान्छ भन्दा अत्युक्ति नहोला । बुद्धको बुद्धत्वमा शालीन शान्तिको दीप जलोस् या पृथ्वीनारायणसँग गाँसिएको वीर गोर्खालीको इतिहास– नेपालीपन शान्ति र क्रान्तिको आफ्नै पाटामा जीवन्त छ । पूर्वदेखि पश्चिमसम्मका ठूला देशले वीर गोर्खालीलाई किन चिन्छन् ? तब पृथ्वीनारायण कसरी राष्ट्रनिर्माता बन्न सक्दैनन् । समालोचनाको तर्कले पेलेर किन बनिबनाउ यथार्थ इतिहासलाई कलङ्क भिराउनु पर्छ र ! जसले यो देशको कीर्ति परदेशसम्म पुर्याउन बहादुरी पस्के तिनको पसिना र रगतको बलिदानीलाई स्वाभिमानी देशले सदैव सम्मान गर्न जान्नुपर्छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...