बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वी र अन्य ग्रहबीचको दूरी

बिहीबार, २६ पुस २०७५, १५ : ४६
बिहीबार, २६ पुस २०७५

सौर्यमण्डलका आठ वटा ग्रहहरुमध्ये सूर्यबाट दूरीका हिसाबले पृथ्वी तेस्रो नम्बर अवस्थित छ । पृथ्वीलगायत सबै ग्रहले दीर्घवृत्तीय (Elliptical)  पथमा सूर्यको परिक्रमा गर्छन् । ग्रहहरुले सूर्यलाई गोलाकार (Circle) बाटोमा नभई दीर्घवृत्तीयबाटोमा परिक्रममा गर्ने भएको सूर्य र ग्रहहरुबीचको दूरी सधैं एकैनासको हुँदैन । सूर्यलाई परिक्रमा गर्नेक्रममा  ग्रहहरु कहिले सूर्यको नजिक हुन पुग्छ भने कहिले चाहिँ अलि टाढा पनि । 

सूर्यलाई परिक्रमा गर्नेक्रममा सूर्यबाट ग्रह सबैभन्दा नजिक हुने बिन्दूलाई अपसौर (Perihelion)  भनिन्छ भने त्यसको ठीक विपरीत सूर्यबाट सबैभन्दा ग्रह टाढा हुने बिन्दूलाई चाहिँ उपसौर (Aphelion)   भनिन्छ । यसरी परिक्रमा गर्ने बाटो जति ठूलो हुन्छ, सूर्यको परिक्रमा गर्न ग्रहलाई त्यति नै बढी समय लाग्छ ।

बुध ग्रह सूर्यको सबैभन्दा नजिक छ । सूर्यसँग  यसको औसत दूरी ५ करोड ७९ लाख ९ हजार १ सय किमी. छ ।


माथि चित्रमा वर्णन गरिएअनुसार अपसौर मा सबैभन्दा कम्ती दूरी हुन्छ, सुर्य र बुध ग्रहका बीच । सूर्य र बुध बीचको सरदर दूरी अपसौरभन्दा १ करोड १९ लाख ७ हजार ९ सय किमी. बढी छ । यसैगरी उपसौरमा सर्वाधिक दूरी हुन्छ । अपसौर र उपसौरमा झण्डै डेढ गुनाको अन्तर भए पनि यो प्रायः सधैं एकैनासको रहन्छ । 

तर पृथ्वी ग्रहसँग बुध ग्रहको दूरी गणना गर्ने हो भने स्थिति फरक हुन जान्छ । दुवै ग्रहले भिन्नभिन्न परिक्रमा पथमा भिन्न गतिले सूर्यको परिक्रमा गर्छन् । दुवै बीचको दूरी प्रतिसेकेण्ड परिवर्तन भइरहन्छ । यसमा धेरै नै उतारचढाव आइरहन्छ ।

सूर्यलाई परिक्रमा गर्ने ग्रहहरुमध्ये पनि दुइटा ग्रहबीचको सरदर दूरी थाहा पाउन एउटा सूत्र प्रयोग गरिन्छ । दुवै ग्रहको सूर्यबाट दूरी को अन्तर नै दुवै ग्रह बीचको मोटामोटी औसत दूरी हुन्छ । सूर्यसँग ग्रहको दूरी तथा ग्रह ग्रहबीचको दूरी नाप्दा सजिलोका लागि हामी ‘एस्ट्रोनामिल यूनिट AU को प्रयोग गर्छौ । एक एस्टोनामिल दूरी बराबर सूर्यसँगको पृथ्वीको औसत दूरीलाई मान्ने गरिन्छ । स्मरण रहोस्, सूर्य र पृथ्वीबीचको औसत दूरी १४ करोड ९६ लाख किलोमिटर रहेको छ ।

अब एस्ट्रोनामिल दूरीको आधारमा पृथ्वी र बुधबीचको दूरीलाई हिसाब गरौं ।

सूर्यको पृथ्वीसँग दूरी  =. १.० AU
सूर्यको बुधसँग दूरी    = ०.३९ AU
दुवै बीचको अन्तर  =  (१ – ०.३९) . ०.६१ AU
यस हिसाबले ०.६१ AU नै पृथ्वी र बुधको सरदर दूरी हो । 

यसलाई किलोमिटरमा निकालेर हेरौं ।
१४,९६,००,००० x ०.६१ = ९,१२,५६,००० कि.मी. । अर्थात पृथ्वी र बुध ग्रहको सरदर दूरी ९ करोड १२ लाख ५६ हजार कि.मी. छ ।

अब माथिको चित्रमा हेर्नुस् । पृथ्वी र बुध ग्रह आफ्नो परिक्रमा पथमा कहिले नजिक हुन्छन् त, कहिले टाढा । त्यसैले दुवै ग्रहबीचको दूरी सधैँ परिवर्तन भइरहन्छ । यी दुवै ग्रहको परिक्रमा पथ नजिक आउँदा दूरी औसतभन्दा घटेर ७ करोड ७३ लाख कि.मी.मा आइपुग्छ । र, टाढा हुँदा दूरी बढेर २२ करोड २० लाख कि. मी. सम्म पुग्छ ।

अब कुरा गरौं, शुक्र र पृथ्वी ग्रहबीचको दूरीबारे । त्यही सूत्र प्रयोग गरौं ।

सूर्यसँग पृथ्वीको दूरी =१.० AU
सूर्यसँग शुक्रको दूरी  = ०.७२  AU
दुवै बीचको अन्तर   = ०.२८  AU

किमीमा १४,९६,००,००० X ०.२८ = ४,१८,८८,००० कि.मी. । अर्थात, शुक्र र पृथ्वीको सरदर दूरी ४ करोड १८ लाख ८८ हजार कि.मी. छ ।

सूर्यको परिक्रमा गर्दा यी दुवै ग्रह पनि कहिल्यै नजिक त कहिले टाढा पुग्छन् । नजिक हुँदा यी दुई बीचको दूरी ३ करोड ८० लाख कि.मी.हुन्छ । एवं टाढा हुँदाको स्थितिमा यो दूरी बढेर २६ करोड १० लाख कि.मी.सम्म पुग्छ ।

यदि तपाईंहरूलाई ग्रहहरू र सूर्यको बीचको दूरी थाहा छ भने, कुनै दुई ग्रहबीचको औसत दूरी थाहा पाउन सजिलो हुन्छ । 

केही समयअघि नासाद्वारा मंगलग्रहमा  पठाइएको ‘इन्साइट’  (INTERIOR  EXPLORATION USING SESMIC INVESTIGATIONS GEODESY AND HEAT TRANSPORT-insight)   यान बारे समाचार प्रकाशन गर्दा नेपाली पत्रपत्रिकाले पृथ्वीदेखि सबैभन्दा नजिकको ग्रह मंगल लेखे । तर के मंगल ग्रह साच्चै नै पृथ्वीको सबैभन्दा नजीकको ग्रह हो त ?  अध्ययन गरी हेरौं । 

सूर्यसँग मंगल ग्रहको औसत दूरी १.५२ AU रहेको छ । पृथ्वी सूर्यवाट १.०० AU टाढा छ । यस हिसाबले पृथ्वी र मंगल ग्रहबीचको औसत दूरी ०.५२ AU हुन्छ । 

दुबै ग्रहले आ–आफ्नो पथमा रहेर सूर्यको परिक्रमा गर्छन् । परिक्रमा गर्ने क्रममा कहिले दुबै औसत दूरी ०.५२ AU भन्दा नजिक आउछन्, त कहिले टाढा पनि पुग्छन् । 

बुध र शुक्र ग्रहबाहेकका सबैग्रह पृथ्वीको सूर्यलाई गर्ने परिक्रमा पथभन्दा बाहिरबाट सूर्यको परिक्रमा गर्छन् । परिक्रमा गर्दा समय समयमा आफ्नो पथमा ग्रहहरु कहिले एक अर्काका नजिक आउछन् र कहिले टाढा पुग्छन् ।
चित्रमा हेराै । 


पृथ्वीको सूर्यलाई परिक्रमा गर्ने गति १,०७,२०० किमी. प्रतिघण्टा छ  र मंगल ग्रहको यो गति ८६,६५९ किमी. प्रतिघण्टा छ । फरक परिक्रमा पथ तथा फरक गतिका कारण दुबै बीचको दूरीमा ठूलो घटबढ भइरहन्छ ।

दुवैको अन्तर्सम्बन्धमा सबैभन्दा छोटो दूरी त्यसबेला हुन्छ, जुनबेला मंगल ग्रह अपसौर स्थितिमा सूर्यको सबैभन्दा नजिक हुन्छ  र पृथ्वी भने आफ्नो उपसौर अर्थात सूर्यसँग सबैभन्दा टाढाको स्थितिमा पुगेको हुन्छ । वैज्ञानिकहरुको आँकलनअनुसार यस्तो परम अवस्थामा पृथ्वी र मंगल ग्रहको दूरी घटेर जम्मा ५ करोड ४६ लाख किमी. सम्म आउन सक्छ । तर अहिलेसम्म मानवको थाहा पाइएको इतिहासमा यो घटना भएको छैन । खगोल विज्ञानको इतिहासमा यी दुवै ग्रहहरु  बीच आजसम्म ज्ञात सबैभन्दा कम्ती दूरी ५ करोड ६० लाख किमी. रहेको छ । यो घटना अगस्त २००३ मा भएको थियो । सामान्यतया मंगल पृथ्वी बीच दूरी घट्दा यसको मान ७,७७,९२,००० किमी. हुने गर्छ । 

अनुमान गर्नुस्, मंगल र पृथ्वीबीच दूरी अधिकतम हुँदा कति हुन्छ होला ? खगोल विज्ञान भन्छ, – जुनबेला यी दुबै ग्रह सूर्यको परिक्रमा गर्दागर्दै  सर्यबाट टाढाको स्थिति अर्थात उपसौरमा हुन्छन् । त्यो बेला यी दुवै ग्रह एक अर्काको विपरीत हुन पुग्छन्, त्यो बेला दुवै बीचको दूरी बढेर ४० करोड १० लाख किमी हुन पुग्छ । नजिक हुँदाको स्थितिभन्दा झण्डै ७.३७ गुना बढी । 

दुवै ग्रहले आ–आफ्नो परिक्रमा पथमा झण्डै २६ महिनाको अन्तरालमा एक अर्कालाई पास गर्छन् । यस बेला दुबै ग्रह सबैभन्दा नजिक आइपुगेका हुन्छन् । मंगल ग्रह पृथ्वीको नजिक आउँदा पनि ५ करोड ६० लाख किमी. टाढा रहेका थियो । सामान्यतया यो दूरी ७ करोड ७७ लाख छेउछाउ हुने गर्छ । तर शुक्र ग्रह भने पृथ्वीसँग सरदर ४ करोड १८ लाख ८८ हजार किमी. टाढा छ ।

घट्ने क्रममा यो दूरी घटेर ३ करोड ८० लाख किमी. सम्म आउने गर्छ । दु:खका साथ भन्नुपर्छ,  नेपाली पत्रपत्रिकाले मंगललाई पृथ्वीको सबैभन्दा नजिकको ग्रह लेख्नु वैज्ञानिक हिसाबले सही हुँदैन । 

पृथ्वी र मंगल बीचको दूरी ०.५२ AU, पृथ्वी र वृहस्पति ग्रहबीचको ४.२ AU, पृथ्वी र शनि बीच ८.५२ AU पृथ्वी र अरुण बीचको दूरी १८.२१ AU, पृथ्वी र वरुण बीचको दूरी २९.०९ AU रहेको छ ।

यदि हामीलाई सबै ग्रहबीचको ‘डिस्टेन्स टेवल’ थाहा भए कति राम्रो हुन्थ्यो । जुनसुकै ग्रह बीचको दूरी सजिलै ज्ञात हुने थियो । तलको टेबल हेरेर एकपटक सबै ग्रहहरूको बीचको दुरी गणना गर्नुस् ।

ग्रह –    ग्रह–    दूरी AU मा
बुध –    शुक्र –    ०.३४
बुध –    पृथ्वी –    ०.६१
बुध –    मंगल –    १.१४
बुध –    वृहस्पति –    ४.८२
बुध –    शनि –    ९.१४
बुध –    अरुण –    १८.८२
बुध –    वरुण –    २९.७०

शुक्र –    पृथ्वी –    ०.२८
शुक्र –    मंगल –    ०.८०
शुक्र –    बृहस्पति –    ४.४८
शुक्र –    शनि –    ८.८०
शुक्र –    अरुण –    १८.४९
शुक्र –    वरुण –    २९.३७

पृथ्वी –    मंगल –    ०.५२
पृथ्वी –    बृहस्पति –    ४.२
पृथ्वी –    शनि –    ८.५२
पृथ्वी –    अरुण –    १८.२१
पृथ्वी –    वरुण –    २९.०९

मंगल –    बृहस्पति –    ३.६८
मंगल –    शनि –    ७.९९
मंगल –    अरुण – १७.६९
मंगल –    वरुण –    २८.५६

बृहस्पति –    शनि –    ४.३२
बृहस्पति –    अरुण –    १४.०१
बृहस्पति –    वरुण – २४.८९

शनि –    अरुण –    ९.७
शनि –    वरुण –    २०.५७

अरुण –    वरुण –    १०.८८

‘एस्ट्रोनामिकल यूनिट’ लाई किलोमिटरमा बदल्नको लागि सूर्य र पृथ्वीबाचको दुरी अर्थात् १४ करोड ९६ लाखले गुणन गर्नुपर्छ । यसो गर्दा जुनसुकै दुई ग्रह बीचको दूरी किलोमिटरमा थाहा पाउन सकिन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानमित्र
ज्ञानमित्र

लेखक अध्यात्म र विज्ञानमा विशेष रुचि राख्छन् ।

लेखकबाट थप