शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

बिहीबार, २६ पुस २०७५, १४ : १८
बिहीबार, २६ पुस २०७५

किन्सासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित भएका छन् । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । 

राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गरे । 

हिंसा हत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गरेका राष्ट्रपति जोसेफ काबिलालाई ‘लोकतान्त्रिक परिवर्तनका साझेदार’ का रुपमा हेर्न आमजनता समक्ष आग्रह गरे । 

निर्वाचनमा पराजित भएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गरेका थिए । यस पटकको चुनावमा विगत १८ वर्षदेखि राष्ट्रको नेतृत्व गरेका राष्ट्रपति काबिला उम्मेदवार बनेका थिएनन् । 

‘चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,’ फायुलुले रेडियो फ्रान्स इन्टरनेसनलसँग भने । खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा काबिलाको सत्तारोहणपछिका दुई वर्षसम्म ठूलो सङ्कट देखिएको थियो । 

हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन ।  ‘कूल खसेको मतको करिब ३९ प्रतिशत मत पाएसँगै फेलिक्स शिशेकेडी कङ्गोको राष्ट्रपतिमा चयन हुनुभएको छ,’ स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले भने ।

बिहीबार बिहान चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ सर्वत्र खुशीयाली व्यक्त गर्न थालिएको छ । ‘म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । आजदेखि हामीले उहाँलाई कहिल्यै बैरीका रुपमा हेर्ने छैनौं । उहाँलाई हामी मुलुकको लोकतान्त्रिक परिर्वतनमा साझेदार ठान्नेछौं,’ शिसेकेडीले यूडीपीएस पार्टीको मुख्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने ।

राष्ट्रपति जोसेफ काबिलाको पनि समर्थन रहेका इम्मानुएल रामाजानी शाडारीले तेस्रो स्थान प्राप्त गरेका थिए । उनले करिब २४ प्रतिशत मत प्राप्त गरेका थिए ।

चुनाव आयोगका अनुसार अन्तिम नतिजा जनवरी १५ मा घोषणा गरिनेछ । त्यसको तीन दिनपछि नवनिर्वाचित राष्ट्रपतिलाई सपथ गराइनेछ । 

मतगणनामा निकै ढिलाई भएपछि अनेक आशङ्का व्यक्त गरिएका थिए । चुनावी नतिजालाई लिएर हिंसा भड्किने आशंकामा राजधानी किन्सासाका सडकमा प्रहरीको बाक्लो उपस्थिति थियो । 

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका रहेका छन् । उनी कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस) का प्रमुख रहेका छन् । यो दल उनकै बुबा इटीनले स्थापना गरेका हुन् । इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व हुन् । 

चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनस्र्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गरेका छन् । तर आलोचकहरुले उनीमा राजनीतिक र व्यवस्थापकीय अनुभवको कमी रहेको बताउँदै आएका छन् । 

हालका राष्ट्रपति जोसेफ काबिलाले दुई वर्षअघि नै राजीनामा गर्नुपर्ने थियो, तर त्यसो गरेनन् । काबिलाका विरुद्धमा देशव्यापी प्रदर्शन भएका थिए । काबिला सरकारको दमनका कारण सयौंको अकालमा ज्यान गएको थियो । 

सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थिए । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप