केन्द्रीय संस्करण

स्वदेशी संस्कृति विनासको पीडा

person explore access_timeपुस २६, २०७५ chat_bubble_outline0

    गरिबका लागि प्लेन चढ्नु कल्पना मात्र हुन्छ । उद्योगले प्रदूषण बढिरहन्छ । हरेक प्रविधिका फाइदासँग बेफाइदा गाँसिन्छन् । हामी प्रयोग गर्छौँ, असर नियाल्छाँै तर समस्या समाधानका पाटामा साह्रै बेहोसी छौँ । सहरीकरण बढेपछि व्यवस्थापन र संरचनाका बारेमा सोच्छौँ । पुर्खाको महानतालाई अध्ययन नगर्ने हामीले आज होमस्टे भन्दै छौँ । हामीलाई बासी भात घिउमा भुट्दाभन्दा फ्राई राइसभन्दा सान बढ्नु समस्या हो । 

हिजोका औषधिविज्ञान, सयौँ वर्ष पहिलाका भवन आजसम्म कत्रा ठूला भूकम्प थेगेर सुरक्षित रहेका तथ्य, अलौकिक शक्ति र उपासनका पछाडि जोडिएका मनोविज्ञान, कला र शास्त्रीय वाद्यशैली, भेषभूषा र रहनसहनका ढङ्गढाँचामा आज कति मनोरञ्जक र ज्ञानवद्र्धक होलान् ? डाइबिटिजका लागि मकै र कोदो फाइदाकारक रहेछ । हिजोको आहारा ठीकै त रहेछ । त्यसो भए भाषा, संस्कृति र परम्परालाई किन बिर्साउने ? हामीले आफ्नै लागि आफ्नो बनाएर बाँचे कमसेकम कसैको हेपाइमा त पर्नुपर्दैन । हामी कोरियन, जापानिज, अङ्ग्रेजी भाषा घोक्छाँै तर संस्कृत, मातृभाषा या त नेपालीलाई थोत्रो मान्छौँ ।

प्राचीन ग्रन्थ, पुराण कथा सुनाउने, कर्मकाण्डका लागि भन्दा धेरै मान्छेलाई आचरण सिकाउनका लागि हुन् । हिन्दू धर्मभित्रैकै ऋषि तथा गुरु वृहस्पतिद्वारा प्रतिपादित चार्वाक दर्शन जसले ईश्वर र अभौतिक वस्तुलाई बेआधार ठान्छ । वेदविरोधी भाव यसमा रहेछ । वास्तवमा हामी यस्तो संस्कारबाट परिपोषित रहेछौँ, जसले संस्कृत भाषालाई त पूजापाठ र हिन्दू धर्मका धर्म गुरुको पेवा हो भन्ने बनाइदिएछ । तर वेदव्यासको वेद हिन्दू धर्मका ठेकेरादको पेवा होइन । वेदव्यास हिन्दू थिएनन् । बुद्ध बुद्धिस्ट थिएनन् । यसर्थ अनुसन्धानमा, धर्म र संस्कारमा, अथाह ज्ञानको आजको डिजिटल संसारमा नियम र सोचको दायराले मान्छेको ज्ञान, मानवता र बौद्धिक सक्षमतालाई सीमाङ्कन गर्नु आपैmमा सङ्कुचन हो । निचोडमा पश्चिमी विज्ञान र पूर्वीय ज्ञान आपसमा आवश्यक र अतुलनीय छन् । हामीले ज्ञान, आदर्श जीवनशैली र रहस्यका भावनालाई सुखद्पलसँग जोड्न चाहेका हुन्छौँ ।

पिपलमा पानी चढाउने, तुलसीलाई घरकै छेउमा मोठ बनाएर पूजा गर्नुको अर्थलाई आज विज्ञानले सबैभन्दा बढी अक्सिजन दिने वृक्ष र झार भन्दै छ । मृत्युको अन्तिम अवस्थामा तुलसीको मोठमा सार्नुको अर्थ पनि त अक्सिजन प्राप्तिको आशा रहेछ । हिजो मन्त्रको युग थियो, पछि तन्त्र (जादु, टुनामुनावाला) को युग आयो । आज यन्त्रको युग हो । तर हामी यान्त्रिक युगमा कमजोर छौँ । तर ज्ञान र जीवनका रहस्यको चुरोभित्र यतैतिरका ऋषिज्ञान मानिस, प्राणी तथा प्रकृतिका लागि हितकारक छन् । चाहे चौतारो बनाउने, सरसफाइको विषय हुन् या त औषधी ज्ञानका प्राकृतिक पाटा मानवहीतका पक्षमा सबल लाग्दैनन् र !    

    राजर्षि जनक राजा र ऋषि दुवै हुन् । हाम्रो देशमा भएका हरेक पार्टीका वाद र विचार बाहिर देशका विद्वान्को आडमा ठोकिएका छन् । यहाँ बुद्ध र अहिंसावाद त जन्मिएन, रामराज्यको सोचभन्दा माक्सको साम्यवाद नै महान् बन्न पुग्यो । गान्धी ठूला कि फुकोको दर्शन– आफ्नै मनोविश्लेषण हुन्छ । यहाँ शासकपूजा कि शासितको शोषण विचार र व्यवहारको अन्तर्घुलनमा प्रजातन्त्र प्राप्तिपछिका हरेक नेतृत्वको आरोप शैली र तुजुकमा उस्तै रोग छ ।

जनता उस्तै भेडा बनेर समर्थन र विरोध गर्छौँ । को, कसको भक्त र पक्षपाती बुझ्न सजिलो तर बुझेरै पनि भन्न गाह्रो । भाषण र बुद्धका पञ्चशीलका गफमा माक्र्सको साम्यवाद कसरी कहाँनेर मिलाउने ? छक्क पर्ने कुरा ज्ञानको विस्तार विश्वव्यापीकृत परिवेशमा यान्त्रिकीकृत अनुसन्धानसँग गाँसिँदा हामी उत्तरआधुनिकता होस् या डेरिडाको विनिर्माणवाद तर ग्रिक र रोमको इतिहास घोकिरहन्छौँ ।

पाणिनिभन्दा फिल्मोरलाई महान् मान्छौँ । दुवैलाई जोडेर हेरे पनि पाणिनिलाई गुरु, ज्ञान र प्राचीन अनि फिल्मोरकै कारक पद्धति राम्रो भनी पूर्वाग्रह राख्छौँ । तर ती दुई कालखण्डको सत्यता यस युगका हामीलाई थाहा त छैन नि । ती दुई विद्वान्को विद्वत्वृत्तिमा कति बाध्यता, सत्यता या त यथार्थ थिए होलान् । हामीले ‘युधिष्ठिर राजनीति सिद्धान्त’ जन्माउँ या ‘विदुर नीति’सँग राजनीतिको अध्ययन गरौँ ।

माक्र्सको पूजा र अन्धभक्त बन्दा मदन भण्डारी, बी.पी. जस्ताको छुट्टै राजनीतिगत हाँगो बन्न त सकेन नि ? हामीले शताब्दीयौँ पुराना बनेका सिद्धान्त र मानवतासँग गीताको कर्मवाद या एउटा भेडी गोठालाको ज्ञानलाई जोड्दा के हुन्छ ? आज र अबका लागि अहिलेका अनुसन्धातालाई मान्ने कि नमान्ने ? अर्को कुरा यो संसारमा हजारौँ दार्शनिक, राजनीतिज्ञ जन्मेलान् तर सबैको सिद्धान्तलाई अनुसन्धानको स्रोत बनाइरहने र नाम कण्ठ पारिरहने हो भने विद्यार्थीले आफ्नोपनालाई कहाँ घुसाउने ? हिजो बच्चाले रोएको बेला आमा... भन्दै रुन्थ्यो अहिले हामीले अरूको नक्कल गर्यौँ अनि बच्चाले रुन्छ मम्मी... । यी कुरा वाहियात भन्नुहोला तर सोच्नुहोस् त रुँदा पनि अङ्ग्रेजीमा रुनुपर्ने रे । थारुमा रुन किन नमिल्ने ? 

    हाम्रा पुर्खाले ढिकीको सिर्जना गरे । जाँतो बनाए । सायद पश्चिमाहरू, मकैको बीउ खोज्दै थिए होलान् । यता पूर्वका विद्वान्हरूले मोही पार्न मदानी, घुर्रो, नेती अर्थात् नरिवलको डाडु बनाए । बाँसको ढुङ्ग्रो बनाए । बाँसबाट चोया निकालेर दाम्लो बाटे ।

पाट, सनपाट, हातेआरीजस्ता वनस्पतिलाई प्रयोग गरे । तेर्सो रूखको मुढोलाई हलो आकृतिमा बदल्ने कला, ज्यामिर, कागति पेलेर अमिलो बनाउने तरिका या त तोरी पेल्ने कोल । पानी घट्ट, दाम्लो बाट्ने, गुन्द्री अर्थात् राडी बुन्ने तान सबै हाम्रा विज्ञान होइनन् र ? हामीले त्यो ज्ञानलाई विकसित तुल्याउन सकेनौँ तसर्थ थोत्रो मात्र भनिरह्यौँ । आपूmले बढाबा दिन सकेनौँ फलतः विकसित मुलुकले बनाएका यन्त्रभित्र आज निर्भर छौँ । अर्को ठूलो कुरा सामाजिक मनोविज्ञानलाई हेरेर मानिसलाई अति आवश्यक कुरा मानवताको पाठ सिकाएर सुखी जीवनको दर्शनलाई विकास गर्दै जाँदा चाडबाड, अनेकौँ संस्कृति र संस्कार जन्माए । सहयोग र भाइचारा सिकाए । तर आज परनिर्भरताको पराकाष्ठालाई हेर्दा हामी यस्ता विज्ञताबाट टाढिएको स्पष्टै छ । 
 

   हिजो हाम्रा ऋषिमुनिले लेखेका ज्ञानका ठेली आज र भोलिका लागि पनि उत्तिकै अकाट्य लाग्छन् । पश्चिमले हामीलाई पनि बाठो बन्ने अवसर त दियो तर खुसी हुने बाटो यतैको हो भन्ने सोच्दै छ । सामाजिकता बिर्सँदा आत्मघाती हमला, बालवृद्धमाथि अत्याचार, हिंसात्मक नरपिशाची प्रवृत्ति यहाँ अमिल्दा विषय थिए । पापको डर पनि रहेर हो । आज डिभोर्स, टेन्सन, बिजीजस्ता शब्द र कर्मसँग नातो गाँस्दा आफ्नो राम्रो छोडेर अर्काको नराम्रो अनुशरणमा लालायित भएको समाजले असल आचरणका लागि हाम्रै संस्कृतिलाई घृणा पो गर्दैछन् त । 

यन्त्र, नवीनतम् सोच र विज्ञानमा गरेको विकासमा पश्चिम जति अघि बढे पनि मानवता यहाँ उच्च रह्यो । त्यसो हो भने पश्चिमीकरण नै आधुनिकीकरण त पक्कै होइन । जीवन र जगत्सँग मानव र समाजको दर्शनमा हाम्रो सभ्यता ठीक छ । किताबका ठेली र विज्ञका विचारमा गुरुकुल शिक्षामा स्वतन्त्रता र क्षमताको सम्मान हुन्थ्यो । सत्यता र कानुनको पालना अत्यावश्यक बन्यो । राजालाई पनि कानुन लागेकै हो, श्राप लागेकै हो, अपराध भोगेकै कुरा छन् । यसोभन्दा यता विकृति, अन्धविश्वासका पोका पनि छरपस्टै भेटिन्छन् तर टाठाबाठाको हालीमुहाली भएका र भइरहेका विचार र विद्रोहका कुरालाई हेर्ने हो भने माक्सवादी द्वन्द्वात्मक भौतिकवादपछिको साम्यवाद ठूलो कि रामराज्य– भन्ने प्रश्न उब्जिन्छ ।  
 

   माक्सले हिजोका लागि भनेका सबै कुरालाई सत्य मान्ने हो भने बौद्धिक प्राणी मानिसले बलवान् हात्तीलाई तह लगाउने कार्य गर्नु पनि दमन नै हो । यसोभन्दा म दमनकारी सोचको पक्षपाती भन्ने दोषको आरोप नलगाउनु होला तर समाज मुखमा राम राम बगलीमा छुरा बोकेर स्वार्थी बन्दै छ । 

मानवता, करुणा, निःस्वार्थता समाजको परिवर्तनसँगै, यान्त्रिक युगसँगै डढ्दै छ । मानिस उही ढुङ्गे युगीन आचरणलाई डाक्दै त छैन ? दया करुणाका हाम्रा अत्यावश्यक भावनालाई पैसाले भस्म पार्दै छ । यसर्थ समृद्धिसँग शान्ति र मानवता अघि हुनुपर्छ । म अन्धानुकरण र ज्ञानमारा शैलीको विपक्षी अवश्य हुँ । अतः सिद्धान्त सबैको पढ्नु अवश्य पनि मार्मिक पक्ष हो तर अङ्ग्रेजी फोस्रा सिद्धान्त पनि महान् नै हुन् भन्ने गलगिज्ज लदाउने नीति पक्कै पश्चिमीकरणको खोस्टो मात्र हुन् ।

बुझ्ने नै हो भने हामीले ज्ञानका विषयमा, विश्लेषणका शैलीमा नवीन प्रविधि र ज्ञानलाई अन्धो बनेर भन्दा आवश्यकता र अपरिहार्य विषयलाई हेरेर अपनाऔँ तर आफ्नै संस्कृतिका सकारात्मक विज्ञान र दर्शनलाई त खोजौँ न । विचार, अध्ययन, अनुसन्धान अब लादिने रवाफबाट होइन देशप्रेमी सोचबाट अनुसरित होओस् । बुझ्नुपर्ने र मनन गर्नुपर्ने विषय भनेकै आफ्नो कला संस्कृतिसँग रहेर अरूको अध्ययन गर्ने हो भन्ने मेरो ठम्याइ हो ।

विज्ञले मानून् नमानून् सत्यतामा रहँदा आफ्नो हठी प्रवृत्तिसँग बिरालो बाँध्ने कानुन होइन देश, प्राणी र प्रकृतिका लागि हितकारी अनुसन्धान आवश्यक छ । आत्मनिर्भर बन्न हाम्रै अध्ययनका  नीति र सिद्धान्त बने !

अब विदेशीलाई नेपालमा पनि शिक्षा दिने हो भने नेपालले मौलिकता, भाषा र संस्कृतिका मिहीन विषयमा पनि घोत्लिनुपर्छ । यसको अर्थ दुई ज्ञानको खेमामा तोलेर सानो ठूलो बन्ने र बनाउने भन्दा पनि औचित्य र आवश्यकतामुखी भए के हुने ? हाम्रो मस्तिष्कले स्वदेशी दार्शनिकलाई प्राज्ञिक सम्मान गर्न सक्दैनौँ । यहाँ वैज्ञानिक बनाउने सोच जन्मन नसक्नु तर यान्त्रिक आकर्षणलाई फेसन मान्ने समाज मनोविज्ञान मौलाउँदा मौलिक कला, संस्कृति, शिल्पका विषय धराशायी बन्दै छन् । तर हाम्रो समाजभित्र हामी ज्ञानमारा बन्दै आफ्नो सकारात्मक सात्विक जीवनका ज्ञानलाई यान्त्रिकीकरणको आडमा बेचिरहेका छौँ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...