बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पानामा मामिलामा नवाज शरीफ दोषी करार : प्रधानमन्त्री पदका लागि अयोग्य

शुक्रबार, १३ साउन २०७४, १३ : ४४
शुक्रबार, १३ साउन २०७४

इस्लामाबाद – पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा लिक्स मामिलामा दोषी करार गरेको छ । यस फैसलापछि उनी प्रधानमन्त्री पदका लागि अयोग्य बनेका छन् ।

अदालतको फैसलापछि नवाज शरीफले अब पदबाट राजीनामा दिनुपर्छ । उनीमाथि कालो धन जम्मा गरेको आरोपमा दोषी ठहर गरिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीस एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सइद खोसा र गुलजार अहमदको पाँच सदस्यीय बेन्चले नवाजलाई दोषी करार गरेको हो ।

न्यायाधीस खोसा र गुलजार पानामाको शुरुवाती निर्णयमा प्रधानमन्त्री नवाज शरीफलाई अयोग्य करार गरिसकेका थिए । त्यतिबेला बाँकी तीन न्यायाधीसले थप जाँचको आदेश दिएका थिए । अहिले पाँचै न्यायाधीसले उनलाई दोषी करार गरेका छन् ।

सर्वोच्च अदालतले नवाजसहित उनकी छोरी र ज्वाइँलाई पनि दोषी करार गरेको छ ।

नवाज शरीफ तीनपटक पाकिस्तानको प्रधानमन्त्री रहिसकेका छन् । 
पाकिस्तानको संविधानअनुसार राष्ट्रको प्रधानमन्त्री साँचो र इमान्दार हुन कानूनी रुपमा अनिवार्य छ । अब अदालतको फैसालापछि उनी साँचो र इमान्दार रहेनन् । यसकारण अब नवाज फेरि प्रधानमन्त्री बन्न पाउने छैनन् ।

यसभन्दा पहिलो परवेज मुशर्रफले कू गरेपछि नवाज शरीफले प्रधानमन्त्रीको साथै देश पनि छाड्न परेको थियो ।

यस मामिलामा शुरुवाती फैसालपछि संयुक्त जाँच टोली गठन गरिएको थियो जसले गत १० जुलाईमा आफ्नो रिपोर्ट पेश गरेको थियो ।
विपक्षी पार्टी पाकिस्तान तहरीक–ए–इन्साफका अध्यक्ष इमरान खान पानामा मुद्दामा याचिका दायर गर्नेमध्येका एक हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप