बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालविवाह विरुद्धको अभियानमा किशोरी

बुधबार, २५ पुस २०७५, १३ : ५७
बुधबार, २५ पुस २०७५

बैतडी– बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् । 

जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी किशोरी वृत्त आवद्ध किशोरी बालविवाह न्यूनीकरण अभियानमा लागेका हुन् । बैतडीमा ५७ वटा किशोरीवृत्त आवद्ध किशोरीले बालविवाह न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेका छन् । 

जिल्लाका विभिन्न स्थानीय तहका वडामा गठन गरिएका किशोरीवृत्त समूहले बालविवाह न्यूनीकरणका लागि प्रयास गरिरहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । 

किशोरी वृत्तको पहलमा एक सय बढी बालविवाह रोकिएको उनले बताए । मागेर हुने बालविवाह रोकिए पनि पछिल्लो समयमा भागेर हुने बालविवाह चुनौतीको रुपमा देखा परेको उनले बताए । 

बालविवाहले पार्ने असरका बारेमा अहिले स्वयं किशोरीहरुलाई समेत सिकाउने गरिएको र अभिभावकलाई समेत सिकाउने गरेको किशोरीवृत्तका सहजकर्ताले बताएका छन् । आफूहरुले गाउँगाउँमा गएर अभिभावक र किशोरीलाई बालविवाहले पार्ने असरका बारेमा जानकारी दिन थालेको पञ्चेश्वर गाउँपालिकाका अञ्जु चन्दले बताए । 

बालविवाहका कारण किशोरीले शिक्षा ग्रहण गर्न नपाउने, विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने भएकाले आफूहरु बालविवाह न्यूनीकरण अभियानमा जुटेको चम्किला तारा किशोरीवृत्त रौलेश्वरका अध्यक्ष द्रोपती विष्टले बताए । बालिका दुलही होइनन् राष्ट्रिय सञ्जालले पाँच वर्षअघि गरिएको एक अध्ययन अनुसार बैतडीमा ५९ दशमलव ५ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । 

एकीकृत शहरी विकास योजना बन्दै 

बैतडीका ३ नगरपालिका एकीकृत शहरी विकास योजना बन्ने भएको छ । सरकारले देशभरका १८५ नगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गर्ने लक्ष्य राखेकामा बैतडीका तीन नगरपालिकाको योजना निर्माण हुने भएको हो । 

दशरथचन्द, मेलौली र पुरचौडी नगरपालिकाको एकीकृत शहरी विकास योजना अघि बढाउनका लागि प्रारम्भिक काम शुरु भएका छन् । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा नगरपालिकाको एकीकृत शहरी विकास योजना बनाउन लागिएको हो । 

नगरपालिकाको सामाजिक, आर्थिक, भौतिक, सुशासन, वातावरण, कृषि, पर्यटनलगायत नौ क्षेत्रको अध्ययन गरेर एकीकृत विकास योजना बनाइने ग्रिड गोसे÷राजदेवी इञ्जिनीयर जेभीका भूगोलविद् विष्णु अधिकारीले बताए । आफूहरुले दशरथचन्द नगरपालिका र पुरचौडी नगरपालिकाको योजना बनाउने जिम्मा पाएको छ । दुबै नगरपालिकामा प्रारम्भिक अवलोकन, तथ्यङ्क सङ्कलन र नक्साङ्कनको काम भइरहेको जनाएको छ । 

नगरपालिकालाई आगामी पाँच वर्ष, १० वर्ष र १५ वर्षमा कस्तो बनाउने भन्ने विषयमा योजना केन्द्रित हुनेछ ।  नगरपालिकाको समग्र विकासका लागि प्रत्येक नगरपालिका रु ३० करोड बढीका दुई योजनाको डिपीआर समेत निर्माण गरिने वातावरणविद् कुमोद लेखकले बताए । मेलौली नगरपालिकामा एकीकृत शहरी विकास योजना निर्माणका लागि परामर्शदाताको टोलीले प्रारम्भिक छलफल गरेको नगरप्रमुख कृष्णसिंह नायकले जानकारी  दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप