बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कागजको बिटोलाई डलर भन्नेदेखि, ठूला स्टोरबाट लाखौंको रक्सी ठग्ने गिरोह प्रहरी फन्दामा

मङ्गलबार, २४ पुस २०७५, १८ : ४७
मङ्गलबार, २४ पुस २०७५

काठमाडौं । काठमाडौंमा पछिल्लो समय पहेँलो धातु लेपन गरिएको नक्कली सुनलाई ‘सक्कली हो’ भन्दै बिक्री गर्ने गिरोह नै सक्रिय भएको छ । 

त्यस्तै बाहिर सक्कली डलर देखाएर भित्र कागजको बिटो राख्ने र चिठ्ठा परेको म्यासेज पठाएर लाखौं ठग्नेको ठूलै गिरोह सक्रिय भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  

सञ्चार माध्यमबाट यसरी ठगिएको समाचार दैनिकजसो प्रकाशन, प्रसारण हुँदा पनि सस्तोमा सुन किन्ने लोभमा परेर उपत्यकाका सुन व्यापारी दैनिकजसो ठगिने गरेका छन् ।

सोलुखुम्बु स्थायी घर भएका तासी लाक्पा शेर्पा केही बर्षदेखि यस्तै नक्कली सुन देखाएर ठग्ने धन्दा गर्छन् । पछिल्लो समय हुम्लाका क्यारेङ्ग ग्याल्बो शेर्पालाई ‘एक किलो सुन दिन्छु’ भन्दै ३ लाख ७० हजार ठगी गरेको अभियोगमा तासीलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर तासीलाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी प्रमुख (एसएसपी) वसन्त लामाले भने, ‘व्यापारीहरुले कानुनसम्मत रुपमा चाहे जत्ति सुन किन्न नपाउँदा यस्तो ठगीको गिरोह बढ्दै गएको हाम्रो अनुसन्धानबाट खुलेको छ ।’

नक्कली सुन देखाएर ठगी गरेको अभियोगमा यसअघि तीन पटकसम्म पक्राउ परेका तासी लाक्पा शेर्पा धरौटीमा रिहा भएका थिए । २०५५ सालमा मान्छे मारेर ११ बर्ष जेल बसेर निस्केका तासीले पछिल्लो सयम नक्कली पहेँलो धातु देखाएर ठग्ने गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

‘सुन किन्न जाने व्यापारीहरु जाहेरी दिन नआउने हुनाले हामीलाई अनुसन्धान गर्न असहज हुने गरेको छ’ एएसपी लामा भन्छन्, ‘हामीले विशेष सुराकी परिचालन गरेर यस्ता ठगहरुलाई पक्राउ गर्ने गरेका छौं ।’

पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको अपराधको अर्को ट्रेन्ड हो, ‘सस्तोमा डलर दिन्छु’ भन्दै ठगी । यसरी डलर देखाएर ठग्ने गिरोहले चाहिँ बाहिर दुई थान सक्कली डलर देखाएर भित्र कागजको बिट्टो राख्ने गरेका छन् ।

काठमाडौं प्रहरीले सोमबार त्यसरी काठगजको बिटोलाई डलर भन्दै ठगी गर्ने सिन्धुलीका कुमसिंह घिसिङ र प्रेम बहादुर तामाङलाई पक्राउ गरेको छ ।

‘सस्तोमा डलर साटिदिन्छौं भन्दै उनीहरुले एकान्त स्थानमा लगेर ठगी तथा लुटपाट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ,’ एसएसपी लामा भन्छन्, ‘अभियुक्तहरु कुमसिंह र प्रेमले हालसम्म त्यसरी कागजको बिट्टा देखाएर २० लाखबढी ठगेको अनुसन्धानबाट खुलेको छ ।’

ठूला स्टोरबाट विदेशी रक्सी र टिभी झ्वाम !

आफूलाई ‘व्यापारी हुँ’ भन्दै हिँड्ने धनगढीका बासुदेव मैनालीले भने काठमाडौंमा ठूला स्टोरबाट लाखौंको सामान ठगी गर्ने धन्दा नै सञ्चालन गरेको पाईएको छ ।

खोटाङबाट रामचन्द्र शर्मा, कैलालीबाट बासुदेव मैनाली, काभ्रेबाट शिवराम पौडेल र काठमाडौंबाट समेत फरक–फरक नाममा नागरिकता लिएका मैनालीले अण्डादेखि टिभीसम्म ठगेको काठमाडौं प्रहरीले जनाएको छ ।

अहिले काठमाडौं प्रहरीको हिरासतमा रहेका मैनालीले टोखामा रामप्रसाद श्रेष्ठले सञ्चालन गरेको  लिक्वेर सप्लायर्सबाट १८ लाख ५० हजारको रक्सी लिएर फरार भएको प्रहरीले जनाएको छ ।

‘लिक्वेर स्टोर सञ्चालकलाई उनले शिवराम पौडेलको नाममा रहेको गरिमा विकास बैंकको चेक दिएको भेटिएको छ,’ काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले भने, ‘पाटनस्थित आरएन सपिङ मार्टबाट साँढे ३ लाखको टिभी लिएर सिभील बैंकको चेक खुल्न आएको छ ।’

भक्तपुरका राज श्रेष्ठबाट १ लाखको अण्डा लिएर फरार भएका मैनालीले पेप्सिकोलाका डम्बर थापाको स्टोरबाट ३ लाख ७५ हजारको फ्रिज लिएर फरार भएको प्रहरीले जनाएको छ ।

ठिमीका गंगाराम मानन्धरबाट नयाँ जेनेरेटर ठगेर भागेका मैनालीको जोरपाटी नारायणटारस्थित गोदाममा १५ लाख बढीको सामान फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप