शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवा गाउँ फर्काउन होमस्टे

सोमबार, २३ पुस २०७५, १५ : ३९
सोमबार, २३ पुस २०७५

 सौगात पोखरेल
 

चलनचल्तीका मान्यता र सोचमाथि प्रश्न गर्दै पुच्छरसिटबाट नयाँ क्षमता र प्रतिभाको खोजी गर्ने भन्दै पोखरामा केही युवाहरूले पुच्छरसिटे अभियानका नाममा कहिले जेलमा किताब बाढ्न पुग्छन् त कहिले चर्चामा आउन नसकेको होमस्टेमा पुगेर प्रचारप्रसारमा सहयोग गर्छन् । 
 

   विकसित देशको सपना बोकेर प्रत्येक दिन हजारौँको सङ्ख्यामा युवाहरू विदेशिइरहेका हुन्छन् । उत्पादनशील खोरिया बाँझो राखेर कोरिया धाउनेहरूको सङ्ख्या उत्तिकै छ । रहरले वा मजबुरीले विदेश जानेको सङ्ख्या पनि उस्तै छ । हिजो रोधी गाएर रातभर जागा बस्ने गुरुङ गाउँ समसाँझै सुत्छ । 
 

   पुच्छरसिटे अभियानको आयोजनामा पोखराबाट ३२ किलोमिटर टाढा गुरुङ गाउँ चिप्लीमा पुग्यौँ । कच्चीबाटोमा धुलो उडाउँदै, जिपमा हल्लिँदै सुरु भएको दुई घण्टाको यात्रापछि चिप्ली गाउँ पुगियो । उबेला रातभर जागाराम बस्ने चिप्ली ८ बजे हामी पुग्दा नै हाई काडेर बसेको थियो । गाडीबाट आर्लिएर उकाली लाग्दा दायाँ बाँयाको आलु खेती देख्दा लाग्यो, यहाँका युवाहरू साह्रै मिहिनेति रहेछन् । दुई मिनेट हिँडेपछि हामीलाई कुरेर बसेका एक हुल बाआमाहरूको आँगको डिलमा देखियो । 

   हामीलाई बाआमाहरूले मात्र कुरेर बसेका रहेनछन् । बरु हामीलाई त खाजाले पनि कुरेर बसेको रहेछ । अझै अचम्मको कुरा त के छ भने गुरुङ गाउँमा सेलरोटी र चियाले कुरेको रहेछ । साथीहरू जिस्कँदै  भन्दै थिए – ‘चिया त उता नि पाइन्छ सिया चैँ छ कि छैन ?’ स्पिकरमा बजिरहेको गुरुङ गीतसँगै साथीहरूको नाच सुरु भयो । आजकाल धेरै होमस्टेहरूले बजारबाट सबैथोक किनेर लगेर पाहुनालाई खुवाउँछन् । 

तर चिप्लीमा त्यसो भएन् । गाउँमा नै उत्पादित तरकारी, लोकल कुखुरा र लोकल चामलको खाना खाइयो । खान चाहनेलाई आर्गानिक कोदाको जुसको पनि व्यवस्था छ । तपाईंलाई चिप्ली पुग्दा आफ्नै गाउँको झल्को आउँछ । 

   हामी भन्ने बेलामा छ भन्छौँ, गाउँमा सबथोक छ । हाम्रो बालापन गाउँमा नै छुटेका छन्, साथीभाइ उतै छुटेका छन् । हाम्रो भेषभूषा, भाषा, संस्कृति र इतिहास पनि त गाउँमा नै छुटेको छ । तर आजकाल गाउँहरू रित्तोरित्तो छन् । गाउँ जोगाउन अन्तजस्तै चिप्लीमा पनि आमाबाहरूलाई भ्याई नभ्याई छ । गाउँमा भएको एउटा स्कुल पनि विद्यार्थी सङ्ख्या कम भएको कारण बन्द भएको छ । धेरै गुरुङ र केही दलितहरूको बसोबास रहेको गाउँले ५६ सालमा नै लघुजलविद्युत आयोजना सञ्चालन गरेर गाउँलाई झिलीमीली पारेको थियो । आफूलाई पुग्ने अनाज आफैले उत्पादन गरेको थियो । पुरानो व्यापारी नाका रहेको चिप्लीमा आमा समूहले एक महिनाअघि मात्र होमस्टे सञ्चालन गरेको हो । पर्यटकीय गाउँ सिक्लेस पुग्न भन्दा सात किलोमिटर नजिक रहेको चिप्ली गाउँ यतिबेला होमस्टेमार्फत युवाहरूलाई गाउँ फर्काउने योजनामा छ । 

आन्तरिक तथा बाह्य पर्यटकका अलवा आफ्नै गाउँ छोडेर सहर वा विदेश भासिएकाहरूलाई पनि गाउँ फर्किऊँ फर्किऊँ भन्ने अवस्थाको सिर्जना गर्नका लागि होमस्टे सञ्चालन गर्न लागिएको चिप्ली होम स्टेकी अध्यक्ष होम कुमारी गुरुङले बताइन् । स्थानीय उत्पादन र संस्कृतिको प्रचारप्रसारका लागि होम स्टेले महत्त्वपूर्ण भूमिका खेल्ने चिप्ली टोल विकास संस्थाका अध्यक्ष नौबहादुर गुरुङले बताए । सबै युवा गाउँ छाडेर विदेश हिँड्दा पनि धेरै समय गाउँमा नै बताउने सिद्ध युवा क्लबका अध्यक्ष विशाल गुरुङ व्यावसायिक माछा पालनमार्फत चिप्लीलाई चिनाउने योजना सुनाए । उनले भने– गाउँलाई उत्पादनसँग जोडेर विदेशिएका युवाहरूहरूलाई देश फर्काउन पनि होमस्टे सञ्चालन गरिएको हो ।’

उसो त गाउँका आधाआधी घरहरूमा ताल्चा लगाइएको थियो । गाउँ लगभग युवाविहीन थियो । विदेशिएका र सहर झरेका आफ्नै छोराछोरीलाई पनि गाउँ फर्कौँ फर्कौँ पार्नका लागि चिप्लीका आमाहरूले जुन मिहिनेत गर्नुभएको छ, त्यो साह्रै सह्रानीय रहेको छ । काम भएन भनेर प्रत्येक दिन हजारौँका सङ्ख्यामा विदेशिएका युवाहरूलाई यतिबेला बाझिएका गह्राहरूले खोजिरहेको छ । हामीसँग इच्छाशक्ति भयो भने के हुँदैन भन्ने कुरा हेर्नका लागि भने तपाईंहरू एक पटक चिप्ली होमस्टे नै पुग्नुपर्नेछ । त्यहाँका आमाबाहरूको मिहिनेत साँच्चै सम्मान गर्न लायक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप