केन्द्रीय संस्करण

अतीतमुखी चस्माको नजारा

person explore access_timeपुस २३, २०७५ chat_bubble_outline0

मान्छेको वर्तमान जब सङ्कटग्रस्त हुन्छ ऊ अतीतमुखी बनिदिन्छ । यो आम मान्छेको चरित्र हो । मान्छे अतीतमुखी बन्छ र सोच्न थाल्छ–ओहो ! मेरो विगत । मेरो इतिहास । मेरो अनुभव । मेरो दक्षता अनि क्षमता । फेरि अतीतमुखी बन्न सजिलो पनि हुन्छ । किनकि विगत भोगर आइएको हुन्छ र विगतबारे प्रशस्त सूचना एवम् जानकारी हुन्छ । अनि त्यसलाई तोडमोड गर्ने कला र अभिव्यक्तिको अनुभव पनि । त्यसैले अक्सर मान्छेका गफका सिलसिला पनि विगतमै जोडिन पुग्छन् । 

बुटवलको एक चिया पसलमा गफिँदै केही अधबैंसे भलाद्मीहरू सङ्घीयताबारे यस्तै टिप्पणी गर्दैथिए –राजनीतिक दलका हजारौँ कार्यकर्ताहरूलाई राज्यले तलबभत्ता बेहोर्नुपर्ने सङ्घीयता कसरी टिक्छ ? त्यस्तै चियागफकै सिलसिलामा अर्का एक मित्रले अहिलेको भ्रष्टीकृत राजनीति देखेर दिक्क हुँदै सुनाए– ‘यी सयौँ छोटे राजा जन्माउने गणतन्त्रभन्दा एउटै राजा हुने राजतन्त्र नै ठीक त लाग्न थाल्यो !’

यी पनि केही अतीतमुखी दृष्टिकोणकै नमुना हुन् । जहाँसम्म गणतन्त्र र राजतन्त्रको कुरा छ– आजको २१औँ शताब्दीको ज्ञानविज्ञानको विकास र आधुनिक चेतना अनि अझै अधिकारमा आधारित राज्यव्यवस्थाको अवधारणा आइसकेको सन्दर्भमा कसैगरे पनि गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन । फेरि आजको विकल्प हिजो कदापि हुँदैन । आजको विकल्प भोलि हो, अझै राम्रो, उन्नत र सुन्दर भोलि ! त्यसैले भावावेषमा गरिने अतीतमुखी टिप्पणीले मान्छेलाई भावनात्मक रूपमा प्रभाव पार्न त सकिएला नै तर त्यसले आजको रचनात्मक विकल्प भने पस्किन सक्दैन । 

अब नेपाली समाजमा चर्चाको शिखरमा रहेका केही प्रभावशाली व्यक्तिहरूको त्यस्तै अतीतमुखी टिप्पणी नियालौँ । केही दिनअघि प्रभावशाली टेलिभिजन प्रस्तोताको छवि बनाएका भुषण दाहालले ट्विट गरे– ‘राजा वीरेन्द्रलाई धेरै कोणबाट सम्झिन्छन् नेपालीहरू । तर मचाहिँ मुलुक जुन मोडमा पुगेर फसेको छ, आजका सत्ताधारीहरूलाई आह्वान गर्छु, दुईवटै छिमेकीहरूसँग मुलुकको हित हुनेगरी ५० वर्षे सन्धि गरौँ । खाकाको अभाव हो भने राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव खोजे विष होइन ओखती नै हुनेछ’ 

हामीले पुरानै भौगोलिक वस्तुस्थितिकै आधारमा मात्रै सम्बन्धको व्याख्या गर्ने हो भने जस्तोसुकै सन्धि र सम्झौता गरे पनि हाम्रो हीनताबोध कम हुनेछैन । सबैभन्दा दुःखको कुरा हामीले हीनताबोधमै विगत बितायौँ ।

दाहालका अनुसार आजको समय सन्दर्भमा दुई छिमेकीहरूसँग हामीले राजनीतिक र कूटनीतिक हैसियत कायम गरी नयाँ मैत्रीसन्धि गरौँ भन्ने भनाइ सही नै हो । यद्यपि हामीले बुझ्नुपर्ने कुरा भने चीन र भारतसँगको सम्बन्धमा हाम्रो परम्परागत व्याख्या कहाँनेर फेल भयो भन्ने हो । हामीले कुन धरातल अनि मानकका आधारमा सम्बन्धको परिभाषा गरेका छौँ ? हामीले विगतमा दुई देशीय सम्बन्धलाई हेर्ने नजरिया कस्तो रह्यो ? आज कुन दृष्टिकोणबाट हेरिनुपर्छ ? हाम्रा अन्तरदेशीय सम्बन्धका नयाँ आधारहरू के–के हुन् ? यी प्रश्नहरूको नयाँ तरिकाले हल खोजिनुपर्छ । 

हामीले पुरानै भौगोलिक वस्तुस्थितिकै आधारमा मात्रै सम्बन्धको व्याख्या गर्ने हो भने जस्तोसुकै सन्धि र सम्झौता गरे पनि हाम्रो हीनताबोध कम हुनेछैन । सबैभन्दा दुःखको कुरा हामीले हीनताबोधमै विगत बितायौँ । दुई ठूला देश भनेका दुई ठूला अर्थतन्त्र पनि हुन् । दुई ठूला विश्व बजार हुन् । ती बजारबाट हामीले पनि लाभ लिनसक्छौँ र लिनुपर्छ भन्ने मान्यताका साथ सम्बन्धको पुनः परिभाषा जरुरी छ । यदि हामीले अन्तरदेशीय सम्बन्धको नयाँ आयाम खोतल्न सकेनौँ र पुरानै दृष्टिकोणबाट सम्बन्धलाई परिभाषित गर्ने हो भने त्यसले हाम्रो बृहत्तर हित हुन सक्दैन । 

रह्यो कुरा शान्ति क्षेत्रको । नेपाल ‘अशान्ति क्षेत्र’ भएकै कारण प्रगति नभएको होइन । शासकहरूको नालायकीका कारण प्रगति हुन नसकेको हो । हिजो राजतन्त्र थियो । पञ्चायत थियो । अनि बहुदलीय व्यवस्थासहितको प्रजातन्त्र पनि थियो । तर यी सबै तन्त्रहरूले नेपालमा काम गरेन र हामीले गणतन्त्रका लागि सङ्घर्ष गर्यौं । अहिले गणतन्त्रमा पनि पुरानै राजनीतिक संस्कार हाबी हुँदा यसले यथोचित परिणाम दिन सकेको छैन । अर्थात् गणतन्त्रको आभास आम नागरिकको घरदैलोमा पुग्न सकेको छैन । यसको मतलब यो होइन कि हिजो राजतन्त्र पुगेको थियो । पञ्चायतले गुल्जार गरेको थियो । अझ बहुदलीय प्रजातन्त्रले त उत्पात्तै मच्चाएको थियो ।

कहिल्यै पनि शासन व्यवस्थामा गणतन्त्र जस्तो अब्बल अरू व्यवस्था हुन सक्दैन । हो, गणतन्त्रलाई कसरी नागरिकको घरदैलोसम्म पुर्याउने भन्ने विषय चाहिँ निकै महत्त्वपूर्ण छ । फेरि आजको २१औं शताब्दीको मानव चेतनाको युगमा कुनै व्यक्ति वा वंशले शासन गर्ने पद्धति कुनै पनि मानेमा विकल्प हुन सक्दैन । त्यसैले अहिले केही अफ्ठ्यारो आइपर्यो भन्दैमा नोस्टाल्जिक भएर विगततिरै झुल्नु भनेको समय बर्बाद गर्नु हो । यसले विकल्प दिँदैन । 

त्यस्तै आफ्नो पेसागत जिम्मेवारी छाडेर वैकल्पिक राजनीतितिर लागेका पूर्वपत्रकार रवीन्द्र मिश्रले ट्विट गरे– ‘डा. तुलसी गिरी पञ्चायती निरङ्कुशताको जग हाल्नुभन्दा बीपीसँग मिलेर अघि बढे मात्र देशको आमूल रूपान्तरण सम्भव छ भनेर राजा महेन्द्रसँग अड्डी लिएको भए आज नेपाल नितान्त भिन्न हुनसक्थ्यो । गिरीको उचाइ सगरमाथा जस्तै हुने थियो ।’

मिश्रजीको यो पनि अतीतमुखी सोच नै हो । डा. तुलसी गिरी, जसले पञ्चायती शासन व्यवस्थाको इन्जिनियरिङकै जिम्मा लिएर काम गरे उनैले बीपीसँग मिलेर काम गरेको भए हुन्थ्यो भन्नु ‘बाघ मांसहारी भएकै कारण मृगहरू मारिए, त्यसैले बाघ साकाहारी भएको भए मृगहरू बाँच्थे’ भनेजस्तै हो । साकाहारी बाघको परिकल्पना गर्नु र तुलुसी गिरी अनि महेन्द्रहरूबाट लोकतन्त्रको संवद्र्धनको कल्पना गर्नु उस्तै हो । 

ठीक छ, महेन्द्रले त्यो बेला जसरी शासन गरे– उनले देशको हित नै चाहेका थिए रे ! तर, उनले लोकतन्त्र र राजनीतिक स्वतन्त्रताको मूल्यमा आफ्नो शासनसत्ता चलाएका थिए । अनि आफैले घोषणा गरेको हावापानी र माटो सुहाउँदो विकासको मूल त नफुट्दै सुकेको यथार्थलाई चाहिँ कसरी भुल्न सकिन्छ ? महेन्द्रको महिमागान गाउँदै गर्दा उनले स्थापना गरेका पञ्चायती व्यवस्थाले भर्खरै मात्र पलाएको लोकतन्त्रको बिरुवालाई कसरी निमोठियो ? यसमा पनि बहस गरिरहनुपर्छ र ?  

यी केही पब्लिक अब्जरभेसजन हुन्, जसले मान्छेको अतीतमुखी चरित्रलाई सङ्केत गर्छ । माथि नै उल्लेख गरियो कि अक्सर मान्छे अतीतमुखी हुन्छ । ओ हो मेरो हिजो ! हिजो व्यतीत गरेको मीठो पल । अथवा हिजो भोगेको त्यो दुःख । त्यो सास्ती । त्यो हन्डर या त्यो पीडा । त्यस्तै मेरो त्यो गौरवमय इतिहास । मैले प्रदर्शन गरेको त्यो साहस । मेरो त्यो सुन्दर अनि कलात्मक प्रस्तुति, यस्तै यस्तै । 

आफ्नै जीवनकालमा पञ्चायतदेखि गणतन्त्रसम्मको राजनीतिक व्यवस्थाबाट लाभैलाभ हासिल गरेका अर्का चतुर राजनीतिक खेलाडी कमल थापाले अझ राजतन्त्र र लोकतन्त्रलाई सँगसँगै लैजानुपर्ने तर्क गर्द ट्विट गरे– ‘आखिर राजासहितको लोकतन्त्रमा जाँदा के बिग्रिन्थ्यिो र ? विगतका कमजोरी हटाई संविधान र संसदको परिधिभित्र रहने राष्ट्रिय एकताको प्रतीकको रूपमा राजसंस्था कायम राख्दा देशलाई राम्रै हुने थियो । राजादेखि माओवादीसम्म अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्रबारे पुनर्विचार गर्ने बेला भयो कि ?’

ठीक छ, अझै पनि राजतन्त्रकै वकालत गरेर राजनीति गर्छु भन्न पाइन्छ । आफूले कल्पना गरेको व्यवस्थाका लागि सङ्घर्ष गर्नु नाजायज होइन । तर राजतन्त्रलाई नै आदर्श मान्नेले गणतान्त्रिक मुलुकको संविधानअनुसार शपथ खाएर लाभको पदमा बस्नु कुन नैतिकता हो ? संविधान समातेर शपथ खानु अनि त्यही संविधानविपरीत हुनेगरी अझै पनि राजसंस्थाकै वकालत गर्नुले राजनीतिक दिवालियापनकै सङ्केत गर्छ । यो त गैरराजनीतिक र अवसरवादी चरित्र हो, अनि भावनाले राजनीति धान्ने कलुषित चेष्टा । यस्तो सोचले अबको विकल्प सुझाउने कुरै भएन ।

यी केही पब्लिक अब्जरभेसजन हुन्, जसले मान्छेको अतीतमुखी चरित्रलाई सङ्केत गर्छ । माथि नै उल्लेख गरियो कि अक्सर मान्छे अतीतमुखी हुन्छ । ओ हो मेरो हिजो ! हिजो व्यतीत गरेको मीठो पल । अथवा हिजो भोगेको त्यो दुःख । त्यो सास्ती । त्यो हन्डर या त्यो पीडा । त्यस्तै मेरो त्यो गौरवमय इतिहास । मैले प्रदर्शन गरेको त्यो साहस । मेरो त्यो सुन्दर अनि कलात्मक प्रस्तुति, यस्तै यस्तै । 

खासमा मान्छेलाई अतीतको स्मृतिले सताउने गर्छ । राम्रो होस् वा नराम्रो अतीतमा घटेका घटनाहरूले मान्छेको मनमस्तिष्कमा अड्डा जमाइरहेको हुन्छ ।

त्यसैले अक्सर मान्छेका कुरा विगतबाटै सुरु हुन्छ । झन् गाह्रोसाह्रो पर्दा त विगतकै झल्को आउँछ र मान्छे इतिहासकै मृगमरिचिकामा अल्झिन पुग्छ । फेरि सजिलो पनि भोलिको योजनाभन्दा अतीतको कल्पना गर्नै हुन्छ । किनकि बितेको हिजो सम्झन जति सहज हुन्छ, अनिश्चित भोलिको चित्र निर्माण गर्न त्यत्ति नै कठिन छ । हिजो हामीले भोगेको हो तर भोलि हाम्रो वशमा हुँदैन । अझ व्यवस्थापकीय दृष्टिकोणबाट भन्दा भोलिका बारे हामीसँग कुनै पनि सूचना वा जानकारी हुँदैन । त्यसैले हामी भोलितिर होइन, हिजोतिरै फर्किन सहज मान्छौँ । किनकि हामीसँग हिजोको पर्याप्त सूचना र जानकारी हुन्छ । 

यो मान्छेको आम प्रवृत्ति हो । त्यसैले आज बिग्रियो भने भोलि सपार्ने अठोट गर्ने होइन, बरु हिजै ठीक थियो भन्ने सहज निष्कर्षतिर मान्छे पुग्छ । त्यसैले निराशाभाव बढ्दै जाँदा मान्छे अतीतमुखी भइदिन्छ र उसको मानसपटलमा विगतकै झझल्को आइदिन्छ । 

यद्यपि आज केही आशा लाग्दो अवस्था सिर्जना हुन बित्तिकै फेरि तत्काल हिजो बिर्सिइन्छ । बिर्सनै नहुने महत्त्वपूर्ण कुरा के छ भने आजको विकल्प किमार्थ हिजो हुन सक्दैन । आजको विकल्प भोलि हो । आज बिग्रियो भने भोलि सपार्ने अठोट नै सही कदम हो । त्यसैले अतीतमुखी दृष्टिकोणलाई भविष्यमुखी बनाएर हुर्नुपर्छ । अतीतमुखी चस्माको नजाराले सुन्दर भविष्य चियाउन सक्दैन । त्यसैले आजको विकल्प भोलि नै हो, हिजो कदापि हुन सक्दैन ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha