शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिलवालको ‘जानकारी पत्र’ हेडक्वार्टरमा, जयबहादुर गृहमा हाजिर

शुक्रबार, १३ साउन २०७४, १० : १३
शुक्रबार, १३ साउन २०७४

काठमाडौं – नेपाल प्रहरीको आईजिपी पदका मुख्य दाबेदार डिआईजी नवराज सिलवाल र जयबहादुर चन्द दुवैजना आईजिपी हुन पाएनन् । त्यत्तिमात्र हैन आफ्नै ब्याजका प्रकाश अर्याल प्रहरी प्रमुखको कुर्सीमा रहँदा दुवैजना एक्टिभ पुलिसीङको भूमिकामा छैनन् ।


एक्टिभ पुलिसीङमा रमाउने सिलवाल र चन्द दुवै आजभोलि भूमिकाबिहीन भएका छन् ।


गत वैशाख ११ गते प्रहरी प्रधान कर्यालयले नियन्त्रणमा लिएर ‘किर्ते कागजात’ बारे बयान लिएपछि केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुख समेत रहेका डिआईजी नवराज सिलवाल कार्यालय फर्केका छैनन् । शुरुमा १ महिनाको बिदा स्वीकृत गराएर घरमै बसेका सिलवाल महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा जान छाडेको तीन महिना भैसक्यो । हाल केन्द्रिय अनुसन्धान ब्युरोको कमाण्ड एसएसपी शेर बहादुर बस्नेतले सम्हालिरहेका छन् ।


स्वीकृत गराएको ३० दिनको बिदा अवधि सकिएसँगै डिआईजी सिलवालले बिएण्ड बि हस्पिटलको ‘जानकारी पत्र’ प्रहरी प्रधान कार्यालयमा लगेर बुझाएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उक्त जानकारी पत्रमा ‘सिलवाल बिरामी भएको र केही समय बेड रेष्ट आवश्यक’ भएको कुरा उल्लेख गरिएको छ ।


निजामती कर्मचारी सरह पाउने क्यावी बिदा, घर बिदा र बिरामी बिदासमेत गरेर प्रहरी कर्मचारीले सेवा अवधिभर सञ्चित रहेको करिब १८० दिन बिदा लिन पाउँछन् ।


‘१८० दिनसम्म सञ्चित बिदा हुन्छ’ प्रहरी प्रवक्ता (एसएसपी) पुष्कर कार्कीले भने, ‘सोही सञ्चित बिदा बाँकी रहेसम्म बिदा लिन पाइन्छ ।’


सञ्चित बिदा नलिएमा रिटायर्ड हुने बेला उक्त बिदाको दिनको समेत तलब लिन पाईने ब्यवस्था प्रहरी नियमावलीले गरेको छ ।

जयबहादुरको रजिष्टर गृहमा


एउटा डिआईजीलाई गृह मन्त्रालयमा हाजिर गरेर फर्कनुपर्दाको पीडा कति  होला ? २०७३ फागुन १ गते बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गर्दै पत्र समेत पठाएको थियो । तर पत्र पाएको केही घण्टामै सर्वोच्च अदालतले जयबहादुरलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दियो । पछि उक्त निर्णय बदर भएसँगै लागु औषध नियन्त्रण ब्युरो प्रमुख समेत रहेका चन्दलाई सरकारले गृह मन्त्रालयमा हाजिर गरायो । आजसम्म उनी गृहमा हाजिर गरिरहेका छन् ।


२०७४ असार ३१ गते गृह मन्त्रालयले उनलाई एआईजिमा बढुवा सिफारिस गरेपनि दज्र्यानी चिन्ह पाएका छैनन् । एआईजी बढुवा सिफारिसबिरुद्ध डिआईजी मधु पुडासैनीले पुनरावलोकन समितीमा उजुरी दिएसँगै उनिसहित ११ जनाले एआईजीको फुली लगाउन पाएका छैनन् । पुनरावलोकन समितीले उजुरी परेको १५ दिनभित्र उक्त उजुरी उपर फैसला गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ ।  

चन्दले मेट्रो मागे, सिलवालले भेट पाएनन्

एआईजी बढुवामा सिफारिस हुँदा दुई नम्बरमा पुगेसँगै जयबहादुर चन्दले आफ्ना निकटस्थहरुसँग राजीनामा दिने बताएका थिए । तर पछि एकएक उनले गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ सँग महानगरीय प्रहरी कार्यालयको कमाण्ड सम्हाल्ने ईच्छा देखाएका छन् । गृह मन्त्रालय स्रोतका अनुसार राजीनामा दिने मुडमा पुगेका चन्दले महानगरीय प्रहरीको प्रमुख मागेपछि उनलाई त्यहाँ पठाउन गृहमन्त्री शर्मा सकारात्मक भएका छन् ।

यता एआईजी बढुवा सिफारिसको तयारी हुँदै गर्दा बढुवा माग्न भेट्न खोजेका डिआईजी नवराज सिलवाललाई प्रधानमन्त्री शेरबहादुर देउवा देखि गृहमन्त्री जनार्दन शर्माले समेत भेट दिएनन् । गृहमन्त्री शर्माले अदालतमा सिलवालले दायर गरेको ‘आईजिपी बन्न पाउँ’ भन्ने ब्यहोराको मुद्दा फिर्ता लिएमा उनलाई एआईजिमा बढुवा सिफारिस गर्ने तयारी गरेका थिए । तर सिलवालले पहिले एआईजी बढुवा भएपछि मात्र मुद्दा फिर्ता लिने अडान राखेपछि मन्त्री शर्माले उनीसँग कुरा गर्नै चाहेनन् । अन्ततः सिलावाल एआईजी बढुवा सिफारिस हुनबाटै बञ्चित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप