शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जिदानको ‘ग्रीन सिग्नल’ पछि बेललाई अनुबन्ध गर्न युनाइटेलाई आशा

शुक्रबार, १३ साउन २०७४, ०९ : १७
शुक्रबार, १३ साउन २०७४

म्यान्चेस्टर – रियल म्याड्रिडले गेराथ बेललाई बेच्नेबारे नयाँ संकेत गरेपछि लामो समयदेखि अनुबन्ध गर्ने प्रयास गरिरहेको म्यान्चेस्टर युनाइटेड उत्साहित बनेको छ ।

युनाइटेडले बेललाई धेरै अघिदेखि नै अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । बेलले स्पर्ससँग अनुबन्ध गर्न अघि युनाइटेडले बेललाई सन् २००७ मा नै अनुबन्ध गर्ने प्रयास गरेको थियो । चार वर्षअघि रियल म्याड्रिडबाट ‘हाइज्याक’ गर्ने युनाइटेडको अर्को प्रयास पनि असफल भएको थियो ।

अहिले फेरि प्रशिक्षक जिनेदिन जिदानले २८ वर्षीय खेलाडी यो सिजन रियलमा रहने वा नरहने कुराको ग्यारेन्टी नभएको बताएपछि युनाइटेडले फेरि नयाँ प्रयास गर्न लागेको बेलायती मिडिया टेलिग्राफले जनाएको छ ।

रियलले यतिबेला फ्रान्सका स्ट्राकर कायलिन एमबापेलाई मोनाकोबाट अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । यसका लागि रियलले विश्वकिर्तिमानी १६.१ करोड पाउण्ड खर्च गर्न तयार रहेको बताइएको छ । 


उनलाई टिममा स्थान बनाउनका लागि रियलको चर्चित ‘बिबिसी’ फरवार्ड लाइनमध्ये एक जना बेच्ने चर्चा यसअघि नै चल्दै आएको थियो ।

बेलअघि करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने चर्चा चलेपनि तीनमध्ये गत सिजनको खेल हेर्दा बेलको निरन्तर चोट र इस्कोलाई टिममा स्थान दिन यतिबेला उनीनै बेच्नका लागि उपयुक्त पात्र देखिएका छन् ।


त्यसमा पनि युरोपियन च्याम्पियनले एमबापेलाई किन्न अझ पैसा जम्मा गर्नुपर्ने समाचारहरु पनि आएका छन् । रियलले यसअघि ट्रान्सफरबाट ९ करोड पाउण्ड जम्मा गरिसकेको छ ।

उता, युनाइटेडले इन्टर मिलानसँग क्रोएसियाका विंगर इभान पेरिसियासलाई भित्र्याउन पनि छलफल गरिरहेको छ । प्रशिक्षक जोसे मोरिन्होले युनाइटेडले अझै दुई खेलाडी किन्ने बतउँदै आएका छन् । 
युनाइटेडले यसअघि नै बार्सिलोनाका नेयमारलाई अनुबन्ध गर्न पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा नगर्ने निर्णय गरिसकेको छ ।

सर्बियाका मिडफिल्डर नेमान्जा म्याटिच चेल्सीबाट युनाइटेड लगभग पक्का जस्तै रहेकोमा मोरिन्होको प्राथमिकतामा अब एक विश्वस्तरीय स्टार विंगर रहेको छ । मोरिन्होले भन्दै आएको स्टार क्वालिटीको कमी बेलले पूरा गर्ने टेलिग्राफले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप