शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिरङ्गीले पोसेपछि !

शनिबार, २१ पुस २०७५, १२ : ४६
शनिबार, २१ पुस २०७५

–तोयनाथ भट्टराई

मुलुकमा फिरङ्गी घुसेपछि 
पहिलो काम धर्म निरपेक्षताका लागि 
निर्णयकर्ता किन्ने काम हुन्छ ! 
निर्णयकर्ता मूल काम छोडेर
पूर्वघोषित कार्यसूचीसमेत रोकेर 
हिरालाल शैलीमा 
गोष्ठी र सेमिनार उद्घाटन गर्दै 
घाँटीमा नअट्ने सयपत्री माला भिर्दै 
डलरको नसामा यत्र तत्र भौँतारिन्छ !

उता विधिको शासन निन्याउरो हुन्छ 
जनबल औ बन्दुकमा पनि खिया लाग्छ 
भ्रष्टाचार सबैभन्दा बलवान भएर
रजगज गर्न थाल्छ 
बजार विदेशीको हातमा जान्छ
विचरो सदाचारी परेवा 
छट्पटाएर रिमालको ‘एक दिन’ पर्खेर 
फेरि पनि पखेटा चालिरहन्छ
भ्रष्टाचारी सत्तामा पुगेर
चटकी नाच देखाउन थाल्छ ।

अहिले नेपालमा पनि पृथ्वी, 
बीपी मनमोहन र मदनसँगै 
उनका सपनाहरू उडेर जानेक्रम जारी छ 
भारतमा दलित र पिछडा वर्ग 
अर्को अम्बेडकरको खोजीमा छन् 
दक्षिण अफ्रिका 
असमानताको नयाँ रङ्ग भेदमा
जाक्किँदै गइरहेको देखिन्छ !

अर्थात 
फिरङ्गी अझै सक्रिय छन्
हामी मात्र होइन, विश्वले नै 
फेरि पृथ्वी नारायण, मोहन गान्धी, मदन भण्डारी
नेल्सन मन्डेलाको 
खोजी गरिरहेका छन् !
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप