केन्द्रीय संस्करण

मुन्सी प्रेमचन्दको कथा - ठूलो घरकी छोरी

person explore access_timeपुस २१, २०७५ chat_bubble_outline0

साहित्यको दुनियाँमा अत्यन्तै उच्च आदरका साथ नाम लिइने र पढिने लेखकहरूमध्येका एक नाम हो ,मुन्सी प्रेमचन्द

 अत्यन्तै सरल भाषामा जनजीवनका मनोविज्ञानलाई समातेर कथामा उतार्न सिद्धहस्त लेखक मुन्सी प्रेमचन्दले लेखेका अनि उनी स्वयम्लाई पनि आफ्ना अनगिन्ती रचनाहरूमध्ये सबैभन्दा मनपरेको कथा हो– ठूलो घरकी छोरी ।

 सन् १९३० मा उनका समकालीन पत्रकार बनारसी चतुर्वेदीले ‘तपाईंको सर्वोत्तम पन्ध्र कथा कुन हो ?’ भनी सोधेको प्रश्नको उत्तरमा उनले सबैभन्दा पहिला टिपाएको कथा त्यही थियो । प्रस्तुत छः उनको सोही कथाको नेपाली अनुवाद । 

बेनिमाधवसिंह गौरीपुर गाउँका साधारण जमिनदार थिए । उनका हजुरबा त आफ्ना समयका ठूला धनी र सर्वसम्पन्न व्यक्ति नै थिए । जसको अहिले मर्मत गर्न गाह्रो पर्ने गाउँको सुन्दर तलाउ र मन्दिर तिनै हजुरबाका कीर्तिस्तम्भहरू हुन् । मानिसहरू भन्छन्, हजुरबाका पालामा घरका तगारानिर सजिसजाउ गरिएका हात्तीहरू झुल्थे । अहिले त्यहाँ एउटा बुढी भैँसी बाँधिएको थियो ।

भैँसीको हाडछालाबाहेक केही बाँकी थिएन । तैपनि दूध भने प्रशस्तै दिन्थ्यो । यसैले, बाल्टी लिएर एउटा न एउटा मानिस त्यस भैँसीका थुन निचोर्न पुगिरहेको देखिन्थ्यो । बेनीमाधवले आफ्नो आधीभन्दा बढी सम्पत्ति वकिललाई चढाइसकेका थिए । अहिले उनको वार्षिक आय हजार रुपियाँभन्दा बढी थिएन । उनका दुई छोरा थिए । जेठाको नाम श्रीकृष्ण सिंह थियो । उसले वर्षौंको परिश्रम र प्रयत्नबाट बल्लबल्ल बी.ए. पास गरेको थियो ।

अहिले एउटा अफिसमा काम गथ्र्र्र्यो । कान्छो छोरो लालबिहारी सिंह दोहोरो ज्यानको खाइलाग्दो फुर्तिलो नौजवान थियो । भरिलो उज्यालो अनुहार, चौडा छाती । भैँसीको दुई सेर दूध त ऊ बिहान उठ्नासाथ तात्तातै पिइदिन्थ्योे । जेठा छोरा श्रीकृष्णको गतिविधि भने नितान्तै फरक थियो । अनुहारको भर्भराउँदोपन र हृष्टपुष्ट शरीरजस्ता नेत्रप्रिय गुणहरूलाई उसले ‘बी.ए.’ यी दुइटा अक्षरका लागि समर्पण गरिसकेको थियो । यी दुइटा अक्षरले उसको शरीर निर्बल र अनुहार कान्तिहीन बनाइदिएको थियो । यसैले आयुर्वेदका ग्रन्थहरूप्रति उसको विशेष लगाव थियो । आयुर्वेदी औषधिहरूमा ऊ बढी नै विश्वास गथ्र्यो । प्रायः बिहान बेलुकी उसका कोठाबाट सिलौटामा औषधि कुटेको कर्णमधुर आवाज बाहिरसम्म गुन्जिरहन्थ्यो । लाहौर र कलकत्ताका वैद्यहरूसँग उनको चिठीका आदानप्रदान पनि चली नै रहन्थ्यो ।

श्रीकण्ठ अङ्ग्रेजी डिग्रीका मालिक थियो र पनि अङ्ग्रेजी शैलीका सामाजिक प्रथाका विशेष–प्रेमी थिएन । बरु बेलाबेला जोड दिएरै अङ्ग्रेजी चालचलनको निन्दा र तिरष्कार गथ्र्यो । यसै भएर गाउँबस्तीमा उसको बडो सम्मान थियो । दसैंका बेला ऊ बडो उत्साहका साथ रामलीलामा सम्मिलित हुन्थ्यो । रामायणका कुनै न कुनै पात्राको अभिनय पनि गथ्र्यो । गौरीपुर गाउँमा रामलीलाको जन्मदाता नै उही थियो ।

प्राचीन हिन्दू सभ्यताको गुणगान गर्नु उसको धार्मिकताको प्रधान अङ्ग थियो । संयुक्त परिवारप्रथाको त ऊ साँच्चिकै उपासक थियो । हिजोआजका नारीहरूमा परिवारसँग मिलेर बस्ने कुरामा जुन अरुचि बढ्दो छ, त्यसलाई ऊ मुलुक र जातिका लागि हानिकारक मान्थ्यो । यस मान्यतालाई लिएर गाउँका कति महिलाहरू उसको निन्दक पनि बनेका थिए । कतिपय महिला त उसलाई शत्रुजत्तिकै ठान्थे । स्वयम् उसकी श्रीमती पनि यस विषयमा ऊसँग सहमत थिइनन् । सासूससुरा देवर जेठाजुसँग घृणा लागेर उनी असहमत भएकी होइनन् । ‘संयुक्त परिवारमा जति खटेर काम गर्दा पनि जस पाउन सकिएन र बुहार्तन खप्न झन् झन् कठिन हुँदैगयोे भने पिरोलिएरै बाँकी जीवन नष्ट गर्नुभन्दा आफ्नो चुल्हो छुट्टै बाल्नु नै उत्तम हो’ भन्ने उनको विचार थियो ।

आनन्दी उच्च कुलकी घरानिया छोरी थिइन् । उनका पिता सानै भए पनि एक मौजाका तालुकदार थिए । विशाल भवन, कम्पाउन्डमा हात्ती, तीनवटा कुकुर, बाज, झिलिमिली झल्लरी बत्ती, सजिसजाउ बैठक र ऋण, जो एक प्रतिष्ठित तालुकदारका भोग्य पदार्थ मानिन्छन्, ती सबै उनकोमा विद्यमान थिए । उनको नाम थियो भूपसिंह । उनी बडो उदार चित्तका एक प्रतिभाशाली पुरुष थिए । भाग्यवश उनका छोरा थिएनन् । सातवटी छोरी थिए । दैवसंजोगले सबै जीवित नै थिए । सुरु सुरुमा उत्साह उमङ्ग थियो । लगालग तीनवटी छोरीको विवाह त उनले दिल खोलेरै गरे । यति गर्दा पन्ध्र बीस हजार ऋण टाउकामा चुलिन आयो । यसपछि अलि आँखा खुल्यो । ऋण गर्न हच्किए ।

आनन्दी चौथी छोरी थिइन् । उनी दिदीबहिनीमध्ये सबैभन्दा रूपवती र गुणवती थिइन् । ठाकुर भूपसिंह उनलाई धेरै माया गर्थे । राम्रा सन्तानलाई मातापिता पनि शायद बढी नै माया गर्छन् । यी छोरीको विवाह कसरी गर्ने ? ठाकुर भूपसिंह बडो धर्मसङ्कटमा थिए । उनी ऋणको बोझ बढाउन इच्छुक थिएनन् । छोरीको विवाह गतिछाडा पारामा गर्न पनि चाहँदैन थिए । एक दिन कुनै चन्दाको पैसा उठाउने सिलसिलामा श्रीकण्ठ उनको घरमा आयो । चन्दा सम्भवतः नागरीप्रचारका लागि थियो । उसको बोलीवचन र स्वभाव भूपसिंहलाई निक्कै मन पर्यो । उनले धूमधामका साथ श्रीकण्ठसँग आनन्दीको विवाह गरिदिए । आनन्दी आफ्नो नयाँ घरमा आउँदा यहाँको रङ्गढङ्ग बिलकुलै फरक देखिन् । बालापनदेखि नै माइतीमा सबै कुरा टाक्कटुक्क र स्वस्थ दुरुस्त देखे बेहोरेकी र त्यसैमा बानी परेकी आनन्दीका लागि यहाँ त्यस्तो केही पनि थिएन । हात्ती घोडाका त कुरै नगरौं, यहाँ सजिसजाउ र सुन्दर कोठासम्म पनि थिएन । रेशमी चप्पल ल्याएकी थिइन् । यहाँ त्यस्तो चप्पल लगाएर हिँड्ने वागबगैँचा पनि कहाँ पाउनु ? यहाँ न जमिन सुन्दर थियो, न कोठाको भुइँ, न राम्रो उज्यालो भित्ता न तस्बिर । यो एउटा मामुली किसिमको सिधासादा गाउँले गृहस्थको घर थियो । आनन्दीले केही दिनमै आफूलाई त्यहाँकै घर आँगन र परिस्थितिको अनुकूल बनाइन् । मानौं उनले विलास वैभवका सामान जिन्दगीमा कतै कहिल्यै देखेकै थिइनन् । 

एक दिन दिउँसो लालविहारीसिंह दुइटा चरा सिकार लिएर घर आयो । “छिटो पकाइदिनुस्, भोक लागेको छ !” भाउजूसँग भन्यो । आनन्दी खाना पकाएर उसैलाई पर्खिबसेकी थिइन्् । देवरले भनेपछि उनी त्यो चराको मासु पकाउन थालिन् । बट्टामा हेर्दा घिउ पाउभर मात्र बाँकी थियो । घरानियाँकी छारी । फारोतिनो जानेकै थिइनन् । एक पाउ घिउ मासुमा पूरै खन्याइदिइन् । लालविहारी खाना खान बस्यो । दाल हे¥यो, घिउ हालेर झानेको थिएन । “दालमा घिउको झानझुन छैन नि, किन ?” 

  आनन्दीले भनिन्, “घिउ थोरै थियो । सबै मासुमै हालिदिएँ ।” लालविहारीले रिसाउँदै भन्यो, “अस्ति मात्र ल्याएको घिउ दुई दिनमै सबै सक्कियो त ?”

आनन्दीले भनिन्, “कति थियो र ? एक पाउ जति हुँदो हो मैले त्यो सबै मासुमै राखिदिएँ ।”

भोकले रन्थनिएको लालविहारी झोकले पनि रन्थनियोे । उसलाई भाउजूको जवाफ पटक्कै मन परेन । रनक्क रन्केको आवाजमा भन्यो, “ए तपाईंको माइतीमा त घिउको खोला नै बग्छ होला हैन ?” 

महिलाहरू विभिन्न गाली सहनसक्छन् । पिटाइ सहन सक्छन् । माइतीको निन्दा आलोचना सहन सक्दैनन् । सनक्क हुँदै भनिन्, “हात्ती भनेको हात्ती नै हो । मर्दा पनि लाखौँको हाड छोडर मर्छ । मेरो माइतीमा दिनको एक पाउ घिउ त नङ काट्ने नाई र भाँडा माझ्ने नोकर्नीले पनि दिनदिनै खान्छन् ।”

लालविहारी रिसले भुतुक्क भयो । खानाको थाल हुत्याइदियो र सन्किँदै भन्यो, “जथाभावी बोल्छेस् ? जिब्रो थुतेर फाल्दिऊँ ?”

आनन्दीलाई पनि सहिसक्नु भएन । भनिन्, “अहिले उहाँ यहाँ हुनुभएको भए नानीलाई स्वाद चखाइदिनुहुन्थ्यो !”

अब अनपढ, उज्जन्ड ठकुरीलाई खपिसक्नुभएन । उसकी आफ्नी स्वास्नी साधारण जमिनदारकी छोरी थिई । झाेंक चलेपछि जतिबेला पनि थप्पड लगाउँथ्यो । भाउजूलाई पनि उसले फरक ठानेन । “जसको आडमा फुर्ती लाउँछेस्, त्यसको हालत र तेरो हालत म पनि हेरूँला” भन्दै खराउ उठाएर आनन्दीको टाउकामा झटारो हान्यो ।

आनन्दीले हात उठाएर खराउ रोकिन् । टाउकामा चोट लाग्न पाएन । औँलामा ठूलै घाउ लाग्यो । रिसले खपिसक्नु भएन । थर्थर काँप्दै उठेर आनन्दी आफ्नो कोठामा पसिन् । महिलाको बल साहस मानमर्यादा सबै पति हो । महिलालाई आफ्ना पतिको तागत र पुरुषार्थमाथि घमण्ड हुन्छ । आनन्दी दाह्रा किट्दै कोठामा थचक्क बसिन् । 

श्रीकण्ठसिंह सधैँ शनिबार मात्र घर आउँथ्यो । यो घटना बिहीबारको थियो । दुई दिनसम्म आनन्दी क्रोधावेशमै थिइन् । खनपिन सबै छोडेर श्रीमान्को बाटो हेरी बसेकी थिइन् । श्रीकण्ठ सधैँझैँ शनिबार साँझ घर आयो । घरबाहिरै बस्ने गफिने ठाउँ थियो । त्यहीँ बस्यो । त्यहाँ जुटेका गाउँलेहरूसँग यताउताका कुरा गर्यो । देशकालका कुरा गर्यो । हिजोआजका केही नयाँ समस्याहरूका सम्बन्धमा कुरा गर्यो । कुरा गर्दै दस बज्यो । गाउँले सज्जनहरू उसका कुरामा कति लट्ठ थिए भने खाना खाने बेला घर्किसकेको शुद्धि पनि कसैलाई थिएन । श्रीकण्ठलाई पनि यिनीहरूबाट उम्कन निक्कै गाह्रो भयो । आनन्दीले यी दुई तीन घण्टा बडो कष्टले काटिन् । अब त धेरै ढिला भयो । खाना सेलायो होला भन्ने लागेपछि गाउँलेहरू उठे । खाने फुर्सद भयो । एकान्तमा लालविहारीले भन्यो, “दाइ, तपाईं भाउजूलाई सम्झाउनुहोस् है । मुख सम्हालेर बोल्नु भन्नुहोस् । नत्र घरमा एक दिन अनर्थ पनि हुन सक्छ !”

वेनीमाधवले छोराका कुरामा सोर मिलाउँदै भने, “छोरीबुहारीले मुखमुखै लागेको कसैलाई राम्रो लाग्दैन । मुखमुखै लाग्ने स्वभाव नराम्रै हो !”

“उनी बडा घरकी छोरी भइन् त हामी पनि कुर्मी कहार त होइनौँ नि !” लालविहारीले भन्यो ।

“आखिर कुरा के हो ? के भयो ?” श्रीकण्ठले चिन्तित आवाजमा सोधे ।

लालविहारीले भन्यो, “कुरा केही थिएन । त्यसै त्यत्तिकै झगडा गर्न आइलागिन् । माइतीका अगाडि हामीलाई त मान्छे नै गन्दिनन् !”

खानपिन सकेर श्रीकण्ठ आफ्नो कोठामा पस्यो । कोठामा अँध्यारोको थुप्रो जसरी बसेकी थिइन् आनन्दी । उनको चालढालमा व्यग्रता थियो । “हजुरको चित्त प्रसन्न छ हैन ?” सोधिन् ।

“अँ ठिकै छ । आजकल तिमीले घरमा के उपध्रो मच्चाउन थालेको नि ?” श्रीकण्ठले भन्यो ।

पीडा सहन नसकेर आननदी त्यसै त्यसै अस्पटिइन् । अनुहार आगाको ज्वाला नै निस्कला जस्तो तम्तमाउँदो रातो भयो । सकेसम्म सम्हालिँदै भनिन्, “जसले हजुरको विचारमा आगो झोस्यो, यहाँ अहिले भेट्टाउने हो भने त्यसको मुखमा म पनि अगुल्टो झोस्छु ।”

“यति धेरै तात्ने किन ? कुरा के थियो त्यो चाहिँ भन न”, श्रीकण्ठले भन्यो ।

“के भनुँ ? यो सबै मेरो भाग्यको करामत होला । नत्र पियन हुने क्षमता पनि नभएको एउटा गाउँले केटोले मेरो मुखमा खडाउले झटारो हान्थ्यो ?” आनन्दीले भनिन् ।

“सबै कुरा साफ साफ खुलाएर भन । म पनि यथार्थ थाहा पाऊँ । मलाई त केही थाहा छैन नि !” श्रीकण्ठले भन्यो ।

“अस्ति हजुरको प्यारो भाइले मलाई मासु पकाइदिन भने । बट्टामा घिउ एक पाउभन्दा बढी थिएन । त्यो घिउ सबै मैले मासुमा राखिदिएँ । खान बसेपछि दालमा घिउ किन नहालेको ? भनेर कराए । यसै निहुँमा मेरो माइतीलाई तथानाम गाली दिए । अति भएपछि मैले भनेँ, मेरो माइतीमा यति घिउ त नैनी र भाँडा माझ्नेले पनि खान्छन् । कसैलाई थाहा पनि हँुदैन । त्यसपछि उनले मेरो मुखमा ताकेर खडाउको झटारो हाने । हातले नरोकेको भए मेरो नाक भाँचिन्थ्यो । मेरो यो कुरा साँचो हो कि झुट्टो हो उनैसँग सोधेर हेर्नुस् ।”

श्रीकण्ठका आँखा राता भए । निःश्वास छोड्दै भन्यो, “ए यतिसम्म गर्यो त्यसले ? त्यस फुच्चेको यत्रो साहास ?”

आनन्दी नारीजन्य स्वभाअनुसार रुन थालिन् । आँसु उनको आँखामा डबडबाएकै थियो । श्रीकण्ठ बडो धैर्यवान् र शान्त पुरुष थियो । उसलाई बिरलै रिस उठ्थ्यो । महिलाको आँसुले पुरुषको रिस प्रज्ज्वलित बनाउन इन्धनको काम गर्छ । रातभरि निदाएन । एक झप्को पनि आँखा जोडिएन । बिहान सरासर आफ्ना बाबाका अगाडि गएर भन्यो, “बाबा, अब यो घरमा मेरो निर्वाह हुने भएन !”

यस्ता विद्रोहपूर्ण कुरा गर्दा गाउँका कति साथीलाई उसले कुरैकुराले ठीक ठाउँमा ल्याएको थियो । दुर्भाग्यको कुरा आज उसले स्वयम् आफ्नै मुखबाट त्यस्तो कुरा निकाल्न परेको छ । अर्कालाई उपदेश दिन कति सजिलो !

बेनीमाधवसिंह अलि आत्तिए र भने– “किन ? के भो र ?”

“मलाई पनि आफ्नो मान प्रतिष्ठाको ख्याल छ । ख्याल राख्नैपर्छ । हिजोआज तपाईंको घरमा अन्याय र घमण्डको प्रकोप बढ्दैछ, जसलाई आदर सम्मान गर्नुपर्ने हो, त्यसको टाउकामा चढेर मानमर्दन गरिन्छ । म त अर्काको नोकर । घरमा बास छैन । यहाँ मेरो अनुपस्थितिमा मेरी श्रीमतीमाथि खडाउ र जुत्ताको झटारो बर्सन्छ । तिखो बोलीवचनको म बरु त्यति चिन्ता गर्दिनँ । एउटाले एक शब्द बोल्दा अर्काले थप दुई शब्द बोल्ला । त्यतिसम्म सहन पनि सकिन्छ । कसैले ममाथि लात्ती, मुड्की चलाओस्् म ऐया पनि नभनी चुपचाप सहिबसूँ यो त हुन सक्दैन नि !” 

बेनी माधवसिंहले केही जवाफ दिन सकेनन् । श्रीकण्ठ सधैँ उनको आदरसम्मान गथ्र्र्यो । आज उसको यो रपढप देखेर एक छिन त ठकुरी बुढाको वकै फुटेन । सम्हालिएर बिस्तारै भनेँ, “छोरा, यति बुद्धिमान भएर पनि तिमीले किन यस्तो कुरा गरेको ? यसरी आइमाईले घर डुबाउन पनि सक्छन् । आइमाईलाई टाउकामा चढाउनु ठीक छैन !”

“बाबा, तपाईंको आशीर्वादले त्यतिसम्म मूर्ख म छैन । मेरो सम्झाइबुझाइले गाउँमा कति भत्कन लागेका घर सम्हालिए त्यो तपाईंलाई पनि थाहा छ । तर जुन नारीको मानप्रतिष्ठा रक्षाका लागि ईश्वरको दरबारमा म उत्तरदायी छु, उसैमाथिको घोर अन्याय र पशुवत् व्यवहार मलाई सह्य छैन । यति हुँदा पनि मैले लालविहारीलाई कुनै दण्ड दिइनँ । यो पनि ठूलो कुरा हो । यसलाई कम नठान्नुस् !” श्रीकण्ठले भन्यो ।

अब वेनीमाधव पनि ताते । यसभन्दा बढी सुनिरहन सकेनन् र भने, “हेर, लालविहारी तिम्रो भाइ हो । उसबाट भुलचुक भयो भने तिमी कान निमोठ्न सक्छौ तर...”

“लालविहारीलाई अब म आफ्नो भाइसाइ केही पनि मान्दिनँ !” श्रीकण्ठले भन्यो ।

“एः यतिसम्म आइमाईको पछि लाग्ने भइस् ?” बेनीमाधवले आक्रोश जनाए ।

“होइन । त्यसो होइन । लालविहारीको क्रूरता र अविवेकको कारण म तातेको हुँ ।”

बाबुछोरा दुवै एकछिन चुप लागे । बुढा ठकुरी श्रीकण्ठको क्रोध शान्त गराउन चाहन्थे । लालविहारीले कुनै अनुचित काम गर्यो भनी स्वीकार्न भने उनी तयार थिएनन् । यसैबीच गाउँका केही भलादमीहरू तमाखु खाने निहुँमा त्यहाँ ढिम्किन आए । गाउँमा महिला महिलाबीच एक कान दुई कान हुँदै श्रीकण्ठ स्वास्नीको पक्ष लागेर बुढा बाउसित लड्न कस्सिएको छ भन्ने हल्ला फिँजियो । सुनेर यी भलादमीहरूलाई गज्जब खुसी लाग्यो । झगडामा उत्रेका बाबुछोराका मधुरवाणी सुन्न तिनीहरूको आत्मा छटपटाउन थाल्यो । गाउँमा केही कुटिल मानिस पनि थिए । तिनीहरू वेनीमाधवका घरको नीतिपूर्ण चालचलन देखेर मनमनै जल्थे । तिनीहरू भन्थे, “बीए पढेर पनि श्रीकण्ठ आफ्नो बाबासित डराउँछ । त्यो पनि हुतिहारा हो । त्यो त किताबको कीरो मात्र हो । वेनीमाधव बुढा पनि उसैसित सल्लाह नलिई कुनै काम गर्दैनन् । योचाहिँ बुढाको मूर्खता हो !” यसरी कुरा काट्तै आएका गाउँका महानुभावहरूको शुभकामना बल्ल आज पूरा हुँदैछ जस्तो देखियो । कोही तमाखु खाने निहुँमा त कोही लगानको रसिद देखाउने बहानामा गाउँलेहरू एक एक गर्दै जुटे । वेनीमाधव पुराना मानिस थिए । उनले यी गाउँलेहरूको मनोभाव नबुझ्ने कुरै थिएन । चाहे जेजस्तै झेल्न किन नपरोस्, यी क्षुद्रहरूलाई ताली बजाउने मौका दिनुहुन्न भन्ने उनको सोच थियो । तुरुन्तै नरम शब्दमा छोरासँग भने, “म तिमीबाट बाहिर छैन । तिमीलाई जे उचित लाग्छ गर । केटाले अपराध गरेछ, अरू म के भनौँ !?”

बाहिरी अनुभवशून्यको यो इलाहावादको झल्लनटाट स्नातकले बुढा बाउका कुराको गहिराइ के बुझोस् ? वादविवाद क्लबमा भाग लिँदा आफ्ना अडानमा अडिने बानी थियो । कुटिलहरूको षड्यन्त्र केलाउने र बुढापाकाको सङ्केत बुझ्ने अभ्यास थिएन । त्यत्तिकै के बुझोस् ? बाबाले के सोचेर कुरा उल्ट्याए, उसले बुझेन । प्वाक्क भन्यो, “लालविहारीसँगै यो घरमा अब म बस्दिनँ !” 

“बाबु, बद्धिमान मानिसले मूर्खका कुरामा ध्यान दिँदैन । अल्लारे केटो । गल्ती गर्यो । तिमी शिक्षादीक्षा पाएका बुद्धिमान् दाइ हौँ । त्यसलाई माफ गरिदेऊ ।” वेनीमाधवले भने ।

श्रीकण्ठ सेलाएन । साविक आवेशमै भन्यो, “त्यसको यो दुष्ट व्यवहार म कदापि सहन सक्दिनँ । कित यो घरमा उ बसोस्, कि त म बस्छु । तपाईंको कान्छो छारा, बढी प्यारो पनि छ । ठीक छ ऊ बसोस् । मलाई बिदा दिनुहोस् । म आफ्नो अभिभारा आपैm सम्हाल्छु । यदि मलाई यस घरमा राख्नु छ भने उसलाई कता जान्छस् जा भनिदिनुहोस् । मेरो निक्र्यौल यही हो ।”

लालविहारी ढोकानिर उभिएर चुपचाप दाजुुका कुरा सुनिरहेको थियो । ऊ दाजुुलाई धेरै नै आदर गथ्र्यो । श्रीकण्ठका अगाडि सुकुलमा बस्ने, तमाखु खाने, पान चपाउने हिम्मत उसले कहिल्यै गरेन । यतिसम्मको आदर त ऊ बुढा बाबालाई पनि गर्दैनथ्यो । श्रीकण्ठको पनि उसप्रति हार्दिक स्नेह थियो । आजसम्म भाइमाथि एक लबटो पनि उठाएको थिएन । इलाहावादबाट घर आउँदा भाइका लागि केही न केही ल्याइदिएकै हुन्थ्यो । भाइका लागि मुद्गरको जोडी उसैले बनाउन लाएको हो । गत साल नागपञ्चमीका दिन जब लालबिहारीले आफूभन्दा डेढगुना बलियो ठिटालाई कुस्तीमा पछार्यो, श्रीकण्ठले खुसीले प्रफुल्ल हुँदै सरासर अखाडामै गएर अँगालो हालेको थियो । दर्शकहरूका माझ रुपियाँ फालेको थियो । यस्ता दाजुुको मुखबाट यतिसम्मको हृदयविदारक कुरा सुन्नुपर्दा लालबिहारीलाई हुनसम्म ग्लानि भयो । डाँको छोडेर रोयो । आफ्नो गल्तीमा मनमनै पछुतायो । दाजुु घर आउनुभन्दा एक दिन पहिलेदखि खुसीले उसको मुटूको चाल बढथ्यो । ‘हेरूँ यस पटक दाजुुले के भन्नुहुन्छ ? म उहाँका अगाडि कसरी जान्छु होला ? कसरी बोल्छु होला ? उहाँका अगाडि मुन्टो उठाएर कसरी हेरूँला ? कसरी बोलुँला ?’ उसलाई लागेको थियो, ‘दाजुुले उसलाई आफूनिर बोलाएर सम्झाउनु हुन्छ !’ तमाम आशाका विपरीत उसले दाजुुलाई निर्दयताको मूर्ति बनेको पो देख्यो । ऊ मूर्ख थियो । तर पनि उसलाई लाग्यो, ‘दाजुु ममाथि अन्याय गर्दै हुनुहुन्छ । श्रीकण्ठले उसलाई एक्लै बोलाएर गाली गरेको भए, एक दुई थप्पडै लगाएको भए पनि ऊ यति दुःखी हुने थिएन ।’ दाजुुले म अब त्यसको मुखै हेर्न चाहन्नँ भनेको लालबिहारीलाई सहिसक्नु भएन । ऊ रुँदै फक्र्यो । कोठामा गएर कपडा बदल्यो । कसैले रोएजस्तो नदेखून् भनेर आँखा पुछ्यो । त्यसपछि सरासर आनन्दीको ढोका अगाडि उभिन पुग्यो र भन्यो, “भाउजु, म अब यस घरमा बस्दिनँ । म बसेको घरमा दाजुु बस्नुहुन्न रे ! मेरो मुखै हेर्नुहुन्न रे ! यस्तो भएपछि म यहाँ कसरी बसुँँ ? म जान्छु । अब कहिल्यै मुख देखाउन आउन्नँ । मबाट जे जति अपराध भयो माफ गर्नुहोस् है भाउजू !” बोल्दाबोल्दै लालविहारीको गला रोकियो ।

जतिबेला लालविहारी शिर झुकाएर आनन्दीका ढोका अगाडि उभिएको थियो, श्रीकण्ठ पनि बाहिरबाट टुप्लुक्क त्यहाँ आइपुग्यो । भाइ त्यहाँ उभिएको देखेर घृणाले मुण्टो फर्कायो । तर्कंदै त्यहाँबाट ओल्टोकोल्टो लाग्यो । मानौं, श्रीकण्ठ अब लालविहारीको छायाँबाट पनि टाढा भाग्न चाहन्छ ।

आनन्दीले लालबिहारीको बारेमा श्रीमान्सँग उजुर त गरिन् पछि उनलाई पछुताउ पनि लाग्यो । उनी स्वभावतः दयालु महिला थिइन् । कुरा यतिसम्म बढ्ला भन्ने उनले सोचेकी थिइनन् । श्रीमान् यतिधेरै आवेशमा किन आए भन्नेमा मनैमन पिरोलिइरहेकी थिइन् । मलाई इलाहाबाद जाऊँ भन्ने पो हुन् कि त्यसो भनेका खण्डमा मैले के गर्ने ? मनमा यो पनि डर थियो । यस्तो स्थितिमा आनन्दीले जब लालविहारीलाई ढोकाअगाडि उभिएर ‘म अब यस घरबाट निस्केर जान्छु, मैले जे जति अपराध गरेँ त्यसमा क्षमा गर्नोस् है भाउजू’ भनेको सुनिन्, उनको रहलपहल रिस पनि सबै पानी भयो । उनी भल्भली रुन लागिन् । मनको मयल पखाल्न नयनजलभन्दा उपयुक्त बस्तु अरू के हुन्छ र ?

श्रीकण्ठतिर हेरेर आन्न्दीले भनिन्, “बाबु बाहिर उभिएर साँच्चिकै रोइरहनु भा छ ।”

“त म के गरूँ ?” श्रीकण्ठले भन्यो ।

“भित्र बोलाउनुहोस् । मेरो जिब्रोमा आगो सल्केछ । बेकार झगडा उठाइछु !” अनुरोधको लवजमा आनन्दीले भनिन् ।

“म त बोलाउन्न !” श्रीकण्ठले अडान लियो ।

“नबोलाएर पछि पछुताउनुपर्ला है ! बाबु साह्रै दिक्क हुनु भा’छ । फुत्त कतै हराइदिनुभयो भने के गर्ने ?” आनन्दीले भनिन् ।

श्रीकण्ठ उठेन । लालविहारीले बाहिरबाट भन्यो, “दाजुुलाई मेरो प्रणाम भनिदिनुहोस् है भाउजू, उहाँले मेरो मुख हेर्दिनँ भन्नुभा’ छ म कसरी उहाँलाई मुख देखाऊँ ?”

यति भनेर लालविहारी फरक्क फक्र्यो र फटाफट तगारातिर लम्क्यो । अन्त्यमा आनन्दी आफै कोठाबाट निस्किन् र दगुर्दै गएर लालविहारीको हात च्याप्प समातिन् । लालविहारीले मुन्टो फर्काएर हेर्यो र भन्यो, “मलाई जानदिनुस् भाउजू !”

“कहाँ जानुहुन्छ ?” आनन्दीले सोधिन् ।

 “जहाँ जाँदा यहाँका कसैले मेरो मुख देख्दैन त्यहीँ जान्छु !” लालविहारीले भन्यो ।

“म तपाईंलाई जानै दिन्नँ”, आनन्दीले कडाइसाथ भनिन् ।

“म तपाईंहरूसँग रहन लायक छैन”, लालविहारीले भन्यो ।

“तपाईंलाई मेरो कसम । अब यहाँबाट एक पाइला अगाडि नबढ्नुस् !” आनन्दीको लवजमा आग्रह थियो । अनुरोध थियो ।

“जबसम्म मप्रति दाजुुको मन सफा भयो भन्ने मलाई विश्वास हुँदैन, तबसम्म म यहाँ बस्दिनँ ।” लालविहारीले थप्यो ।

 “म त ईश्वरलाई साक्षी राखेर भन्छु तपाईंप्रति मेरो मनमा कुनै मयल बाँकी छैन । पटक्कै छैन”, आनन्दीले भनिन् ।

अब श्रीकण्ठको पनि हृदय पग्ल्यो । उसले बाहिर निस्केर लालविहारीलाई झ्याम्म अँगालो हाल्यो । दाजुुभाइ दुवै घुँक्कघुँक्क रुन थाले । रुँदै लालविहारीले भन्यो, “अब कहिल्यै पनि लालविहारीको मुख हेर्दिनँ नभन्नोस् है दाजुु, यसबाहेक तपाईं अरू जे दण्ड दिनुहुन्छ म हाँसीहाँसी सकार्छु ।”

श्रीकण्ठले कम्पित आवाजमा भन्यो, “जे भयो त्यो सबै बिर्सिदेऊ भाइ, ईश्वरले साथ दिए भने जीवनमा अब यस्तो समय कहिल्यै आउँदैन । नआओस् ।”

वेनीमाधव बाहिरबाट त्यतै आइरहेका थिए । दुई छोरा आपसमा अँगालो मारिरहेका देखेर हर्षले पुलकित भए । हर्षित आवाजमै भने, “ठूलो घरका छोरी यस्ता हुन्छन्, बिग्रिसकेको सम्बन्धलाई पनि यति सजिलैसँग सम्हालेर झन् गहिरो बनाइदिन्छन् !”

गाउँमा पनि जसले यो वृत्तान्त सुन्यो उसले आनन्दीका उदारताको मुक्तकण्ठले प्रशंसा गर्दै नै भन्यो– ‘देख्नु भो ? ठूलो घरकी छोरी यस्ता हुन्छन् !’

अनुवाद : रमण नेपाल

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...