शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : विश्वव्यथा

शनिबार, २१ पुस २०७५, १२ : ००
शनिबार, २१ पुस २०७५

अनिल नेपाली

चुमेर तातो बगरलाई चैतबेला
कमजोर नदीहरू खेलिरहेछन् 
बग्नेहरूको क्लान्त खेल
मेरा आँशु प्यारले बोले 
मलाई पनि समाहित गर 

मृत्युशय्याको सबैभन्दा कमजोर प्राणले 
विशाल भीडमा नाहक नारा लगाएझैँ 
सूर्य साम्राज्यले पग्लिरहेको दक्षिण दूरतिर
जहाँ बढ्दै छ रोग, भोक र शोकको सालिक
सगरमाथाझैँ
उतैतिर भीख माग्न धेरै टाढा–टाढा
एक हुल भिखारी लम्किरहेझैँ
नर्क निर्माताको रापिलो कञ्चटमा 
पृथ्वीका सारा पापीहरूको 
नाल–नाल आँशुहरू पोखिएझैँ
रगतको टाट पल्टिएको सेतो सिन्की कायामा 
निला आँखाहरूले जसोतसो
बाँचिरहेककी युवतीझैँ
बगर किनाराका तातो पत्थरतिर
पोखिन लम्किरहेकी कमजोर छालले 
आँशुमा आँशु मिसाएर भनिन्– प्रिय आँशु

तिमीले त
देवताको लाचार शालिक 
पछार्न, चपाउन पर्दैन विरानो तटमा 
मैलेझैँ

तिमीले त 
पृथ्वीमाताको भयानक अस्थिरपञ्जर
भताभुङ्ग÷लथालिङ्ग पारेर 
उनैको काखमा सुम्पनुपर्दैन
मैलेझैँ

तिमीले त 
अग्नि साम्राज्यको ऊष्ण मैदानमा 
जलयोद्धा भई होमिनु पर्दैन 
मैलेझैँ 

तिमीले त
जगतको खरानी, घाट, दुर्गन्ध पखाली
राजा रैती भूतका 
रिझाउनुपर्दैन दिनमा रातमा
मैलेझैँ

मैले त
पृथ्वीलाई रसिली, हँसिली, कसिली बनाएँ
प्रत्येक नशा–नशामा रस भई घुसी
तर, मरुभूमि सधैँकी रापिली, तापिली, बाफिली
सकिनँ रिझाउन र 
चम्किदी, टल्किदी, मुस्कुराउँदी
चाँदनी जुन किनाराकी
चम्कन्छ प्यासले ज्वाला हपहपले 
खाउँला झैँ, टोकुँला झैँ, पोलुला झैँ 
स्वर्गकी चाँदनीलाई तर
यो भयानक अनिष्ट देखी–देखी
पृथ्वीमा रुनु परेन वर्षा भई बेला–बेला
मैले झैँ 

तिमीले त
नचलेको कञ्चटको मुटु पग्ली
जँघार साम्राज्यको ऊँचो पुञ्जमा
छहरा भई दिल खोली–खोली
रमाउनुपर्ने भाग्य नि मेरो 
तर अन्त्य छ मेरो महासागरमा बन्दी 
कम्पनमा के आनन्द जति तुफानमा छ
सुसाउन नपाई ढल्छु ताल भई
निदाउन पाउँदिनँ उड्छु बाफ भई
स्वर्ग सिँगार्थें, नर्क पखाल्थेँ
भिजाउँथे मरुभूमि
निस्सासिरहेछु जमेर पोखरी भई 

आँशु बोलिन्
म त ढिका नुनीलो मोती
भन्छन् र पो लिन्छन् प्राणी सृष्टिका सारा
बरबर कतै तप्पझैँ
वेदना फुट्दा पट्ट भई
हर्ष फुट्दा पट्ट भई
तापमा रापमा शीत भई
पाउँदिनँ सुक्न पुछिन्छ, पखालिन्छ
प्राणीभित्रका देवता राक्षस भर्छन्
मेरो तरङ्ग
विशाल वेदना, क्रोध, लोभ, रिस, डाहा
सानो हर्षले मलाई बनाए नतर्की
पोखिन्छु, पखालिन्छु, तातो उम्लिन्छु, पछारिन्छु 
नयनद्वारमा 
म सक्दिनँ तङ्ग्रिन, सधैँकी यस्ती

प्रिय माता
ब्रह्माण्ड डुली स्वर्ग चहारी
सृष्टिका जरा नसा रसाई तिमी मनमौजी
बिन्ती, मलाई पनि समाहित गर
लैजाऊ डुलाई 
नियाल्छु विश्व व्यथा ब्रह्माण्डको
बाफ विमान तिम्रो निजी
चढ्छु डुल्छु स्वर्ग हेर्छु नर्क 
घुस्छु पातल म पनि 
भन्दै बरर.... बरर.... रोईन् आँशु

यत्तिकैमा 
कमजोर जलका क्लान्त हात
तटमा रोइरहेकी आँशु मुसार्छिन् सम्हाल्दै
र, बग्दै भन्छिन् सम्झाउँदै
हर्ष एउटै हो, वेदना एउटै हो
स्वर्ग, नर्क, सृष्टिको व्यथा
बताउँछु एक शब्दमा
मेटिँदैन, छेकिँदैन, सकिँदैन
तमाम बराबर
जब आँशुले सुनिन्, मनमनै गुनिन्
चुमेर आँशु कमजोर नदी बगिन् तलतल
लड्न, पोखिन, बर्सिन पृथ्वीमा 
आँशुले कम्मर कसिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप