शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्रा किन पर्छ?

शनिबार, २१ पुस २०७५, १० : ३३
शनिबार, २१ पुस २०७५

केही दिनअघि मात्र मेरो भान्जा टाउको चिलायो भन्दै म बसेको ठाउँमा आयो । मैले पनि के भएको रहेछ भन्दै उसको टाउकोमा हेर्न थाले । यसो नियालेर हेरेको त उसको टाउकोमा त जुम्रा पो परेको रहेछ ।

त्यो देखेपछि मेरो मनमा विभिन्न प्रश्नहरु उठे । कसरी हाम्रो टाउकोमा पर्छ ? सधैं सफा रहने भए पनि किन भान्जाको टाउकोमा जुम्रा पर्यो होला ? यसबारे अध्ययन गर्दै जाँदा त मैले निकै अनौठो कुरा थाहा पाएँ । मेरो भान्जालाई जस्तै हरेक वर्ष विश्वभरि ६० देखि १२० लाख मानिसहरुलाई टाउकोमा जुम्रा पर्दो रहेछ । तीमध्ये पनि धेरैजसो त बच्चाहरु नै हुने गर्दा रहेछन् । जो बच्चा स्कूल जान्छन्, तिनीहरुले अवश्य पनि जुम्राको बारेमा सुनेको हुनुपर्छ ।

किनभने जुम्रा एउटा बच्चालाई पर्यो भने अरु बच्चाहरुलाई पनि त्यो अति चाँडो र सजिलै सर्ने गर्छ । स्कूलमा धेरै विद्यार्थीहरु हुन्छन् । त्यसैले एउटा विद्याथीलाई जुम्रा प-यो भने त्यही कक्षाका अन्यलाई पनि सर्न सक्छ । 

के हो जुम्रा ?
जुम्रा भनेका निकै साना किराहरु हुन् । तिनीहरु यति साना हुन्छन् कि तिनीहरुलाई नांगो आँखाले सजिलै देख्न पनि निकै गाह्रो हुन्छ । सामान्यतः जुम्राको आकार एउटा तोरीको गेडा जत्रो मात्र हुन्छ । तिनीहरु विशेष गरेर खैरो र कालो र रङ्गको हुन्छ । 

जुम्रा प्यारासाइट वर्ग अन्तर्गत पर्दछ । अरु प्राणीमा निर्भर भएर बाँच्ने प्राणीहरुलाई प्यारासाइट भनिन्छ । जुम्रालाई पनि बाँच्नका लागि हाम्रो छालाको न्यानोपन चाहिन्छ । यसले खानाको रुपमा हाम्रो शरीरको केही रगत पनि खाने गर्छ । तर यसले लामखुट्टेको तुलनामा हाम्रो शरीरबाट निकै कम रगत खाने गर्छ । यसको खुट्टामा केही टाँसिने पदार्थहरु पनि हुन्छन् । जसको मद्दतले यो हाम्रो कपालमा टाँस्सिएर बस्ने गर्छ । 

जुम्रा हाम्रो टाउकोमा बस्दा अण्डा पनि पार्ने गर्छ । जुम्राको अण्डालाई निट्स भनिन्छ । एउटा जुम्राको औसत आयु ३० दिनको हुन्छ । यसले एक दिनमा ८ वटासम्म अण्डाहरु पार्न सक्छ । जुम्राले आफ्नो अण्डालाई कपालमा टाँसेर राख्ने गर्छ । तपाईंहरुले जुम्रा परेको टाउकोमा सानो सेतो वस्तु देख्नुभयो भने त्यो जुम्राको अण्डा हुनुसक्छ । अण्डा फुटेपछि त्यहाँबाट स–साना जुम्राहरु निक्लिन थाल्छन् । तिनीहरुले कुनै ठूलो हानी त गर्दैन तर तिनीहरुले गर्दा टाउको भने चिलाउने गर्छ । विशेष गरेर राति टाउको चिलाउने गर्छ । टाउको धेरै चिलायो भने हाम्रो छालामा घाउ पनि हुन सक्छ ।

जुम्राले सबैलाई मन पराउँछ

जुम्रा अन्य प्राणीहरुमा भर पर्ने जीव हो । त्यसैले यसले आफ्नो घर जोकोहीको टाउकोमा पनि बनाउन सक्छ । त्यो मानिस सफा होस् या मैला, कालो होस् या गोरो यो जसको पनि टाउकोमा पर्न सक्छ । त्यसैले कसैले जुम्रा परेकोलाई फोहोरी भन्छ भने त्यसलाई जुम्राले सबैलाई मन पराउँछ भन्ने कुरा थाहा रहेनछ भन्नुपर्ला । जुम्रा कक्षाको सबैभन्दा सफा विद्यार्थीको टाउकोमा पनि पर्न सक्छ । जुम्रा स्कूल र कक्षामा एकबाट अर्कोमा चाँडो सर्ने गर्छ । किनभने त्यहाँ सबैजना सँगै बसेर पढ्ने र खेल्ने गर्छन् । ठूला मानिसहरुभन्दा पनि धेरै कुराहरु साटासाट गरेर चलाउने हुँदा पनि साना बालबालिकाहरुलाई चाँडै जुम्रा सर्ने गर्छ ।

जुम्राहरु उपियाँ जस्तै उफ्रन वा उड्न सक्दैनन् । तर दुईजनाले एउटै टोपी, काइँयो आदि प्रयोग गर्यो भने जुम्रा सजिलै एकबाट अर्कोलाई सर्न सक्छ । कहिलेकाहीँ त एउटै लुगा, सिरानी र खाट प्रयोग गर्दा पनि जुम्रा सर्ने गर्छ । जुम्रा कुनै पनि यस्ता वस्तुहरुमा अड्केर बसेको छ र त्यही सामाग्री अर्को व्यक्तिले प्रयोग गर्यो भने पनि जुम्रा सर्ने गर्छ । अझ कहिले त दुईजनाको टाउको एकआपसमा ठोकियो भने पनि एकबाट अर्कोमा जुम्रा सर्ने गर्छ ।

जुम्राको रोकथाम कसरी गर्ने ?

कसैको टाउकोमा जुम्रा पर्यो भने त्यसलाई लुकाइरहनु हुँदैन । जुम्रा परेको कुरा लुकाउँदा त त्यहाँ भएको जुम्राले धेरै अण्डा पारेर टाउको झन चिलाउन सक्छ । स्कूलमा पढ्ने विद्यार्थीले यो कुरा आफूभन्दा ठूलोलाई भन्नुपर्छ । अनि मात्र जुम्राको रोकथाम गर्न सजिलो हुन्छ । 

टाउकोमा जुम्रा पर्यो भने जुम्रा मार्ने साबुन वा क्रिमको प्रयोग गर्नुपर्छ । राम्रो खाले काइँयोको प्रयोग गरेर कपालमा अड्केर रहेका जुम्राका स–साना अण्डाहरुलाई हटाएर फाल्नुपर्छ । यसो गरेपछि जुम्रा आफैं हराएर जान्छ । तर यो तरिकालाई केही दिनको अन्तरालमा फेरि प्रयोग गरे राम्रो हुन्छ । किनभने टाउकोमा अझै पनि जुम्राका केही अण्डाहरु हुनसक्छन् । जुम्रा मार्ने साबुन, तेल वा क्रिमको प्रयोग गरेपछि कपाल सुकाउने मेसिनको प्रयोग चाहिँ गर्नु हुँदैन । किनभने तिनीहरुमा भएको रसायन ताप पायो भने बल्न पनि सक्छन् । यसरी हाम्रो कपाल डढ्न पनि सक्छ ।

जुम्राको आयु छोटो हुन्छ । केही दिनमा नै यो मरिहाल्छ । तर यसले छोटो जीवनकालमा पनि धेरै अण्डा पार्ने र बच्चा जन्माउने हुँदा जुम्रा परेपछि एकपटक आफ्नो कपडाहरुलाई तातोपानीमा धुनु राम्रो हुन्छ । लुगालाई हावा नछिर्ने झोलामा १० दिनसम्म राख्यो भने पनि त्यहाँ भएको जुम्रा मर्ने गर्छ । एक पटक आफ्नो कोठालाई पनि राम्ररी सफा गर्नुपर्छ । किनभने टाउकोमा औषधी प्रयोग गर्नु पहिले पनि केही जुम्रा भुँई वा अन्य भागमा झरेका हुन सक्छन् । कहिलेकाहीँ जुम्राबाट छुट्कारा पाउन निकै गाह्रो हुन्छ । यस्तो बेला भने डाक्टरकै सल्लाह लिनु राम्रो हुन्छ । यसको लागि अझै कडा औषधीको प्रयोग गर्नुपर्छ ।

जुम्रा अवश्य पनि हामी कसैको लागि राम्रो होइन । त्यसैले यसलाई हामीबाट सँधै टाढा राख्न माथिका उपायहरु प्रयोग गर्न सकिन्छ । यसको साथसाथै हामीले कहिलेपनि अरुको काइँयो वा अन्य कुनै लुगा, टोपी जस्ता सामाग्रीहरु प्रयोग गर्नुहुँदैन । यदी हामीले अरुको सामाग्रीहरु प्रयोग गरेनौँ भने हामीलाई कहिले पनि अरुबाट जुम्रा सर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप