केन्द्रीय संस्करण
मुक्तदृष्टि

संस्कृति र परिवर्तनः मरिसक्यो दरबार र तरबारको युग

person explore access_timeपुस २१, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

“संस्कार संस्कृतिबाट जुन स्वभाव बन्छ, खास मौकामा अरु सबै गुणलाई उछिनेर त्यही स्वभाव अगाडि आउँछ ।”

–परम्परागत नीतिशास्त्र

“प्रकृति वलवती छन् प्रेरणा यो फजूलै ।” 

–विद्व्च्छिरोमणि कुलचन्द्र गौतम

 

१)अहिले वाइडबडी काण्ड चर्चामा छ । केही महिनाअघि एनसेल काण्ड चर्चामा थियो । आयल निगमको जग्गा खरीदकाण्ड चर्चामा थियो । चूडामणि काण्ड चर्चामा थियो । ३३ किलो सुनकाण्ड चर्चामा थियो । निर्मला पन्तको वलात्कार र हत्याकाण्ड चर्चामा थियो । अझै  छ । बडे बडे भ्रष्टाचारी र अपराधीहरुले अदालतबाट छुटकारा पाएका घटनाचर्चा त मिडियामा प्रायः दिनदिनै पढ्न सुन्न पाइन्छन् । यसलाई ‘अपराध र अपराधी छुटकाराका नियमित प्रक्रिया काण्ड’ नाम दिनु मनासिप पर्ला शायद !

मुलुकमा ठुलाबडाका महत्वाकाङ्क्षाअन्तर्गत परिचालित हुने ठूला ठूला काण्डहरुका प्रतापले साना काण्डहरु छायाँमा पर्ने गरेका छन् । सत्तासीन बडेमानहरुले करोडौं मूल्यको गाडी चढ्नु पर्ने, सांसदहरु, विभिन्न सभापतिहरु र मन्त्रीहरुले महँगा सरकारी गाडीहरुको ताँती नै जुटाएर परिवार र आफन्तजनका साथ भोगचलन गर्नुपर्ने, पीए र कर्मचारीसमेतका बेहिसाब तलव भत्ता आफैले हसुर्नुपर्ने, र ठुलाबडाका अनाचार, दुराचारबारे प्रश्न उठाउनेहरुलाई मर्यादाको पाठ पढाउन तिनै अपचलनकारीहरु अघिसर्न सकिने यो सँस्कृति जनताका आँखामा कति बिझाएको छ ? सत्तासीनहरुलाई अझै हेक्का छैन ।

हरेक भ्रष्टाचार काण्डमा र अपराधका काण्डहरुमा राजनीतिक व्यक्तिहरुको विराध राक्षसका जस्ता लामा लामा हात पुगेको भेटिनुलाई समकालीन नेपालमा आश्चर्य मानिन छोडेको छ । राजनीतिले हुर्काएको अपराध र अपराधले हुर्काएको राजनीति एकाकार भएका छन् । त्यसैले राजनीतिक उर्जा र संरक्षण नपाएकाहरु भ्रष्टाचारी र जघन्य अपराधी हुनै सक्दैनन् भन्ने मान्यता जनतामा झाङ्गिँदो  छ । भ्रष्टाचार र अपराध कार्यमा बानी बसिसकेकाहरु आफैं बदलिने अवस्थामा छैनन् । हुन पनि सक्दैनन् । राजनीतिले हुर्काएको अपचलन र अपराधको यो विकराल अपसंस्कृतिलाई प्रधानमन्त्रीका उखानतुक्काले हँसाउने भाषण, कमरेड प्रचण्डका कुमनर्तन, शेरबहादुरका पुनः प्रधानमन्त्री बन्ने नपुंसक सपना र समयले बढारेका दुर्गन्धित कसिंगरहरुको पुनस्थापना गर्जनले केही दिन अलमल्याउन सक्ला, निराकरण गर्न सक्दैन । यो यथार्थ नेपाली जनताले राम्ररी बुझेका छन् । चौतर्फी प्रदूषणको यो मुस्लोलाई जनताले कुन समृद्धिको आशामा कहिलेसम्म पर्खने ? जनता आज यस्ता प्रश्नको भुमरीमा छ । ‘बोकाहरु नारेर दाइँ हुन सक्दैन’ भन्ने ठहरसहितको लोकोक्ति त जनतालाई पहिल्यैदेखि थाहा छ । आजको यो अवस्था बोकाहरु नारेर दाइँ गर्ने प्रहसनपरक प्रयत्नकै प्रत्युत्पादन हो त ? जनतामा  प्रश्नहरु मुखरित सुनिन थालेका छन् ।

यहाँनिर अर्को प्रश्न पनि आउन सक्छः सत्तामा पुगेपछि एक एक व्यक्तिलाई महाराजा, महारानी बन्न मन लाग्ने र नियम कानुन मिचेर चल्न मन लाग्ने यो अपसंस्कृतिको स्रोत के हो ? नेपाली जनजीवनमा यस प्रश्नको उत्तर अज्ञात छैन । अस्तिको राणादरबार, हिजोका शाहीदरबार र आजको लाहुरे राजनीति नै वर्तमानका यी भ्रष्टाचार र अपराधमय महत्वाकांक्षी राजनीतिक संस्कृतिका स्रोतहरु हुन् । 

बाहिरबाट पसेको होस् अथवा युरोप अमेरिकातिर उछिट्टिन भित्रभित्रै खुुट्टा उचालेर बसेको होस् भुइँफुट्टा नेता उपनेताहरुका लाहुरे राजनीतिले गतिछाडेरै सत्ता र सम्पत्तिमा मात्र हत्ते हालेका दृष्टान्तहरु आज मुलुकमा छरपस्ट छन् । लाहुरे राजनीतिक सँस्कृतिले देश र जनताप्रतिको दायित्वबोध गर्दैन र दायित्वबोध नगर्नेले दायित्व वहन गर्ने सम्भावना रहँदैन भन्ने यथार्थ पनि जनताले थाहा पाउन अब  बाँकी छैन । 

३३ किलो सुन तस्करीको अनुसन्धान प्रतिवेदनका सन्दर्भमा अब गुपचुप सँस्कृति क्रियाशील भइसकेको खबर भर्खरै एउटा मिडियाले पस्केको पढ्न पाइयो । लगभग आठ सय किलो सुन किन्न पुग्ने रकम त वाइडबडीमै अपचलन भएको थाहा पाइएको वर्तमान परिप्रेक्ष्यमा ३३ किलो छायाँमा पर्नु पारिनु स्वभाविक पनि छ । शायद यसै कारण पनि सुन– तस्करीकाण्डका कथित ठूला माछाहरु  विलास–वैभवका पोखरीहरुमा  ढुक्कसँग नौकाविहार गरिरहेका छन् । चूडामणिले त उत्कृृष्ट प्रशासक ठहरिएर सम्बन्धित मन्त्रालयबाट पुरस्कार पाएको खबर पनि सुनियो । मुलुकमा भ्रष्टाचार, तस्करी र अपराधका मामला कतिसम्म छ्यास्छ्यास्ती भए भने मानिसहरु अब सरकारी र सरकारसमर्थित मानिस भेट्दा झस्कनुपर्ने अवस्थामा पुगेका छन् ।

घाउ गन्हाउन थालेपछि झिंगाहरु भुनभुनाउनु स्वभाविक हो । नेपथ्यमा झिंगाहरुको सङ्गीत पनि सुनिन थालेको छ । यद्यपि ती झिंगाहरु आजको युगमा क्रियाशील हुनै सक्दैनन् । दरिद्रहरुका आकांक्षाजस्तै ती जसरी उम्रन्छन्, त्यसरी नै बिलाउँछन् । 

संस्कृतिको सम्बन्धमा भन्नुपर्दा कुनै पनि संस्कृति आफै परिवर्तित हुँदैन, त्यसलाई परिवर्तन गर्न जनताका सुझबुुझसहितको गम्भीर प्रयत्नको आवश्यकता पर्छ ।

जहाँसम्म जनताका सुझबुझको प्रश्न हो, भुक्तभोगी नेपाली जनताले वर्तमान राजनीतिमा सत्तासीन भुइँफुट्टा नेताहरुका महत्वाकाङ्क्षाका कारण बनमाराशैलीमा फैलिएको लखनउलूट पाराको लाहुरे राजनीतिक सँस्कृतिलाई कायम रहन दिनुमा देश र जनताको भलाइ देखेका छैनन् । नेपालको राजनीतिमा साँस्कृतिक क्रान्तिको आवश्यकता टडकारो भइसकेको छ । जनताले ठहराएका निष्ठावान् एवम् प्रबुद्ध नागरिकहरुको अगुवाइमा आम जनताको पहलमा साँस्कृतिक क्रान्ति हुन नसके जनतामा झाङ्गिँदो असन्तुष्टिको भङ्गालोले व्यापक र थप रुपान्तरणकारी नयाँ क्रन्तिको रुप लिन पनि सक्छ ।

नेपाली जनता एक एक काण्ड र सम्बन्धित एक एक व्यक्तिमाथि सजगतासाथ दृष्टि दिइरहेका छन् । खास समयमा आफूले लिनुपर्र्ने खास कदमका लागि आफूलाई तम्तयार बनाइरहेका छन् । देश र जनताको भाग्य–भविष्यप्रति आजका नेपाली जनता असावधान छैनन् ।

२) अव एकछिन झिंगाहरुका कुरा गरौं । केही वर्षअगाडि अफ्रिकाको एक विपद्ग्रस्त मुलुकको विकासे समाचारमा एउटा फोटो दिइएको थियो । फोटोभित्र एउटा उजाड पखेरामा अस्थिपञ्जर एक बालक सानो एउटा ढुङ्गामाथि टुक्रुक्क बसेको थियो । शायद आउँ दिसा गर्दै थियो । अनिकालग्रस्त त्यो बालक मर्ला र झम्टा मारेर मासु लुछुँला भनेर एउटा बुढो गिद्ध नजिकैको अग्लो ढुङ्गामाथि त्यतै हेरेर ढुकिबसेको थियो । 

मानवीय आँखामा अनिकालपीडित अस्थिपन्जर मानव चित्र जतिसुकै मार्मिक होस्, एक गिद्धका लागि मर्ला र नाचीनाची मासु लुछुँला भन्ने मनसायले ढुकिबस्नु नै प्रिय संस्कार सँस्कृति हो । गिद्धको परम्परागत स्वभावलार्ई मानवसभ्यतामा भएका विकासक्रमले केही फरक पार्दैन । गिद्ध आपैm आफ्नो स्वभावको सिकार छ ।

नेपालमा लोकतन्त्र व्यवस्थित नभइरहेको देखेर अतीतको त्यही मृत राजतन्त्रको पुनस्थापना हुन्छ कि भन्ने दिवास्वप्नमा लालायित हुँदै र भौतारिँदै हिँडेका भूतपूर्वको दयनीयतालाई देख्दा अस्थिपञ्जर ढुकिबस्ने त्यही विकासे समाचारको बुढो गिद्धको सम्झना हुन्छ र  भन्न मन लाग्छः सार्वभौम नेपाली जनताको अभिमत मरणासन्न अस्थिपन्जर होइन, यसको आफ्नै तागत र भविष्य छ । यसका नयाँ र प्रगतिशील सम्भावनाहरु अनन्त छन् । यो नबुझ्नु र अतीत फर्कन्छ कि भन्ने आशामा लालायित रहनु गिद्ध सँस्कृतिको दयनीय पिछडापन मात्र हो । 

पन्चतन्त्रका नीलवर्ण स्यालहरु संजोगले सत्तामा पुग्छन् र संजोगले पलायन पनि हुन्छन् । पुनस्थापना निमित्त लालायितहरुको आर्तनाद सुनेर तिनै त्यस्तै स्यालहरु मात्र आत्तिन्छन् । देश र जनताका सक्कली नेताहरु आत्तिँदैनन् । असल राजनेताहरु सृजेता हुन्छन् । त्यस्ता राजनेताहरु आज छैनन् त भालि जन्मन्छन् । जनता जननी हो, जन्माउँछ । त्यस्ता राजनेताहरु आफ्ना कमी कमजोरीहरु बारे इमानदार आत्मसमीक्षा गर्दै सकारात्मक रुपान्तरणका साथ देश र जनताको सुन्दर भाग्य भविष्य निर्माण अभियानमा  थप जोसजाँगर लिएर अगाडि बढ्छन् । राजनीति सचेत जनता अजेय किल्ला हो । पुनस्थापनाको रोइलोले यस किल्लाको सामना गर्न सक्ने सम्भावना शून्य छ । समयक्रममा नेपालमा अझै साँच्चिकै  परिष्कृत र आमूल रुपान्तरणकारी लोकतन्त्र आउन सक्छ, मृत राजतन्त्र फर्कन सक्दैन । त्यो पुरानो युग अव फर्कँदैन ।

जनताका आशा अग्रगामी हुन्छन् । जनविरोधीहरुका आशा र आकांक्षाहरु नितान्त पश्चगामी हुन्छन् । महाभारतमा यसको एउटा कथा छ । दृष्टान्त कथा । यो प्रवृत्ति र संस्कृतिको कथा पनि हो । मूलतः यो पश्चगामी आशाको कथा हो ।

महाभारत युद्धमा कौरव पक्षका अजेय ठानिएका महारथी भीष्म, आचार्य द्रोण, महावीर कर्ण धराशायी बनेपछिको सम्भावनाशून्य अवस्थामा पनि अझै पाण्डवहरुलाई जित्न सकिन्छ कि भन्ने आशाले दुर्योधनलाई छोडेन । उसले सामान्य योद्धा शल्यलाई सेनापति बनाएर पाण्डवसँग युद्ध थाल्यो । महाभारतका इतिहासकार व्यासले यति वेलाको अवस्था चित्रण गर्दै भनेका छन्, ‘भीष्म, द्रोण र कर्णजस्ता अजेय वीर व्यक्तित्वहरुको अवसानपछि सामान्य योद्धा शल्यले पाण्डवलाई जित्ला भन्ने ठान्नु दयनीय किसिमकै दरिद्र मानसिकता हो !’

राजनीतिसचेत र अजेय किल्लाजस्ता बनिसकेका नेपाली जनतालाई जिल्ल्याएर फेरि तानाशाही राज्यव्यवस्थाको पुनस्थापनाका लागि आकांक्षाका हात हल्लाउँदै दगुर्ने मानसिकता पनि पराजित दुर्योधनको जस्तै दरिद्र मानसिकता हो ।अब नेपाली जनताले आफ्नो राजनीतिक, सांस्कृतिक निर्णय आफैं गर्छ । दरबार र तरबारको युग मरिसक्यो । त्यो अब ब्युँझदैन । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ