शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुन बैङ्कमा सस्तो ऋण पाइन्छ ?  यस्तो छ बैङ्कहरूले लिने व्याजदर (सूचीसहित)

शुक्रबार, २० पुस २०७५, १० : ३३
शुक्रबार, २० पुस २०७५

तपाईं आफ्नै घर र सावारी साधन (चार पाङ्ग्रे) होस् भन्ने चाहनु हुन्छ तर पर्याप्त पैसा छैन भन्दै ऋण लिने तयारी गर्दै हुनुहुन्छ भने एक पटक विभिन्न बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको व्याजदरमा नजर डुलाउनुस् । आजकाल बैङ्कहरूको सङ्ख्या बढेकाले तपाईं हामीसँग सस्तो व्याजदरमा ऋण दिने कम्पनी छान्न सक्ने विकल्प छ । 

पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाले आफूले लिने निक्षेपको व्याजदर कम गरेकाले कर्जाको व्याजदर पनि विस्तारै घट्ने आँकलन थियो तर अझैसम्म बैङ्कले प्रवाह गर्ने ऋणको व्याजदर तुलनात्मक रूपले बढी नै देखिएको छ ।  

जनता बैङ्कका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर बैङ्कहरूले महँगोमा लिएको मुद्दती निक्षेप म्याचुअर्ड (परिपक्व) हुन अझै समय लाग्ने भएको आफैले महँगोमा निक्षेप लिँदा कर्जा पनि महँगोमा प्रवाह गर्नुपर्ने अवस्था आएको बताउँछन् ।  कर्जाको व्याजदर दोस्रो त्रैमासदेखि घट्ने उनको आँकलन छ । उनले तत्काल कर्जाको व्याजदर कम हुन नसक्ने उल्लेख गरे । 

अहिले सबै बैङ्कको आफ्नो आफ्नै व्याजदर कायम छ, एकनासको व्याजदर छैन । विशेष गरी बैङ्कले कर्जामा प्रवाह गर्ने व्याजदर कस्तो छ भन्ने आधार भनेको सम्बन्धित बैङ्कको बेस रेट (आधारदर) हो । बेस रेट बढी भएको बैङ्कको व्याजदर स्वतः महँगो पर्न जान्छ । अहिले केही बैङ्कको झण्डै १२ प्रतिशत नजिक आधारदर (बेस रेट) छ । अर्कोतर्फ आधारदरमा २ प्रतिशतसम्म बढी व्याजदर जोड्न पाइन सक्ने सुविधा छ । 
वाणिज्य बैङ्कहरूले घर कर्जा, सवारी कर्जा र सेयर धितो राखेर दिइने कर्जाको व्याजदर कति लिन्छन् भन्ने विषयको विश्लेषण गर्न खोजेका छौँ । 

यस्तो छ बैङ्कको ब्यादर 

राष्ट्रिय वाणिज्य बैङ्क : नेपालको एक मात्र पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको आधारदर ६.३३ प्रतिशत छ । यो बैङ्कले सवारी कर्जा बेस रेटमा ३ देखि ४ प्रतिशतसम्म जोडेर व्याजदर लिन्छ । यो भनेको बैङ्कले लिने सवारी कर्जाको व्याजदर ९.३ प्रतिशत देखि १०.३३ प्रतिशतसम्म छ । यसमा दुई प्रतिशतसम्म थप हुन सक्छ । यस्तै यसको घरकर्जा १२ प्रतिशतसम्मको व्याजदरमा उपब्ध हुन्छ । राष्ट्रिय वाणिज्य बैङ्कले पुस ७ गतेदेखि यो व्याजदर लागू गरेको हो । यता सेयर धितोको कर्जा पनि १२ प्रतिशत व्याजदरमा पाउन सक्ने बैङ्कले प्रकाशित गरेको व्याजदरबाट देखिन्छ । 

कृषि विकास बैङ्क : अर्को सरकारको  लगानी रहेको कृषि विकास बैङ्कको प्रथम त्रैमासलाई आधार मान्दा यसको आधारदर आफैमा बढी देखिन्छ । आधारदर नै १२.३२ प्रतिशत भएको बैङ्कले कर्जामा लिने व्याजदर कति होला सहजै अनुमान गर्न सकिने विषय हो । यसमा सर्वसाधारणको पनि सेयर भएकाले पूर्ण सरकारी स्वामित्वको बैङ्क भने होइन । 

नेपाल बैङ्क : यसले सवारी कर्जा १३ प्रतिशत व्याजदरमा दिन्छ भने घर कर्जा पनि लगभग १३ प्रतिशतमै पाइन्छ । सेयर धितो राखेर लिइने कर्जाको व्याजदर पनि यसैको हाराहारीमा छ । 

एनएमबी बैङ्क : एनएमबी बैङ्कको आधारदर १०.७३ प्रतिशत छ । यस आधारमा यसले प्रवाह गर्ने गाडी र घर कर्जाको व्याजदर १६ प्रतिशतको हाराहारीमा हुन्छ । सेयर धितो राखेर लिइने कर्जाको व्याजदर पनि यही अनुपातमा देखिन्छ । 

नविल बैङ्क : नविल बैङ्कले प्रवाह गर्ने सवारी र घर कर्जाको व्याजदर पनि १६.३ प्रतिशतकै हाराहारीमा देखिन्छ । नविलको आधारदर ८.५३ प्रतिशत छ । 

नेपाल इन्भेस्टमेन्ट बैङ्क : यसले साढे १६ प्रतिशतसम्मा सवारी कर्जा दिन्छ भने १५ प्रतिशतसम्ममा घर कर्जा उपलब्ध गराउँछ । सेयर धितो राखेर लिइने कर्जामा पनि १५ प्रतिशतकै हाराहारीमा व्याजदर लिने गर्छ । 
सानिमा बैङ्क : १०.५५ प्रतिशत आधारदर रहेको  बैङ्कले घर र सवारीमा लिने कर्जाको व्याजदर साढे १६ प्रतिशत पर्न आउँछ । सेयर कर्जाको पनि यही रेसियोको व्याजदर छ । 

एनआईसी एसिया बैङ्क : एनआईसीको सवारी कर्जाको व्याजदर साढे १७ प्रतिशतभन्दा बढी पर्न आउँछ भने घर कर्जाको पनि यही अनुपातको व्याजदर निर्धारण छ । यसको बेस रेट १०.६४ प्रतिशत छ । 

एनसीसी बैङ्क : यसको साढे १५ प्रतिशत सवारी कर्जा र साढे १७ प्रतिशत घरकर्जाको व्याजदर छ । बैङ्कको आधारदर (बेस रेट) ११.४६ प्रतिशत छ । सेयर धितोमा राखेर लिइने कर्जाको व्याजदर भने झण्डै साढे १८ प्रतिशत छ ।  

जनता बैङ्क : ११.२२ प्रतिशत आधारदर भएको जनता बैङ्कले सवारी कर्जामा  १५.२२ प्रतिशत र घर कर्जामा पनि सोही अनुपातको व्याजदर छ । सेयर धितोमा राखेर लिने कर्जामा पनि साढे १६ प्रतिशतको हाराहारीमा व्याजदर कायम छ । 

नेपाल बङ्गलादेश बैङ्क : यसले झण्डै १७ प्रतिशत सवारी कर्जा कायम गरेको छ भने घर कर्जा पनि १७ प्रतिशत व्याजदरकै हाराहारीमा छ । बैङ्कको आधारदर १०.८४ प्रतिशत छ ।

सनराइज, सिद्धार्थ, प्राइम कर्मसियल बैङ्क : सनराइजको १७ प्रतिशतको हाराहारीमा घर कर्जा, सवारी कर्जा र सेयर धितोमा लिने कर्जाको व्याजदर छ । यता सिद्धार्थको पनि १६/१७ प्रतिशतकै हाराहारीमा घर र सवारी कर्जाको व्याजदर छ ।  प्राइम कर्मसियलको पनि १५.३९ प्रतिशतमा घर, सवारी कर्जा पाइनसक्ने अवस्था छ । 

लक्ष्मी, माछापुछे«, कुमारी र  सेन्चुरी  कर्मसियल बैङ्क : यी बैङ्कहरूको आधार दर ११ प्रतिशतभन्दा माथि छ । माछापुछे« र लक्ष्मी बैङ्कको साढे १६ प्रतिशतको हाराहारीमा घर र सवारी तथा सेयर धितो राखेर लिइने कर्जाको व्याजदर छ भने कुमारी बैङ्कको झण्डै साढे १९ प्रतिशत व्याजदर छ । 

स्रोत : सम्बन्धित बैङ्कले प्रकाशित गरेको विवरणमा आधारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप