केन्द्रीय संस्करण
शिक्षा बहस

शिक्षाविद्हरु भन्छन् : हाम्रा शिक्षकले किताब पढाउँछन् तर व्यवहार पढाउँदैनन्

person explore access_timeपुस १९, २०७५ chat_bubble_outline0


शिक्षा भनेको सबैले स्वीकार्ने र महत्त्व दिने विषय हो । निरपेक्ष रुपमा हेर्दा शिक्षाको इतिहास राम्रो छ । विभिन्न नीति नियमहरु बनेका छन् । विद्यालय बढेका छन् । विद्यार्थी बढेका छन् । छात्राहरु बढेका छन् । सान्र्दभिकताको दृष्टिले हेर्दा देशमा बेरोजगार बढेको कारण शिक्षा गुणस्तर नभएर हो भन्ने भनाइ सुन्नमा आइरहेको छ । गुणस्तर भन्ने कुरा समयसँग आबद्ध हुने कुरा हो । हिजोका दिनहरुमा थोरै पढेर र पढाएर हुने तर आज थोरै पढेर नहुने अवस्था  छ । 

शिक्षामा बढ्दो दलीय हस्तक्षेपको कारण पनि शिक्षाको गुणस्तर खस्किएको भनाई शिक्षाविद्हरुको छ । नेपालमा शिक्षा प्रणालीको योजनाबद्ध विकासमा विभिन्न प्रयासहरु भएकै हुन् । विभिन्न प्रयास र अभ्यासका वाबजुत पनि शिक्षाको विकास जनअपेक्षा अनुसार अगाडि बढ्न नसकेको वास्तविकता पनि हामै्र अगाडि छ । 

प्रसिद्ध लेखक हर्वट स्पेन्सरले भनेका छन् ‘मानिसलाई पूर्ण जीवन व्यतीत गर्नको लागि तयार पार्नु नै शिक्षाको कार्य हो ।’ तर, हाम्रो शिक्षा मानिसलाई पूर्ण जीवन व्यतीतको लागि तयार पार्नु भन्दा पनि निरन्तरता दिने तर नवीनता नदिने खालको  छ । हाम्रो शिक्षकले किताब पढाउँछन् तर व्यवहार पढाउँदैनन् । शिक्षकले किताब र व्यवहारको कडीलाई समन्वय गर्ने ज्ञान नै सिकाउन सकेको छैन् । जनशक्ति पनि किताबी कुरामा मात्र सिमित रहे भन्ने आरोप लागिरहेको अवस्थामा जनशक्ति पनि म गरेर खान्छु नभनेर जागिर कहाँ पाइन्छ भनेर खोज्यो ।

‘एक वर्ष बाँच्नु छ भने धान रोप, दश वर्ष बाँच्नु छ भने फलफूलको बोट रोप र पूरा जीवन बाँच्नु छ भने शिक्षा रोप’ भन्ने प्रसिद्ध चिनियाँ भनाइबाट पनि बुझ्न सकिन्छ शिक्षा जीवनमा कति महत्त्वपूर्ण छ भन्ने कुरा । तर, शिक्षामा हुने दलीयकरण, व्यापारीकरण, राजनीतिक हस्तक्षेपको कारण शिक्षा क्षेत्रमा विभिन्न समस्याहरु बढ्दै गइरहेका छन् । यिनै पृष्ठभूमिमा सुनिता न्यौपानेले शिक्षाविद् विद्यानाथ कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, रेक्टर सुधा त्रिपाठी र शिक्षाशास्त्र केन्द्रिय विभागअन्तर्गत अङ्ग्रेजी शिक्षा विभागका प्रमुख प्रेम फ्याकसँग गरेको कुराकानीको महत्त्वपूर्ण अंशहरु यहाँ प्रस्तुत गरिएको छ ।

नेपालको शिक्षा पद्धतिको बारे तपाईको समग्र मुल्याङ्कन कस्तो छ ?

कोइरालाःपद्धति भन्नाले मेरो विचारमा तीनओटा कुराले प्रभाव पार्दछ । लगानी, प्रक्रिया र परिणति ।

लगानी भनेको शिक्षक, विद्यार्थी, विद्यालय भवन आदिमा लगानी गर्ने कुरा भयो  । अर्थात सरकारले गर्ने लगानी । परिणति भन्नाले नतिजालाई बुझाउँछ । अर्काे हो प्रक्रिया । पठनपाठनलाई  हामी प्रक्रिया भन्छाँै । 

यी तीनओटा कुरालाई हेर्दा मैले लगानीमा ठूलो समस्या देख्दिनँ । किनभने प्रत्येक वर्ष विद्यार्थी बदलिरहन्छन् । शिक्षक भने कम बदलिन्छन् । पाठ्यक्रम निश्चित अवधिमा बदलिन्छ । अहिले सरकारको लगानी घट्दो क्रममा छ । सरकारको लगानी त खुम्चियो तर अभिभावकको लगानी भने बढेको छ । त्यसैले लगानी घट्यो भन्न पनि गाह्रो छ । लगानीको पाटोमा त्यति समस्या देख्दिनँ । 

मैले प्रक्रियामा सबैभन्दा ठूलो समस्या देख्छु । शिक्षण तरिका नै राम्रो भएन । स्कुल पढ्ने केटाकेटी मोबाइल चलाएर आउँछ तर शिक्षकले मोबाइल बन्द गर्न भन्छ । स्कुलको केटाकेटी कम्प्युटरमा जानकार भएर आउँछ, शिक्षक कम्प्युटर चलाउनै डराउँछ । त्यहाँ ठूलो खाडल सिर्जना भयो । 

हिजोको कटाकेटी र आजको केटाकेटीको जानकारीको तह फरक छ । हिजोको केटाकेटीमा जानकारी कम हुन्थ्यो भने आजको केटाकेटी सबै जानकारीबाट पोख्त छन् । शिक्षक भने हिजोकै बुद्धि बोकेर आयो । विद्यार्थीलाई केही थाहा छैन, मलाई मात्र थाहा छ भन्न लाग्यो ।  शिक्षक बोल्न मात्र खोज्छ विद्यार्थी गर्न खोज्छ । त्यसैले प्रक्रियामा अप्ठ्यारो छ । 

तेस्रो हो परिणति । हिजो हामीलाई बोलिखाने मान्छे चाहिएको थियो भने आज गरिखाने मान्छे चाहिएको छ । हिजो गरिखाने मान्छेलाई दलित भनेर हेपिएको हो । जो बोलेर खान्छ त्यो ठूलो भयो । आज उल्टाउनेपर्ने स्थिति छ । बोलिखानेले सम्मान नपाओस् । गरिखानेले सम्मान पाओस् । अथवा दुवैको बीचमा समन्वय कायम होस् । मैले प्रक्रिया र परिणतिमा समस्या देख्छु ।
 

त्रिपाठी –नेपालको शिक्षा सैद्धान्तिक बढी भयो, व्यवहारिक कम भयो । त्यसले गर्दा रोजगारी सिर्जना गर्ने खालको नभएर रोजगारी खोज्ने खालको भयो ।

खनियाँ –नेपालको शिक्षा परम्परागत ढाँचामै चलिरहेको छ । ठूलो राजनीतिक परिवर्तन पश्चात शिक्षामा पनि परिवर्तन आउँछ भन्छन् । पछिल्लो राजनीतिक परिवर्तन पश्चात शिक्षामा खास परिवर्तन आउन सकेन ।

फ्याक –सिकाइ प्रभावकारी छैन । गुणस्तरीय सिकाइका लागि गुणस्तरीय शिक्षा चाहियो । यसको लागि गुणस्तरीय व्यवस्थापन चाहियो । गुणस्तरीय व्यवस्थापनका लागि राम्रो नीति चाहियो । राम्रो लगानी हुनुपर्याे । शिक्षामा लगानी बढेजस्तो देखिए पनि त्यो लगानी सबै शिक्षकको तलबमा जान्छ । प्रभावकारी सिकाइका लागि राज्यको राम्रो लगानी छैन ।

हाम्रो शिक्षा प्रणालीको सबल र दुर्बल पक्षहरु केके हुन सक्लान् ?

त्रिपाठी – दुर्बल पक्ष भनेको व्यवहारिक कम र सैद्धान्तिक बढी भयो । शिक्षामा राजनीति बढी हाबी भयो । शिक्षक र विद्यार्थीहरु व्यक्तिगत राजनीतिको लागि शिक्षण संस्था प्रयोग गरिरहेका छन् ।  शैक्षिक क्षेत्रमा गर्न खोजेकोे काम गर्न नसक्नु अधिक राजनीतिक प्रभावले गर्दा भएको छ । 

सबल पक्ष त्रिभुवन विश्विद्यालयको सन्र्दभमा भन्दा नेपालको उच्च शिक्षालाई यसैले धानेको छ । यो सबै विश्वविद्यालयको आधार युनिभर्सिटी हो । 

खनियाका – नेपालको सन्दर्भमा नेपालमा पढ्न चाहने जति सबैलाई उच्च शिक्षा दिइरहेका छौँ । युरोप अमेरिकामा सबैले पढ्न पाउदैनन् । तर, हाम्रो विश्वविद्यालयले वर्षेनी लाखौँको सङ्ख्यामा विद्यार्थी भर्ना गर्छ । यो हाम्रो सबल पक्ष हो ।

दुर्बल पक्ष हाम्रो शिक्षा गुणस्तरीय हुनको लागि पूर्ण तयार छैन । हामीमा अनुसन्धान कम हुन्छ । विद्यार्थीको पढाइमा लगाब कम छ । हामीले अन्तर्राष्ट्रिय स्तरको गुणस्तर दिन सकेका छैनौँ । 

फ्याक –सबल पक्ष भनेको दुर्गम क्षेत्रमा पनि सामुदायिक विद्यालय खुलेका छन् । न्यून आर्थिक स्थिति भएकाले पनि पढ्न पाएका छन् । अपवाद बाहेक स्कुलको दायरा भन्दा बाहिर विद्यार्थी छैनन् । सबैको लागि खुला छ । नीतिगत रुपमा पनि राम्रै छ । मातृभाषमा पढाइ हुनु भनेको अर्काे राम्रो कुरा हो । 

दुर्बल पक्षमा शिक्षक व्यवस्थापन राम्रो छैन । सरकारको सामुदायिक विद्यालयमा लगानी छैन । सिकाइको स्तरमा जग नै बसेको छैन । सिकाइको जग कमजोर रहेको छ ।

नेपालको शिक्षा पद्धति सैद्धान्तिक बढी र व्यवहारिक कम भयो भन्ने टीकाटिप्पणीहरु सुन्न पाइन्छ । रेक्टर र उपकुलपतिले पनि यस्तै भन्नुभयो  । यसमा तपाईको विचार के छ ?

कोइरालाः यो भनेको बाटोमा गीत गाउने कुरा हो । हरेक सैद्धान्तिक कुरा व्यवहारिक हुन् र हरेक व्यवहारिक कुरा सैद्धान्तिक हुन् । प्रश्न के उठ्छ भने सैद्धान्तिकलाई व्यवहारिक बनाउन जानिन्छ कि जानिदैन ? यति मात्र ठूलो समस्या हो । त्यो समस्यामा हाम्रो शिक्षक चुकेको छ । कसैले हाम्रो शिक्षा व्यवहारिक भएन भने मैले ठाडै मुर्दावाद भनिदिन्छु । किनभने व्यवहारिक भएन भनेर कसले भन्ने ? शिक्षकले भन्न पाइन्छ ? रेक्टरले भन्न पाइन्छ ? कसैले व्यवहारिक भएन भन्यो भने उसले बनाउन पनि जान्नु पर्याे । हाम्रो शिक्षा व्यवहारिक नभएको होइन, व्यवहारिक नबनाएको हो  । शिक्षण गर्ने तरिका व्यवहारिक भएन र परिणाम पनि व्यवहारिक भएन । शिक्षा व्यवहारिक भएन भन्ने कुरा गलत हो । भएन भन्नेले गरेन, भएन भन्न मात्र जान्यो ।

हाम्रो शिक्षकले माक्र्सवाद पढेर आएको हुन्छ । माक्र्सलाई न उसले चिन्यो न देख्यो । थोत्रा किताब पढेको भरमा माक्र्सले भनेका कुरा व्यवहारिक हुन्छ भन्न पाइन्छ ? माओ, लेनिनले भनेको व्यवहारिक हो भन्न पाइन्छ ? न माक्र्सले यहाँको माटो देखेको छ, न उसले यहाँको माटो चिनेको छ । कसैले नेपाल वर्गीय समाज हो भन्छ भने त्यो सरासर गलत हो । नेपाल जात, धर्म, क्षेत्रको समाज हो । नेपालको समाज त अर्कै छ, जो माक्र्सले बुझेको समाज होइन ।

नेपालको शिक्षा पद्धतिमा व्यक्तिको शैक्षिक स्थितिको मुल्याङ्कन गर्दा उसले आफ्नो जीवनकालमा शिक्षाको माध्यमबाट समग्र रुपमा हासिल गरेको ज्ञान सीप र क्षमताको भन्दा पनि ३ घण्टाको समयावधिभित्र उसले प्रर्दशन गर्ने गरेका स्मरण शक्ति क्षमताको आधारमा मात्र मुल्याङ्कन हुने गरेको र त्यो आफैमा अत्यन्तै खोटपूर्ण रहेको भनाईलाई कत्तिको सत्यको नजिक ठान्नहुन्छ ?

कोइराला –कुनै पनि चिजलाई व्यक्त गर्ने तरिका हुन्छ । हाम्रो पुर्खाले कति राम्रो कुरा गरेका छन् । ‘जति डोरी बाटे पनि गाँठो एउटै ।’ जति कुरा गरे पनि टुङ्ग्याउने एउटै तरिकाले हो । त्यही कुरालाई एक मिनेटमा भन्न सकिन्छ । शिक्षकले विद्यार्थीलाई सिकाएन । आफैले भन्यो तीन घण्टामा जाँच्न सकिदैन । सकिन्छ । किन सकिदैन ? सीप जाँच्न सकिदैन ? अब प्रश्न यहाँ छ हाम्रो शिक्षकले ज्ञान सीप, प्रवृत्ति, सिद्धान्त पक्षको प्रश्न सोध्यो कि सिद्धान्तलाई व्यवहार र व्यवहारलाई सिद्धान्तमा बदल्न सक्न्ो किसिमको क्षमताको प्रश्न सोध्यो ? त्यो सोध्न नजान्ने शिक्षक, गाली खाने जाँच ? म यो कुरामा सहमत छैन । 

त्रिपाठी –शिक्षामा भएको यस्तो कुरालाई विस्थापित गर्नको लागि सेमेस्टर सिस्टम ल्याएको हो ।  वार्षिक प्रणाली अनुरुप ठीक थिएन, अहिले भने ठीक छ । 

खनियाँ –एक वर्ष पढेर ३ घण्टामा मुल्याङ्कन गर्नु भनेको यो भन्दा नराम्रो स्थिति अरु केही होइन । किनकि एक वर्ष सम्म उसको मुल्याङ्कन नगर्ने अन्तिमको तीन घण्टामा मुल्याङ्कन गर्नु भनेको यो भन्दा कमजोर पक्ष अरु छैन । त्यही हुनाले सेमेस्टेर सिस्टममा गएको हौँ । 

फ्याक– प्रणालीको दोष हो । राम्रो नम्बर ल्याउने राम्रो स्कुल, नराम्रो नम्बर ल्याउने नराम्रो स्कुल भनेर हामीले मुल्याङ्कन गर्याै । शिक्षालाई मात्र ध्यान दिइयो तर गुणस्तरीय सिकाइमा ध्यान दिन सकिएन । सिर्जनात्मक सीप हराउँदै गयो । यस्तो प्रणालीलाई निरुत्साहित गर्नुपर्छ ।


नेपालमा अपनाइएको शिक्षा पद्धतिले कस्तो किसिमको जनशक्ति उत्पादन गरिरहेको छ ?

कोइराला – अहिले बोलिखाने बनायो । समाजको बनोटलाई एक पटक हेर्याै भने पढ्ने मानिसले सम्मान पाउने बनोट रहेछ । पुरेतलाई गुन्द्री र राडी ओच्छ्याउनु पर्ने । एउटा दलित आए बाहिर बस भन्नुपर्ने ? यही बुद्धि न हो हाम्रो । त्यो बुद्धि हाम्रो टाउकोमा बस्यो । त्यसले के गर्याे भने त्यो मान्छेले सम्मान पाउनको लागि पढ्नुपर्छ भन्यो । पढेका मान्छेले सम्मान पाउन सकिन्छ भन्ने कारण नमिलेको परिस्थिति सिर्जना भयो । 

त्रिपाठी  – जनशक्तिको मेल छैन । देशलाई एउटा खालको जनशक्तिको आवश्यक पर्छ, हामी अर्काे जनशक्ति उत्पादन गरिरहेको छौँ । 

खनियाँ – देशको अर्थतन्त्र बढाउनुपर्छ । राम्रो शिक्षा आर्थिक स्तर उच्च भएको विद्यार्थीले मात्र पाउने भए । सरकारले छात्रवृत्ति उत्कृष्ट दिमाग भएको मान्छेलाई दिए खोजेको जनशक्ति प्राप्त गर्न सकिन्छ ।

फ्याक– हाम्रो देशमा कस्तो किसिमका जनशक्ति आवश्यक छन् भन्ने विश्लेषण गर्नुपर्छ । नेपालमा जनशक्ति उत्पादन गर्ने तर विदेश पलायन हुने अवस्था रहेको छ । हामीले धेरै विदेश पलायन हुने जनशक्ति उत्पादन गरिरहेका छौँ ।

उत्पादित जनशक्तिले समृद्ध नेपालको खाकालाई मुर्तता दिन सक्ला ?

कोइराला – समृद्ध नेपाल भनेको नेताको बकबक गर्ने भाँडो रहेछ । नेपाल आफै समृद्ध छ । नेपालको समृद्धिलाई विश्लेषण गर्दा भूगोलमा हामी समृद्ध छौँ । इतिहासमा हामी समृद्ध छौँ । भाषा, सस्कृति, चिन्तन गर्ने शैलीमा समृद्ध छौँ । प्रश्न के रहेछ भने समृद्धिलाई दोहन गर्न जानियो कि जानिएन ? शिक्षाले समृद्धिमा सघाउने हो भने कस्तो समृद्धिमा सघाउने त्यो नेताले भन्नु पर्याे । नेपाली सुखी बनाउने भन्छन् । नेपाली दुखी नै होइन । खान नपाएर भोकै बस्यो भने पनि रातभर निदाउँछ नेपाली । यो रमाइलो हो ।  किन रमाइलो भने नेताहरुले सपना देखाउन पाउँछन् ।

खनियाँ  – समृद्धि भनेको राजनीतिक नारा हो । यो नीति होइन । नीति भएको भए कार्यान्वयन हुने थियो । 

फ्याक – मुर्तता दिन सकेको छैन । ठूलो जमातका युवाहरु विदेशिएका छन् । समाज निर्माणमा शिक्षालाई जोड्न सकिएको छैन् । किनकी ती युवाहरुले उसको उर्वर समय र शक्ति यहाँ प्रयोग गरेका छैनन् ।
नेपालका विश्वविद्यालयहरु ज्ञानको मन्दिरभन्दा पनि राजनीतक चलखेलको अखडा बनेको, पदाधिकारी नियुक्तिदेखि शिक्षणसम्म राजनीतिक हस्तक्षेपका कारण शिक्षा र शिक्षण ध्वस्त बन्दै गइरहेको एकाथरिको भनाई छ । यसमा तपाईको विचार के छ ? 

कोइराला– सहमत छु । राजनीतिक भन्दा पनि दलियता स्वार्थ भनौँ ।  दल भन्दा पनि आफ्नै मान्छेलाई छाँया दिने अवस्था छ । दलको मान्छेले नराम्रो काम गर्याे भने पनि त्यसलाई संरक्षण दिने समस्या घातक छ । दल पनि खासै घातक होइन । राजनीति त झनै घातक होइन । आफ्नो मान्छे गलत छ भने पनि संरक्षण गर्ने प्रवृत्ति घातक हो ।

मिलन बिन्दुमा काम अगाडि बढाऔँ । फरक दृष्टिकोणमा परिक्षण गरौँ । बुद्धि ल्याउनु पर्दैन ? बुद्धि नल्याउने अरु, दोष लगाउने राजनीतिक दललाई ? हामी न राजनीतिक तरिकाले हामी अगाडि जान सक्यौँ न दलीय अनुबन्धसँग लगेर जोड्न सक्यौँ । जिम्मा नलिने मनस्थिति रह्यो । दलीयकरण समस्या हो कि जिम्मेवारी नलिने दलको समस्या हो ? राजनीति समस्या हो कि राजनीतिलाई उपयोग गर्न नजान्नु समस्या हो ? हाम्रो निम्ति समस्या नेताहरुको बदमासी हो ।

त्रिपाठी  –एउटा काल खण्ड थियो । प्रत्येक नेपालीहरुले सङ्घर्ष गर्नुपर्ने अवस्था थियो । त्यसमा आम नेपाली जनता होमिएको थियो । अहिले प्रत्येक व्यक्तिको राजनीतिमा रमाउने खालको प्रवृत्ति छ त्यो घटेको छैन । प्रत्येक पाइला पाइलामा राजनीति गरेर शैक्षिक क्षेत्रमा बेथिति ल्याउन आवश्यक छैन । आनन्दले आफ्नो पेशा सम्हालेर बसे हुन्छ । गफ चुटेको भरमा जागिर पाक्ने भएकोले राजनीति प्रवृत्ति हावी भएको छ । 

खनियाँ–भन्छन बैचारिक पार्टीबाट शिक्षामा राजनीतिको परावर्तन भयो । तर आन्तरिक व्यवस्थापन गरेर जाने हो भने यो समस्या ठूलो होइन ।

त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भर्ना हुन्छ भन्छन् तर म उपकुलपति नियुक्त हुन के कुरामा कमजोरी छु ?मेरो नियुक्ति कसरी राजनीति भयो ?

अर्काे कुरा गोविन्द केसी उफ्रिन पर्ने कारण के छ ? उहाँलाई सबैले अभियन्ता माने । उहाँले उठाएका विषय ठीक बेठीक भनेर कसैले हेरेनन् । उहाँ गलत मानिसको प्रयोगमा हुनुहुन्छ । यो देशको निर्णय आफूले भने अनुसार हुनुपर्छ, गौरी बहादुरको रिपोर्ट लागु हुनुपर्दछ भनेर आन्दोलन गर्नुभएको छ । उहाँले प्रक्रिया बुझ्नुहुन्न ।

फ्याक  –जति पनि उर्जा छ त्यो राजनीतिक शक्तिमा मात्र प्रयोग भयो । इमान्दारीपुर्वक पढ्ने र पढाउने मानिस निरुत्साहित भए । त्यो कुराले नकारात्मक प्रभाव पार्याे । शिक्षक र विद्यार्थीले उर्जा राजनीतिमा मात्र लगाए । त्यसले गर्दा इमान्दार मानिसहरु निरुत्साहित भए ।

शिक्षक शिक्षक नभई किन राजनीतिक दलका कार्यकर्ता भएका ? पढाउनुपर्ने शिक्षक किन राजनीतिमा लागेका होलान्​ ?

कोइराला –हाम्रो शिक्षकले विरोधको राजनीति जानेको छ । सिकेको पनि त्यही छ, सिकाएको पनि त्यही  छ । हामीले विरोध गर्न सिकाइएछ तर बिकल्प छान्न जानिएनछ । विकल्प छान्ने र विकल्पमा अगाडि बढ्ने प्रवृत्ति भएन । शिक्षक पेसाकर्मी नभई पार्टीको बफादार कार्यकर्ता भए । ट्रेड युनियनका सदस्य भए ।

खनियाँ–राजनीतिक परिवर्तनको बल स्कुल कलेजमा छ । कक्षाकोठामा राम्र्रो पढाएर प्रगति भएको छैन । प्रगती जो राजनीतिक दलसँग नजिक छ उसको मात्र भएको छ । राजनीति स्थायित्व नभएको कारण यस्ता मान्छेले चलखेल गर्छन् । 

हाम्रो शिक्षा प्रणालीले नेपाली समाजको वास्तविक चित्रलाई कोर्न सकेको छ ?

कोइराला – सकेको छैन । किनकी शिक्षक त्यतापट्टि फर्कन नै सकेको छैन । शिक्षक पाठयपुस्तकमा फर्के । शिक्षकको काम भने कोर्स सकाउने मात्र भयो । कोर्स शिक्षकले सक्ने हो कि विद्यार्थीले सक्ने हो ? त्यो कोर्समा विद्यार्थीलाई पारङ्गत बनाउनु पर्ने हो कि किताबमा बनाउने हो ? हाम्रो विद्यार्थीको अवस्थालाई हेर्नुभयो भने सामाजिक  विषयमा किताबभन्दा बाहिरको प्रश्न आयो भन्छ । यस्तो दुर्बुद्धि बोकेर पनि कोर्स सकेको हुन्छ ? हाम्रो शिक्षा सीपमा आधारित भएको भए त्यो व्यक्ति किताबमा पनि पारङ्गत हुन्थ्यो, सीपमा पनि पारङ्गत हुन्थ्यो । हाम्रो शिक्षाले जिन्दगीमा पारङ्गत बनाउन पनि जानेन र किताबमा पारङ्गत बनाउन पनि जानेन ।

खनियाँ –शिक्षा अहिलेको समाजलाई हेरेर दिने होइन । हामीले शिक्षा दिदा दश वर्ष पछिको समाजलाई परिकल्पना गरेर दिनुपर्छ । शिक्षा समाजसँग जोडिनुपर्याे । पढाइकै आधारमा कामलाई जोड्दै जाने हुनुपर्छ । समाजको फरवार्ड लुकिङलाई समात्न सक्ने कि नसक्ने ? शिक्षाले सन्तुलन कायम गर्नुपर्छ । 

शिक्षा कस्तो हुनुपर्ने ?

कोइराला – शिक्षा भनेको रोजगारमुखी होइन । रोजगारमुखी भनेको सीप हो । सीपले जहिले पनि बजार खोज्छ । त्यसको निम्ति यत्ति लामो पढाइ पनि आवश्यक छैन । स्कुलमा किन दश वर्ष पढाउनु ? पन्ध्र बर्षको मानिसलाई सीप दिए त पुग्यो किन पढाउनु नौ/दश वर्ष ?

खनियाँ –शिक्षामा समसामयिक सुधार हुन बाँकी छ । आत्मनिर्भर हुने र शिक्षा र काम बीच सन्तुलन कायम गर्ने शिक्षा हुनुपर्दछ ।

फ्याक – शिक्षाले रोजगारको कुरा गर्ने होइन तर उत्पादन भएका मानिसलाई राज्यले खपत गर्ने शिक्षा हुनुपर्छ । शिक्षाले काम गर्न सक्ने सीप दिनुपर्छ । जागीरसम्म जाने बाटो देखाउनुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha