बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विवाहअघि पार्टनरसँग घरको कामबारे गर्नुहोस् खुल्ला बहस, कहिले पनि हुनेछैन झगडा

बुधबार, १८ पुस २०७५, १३ : ३६
बुधबार, १८ पुस २०७५


समयसँगै दाम्पत्य जीवनमा मानिसहरुको जिम्मेवारी परिवर्तन भइरहेको छ । अब घरबाहिरको कामका लागि पुरानो सोच लगभग समाप्त भइसकेको छ । परिवारको खुसीका लागि श्रीमान्–श्रीमतीले मिलेर जिम्मेवारी सम्हाल्नुपर्छ । हरेक परिवारमा केही कुराका लागि श्रीमान्–श्रीमतीबीच मतभेद भइरहन्छ । घरेलु जिम्मेवारी एउटा यस्तो महत्वपूर्ण मुद्दा हो जसका लागि दुबैबीच धेरैजसो बहस भइरहन्छ । ‘यो मेरो होइन, तिम्रो काम हो’ यो मुद्दा निकै अघिदेखि दम्पत्तिबीच फाटोको सबैभन्दा ठूलो कारण हो ।

आवश्यक छ साझेदारीः

वास्तवमा आजका एकल परिवारमा बस्ने महिलामाथि घर र बाहिरको कामको दोहोरो जिम्मेवारी हुन्छ । यस्तोमा उनीहरुका लागि श्रीमानको आवश्यकता निकै धेरै हुन्छ । यद्यपी, यसको दोस्रो पाटो यो हो कि आजका शिक्षित एवं आत्मनिर्भर महिलाले आवश्यकता पर्दा आफैं अघि बढेर श्रीमानलाई सहयोग गर्नुपर्छ । दाम्पत्य जीवनमा खुसी ल्याउनका लागि सँगै बस्नुमात्र पर्याप्त हुँदैन, यसका लागि एक–अर्कालाई साथ दिन पनि जरुरी छ । कुनै पनि सम्बन्धलाई सफल बनाउनका लागि अत्यधिक मेहनतको आवश्यकता हुन्छ । दुई व्यक्ति जब विवाह बन्धनमा बाँधिन्छन् तब उनीहरुको एक–अर्काप्रति अत्यधिक आशा हुन्छ तर जब दुईमध्ये कुनै एक पार्टनरको अपेक्षा पूरा हुँदैन तब दाम्पत्य जीवनमा तनाव निम्तिन थाल्छ । त्यसकारण सम्बन्धको बाटोमा आउने स्पिड ब्रेकर्सको पहिचान गरेर त्यसबाट बच्ने कोसिस गर्नुपर्छ ।

आर्थिक जिम्मेवारीः

आर्थिक लेनदेनको विषयमा दम्पत्तीबीच धेरैजसो मतभेद हुन्छ । उदाहरणका लागि यदि कुनै जोडीमध्ये एकको कम खर्च गर्ने बानी र अर्को खर्चिलो स्वभावको भए बारम्बार बहस भइरहने सम्भावना छ । यसले उनीहरुको सम्बन्धमा नकारात्मक असर पर्नसक्छ ।

के गर्ने ?

यस्तो समस्याबाट पार पाउनका लागि मासिक बजेटबाहेक हरेक शनिबार वा आइतबार हप्ताभरी हुने सानातिना खर्चको पनि योजना बनाउनुहोस् । त्यसको अर्को हप्ता कति पैसा खर्च भयो भनेर मूल्यांकन गर्नुहोस् । यदि श्रीमान्–श्रीमतीबीच यदि कोही एक मितव्ययी छन् भने उनले कहिलेकाँही आफ्नो पार्टनरलाई थोरै खर्च गर्न छुट दिनुपर्छ । यस्तै, यदि कसैको हात फैलाएर खर्च गर्ने बानी छ र उनले आफ्नो पार्टनरको रोकटोकलाई नराम्रो मान्नु हुँदैन । प्रत्येक जोडीले यो बुझ्नुपर्छ कि भविष्यका लागि बचत आवश्यक छ ।

दैनिक कामकाजः

श्रीमान्–श्रीमती दुबैलाई आफ्नो कामकाजको तरिका सही हो र आफूले धेरै काम गर्ने गरेको सोच्छन् । उनीहरुले सोच्ने गर्छन् कि जीवनसाथीले दैनिकको काममा पटक्कै सहयोग गर्दैनन् । दुबैले आफ्नो काममा जीवनसाथीको पनि सहयोग होस् भन्ने आशा गरेका हुन्छन् । यसै सोचका कारण मानिसहरु आफ्नो पार्टनरको व्यवहारलाई नियन्त्रित गर्ने कोसिस गर्छन् जसका कारण उनीहरुको सम्बन्धमा तनाव बढ्ने गर्छ ।

के गर्ने ?

यदि तपाईंलाई घरेलु काममा श्रीमान–श्रीमतीको तर्फबाट पर्याप्त सहयोग पाइरहेको छैन भन्ने महसुस भइरहेको छ भने रिसाउनुको सट्टा प्रेमपूर्वक सम्झाउने कोसिस गर्नुहोस् । कोही मानिसहरु आफैं अघि बढेर जिम्मेवारी लिँदैनन् । यदि तपाईंको पार्टनरमा यस्तो समस्या छ भने उनीसँग निःसंकोच सहयोग माग्नुहोस् । काम गरिराख्दा उनीबाट साधारण गल्ती भए रिसाउनु हुँदैन, यसले मद्दत गर्ने व्यक्तिको मनोबल कमजोर हुन्छ र अर्कोपटक सहयोग गर्नका लागि तयार हुँदैनन् ।

बच्चा हुर्काउने  क्रममाः

हुन त आजकालका पिताले पनि बच्चाको हेरबिचारमा सक्रिय भूमिका निभाउँछन् तर थुप्रै पटक यस्तो हुन पाउँदैन । विशेषगरी यदि आमा पनि कामकाजी हो भने उनले चाहेर पनि बच्चालाई पर्याप्त समय दिन पाउँदिनन् । यदि आमा–बुवाले बच्चालाई पर्याप्त समय दिन सकिरहेका छैनन् भने बच्चा मनोमानी गर्न थाल्छन् र उनीहरुको व्यवहारमा अनुशासनको कमी देखिन्छ । यसका साथै बच्चा हुर्काउने तरिकामा पनि श्रीमान्–श्रीमतीबीच धेरैजसो मतभेद हुन्छ । दुईमध्ये एक व्यक्ति कडा अनुशासनका पक्षधर हुनसक्छन् भने कसैले बच्चालाई स्वतन्त्रता दिने कुरामा विश्वास राख्न सक्छन् । जुन परिवारमा बच्चा हुर्काउने विषयमा श्रीमान्–श्रीमतीबीच मतभेद हुन्छ उनीहरुबीच धेरैजसो बहस भइरहन्छ ।

के गर्नेः

बच्चा हुर्काउने तरिकामा एक–अर्कासँग निकै खुलेर कुराकानी गर्नुहोस् । बच्चालाई पढाउने, होमवर्क गराउने वा शिक्षक अभिभावकको मिटिङमा जाने विषयमा एक–आपसमा स्पष्ट विभाजन राख्नुहोस् । यदि यस्ता कुरामा आमा–बुवा नै झगडा गर्न थाल्छन् भने बच्चा मनमानी गर्न थाल्छन् । जतिसुकै व्यस्त भएपछि बच्चाहरुसँग समय बिताउनुहोस् । यदि कोही एक व्यक्तिले बच्चालाई गाली गरिरहेको छ भने अर्कोले बीचमा बोल्नु हुँदैन नभए बच्चाले आमा–बुवाको कुरा गम्भीरतापूर्वक लिँदैनन् । थुप्रै पटक उनीहरु दुबैको मतभेदको फाइदा उठाएर आफ्नो हरेक इच्छा पूरा गराउने गर्छन् ।

आफन्ससँग सम्बन्धित कुराः

सामाजिक जीवनमा आफन्त, साथीभाइ, छरछिमेकका मानिससँगको मेलमिलाप निकै आवश्यक छ । आजको व्यस्त दिनचर्यामा यस्ता कार्यका लागि समय निकाल्न निकै समस्या छ । धेरैजसो परिवारमा यस्ता कुराका लागि श्रीमान्–श्रीमतीबीच मतभेद हुन्छ । थुप्रै पटक पुरुष श्रीमतीको माइती पक्षसँग भेट्न तयार हुँदैनन् भने कहिलेकाँही महिला आफ्नो घरका आफन्तलाई बोलाउन चाहँदैनन् । समयको कमी यसको ठूलो कारण हुनसक्छ तर यसले मानिसहरुबीचको आपसी सम्बन्ध तनावपूर्ण हुनेगर्छ ।

जब हुन्छ आपसी मतभेदः

के गर्ने ?

यस्तो स्थितीमा रिसाउनुको साटो शान्तिपूर्ण ढङ्गले आफ्नो कुरा राख्नुपर्छ । यस्तो मामलामा समझदारीका साथ बीचको कुनै बाटो रोज्नुहोस् जसले तपाईंलाई त्यति समस्यामा पनि नपारोस् र पार्टनरको भावनामा पनि ठेस नपुगोस् । उदाहरणका लागि यदि तपाईंका श्रीमान्ले आफ्ना केही साथीलाई डिनरमा बोलाउन चाहन्छन् भने तपाईं आफ्नो खानाको सूची सानो राख्नुहोस् र केही खानेकुरा बाहिरबाट पनि मगाउनुहोस् । यसो गर्दा तपाईंलाई धेरै थकाई पनि लाग्दैन र सम्बन्धमा मधुरता पनि कायम रहन्छ ।

दाम्पत्य जीवनमा केही कुराका लागि श्रीमान्–श्रीमतीबीच मतभेद हुनु स्वभाविक छ तर यस्ता झगडा लामो समयसम्म हुनुहुँदैन । आपसी अहंकारका कारण मानिसहरुको मनमा यो प्रश्न उठ्छ कि ‘सुरुमा माफी कसले माग्ने ?’ यस्तो सोचका कारण मानिसहरुबीच दुरी बढ्छ जुन सम्बन्धका लागि घातक हुन्छ ।

के गर्ने ?

यदि कुनै कुराका लागि तपाईंहरुबीच बहस भइरहेको छ भने त्यतिबेला आफ्नो स्पष्टिकरण दिनु व्यर्थ छ । थोरै समयपछि जब तपाईं दुबैको मन शान्त भएपछि सम्बन्धित मुद्दामाथि खुलेर कुराकानी गर्नुहोस् । यदि तपाईंको गल्ती छ भने निःसंकोच माफी माग्नुहोस् । झगडाको कारण थाहा पाएपछि आफ्नो तर्फबाट पुनः त्यति गल्ती दोहोराउने गल्ती नगर्नुहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप