शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सौर्यमण्डलको रहस्य खोल्ने दिशामा नासाको ठूलो उपलब्धि

बुधबार, १८ पुस २०७५, ०८ : ०१
बुधबार, १८ पुस २०७५

बीबीसी

अमेरिकी स्पेस एजेन्सीको अभियान ‘न्यू होराइजन्स’ ले सौर्यमण्डलको बाहिरी भागमा रहेको अल्टिमा टुली नामको पिण्ड नजिकैबाट यात्रा गरेपछि पृथ्वीसँग सम्पर्क गरेको छ ।

उक्त अन्तरिक्षयानले पृथ्वीसँग ६.५ अर्ब किलोमिटरको दुरीबाट पृथ्वीमा सम्पर्क गरेको थियो । तत्पश्चात् यो सौर्यमण्डलमा सबैभन्दा टाढा पठाइएको सफल अभियान बनेको छ ।

न्यू होराइजन्स नामको रोबोटिक अन्तरिक्षयानले अल्टिमा टूली नजिकैबाट यात्रा गर्दै उक्त पिण्डका थुप्रै तस्बिर एवं महत्वपूर्ण जानकारी बटुलेको छ ।

उक्त अन्तरिक्षयानले अबको केही महिनाभित्र ती तस्बिर एवं जानकारी पृथ्वीमा पठाइरहने छ ।

अन्तरिक्षयानले पठाएको रेडियो सन्देश स्पेनको मेड्रिडमा राखिएको नासाको ठूलो एन्टिनामा कैद भयो । यी सन्देशले पृथ्वी र अल्टिमा बीचको लामो दुरी तय गर्न ६ घण्टा आठ मिनेटको समय लगायो ।

सिग्नल प्राप्त गर्नेबित्तिकै मेरिल्याण्डस्थित जोन होपकिन्स युनिभर्सिटीको एप्लाइड फिजिक्स ल्याबरेटरीमा उपस्थितले उत्साहित भएर ताली बजाए ।

उक्त अभियानका अपरेशन म्यानेजर ऐलिस बोमेनले भने, ‘हाम्रो अन्तरिक्षयान सुरक्षित छ । हामीले सबैभन्दा टाढा फ्लाइबाई गर्नमा सफलता हाँसिल गरेका छौं । ’

फ्लाइबाईको अर्थ कुनै पनि स्थान वा बिन्दु नजिकै भएर यात्रा गर्नु हो  ।

के छ सन्देशमा ?

अन्तरिक्षयानबाट आएको पहिलो रेडियो सन्देशमा त्यहाँको स्थितीबारे इन्जिनियरिङसँग सम्बन्धित जानकारी थिए । यसमा न्यू होराइजन्सले तस्बिर खिचेको र यसको मेमोरी पूर्ण रुपमा भरिसकेको जानकारीसमेत उपलब्ध थियो ।

न्यू होराइजन्सले तस्बिर पठाएपछि वैज्ञानिक एवं सर्वसाधारणले अन्तरिक्षयानले कस्ताकस्ता तस्बिर खिचेका छन् भन्ने थाहा पाउनेछन् ।

तर यहाँ याद गर्नुपर्ने कुरा के छ भने तस्बिर खिच्नेबेला अन्तरिक्षयान कुन स्थितीमा थियो । यदि त्यसको स्थिती सही थिएन भने अन्तरिक्षको मात्र तस्बिर कैद गरेको पनि हुनसक्छ ।

अल्टिमा सौर्यमण्डल त्यो स्थानमा छ जसलाई काइपर बेल्ट भनिन्छ । यो बेल्ट जमेका पिण्डबाट बनेको छ जुन नेप्चुनबाट दुई अर्ब किलोमिटर र प्लुटोबाट १.५ अर्ब किलोमिटर टाढा छ । यो पिण्डले सूर्यको परिक्रमा गरिरहन्छ । सन् २०१५ मा न्यू होराइजन्सले प्लुटो नजिकबाट पनि यात्रा गरेको थियो ।

काइपर बेल्टमा अल्टिमाजस्ता हज्जारौं पिण्ड भएको हुनसक्ने अनुमान लगाइन्छ र आजभन्दा ४.६ अर्ब वर्षअघि सौर्य मण्डलको निर्माण भएका बेला कस्तो स्थिती थियो होला भनेर यसको स्थिती हेरेर पत्ता लगाउन सकिन्छ ।

न्यू होराइजन्स र पृथ्वीबीचको दुरी निकै लामो छ । अन्तरिक्षयानमा स–साना १५ वाटका ट्रान्समिटर राखिएका छन् । यसको अर्थ यो हो कि डाटा निकै ढिला आउनेछन् ।

तरपनि यो एक किलोबाइट प्रति सेकेन्डको गतीमा आउनसक्छ । यस्तोमा यो अन्तरिक्षयानले जतिपनि तस्बिर इत्यादि स्टोर गरेको छ, त्यो पृथ्वीमा रिसिभ गर्ने काम सेप्टेम्बर २०२० सम्म पुरा हुने आशा गरिएको छ ।

काइपर बेल्टको अनुसन्धान किन महत्वपूर्ण छ ?

अल्टिमा टुलीको विषयमा र जहाँ यो अवस्थित छ, त्यो स्थानको विषयमा वैज्ञानिकबीच  निकै उत्सुकता छ ।

एउटा कारण यो हो कि यो भागमा सूर्यको निकै कम किरण पुग्छ र यहाँको तापक्रम निकै कम छ । यसकारण यहाँ रासायनिक प्रक्रिया लगभग शून्य भएको हुनसक्छ । यसको अर्थ यो हो कि अल्टिमा जबदेखि निर्माण भयो त्यतिबेलादेखि नै जमेको अवस्थामा छ ।

दोस्रो कुरा यो हो कि अल्टिमाको आकार सानो छ (मात्र ३० किलोमिटर), यस्तोमा यसको बनावटमा सुरुदेखि अहिलेसम्म त्यति धेरै परिवर्तन नभएको हुनसक्छ ।

तेस्रो महत्वपूर्ण कुरा यो हो कि यो काइपर बेल्टमा अवस्थित छ । सौर्यमण्डलको आन्तरिक हिस्सामा पिण्डहरु एकआपसमा धेरैपटक ठोक्किए तर काइपर बेल्टमा पिण्डहरु अपेक्षाकृत कम ठोक्किए ।

स्टर्न एलन भन्छन्, ‘हामीले अल्टिमा बारे जे जानकारी पाउँछौं त्यसबाट हामीलाई सौर्यमण्डलको निर्माण कस्ता चीजबाट र कसरी भए भन्ने कुरा पत्ता लाग्नेछ । अहिलेसम्म हामीले जतिपनि पिण्डलाई उपग्रहमा पठाएका छौं वा जसको नजिकै हाम्रा अन्तरिक्षयानले यात्रा गरे, तीबाट हामीले यो जानकारी पाउन सकेका छैनौं किनभने उनीहरु कि त निकै ठूला थिए कि त अत्यधिक तातो । अल्टिमा यीभन्दा फरक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप