बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविधिमैत्री बन्दै व्यवस्थापिका संसदः गतिविधि हेर्न मोवाइल एप डाउनलोड गर्नुस, यु–ट्युवमा प्रत्यक्ष प्रशारण !

बिहीबार, १२ साउन २०७४, २१ : ५५
बिहीबार, १२ साउन २०७४

 

काठमाडौँ – व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज तवरले आम नागरिकमा पुर्याउने लक्ष्यका साथ संसद् सचिवालयले आजदेखि ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । 

नयाँ वेबसाइट पनि आजैदेखि सञ्चालनमा आएको छ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज मोबाइल एप र वेबसाइटको शुभारम्भ गरिन। 

मोबाइल एप प्लेस्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । एप डाउनलोड गरेपछि संसारको जुनसुकै स्थानबाट पनि सांसदलाई प्रश्न गर्न सकिनेछ । यस्तै अन्य विषयमा पनि सूचना लिन र संसदीय गतिविधिका बारेमा जानकारी लिनसमेत एप प्रभावकारी हुने संसद् सचिवालयले विश्वास लिएको छ । 

संसद् सचिवालयले यसअघि संसद्को गतिविधिलाई यु ट्युवबाट प्रत्यक्ष प्रसारण गर्ने कार्य सुरु गरिसकेको छ । 

सभामुख घर्तीले संसद्का गतिविधिलाई कागजविहीन बनाउने लक्ष्यका साथ सूचना प्रविधिको अधिकतम उपयोग गर्ने नीति लिएको बताइन् । 

संसद् सचिवालयले प्रत्येक सांसदलाई एक÷एक वटा आइडी उपलब्ध गराउने र सोही आइडीमार्फत जनतासँग संवाद गर्नसक्ने व्यवस्था मिलाइएको सो अवसरमा जानकारी दिइयो । 

जननिर्वाचित संस्थालाई बढी भन्दाबढी पारदर्शी बनाउने, जनतासँग प्रत्यक्ष संवाद गराउने र सम्पर्कको माध्यमलाई क्रमशः विस्तार गर्दै लाने लक्ष्यका साथ अगाडि बढिरहेको सभामुख घर्तीले बताइन् । 

उनीले भनिन् ‘सांसदलाई पनि प्रविधिमैत्री बनाउन र त्यसको अधिकतम् उपयोग गर्ने लक्ष्यका साथ नयाँ मोबाइल एप र वेबसाइट सञ्चालनमा ल्याइएको छ ।’ 

सभामुख घर्तीले जनताको माग र गुनासो सुन्न तथा सरकारलाई समस्या समाधानका लागि सचेत गराउनसमेत यस्तो संयन्त्र प्रभावकारी हुने विश्वास व्यक्त गरिन । 

नयाँ एप र वेबसाइटमा संसद्का गतिविधिका अतिरिक्त संसदीय समितिका गतिविधि र नयाँ विधेयक पनि सहजैरुपमा हेर्न पाइने व्यवस्था गरिएको छ ।

उनीले नेपालको संविधानको व्यवस्थाअनुसार आगामी माघ ७ गतेभित्र प्रदेश र संघीय संसद्को निर्वाचन गर्नैपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने धारणा राखिन । 

सभामुख घर्तीले संसद्को यही कार्यकालमा संसद्को नयाँ भवन बन्ने सम्भावना नरहे पनि आगामी दिनमा व्यवस्थित र प्रविधिमैत्री संसद् भवनसमेत बन्ने अपेक्षा गरिन । 

संसद्को आफ्नै भवन नभएकाले भाडामा बस्नुपरेको छ, उनीले  भनिन,‘संसद्को आफ्नै भवन होस्, आफ्नै टेलिभिजन च्यानल होस्, सांसदलाई आवास सुविधा होस्, हाम्रो त्यो चाहना पूरा गर्ने पहल पनि भइरहेको छ ।’ 

सो अवसरमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत उच्च अधिकारीको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप