बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजपाका सबै उपाध्यक्षहरु किन खनिए एकैचोटी अध्यक्ष मण्डलमाथि ?

बिहीबार, १२ साउन २०७४, २१ : ००
बिहीबार, १२ साउन २०७४

काठमाडौ – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डल भंग गर्न पार्टीभित्र दवाव पर्न थालेको छ । पार्टीभित्र अध्यक्षमण्डल हावी हुँदै गरेको र अन्य पदाधिकारीको कुनै महत्व नहुने देखिएकाले त्यसलाई भंग गरि एकजना संयोजक मात्र राख्न उपाध्यक्षहरुले दबाव दिएका छन् ।


छ जना नेता रहेको सो अध्यक्ष मण्डलले आफंै जथाभावी निर्णय गरेर पार्टी सञ्चालन गरेको आरोप लगाउँदै उपाध्यक्षहरुले यस्तो दवाब दिएको बुझिएको छ । एकजना मात्र अध्यक्ष भए ठीक हुने धेरै हुँदा अध्यक्षकै महत्व घटेको धारणा राखेका थिए ।


पार्टीका वरिष्ठ नेता, सहअध्यक्ष, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षको बैठकले अध्यक्ष मण्डलले पार्टीमा बढि नै हैकम चालाएको आरोप पनि लगाएका छन् ।


बैठकमा उपाध्यक्ष नरसिंह चौधरीले राजपा नेपाल विधिवत रुपमा आयोगमा दर्ता भइसकेकाले छ सदस्यीय अध्यक्ष मण्डलको कुनै आवश्यकता नरहेको बताए । मञ्चमा छ जना अध्यक्ष बस्नुको अब आवश्यकता छैन, पार्टी विभाजन गरेर अध्यक्ष बनेकाहरु अध्यक्षमण्डलमा बस्ने हैसियतका छैनन्, उनले दुईजना अध्यक्षको नामै लिएर चौधरीले भने, ‘म २०४७ सालमा नेपाल सद्भावना पार्टीको उपाध्यक्ष हुँदा राजेन्द्र महतो काठमाडौमा किताबको पसल गरेर बस्नु भएको थियो भने अनिल झाको अतोपत्तो थिएन आज उहाँहरु पार्टी विभाजन गरि पार्टीका अध्यक्ष बन्नुभएको छ ।’


‘अब उहाँहरु पनि हामीसँग तल बस्नुपर्छ, सबैजना मञ्चमा बस्नैपर्ने आवश्यकता छैन, अध्यक्ष मण्डलको उपस्थितिमा भएको सो बैठकमा उपाध्यक्ष चौधरीले अध्यक्ष मण्डलको निर्णयले विधान बनेको छ, जसलाई आफूहरुले पढ्न पाएको छैन, विधान बनाउँदा आफूहरुसँग कुनै सल्लाह नगरेको आरोप  उनले बैठकमै लगाएका थिए ।

त्यस्तै, अर्का उपाध्यक्ष गोविन्द चौधरीले अध्यक्ष मण्डलले जे भन्छन् त्यो सबैले मान्नैपर्छ भन्ने नरहेको कुरा राखेका थिए । उनले भने, अध्यक्ष मण्डल कुनै भगवान होइन, कि उसले जे भन्छन् त्यही हुन्छ, पार्टीका नेता र कार्यकर्ता हामी पनि छौं, उपाध्यक्ष चौधरी ले भने, ‘पार्टीमा हुने छलफल, विचार विमर्श हुनुपर्छ कि पर्दैन कि अध्यक्ष मण्डलले जे निर्णय गरेर दिन्छ त्यही हामीले स्वीकार गर्नुपर्ने ? यदि अध्यक्ष मण्डलले सबै निर्णय गर्ने हो भने किन महासचिव, उपाध्यक्ष, कोषाध्यक्षहरु बनाइएका छन्, सबै भंग गरि दिए भैगो नि ।’

सो पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले पनि पार्टीभित्र अध्यक्ष मण्डल बाहेकका पनि नेताहरु छन् भन्ने नदेखिएको टिप्पणी गरे । अध्यक्ष मण्डलले गरेका निर्णयहरु सञ्चारमाध्यमबाट मात्र आफूहरुलाई थाह हुने गरेको धारणा राख्दै उनले पार्टी गठन भइसकेको छ, अब अध्यक्ष मण्डलको कुनै आवश्यकता नरहेको बताए । एकजना संयोजक वा अध्यक्ष बनाएर अरु सबै तल झर्नुपर्ने धाणा उनको थियो । अध्यक्ष मण्डलमा रहेका छ जना बसेर जुनसुकै निर्णय गर्छन्, त्यसको जानकारी पार्टीमा अन्य नेताहरुलाई पनि जानकारी हुनुपर्ने धारणा राख्दै उनले भने, ‘पार्टीमा सामूहिक नेतृत्वको कुरा भनेको छ तर छ जनाका अध्यक्ष मण्डलले जे निर्णय गर्छन् त्यो मान्न बाध्य पारिएको छ त्यो अन्त्य हुनुपर्छ ।’

अर्का वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले  पार्टीमा असन्तुष्ट रहेका हृदयश त्रिापठीलाई व्यवस्थापन गर्नुपर्ने धारण राखेका थिए ।
उपाध्यक्षहरुले आ – आफ्नो धारणा राखिरहेका बेला अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा र महेन्द्र राय यादवले मञ्चमा बसेर उनीहरुको कुरा टिपेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप