शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक सय वर्ष पुरानो पुल मर्मत गरिने

मङ्गलबार, १७ पुस २०७५, १३ : ३२
मङ्गलबार, १७ पुस २०७५

दमौली– एक सय वर्ष अगाडि निर्माण गरिएको तनहुँको म्याग्दे गाउँपालिका र भिमाद नगरपालिका जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलको मर्मत गरिने भएको छ ।  वि.सं १९७५ मा शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीको फलाम उत्खनन् गरी निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएपछि भिमाद नगरपालिकाले पुलको मर्मतका लागि चासो देखाएको हो ।

नगरपालिकाले पुलको मर्मतका लागि चालू आर्थिक वर्ष २०७५/७६ मा रु ६० लाख विनियोजन गरिएको भिमाद नगरपालिका–७ का वडाध्यक्ष सूर्य श्रेष्ठले जानकारी दिए । ऐतिहासिक पुल भएकोले मर्मत गर्दा स्वरुपमा केही परिवर्तन नहुने उनले बताए । 

झण्डै ५४ मिटर लामो झोलुङ्गे पुल लामो समयदेखि जीर्ण छ । पुरानो लठ्ठा मात्रै बाँकी रहेको पुलमा काठका फट्टा कुहिएका छन् । वडाध्यक्ष श्रेष्ठले पुलको तल्लो भागको लठ्ठा काम नलाग्ने भएकाले नयाँ लठ्ठा राखेर काठको फट्टाको साटो फलामको राख्ने योजना रहेको बताए ।

उनले भने, ‘ऐतिहासिक पुलको मर्मतपछि यसकै माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।’ उनका अनुसार भिमाद प्रवेशद्वारमा स्वागतद्वार र सेती नदीको बीचमा रहेको शिद्धटापु मन्दिर जाने अर्को नयाँ झोलुङ्गे पुल पनि बनाउन लागिएको छ । 

पुलको आडैमा २०४८ सालमा मोटरेवल पुल निर्माण भएपछि जीर्ण भएको पुलको मर्मत भएको छैन । भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले पुलको निर्माण स्थानीय फलाम खानीबाट भएको धेरैलाई जानकारी नभएकाले पुलको मर्मत गर्न लागिएको बताए । उनले भने, ‘फलाम खानीबाट बनेको पुलको बारेमा कमैलाई मात्र ज्ञान छ । तसर्थ पुलको मर्मत सम्भार गरेर प्रचारप्रसार गर्ने सोच बनाएका छौँ ।’ 

पुलको मर्मत सम्भारका लागि बजेटको अभाव हुन नदिने थापाले बताए । चालू आर्थिक वर्षमा बजेट अपुग भए आगामी आवको बजेटमा समेत पुल मर्मतलाई प्राथमिकतामा राखिने उनले बताए ।

थापाले धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीयस्थलको संरक्षण र प्रचारप्रसार गरेर त्यस्ता ठाउँलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएको जानकारी दिए । भिमाद नगरपालिका, रिसिङ गाउँपालिका र घिरिङ गाउँपालिकाका साथै नवलपरासी, स्याङ्जा र पाल्पाका बासिन्दाले २०४८ अघि यही पुल भएर आवतजावत गर्दथे । शुक्लागण्डकी नगरपालिका–१० स्थित फलामखानीसमेत हाल बन्द छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप