शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘देउवा–पौडेलको ‘पिरती’ बलियो, सिटौला र कोइराला सकसमा’

मङ्गलबार, १७ पुस २०७५, १३ : ०३
मङ्गलबार, १७ पुस २०७५

काठमाडौँ– लामो समयसम्म पानी बाराबारको व्यवहार देखाएका काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको सम्बन्ध अचानक फेरिएको छ । दुई नेताबीच फेरिएको सम्बन्धलाई उनीहरूले नै ‘डिप लभ’को संज्ञा दिएका छन् ।

सभापति देउवा र नेता रामचन्द्र पौडेलबीच पछिल्लो समय बढेको यो ‘पिरती’को काँग्रेस वृत्तमा चलेको चर्चा अझै सेलाएको छैन ।

१३औँ महाधिवेशन सकिएको करिब ३ वर्षपछि देउवा र पौडेलमा गाँसिएको पिरतीसँगै उनीहरू एउटै कित्तामा उभिन पुगेका छन्् । महासमिति बैठकअघिसम्म संवादहीनताकै अवस्थामा रहेका देउवा–पौडेलबीचमा पिरती कसरी गाँसियो त ? केही घटनाक्रमहरू हेरौं ।

प्रसङ्ग १– मङ्सिर २९ गतेबाट काठमाडौँमा सुरु भएको महासमिति बैठकमा देउवा र पौडेललाई हात समाएर उठ्न निकै बल पर्यो । यो दृश्य देख्ने सबैले ‘करबलमा देउवा–पौडेल उठेर हात समाए’ भन्ने टिप्पणी गरे । महासमिति समापन गर्नुभन्दा एक दिनअघिसम्म देउवा र पौडेलको सम्बन्ध यस्तै तिक्ततापूर्ण नै थियो । तर महासमिति बैठक समापनसभामा उनीहरूमा आएको व्यवहार र अभिव्यक्ति परिवर्तनले धेरैलाई चकित बनायो । त्यसवेला दुवै नेताले आफूहरूबीच डिप लभ परेको भन्दै घोषणा नै गरे । त्यसअघि पार्टी विधानमा सहमति  जुटाउन नौ दिनसम्म चलेको रस्साकस्सी देखेबुझेका काँग्रेस नेता कार्यकर्ताले उनीहरूमा यस्तो पिरती बस्ला भन्ने कल्पनासम्म नगरेका बेला उनीहरूले डिप लभको घोषणा गरेपछि नेता कार्यकर्ताले विश्वास गर्न बाध्य बने ।

त्यसपछिका दिनमा पनि देउवा र पौडेल एकै ठाउँमा एउटै कार्यक्रममा सहभागी भएर आफूहरूबीचको टाढिएको सम्बन्ध नजिक भएको सन्देश दिने प्रयासमा लागे ।

पहिला कुनै कार्यक्रम गर्दा कृष्णप्रसाद सिटौला समूहलाई साथमा राख्थे पौडेल । तर महासमितिपछि माहोल फेरियो । देउवा–पौडेल सँगसँगै देखिन थाले भने सिटौला छुट्न थाले । 

प्रसङ्ग २ – महासमिति सकिएलगत्तै आफूहरूबीच मुस्कुराएको पिरतीको सन्देश विस्तार गर्न दुवै नेताले ४० जिल्लाका सभापतिलाई संयुक्त ‘डिनर’ नै दिए । त्यसपछि गत शुक्रबार साँझ शङ्खमूलको एक पार्टी प्यालेसमा काँग्रेस बिटका पत्रकारसँग देउवा र पौडेलले सँगै डिनर मिटिङ गरे ।

त्यो डिनर काँग्रेस पार्टीले समामूहिक रूपमा दिएको थिएन । किनभने सिटौला समूहका नेताहरूको उपस्थिति छँदैथिएन । महासमिति बैठक सकिएपछि त्यसबारे सल्लाह र सुझाव लिन भन्दै डिनर मिटिङ गरिएको हो । देउवा र पौडेलले डिनर मिटिङ दिएको समचार आएलगत्तै गत बिहीबार सिटौला समूहले पनि काँग्रेस बिटका पत्रकारसँग ‘डिनर मिटिङ’ गरेर उनीहरूलाई चुनौती दिन भ्याए । 

‘इमोसनल एट्याचमेन्ट’
१३औँ महाधिवेशनको करिब ३ वर्ष देउवाको अलोचनामा खर्चेका थिए पौडेलले । तर, महासमिति बैठकपछि आफूहरूबीच ‘इमोसनल एट्याचमेन्ट’ रहेको बताउन उनै पौडेल पछिपरेनन् । शुक्रबारको मिटिङमा पनि पौडेलले देउवासँग कुनै विमति नरहेको बताए । भने, ‘झिनामसिना कुराले काँग्रेस विचलित हुँदैन भन्ने देशभर हामीले आश्वस्त पारेका छौँ । कार्यकर्ता खुसी छन् । महासमितिले पार्टीका साथीहरूमा ऊर्जा थपेको छ ।’

सोही कार्यक्रमा देउवाले ‘डिप लभ’भन्दा पनि आफूहरूबीच विश्वास रहेको बताएका थिए । तर, महासमिति बैठकको समापनमा देउवा र पौडेलबीच देखापरेको इमोसनल एट्याचमेन्टभित्र आशङ्का गर्नेहरू पनि कायमै छन् ।

शङ्का र आशा
यता सिटौला समूहले महासमिति बैठकमा देउवा र पौडेलले पदीय खिचडी पकाएको आशङ्का गरेको छ । सिटौला समूहका एकजना नेताले नाम नखुलाउने सर्तमा १४औँ महाधिवेशनमा पौडेललाई सभापति बनाउन देउवा तयार भएकाले यस्तो पिरती बसेको हुनसक्ने रातोपाटीलाई बताए । 

उनले भने, ‘२०५५ सालमा ललितपुरको गोदावरीमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला र नेता कृष्णप्रसाद भट्टराईबीचमा पार्टी जिम्मेवारी कोइरालाले लिने र निर्वाचनमा पार्टीले जिते प्रधानमन्त्री भट्टराई हुने समहति थियो । देउवा र पौडेलबीच पनि सोही खालको सम्झौता भएको छ । टिक्छ या टिक्दैन त्यो त समयले बताउँला ।’ 

तर पौडेल निकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशी देउवा र पौडेलबीचको एकता काँग्रेसका लागि समयको माग भएको दाबी गर्छन् । पार्टी संस्थागत ढङ्गले चलाउन प्रमुख नेताहरूको एकताले सहज हुने जोशीको तर्क छ । नेता जोशीले नेकपा नेतृत्वको सरकार लोकतान्त्रिक पद्धतिमा नहिँडेका बेला पार्टी नेता कार्यकर्ताको एकताबाट आशाको सञ्चार छाएको बताए । 

‘गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायतका नेताहरू जीवनको उत्तराद्र्धमा पार्टीबाट अपहेलित हुनुपरेको थियो । सभापतिले त्यो अवस्था आउन दिन्न भन्नु भएको पनि छ । सभापति र वरिष्ठ नेताबीचको एकताले नेता कार्यकर्ताको सम्मान हुने मेरो विश्वास छ’, जोशीले थपे ।

सभापति र वरिष्ठ नेता एक ठाउँमा उभिँदा पार्टीका आन्तरिक गतिविधि बढाउन पनि सहज हुने उनको तर्क छ । उनले देउवा र पौडेलबीच १४औँ महाधिवेशनमा पदीय भगबण्डा गर्ने जानकारी आफूलाई नभएको दाबी पनि गरे ।

भूमिका कसको ? 
पानी बाराबारको स्थितिमा रहेका देउवा र पौडेललाई लभ पारिदिने काम भने प्रवक्ता विश्वप्रकाश शर्माले गरेका थिए । शर्माले नेताहरूबीचको विवाद र एकताले नै नवीन कुराको खोजी हुने बताए । 

शर्माले भने, ‘पार्टीको विधान पारित हुँदैगर्दा नेताहरूबीच एक प्रकारको विमति थियो । त्यो विमतिको बीचबाट अति नै राम्रो विधान ल्याउन सफल भएका छौँ । त्यो पनि सभापति र वरिष्ठ नेताबीचको एकताले नै सम्भव भएको हो । उहाँहरू आगामी दिनमा पनि एक भएर जाने कुरा पार्टीका लागि सुनमा सुगन्ध नै हो ।’ 

शर्माले नेताहरूबीच एकता भए पनि कुनै विषयमा मतान्तर भने रहिरहने सङ्केत गरे । ‘अहिले देउवा र पौडेलबीच महासमिति बैठकमा पारित विभिन्न दस्तावेजमा देखिएको एकमत नै एकताको मूलसूत्र होे’ प्रवक्ता शर्माले बताए ।

पिरतीबारे यसो भन्छन् विश्लेषक
राजनीतिक विश्लेषक प्रा.डा. कृष्ण खनालले महासमिति बैठकबाट देउवा र पौडेलबीच देखिएको निकटतालाई देखावटी रूपमा गरिएको नाटक मञ्चन भनेका छन् ।

उनले भनेका छन्, ‘नेताहरूले हामी अलग छैनौँ भनेर एकताको सन्देश त दिए । तर त्यो स्वस्फूर्त भन्दा पनि आलोचना भएपछि गरिएको रेस्पोन्स हो । यसले पार्टीलाई कुनै नयाँ कुरा दिनसक्दैन ।’ उनका अनुसार देउवा पौडेलको मिलनले पार्टी सभापतिमा अहिले नै देउवाको विकल्प खोज्नुपर्छ भन्ने आवाजलाई निस्तेज पारेको छ ।

तर अर्का राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको तर्क खनालको भन्दा फरक छ ।

आचार्य देउवा र पौडेलको मिलनले पार्टीलाई आन्तरिक रूपमा ऊर्जाशील बनाउने दाबी गर्छन् । 

‘उहाँहरू (देउवा र पौडेल)को पार्टीमा ठूलो त्याग र लगानी छ । पार्टीलाई संस्थागत रूपमा चलाउन मिलन भएको हो भने काँग्रेसलाई राम्रै हुने देख्छु । तर, पार्टीमा भागबण्डाको मेलोमेसो मिलाउन मिलेका हुन् भने काँग्रेस र काँग्रेसजनका लागि दुर्भाग्य हुनसक्छ’ आचार्यले रातोपाटीसँग भने ।

आचार्यका अनुसार देउवा र पौडेलको मिलनले कोइराला परिवार र सिटौला समूहलाई भने सकस परेको छ । देउवा पौडेलको मिलनले पार्टीमा एकताका लागि उत्प्रेणा जगाउने काम गर्नसक्ने उनको बुझाइ पनि छ । जसले कोइराला परिवार र सिटौला समूहलाई मिलन विन्दुमा पुर्याउने अवस्था आउनसक्ने आचार्यको आँकलन छ । कार्यकताको दबाबले अब देउवा पौडेललाई अलग हुने छुट नदिने पनि आचार्यले बताए । 
उनले भने, ‘उहाँहरूमा पछिल्लो समय भावनात्मक एकता भएको सङ्केत मिल्छ । पार्टी र देशका लागि काँग्रेस नेताहरूमा भावनात्मक एकताको खाँचो पनि थियो ।’  

पौडेलको प्रस्तावमा सिटौलाको चुनौती 
विधान कार्यान्वयनका लागि महासमिति बैठकमा पौडेलले पार्टी केन्द्रीय समितिमा प्रस्तुत गरेको कार्यतालिकालाई अगाडि बढाउने तयारी भइरहेको छ । पौडेलले पुस १६ देखि २०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, गाउँगाउँ र टोलटोलमा वैचारिक र साङ्गठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियाने’ चलाउने, २०७६ असोज मसान्तसम्म ‘क्रियाशील सदस्यता वितरण र नवीकरण’ सँगसँगै प्रशिक्षण कार्यक्रम गर्ने प्रस्ताव अघि सारेका थिए । यस्तै, २०७६ मङ्सिर मसान्तसम्म टोलदेखि स्थानीय तहका अधिवेशन गर्ने, २०७६ पुस मसान्तसम्म प्रदेश निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गर्ने, २०७६ माघ १६ प्रदेश अधिवेशन सम्पन्न गर्ने र २०७६ फागुन ७ पार्टीको महाधिवेशन गर्ने र आउने निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउन २०७७ वैशाखबाट निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्न प्रस्ताव गरेका थिए ।

पौडेलको उक्त प्रस्तावमा देउवाको पनि सहमति रहेको बताइन्छ । तर सिटौला समूहले अर्ली महाधिवेशनको माग गरेको छ । जेठभित्रै १४औं महाधिवेशन गर्नुपर्ने यो समूहको माग छ । जेठमा महाधिवेशन गर्न सक्ने अवस्था नआएमा चैतभित्र सङ्क्रमणकालीन व्यवस्थाअनुसार नयाँ संरचनाहरूमा निर्वाचन गरेर कार्यसमिति चयन गरिनुपर्ने विकल्प पनि सिटौला समूहले अगाडि ल्याएको छ । 

महासमिति बैठकले अनुमोदन गरेको विधानको धारा ७२ उपधारा ४ (पार्टीको सङ्गठनको अन्तरिम व्यवस्था सम्बन्धमा) को (ख) मा ‘नेपालको संविधान बमोजिम स्थानीय तह तथा संसदीय निर्वाचन क्षेत्र निर्धारण भएपश्चात् सीमाङ्कन हेरफेर भई नयाँ कायम भएका गाउँपालिका–नगरपालिका–उपमहानगरपालिका–महानगरपालिकाका (स्थानीय तह) र प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्रका यो विधान संशोधनपूर्व कायम रहेका प्रतिनिधिको अधिवेशनले यसै विधानबमोजिमको सम्बन्धित कार्यसमिति गठन गर्ने छ’ भनिएको छ । यसबाट सिटौला सशङ्कित भएका छन् । उक्त प्रावधानमा टेकेर कार्यसमितिहरू निर्माण गर्दा आफू देउवा–पौडेलसामु निरीह बन्नुपर्ने अवस्था आउनेमा सिटौला समूह सतर्क बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप