शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तबाँण : कालिदास र हाम्रा कालिदासहरु !

सोमबार, १६ पुस २०७५, १९ : १३
सोमबार, १६ पुस २०७५

विश्वसाहित्यको इतिहासमा महाकवि कालीदास एक चर्चित नाम हो । इतिहासकारहरुले उनको समय इशाको छैटौं शताव्दी मानेका छन् । उनका काव्य महाकाव्यहरुको अनुशीलन गर्ने कतिपय विद्वान्हरुले महाकवि कालिदासको जन्म र हुर्काइ नेपालमा भएको हुनसक्ने अनुमान पनि गरेका छन् ।

कालीदासको जीवन महान् रुपान्तरणको जीवन हो । उनका जीवनीका एकदमै फरक दुई अध्यायहरु छन् । हामीले उनका जीवनीको किशोर अध्याय पढेका छौं । प्रौढ अध्याय पढेका छैनौं । पढे पनि पत्याएका छैनौं । यस्ता  अध्याय पत्याउन रुपान्तरणको ओजस्वी उर्जा चाहिन्छ । सम्भवतः त्यो हामीसँग छैन । जुन कालीदास चरम मूर्खताको सटीक दृष्टान्त मानिन्छन् । ती किशोर कालिदास हुन् ।

प्रचलित जनश्रुति अनुसार एक राजाकी अत्यन्त रुपवती र विदुषी छोरी थिइन् । मन्त्रीका छोरा ती राजकुमारीमाथि मुग्ध थियो । मन्त्री पनि विदुषी राजकुमारी आफ्नी बुहारी बनुन् भन्ने चाहन्थ्यो । राजकुमारीको त्यस मन्त्रीकुमारप्रति कुनै आकर्षण थिएन । 

राजकुमारीको उमेर विवाहयोग्य भएपछि राजाले महारानीलाई छोरीको आसय बुझ्न लगायो । राजकुमारीले आफुसमानको विद्वान् युवासँग विहा गर्ने अन्यथा विहा नै नगर्ने अठोट व्यक्त गरिन् । राजाले मन्त्रीलाई राजकुमारीको चाहनाबमोजिमको योग्य विद्वान् कुमार खोज्न अह्रायो । मन्त्रीले आफ्नो परिवारमा पनि राजाको आज्ञाबारे बतायो । उसको छोरो छट्टू र ईष्र्यालु थियो । उसले भन्यो, यस काममा बाबालाई म सघाउँछु । मैले सघाउने कुरा दरबारमा चाहिँ नभन्नुहोला । राजकुमारीलाई योग्य वर म खोज्छु,। यसपछि एक जना दौँतरी साथी लिएर मन्त्रीपुत्र घरबाट खोजीयात्रामा निस्क्यो ।

खोजीयात्रामा एक दिन मन्त्रीपुत्रले बाटैनिर एउटा गजबको दृश्यदेख्यो । एक जना किशोर अग्लो रुखको हाँगामा बल्लतल्ल अडिएर खुर्पाले त्यही हाँगो काट्दै थियो । हाँगो आाधा मात्र काटिए पनि लाछिन सक्थ्यो । त्यो किशोर त्यसै हाँगासितै  खर्र्मुरिने भुइँमा पछारिने अवस्था थियो ।  मन्त्रीपुत्रले तलबाट सोध्यो, ए भाइ, के गरेको त्यो ? आफु उभिएको हाँगो काटेपछि आफै पनि खुर्मुरिन्छ भन्ने थाहा छैन ? किशोरले पिलिक्क हेर्दै भन्यो, रुख चडियो । ओर्लन सकिएन । अनि यसरी हाँगा नकाटे के गर्ने त ?

मन्त्रीपुत्रले दौंतरीसित आँखाले खुसी पोख्दै भन्यो , राजकुमारीका लागि योग्य कुमार यही हो । पहिले यसलाई रुखबाट तल ओरालौं ।

मन्त्रीपुत्रले किशोरको ध्यानाकर्षण गर्दै भन्यो, भाइ, हामी तिमीलाई रुखबाट राम्रोसित ओह्रालिदिन्छौं । त्यो हाँगा नकाट ।

किशोरलाई रुखबाट ओह्रालेपछि मन्त्रीपुत्रले यो केटा कसैको भेडीगोठालो रहेछ भन्ने थाहा पायो । बनको शीतल छहारीमा बसेर सम्झायो । दुःख नगर तिमीलाई हामी दरबारको ज्वाइँ बनाइदिन्छौं भन्यो । धेरै बेर फकायो । किशोर दङ्ग प¥यो ।

फर्कँदा मन्त्रीपुत्रहरुले बाटोमा धेरै कुरा सिकाए । एउटा के पनि सिकाए भने हामी तिमीले सात दिनसम्म नबोल्ने ब्रत लिएको छ भन्छौँ । राजकुमारीले तिमीसँग इशारामा कुरा गर्छिन् । तिमी पनि इशारा गर्नू, केही नबोल्नू । इशाराको अर्थ हामी बुझाइदिउँला ।

त्योे रात त्यो किशोर मन्त्रीकै घरमा सुत्योे । भेलिपल्ट दरबारमा शास्त्रार्थ समारोहको आयोजना भयो । राजकुमारी र किशोरकाबीच पारदर्शी पर्दाबाट साङ्केतिक शास्त्रार्थ शुरु भयो । राजकुमारीले किशोरतिर हेरेर हात उठाइन् र एउटा आँैला ठड्याइन् । उनले संसारको सृष्टि, पालन र संहार गर्ने ईश्वर एउटै छ भनेकी थिइन् । किशोरले मसँग राजकुमारीले एउटा भेडा मागिन् भन्ने बुझ्यो । यति राम्री राजकुमारीलाई एउटा मात्र किन ? दुइटा भेडा दिन्छु भन्ने सोच्दै किशोरले दुई औंला ठड्यो । राजकुमारीले प्रकृति पुरुष दुइटालाई सङ्केत गरेको अर्थ लगाइन् । त्यसो भए सृष्टि, स्थिति र प्रलयका तीनवटै शक्ति किन नमान्ने भन्ने तर्क प्रस्तुत गर्न राजकुमारीले तीन औँला ठडया्एर देखाइन् । भेडीगोठालो किशोरले तीनवटा भेडा माग्दैछिन् भन्ने बुझ्यो । एउटा माग्दा दुइटा दिएँ त दुइटा दिँदा तीनवटा माग्ने ? किशारेलाई झोक चल्यो । त्यसो भए एउटै पनि दिन्न भन्ने सोच लिएर किशोरले असहमतिको मुड्की उठायो । बढी माग्दा मुड्की खालिस् भन्ने उसको मनसाय थियो । राजकुमारीले सोचिन् आखिर ईश्वर सवै एउटै हो ।‘एकम्ं सत् विप्रा वहुधा वदन्ति अर्थात् सत्य एउटै छ, विद्वान्हरु अनेक ठानेर व्याख्या गर्छन् ।’ उपनिषद्को ठहर पनि यही हो । किशोरको तर्क ठीकै त छ । राजकुमारीलाई चित्त बुझ्यो । विवाहको स्वीकृति दिइन् ।

विहा भयो । किशोर राजकुमारीको खोपीमा पुग्यो । त्यहाँ टेबिलमा एउटा किताव थियो । उठाएर हे¥यो र घुँक्क घुक्क रुन थाल्यो । राजकुमारी अल्मलिइन् । सोधिन्,“ किन ? के भो र ?” किशोरले भन्या,े “मैले पढ्दा यो ‘क’ बडेमानको भुत्ते थियो । अहिले दुब्लाएर कमिलाजत्रो भएछ । माया लागेर रोएको !”

लबजबाटै राजकुमारीले यो विद्वान् होइन भन्ने बुझिन् । मन्त्रीले आफुलाई धोका दिइएको पनि बुझिन् । राजकुमारी थिइन् । साहस बटुलिन् । किशोरलाई थर्काइन् र  रात पर्नुअघि नै  दबारबाट लखेटिन् । दर्बारबाहिर सडकमा पुगेपछि किशोरले बार्दलीमा उभिएकी राजकुमारीतिर पुलुक्क हे¥यो । “केही भन्नुपर्ने कुरा छ ?” ( अस्ति कश्चित् वाक् विशेषः ) राजकुमारीले सोधिन् । किशोर बोलेन । फटाफट बाटो लाग्यो ।

अपमानले रन्थनिएको किशोरले सन्जोगवस एक जना ठुला विद्वान् गुरु भेट्यो । रुँदै दुःख बिसायो । गुरुलाई दया लाग्यो ।  आफैसँग राखेर पढाइदिनु भयो । पढेर कालीदास बेजोड विद्वान् कवि भयो । उसले मनमनै राजकुमारीलाई यस रुपान्तरणको आदरणीय गुरु ठान्यो । हिँड्ने वेला राजकुमारीले सोधेका वाक्यका तीन अक्षरलाई गुरुअक्षर बनाएर तीनवटा काव्य लेख्यो । ‘अस्ति’ बाट कुमारसम्भव महाकव्य, ‘वाक्’बाट रघुवंश महाकाव्य, ‘कश्चित्’बाट मेघदूत विरहकाज्य । तीनवटै काव्य लिएर कालीदास एक दिन राजकुमारीकोमा पुग्यो । काव्यहरु उनका हातमा राखिदियो, विनयकासाथ झुकेर नमस्कार ग¥यो । पढिदिन आग्रह ग¥यो । आफुबाट अनजानमा भएको गल्तीबापत् माफी माग्यो ।

कालीदासको जीवनी प्रसङ्ग यही हो । हाम्रा विद्वान् लेखक साहित्यकारहरु चरम मूर्खताको बिम्बका रुपमा कालिदासलाई उल्लेख गर्छन् ।् असाधारण मेहनतले बेजोड विद्वान् महाकवि बनेका प्रौढ कालीदासलाई बिम्बका रुपमा उद्धृत गर्नेहरु भने प्रायः भेटिँदैनन् । जनसाधारणबीच पनि भेटिँदैनन् । किन कि हामी स्वयम् रुपान्तरित छैनौं । हामीले अद्यावधि रुपान्तरणको स्वाद चाखेका छैनौं । चाख्न पाएकै छैनौं ।

हालसालकै कुरा हो । एक पटक मलाई लाग्यो, सत्ताका आम्रवृक्षहरुमा कमरेड कालिदासहरुले आरोहण त जानिभ्याए, उपभोग पनि जाने । मर्यादित उपयोग जानेनन् । सम्मानजनक अवतरण पनि जानेनन् । अहिले आम्रवृक्षमा नेकपा कालीदासका वैचारिक दरिद्रताको प्रदर्शनी जुन खुलेको छ, जात्रा हेर्नेलाई रमाइलो छ । हामीकहाँ कलिदासका कथा सुन्न मन पराउनेहरु, र जात्रा हेर्न रुचाउनेहरु त छँदैछन्, आफै ती कथाका दृष्टान्त बन्न रुचाउनेहरु पनि छन् ।

हामीकहाँ मूर्खताका परिभाषाहरु बनेकाछन् । दृष्टिकोणहरु पनि भेटिँदैआएकाछन् । हामीकहाँ मूर्खता कुनै अपरिचित रहस्यका रुपमा छैन । खास गरेर राजनीतिमा । यसैले मूर्खताबाट जोगिने आवश्यकता पनि अनुभूतिमा उम्रेको छैन ।

लटरम्म बम्बइ आँप फलेको, पाकेको देखेपछि नेकपाका कालीदासहरुले मात्र किन मन थामुन् ? कालीदासहरु जसोतसो रुख चढ्छन् । रुख चढ्ने विधिहरु नेकपाका कालीदासहरुले पनि आफ्ना निकटतम जमानाका नेपाली काङ्ग्रेसका कालीदासहरुबाट सिकेकाछन् ।

जहाँसम्म अवतरणको कुरा छ नेकपाका कालीदासहरुको संस्कृतिमा ग्राह्य छैन । काङ्ग्रेसको संस्कृतिमा अझ बिलकुलै ग्रह्य थिएन । सत्ताभोगचलन गर्ने कुरामा नेकपाका पनि गुरु त काङ्ग्रेसीहरु नै हुन् । तिनका पनि गुरु उहिलेका श्री ३ राणाहरु हुन् । उक्लिसकेपछि किन ओर्लने ? बस्ने, खाने । थप बस्ने, थप खाने । ओर्लनैपर्छ भने आफु मात्र किन ओर्लने ? लटरम्म आँपसहितको रुखको हाँगै लिएर ओर्लने ? अझ सके रुखै ढालेर ओर्लने । यसै सोचका कारण नेकपाका कालीदासहरु रुखमाथि उक्लँदा खुर्पासहित खुर्पेठ्याक भिरेरै उक्लन्छन् । काङ्ग्रेसींहरु टाउकोमाथि बन्चरो भिरेर उक्लन्थे ।

आँप भनेपछि मरिहत्ते गर्ने यी कालीदासहरुले आँपका रुखको माया गर्न कहिल्यै जानेनन् । अझ रुख उभिएको जमीनको माया गर्न त जान्दैजानेनन् । यिनीहरुलाई आधार भूमि  चाहिँदैन । रुख पनि चाहिँदैन । आँप टिप्न र चुस्न पाए पुग्छ । प्रकारान्तरले यिनीहरु त अझ बाँदर हुन् । फरक कति भने बाँदरहरुले पार्टी चलाउन जानेका छैनन् । यिनीहरुले जानेकाछन् । बाँदरहरु आफ्ना आधार बनेका रुखहरु उखेल्न जमर्को गर्दैनन् । योजना तुन्दैनन् । यी पाटीका बाँदरहरु जङ्गलका जङ्गल सोत्तर पार्न अघि सर्छन् । योजना बनाएरै अघि सर्छन् । यसैले यी पाटीका बाँदरहरुसँग नेपालका तमाम बनजङ्गल डराएकाछन् । जसरी प्राणवायु अभाव परिकल्पनाले करोडौं नेपालीका फोक्सो डराएकाछन् । 

सोच्दासोच्दै सोचेँ कालिदास यिनीहरुको बिम्ब हुनसक्दैन । कालीदास शायद आफु माथि बसेर तल चरिरहेका भेडा हेर्न रुख चढेको थियो । आँप खान होइन । कालिदास बिम्ब त हो, तर महान् रुपान्तरणको बिम्ब । उत्ताल छलाङ्ग हो कालिदास । हामी हाम्रो व्यवहारमा कालिदासको नकारात्मक बिम्ब मात्र प्रयोग गरिआएका छौं । यो महाकवि कालिदासको र महान् सम्भावनाशील मानवताको अपमान हो । भयङ्कर अपमान हो । सुदृढ अठोट, अकथ संघर्ष, र व्यापक रुपान्तरण कालिदासको जीवनकथा हो । एक गरीब उपेक्षित भेडागोठालो जो रुख चढेपछि सजिलै ओर्लन नसक्दा आफु अडिएको हाँगै काट्न लागिपर्छ, जसमा व्यावहारिक तहको सामान्य ज्ञान पनि सङ्कलित छैन । जो सिकाइबाट प्राप्त हुने शिक्षाबाट वन्चित छ । विद्या त उसको लिमिागमा उम्रनै भ्याएपाएको छैन । सपाट बाँझो धर्तीजस्तो छ किशोर कालिदास । तर पनि जीवनप्रति आशावादी मानव हुनुको नाताले उ क्रियाशील छ ।उसका क्रियाकलाप उसैका लागि प्रत्युत्पादक भए पनि क्रियाशील छ । मूर्खता त धेरथोर सबैमा हुन्छ । मूर्खताका कारण पछुताउन नपरेका जन्मजात वुद्धिमान् मानिस संसारमा कति भए, कति छन् तथ्याङ्क उपल्ब्ध छैन । कलिदासको मूर्खता चर्चित छ । यसै कारण किशोर कालिदासको मूर्खतालाई बिम्बका रुपमा प्रयोग गर्दा हामी यथार्थ खुलस्त भएको ठान्छौं । होटल सोल्टीमा क्रिश्चियन धर्मप्रचारक मुनका शिष्य बन्न पुगेका सत्तासीन नेकपाका शीर्ष एवम् उपशीर्ष नेताहरु बुढा भए पनि किशोर कालिदास हुन् । 

हामी सवैलाई थाहा भएकै कुरा हो अहिले कालिदासहरु सत्तामा छन् । प्रतिपक्षमा पनि तिनै कालिदास छन् । बुढा हुुदासम्म किन्चित् रुपान्तरण नभएका किशोर कालिदासहरु ।

अहिले मैले नेकपाका कालिदासहरु भनेँ । अरु कतिले नेकपाका कामरेडहरुलाई कालिदासबिम्बमा सम्बोधित गरेका होलान् । यस बिम्बले यिनीहरुलाई समग्रमा व्यक्त गर्न सक्छ ? यो छुट्टै शोधको विषय हुनसक्छ । कुरा कतिसम्म स्पष्ट देखिएको छ भने नेपाली काङ्ग्रेसका बन्चरे टोपीहरुजस्तै अथवा गिरिजाप्रसाद र शेरबहादुरहरुजस्तै नेकपाका कामरेडहरु पनि किशोर कालिदासमै सकिँदै छन् । मूर्खतामै सकिँदैछन् । आफु चढेको रुख ढाल्नमै सकिँदैछन् । यस भावले आज नेपालका वहुसङ्ख्यक जनताका मनमस्तिष्कमा जरा गाड्दैछ । नेपालका सत्तासीन कामरेडहरुले इमानदार प्रयत्न गर्लान् र आफुलाई देशसेवी तथा जनसेवी राजनीतिकर्मीमा बदल्लान्, समृद्ध नेपालको निर्माण गर्लान्,अर्थात् कालजयी महाकाव्यहरु लेख्लान् भन्ने कसैलाई आसै छैन । विलास वैभवको लिप्सामा आकण्ठ डुबेका यिनीहरुको सकारात्मक रुपान्तरण अव कसैको कल्पनामै छैन । यो डरलाग्दो निराशा हो । यो बेलैमा उम्रेको जनचेतना पनि हो ।

चेतना उपलब्धि हो । चेत आएपछि मानिस सचेत बन्छ । हामीले हाम्रा कालिदासहरुका सम्बन्धमा चेत पाएकाछौं । देश, समाज र आफ्नो स्वस्थ्यसम्बन्धमा सचेत मानिसहरु घर आँगन र बाटोघाटोमा कसिङ्र रहन दिँदैनन् बढार्छन् । फोहार रहन दिँदैनन् उठाएर डम्पिङ्साइट पु¥याइदिन्छन् । 

कालिदाहरुले अद्यावधि बुझ्न नसकेको पक्ष यो एउटा पनि हुनसक्छ । ‘हामीकहाँ कहिल्यै प्रौढ हुन नसकेका केवल उमेर पाकेका कालिदासहरु छन् !’ यत्ति कुरामा भने हामी ढुक्क छौं ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप