मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक ‘अछुत’ व्यक्ति विदेशी धनाढ्यको प्रेममा परेः संसारलाई बताए कि प्रेमको कुनै सीमा हुँदैन

सोमबार, १६ पुस २०७५, १४ : ०२
सोमबार, १६ पुस २०७५

जब हामीले प्रेमका कुनै रोचक र आकर्षक कथा सुन्छौं तब हामीमध्ये धेरैले भन्ने गर्छौं कि, ‘यस्तो त फिल्ममा मात्र हुन्छ’ किनभने प्रेमका यस्ता कथा निकै बिरलै सुन्न र देख्न पाइन्छ ।

यो आर्टिकलका हिरोले वास्तविक प्रेम अझै पनि जीवित भएको पुष्टि गरेका छन् ।

उनको यो रमाइलो प्रेमकथा ब्राइट साइडले प्रस्तुत गरेको छ ।

कसरी सुरु भयो ?

प्रद्युम्न कुमार महानन्दिया र चार्लोटे भन सेद्भीनबीचको प्रेमसम्बन्ध उनीहरु भेट हुनुभन्दा अघिदेखि नै सुरु भइसकेको थियो । प्रद्युम्नको जन्मपश्चात् उनका आमाबुवाले ज्योतिषीलाई देखाउँदा उनले आफ्नो देशभन्दा निकै टाढाको वृष राशी भएकी, बासुरी बजाउनमा पोख्त र प्रशस्त जग्गाजमिनकी मालिक्नीसँग विवाह गर्ने भविष्यवाणी गरियो ।

उनीहरुको भेटः

प्रद्युम्नको बाल्यकाल निकै कष्टकर रह्यो । उनी भारतको ‘अछुत’ जातीमा जन्मिएका थिए । ‘मलाई भुस्याहा कुकुर र गाइबस्तुभन्दा पनि तल्लो स्तरको व्यवहार गरिन्थ्यो,’ प्रद्युम्नले सम्झिए । ‘जब म मन्दिरबाट हिँड्थे तब मानिसहरुले ममाथि ढुङ्गा हिर्काउँथे ।’

उनको युवावस्थामा प्रद्युम्नले दिल्लीको सडकमा चित्रहरु कोर्दथे । त्यही क्रममा उनको स्विडेनकी पर्यटक चार्लोटे भोनसँग भेट भयो । उनले एकाएक आफूमाथि गरिएको भविष्यवाणी सम्झिए र उनको चित्र कोर्दै गर्दा उनलाई प्रश्न सोधे, ‘तपाईंको राशी के हो ?’ ‘वृष’ उत्तर आयो । त्यसपछि सोधे, ‘तपाईं बासुरी बजाउनुहुन्छ ?’ उत्तर आयो, ‘हो बजाउँछु, बासुरी र पियानो ।’ कुराकानीकै क्रममा थाहा भयो कि उनको आमाबुवाको अत्यधिक जग्गा जमिन । चार्लेटे सबै तरिकाले फिट थिइन् । उनी भनिहाले, ‘तपाईं त मेरी श्रीमती बन्नुपर्छ ।’

अचम्म त के भयो भने, यी दुईबीच प्रेम बस्यो । केही समयपछि विवाह पनि गरिहाले । प्रद्युम्नको गाउँमा स्थानीय रितिरिवाज अनुसार ।

बिछोडः

यदि उनीहरुबीच बिछोड नभएको भए यो कथा त्यति रोचक हुँदैनथ्यो – चार्लोटे स्विडेन फिर्ता हुनुपर्यो । प्रद्युम्नले सकेसम्म चाँडो उनलाई भेट्ने बाचा गरे ।

यो जोडी १६ महिनासम्म छुट्टिएर बसे । त्यतिबेला एक–अर्कालाई चिट्ठी लेख्थे । प्रद्युम्नलाई थाहा भयो कि उनी आफ्नी श्रीमतीबिना एकछिन पनि बस्न सक्दैनन् । उनले आफ्नो सबै सम्पत्ति बेचे तरपनि प्लेनको टिकट किन्न सकेनन् । त्यसपछि उनले ६० भारुमा एउटा साइकल किने, परिवारसँग बिदा भए र दुई सय भारु गोजीमा राखेर हिँडे ।

बाटोः

उनको यात्रा सन् १९७७ को जनवरी २२ मा सुरु भयो । उनले पाँच महिनासम्म यात्रा गर्नुपर्दथ्यो । प्रद्युम्नले दैनिक ७३ किलोमिटरको यात्रा गर्दथे । स्विडेन पुग्दा उनले लगभग १० हजार किलोमिटरको यात्रा गरे ।

‘म निकै थाक्थें । तर चालोर्टेलाई भेट्ने इच्छाले मेरो दुखेको गोडालाई अघि सार्थे । मेरो कलाकृतिले मलाई जोगायो । मैले मानिसहरुको चित्र कोर्थे, उनीहरुले मलाई यसबापत् पैसा, खाना र राती बस्न दिन्थे ।’

त्यतिबेला थुप्रै देशमा प्रवेशका लागि भिसा चाहिँदैनथ्यो, यसले उनको यात्रा सहज बनायो तर जब उनी स्विडेन पुगे तब इमिग्रेशनले उनलाई देश प्रवेशमा रोक लगायो । त्यहाँका अधिकारीले उनको कुरा पत्याएनन् । उनीहरुले पछि चार्लोटेलाई बोलाएर यसबारे जान्न खोजे । त्यसपछि मात्र उनीहरुले कथाको वास्तविकता बुझेर प्रवेशको अनुमती दिए ।

प्रद्युम्नलाई के अहिले पनि आप्रवासनका लागि यस्तै यात्रा गर्न सकिन्छ त भन्ने प्रश्नमा उनले भने, ‘सकिन्छ, यति तपाईं साँच्चै चाहनुहुन्छ भने, सबैकुरा सम्भव छ । यो साँचो हो कि यस्तो यात्रा निकै कठिन हुन्छ तर असम्भव भने हुँदैन । डर र शंका हाम्रो सबैभन्दा ठूलो समस्या हो । यसैले हाम्रो जीवनलाई कठिन बनाइरहेको हुन्छ ।’

पुनर्मिलनः

प्रद्युम्न सन् १९७७ मे २८ तारिखमा बोरास पुगे । छुट्टिएको दुई वर्षपछि यो जोडीको पुनर्मिलन भयो । ’

‘हामी बोल्न सकेनौं । हामी एक–अर्काको अँगालोमा रोइरह्यौं ।’

उनका आमाबुवाले चार्लोटेको खुसीका लागि ‘कालो व्यक्ति’ सँग विवाह गर्न नहुने नियम पनि तोडिदिए । यो जोडी सन् १९७९ मा पुनः विवाह गरे, स्विडेनको कानून अनुसार ।

४० वर्षपछिः

उनीहरुको पुनर्मिलन भएको ४० वर्षभन्दा बढी भइसकेको छ । यत्तिका वर्षपछि पनि प्रद्युम्न भन्छन् कि उनी अझै पनि आफ्नो खुसीमा विश्वास गर्न सकिरहेका छैनन् । प्रद्युम्न भन्ने गर्छन् कि ‘तपाईंको भाग्य तपाईं आफैंले बनाउने हो ।’

उनीहरुबीचको प्रेमको सिक्रेट के हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘यसमा केही सिक्रेट छैन । मुख्य कुरा तपाईंहरु एकअर्कामा इमान्दार हुनुपर्छ, एकअर्कालाई बुझ्नुपर्छ र सम्मान गर्नुपर्छ । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप