केन्द्रीय संस्करण

यस्तो थियो बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलाप नीति

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0
बीपी कोइराला

रातोपाटी

लामो प्रवासकालपछि हामी स्वदेश फर्कंदैछौँ । यस अवसरमा एक दुई शब्द देशवासीहरूको नाममा सम्बोधन गर्नु उचित ठान्छु । हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ । यता केही वर्षदेखि यो सङ्कट चर्किंदै गएको  कुरा सबैले  महसुस गरेकै हो ।

यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन् । महाराजाधिराजलगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर  वास्तविकतालाई  बुझेर हामी स्वदेश  फर्कंदैछौँ ।

हाम्रो विचारमा अस्तित्वको सङ्कट आइपर्नुको कारण राष्ट्रिय एकताको अभाव हो, जसले गर्दा हाम्रो  देशमा विदेशी तत्व कुचक्र चलाउन  र नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा  बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान  र कार्यले मात्र  स्थापित हुन्छ । यस्तो सामूहिक अभियानले नेपाली जनताको  भावनात्मक एकताको संस्थागत आधार  पनि तयार पार्छ ।

 कोरा नाराले मात्र हुने भए वितेका १३ वर्षमा राष्ट्रियएकता यसरी छिन्न भिन्न भएर  यस सोचनीय  स्थितिमा देशले पुग्नुपर्ने  थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ  । हिजोसम्म हाम्रो सङ्घर्ष  जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ । आज यसमा एउटा नयाँ आयम थपिएको छ । नेपाली काँग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ । त्यो दोस्रो जिम्मेवारी हो देशको  अस्तित्वको रक्षा गर्ने ।  हामीले वर्तमान नेपालको परिस्थितिको दुईमुखे रूप देखेका छौँ : 

राष्ट्रियता र प्रजातन्त्र  
भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ति र राष्ट्रको  रक्षा दुवै जिम्मेवारी नेपालीले लिनुपरेको छ । यदि हामीले एउटै जिम्मेवारीको मात्र कुरा गर्यौँ भने हामी एक पक्षीय भएर गलत बाटोतिर लागेको हुनेछौँ र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौँ भने राष्ट्रिय सङ्कटको निवारणमा हाम्रो योगदन रहँदैन । त्यति मात्र होइन, यस्तो एक एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौँ ।

त्यस्तै, यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यो भने १६ वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौँ । र अधिनायकवादको पक्षधर हुन पुग्छौँ । यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रिको रक्षा गर्ने मनोबल  देशवासीमा पैदा गर्न सक्दैन । त्यसो हुनाले हामीले यो कुरा पनि बुझनुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास  र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ । तसर्थ  हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् । नेपाली काँग्रेसले आफ्नो जन्मकालदेखि नै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई  थाहा छ । २००७ सालमा क्रान्तिको निर्णय  र त्यसको कार्यान्वयन ।

त्यसपछि आम चुनावलाई सदाका लागि स्थागित  गर्ने   बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो । त्यस आन्दोलनमा धेरै अन्य दलहरूको  सहयोग पनि हामीलाई प्राप्त भएको थियो । २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं साङ्घातिक प्रहारपछि नेपाली काँग्रेसले प्रजातन्त्रको पक्षमा सङ्घर्ष गर्यो । आज देशका उपरको खतरा बुझेर हामीले यो अर्को एतिहासिक निर्णय लिएका छाैं, जुन निर्णय नेपाली काँग्रेसको परम्पराको अनुरूप छ । प्रत्येक राष्ट्रिको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका  बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा  गर्नुपर्छ । हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।

हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई  हाम्रो यो भन्नु छ कि हामीमाथि यो सम्भावित खतरा राष्ट्रिको अस्तित्व खतराको सामु  नगण्य भन्ठानेर नै यो एतिहासक निर्णय हामीले  लिएका हौँ । नेपाली काँग्रेसका कार्यकर्ताहरूले  पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व साहस र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन् ।

यस राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर  र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ  भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ । मलाई थाहा छैन  देशभित्र फर्केर गएपछि  म कुन परिस्थितिमा हुनेछु । यस वक्तव्यद्वारा म नेपाली काँग्रेसको अध्यक्षको हैसियताले  सारा देशवासीलाई अपिल गर्न चाहन्छु कि राष्ट्रको रक्षा देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी सबै एकमत भएर लागौँ । मैले अवसर पाएको खण्डमा महाराजधिराजका समक्ष पनि आफूलाई  लागेका कुरा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो । 

जय नेपाल 

(स्वदेश फर्कने अवसरमा नेपाली काँग्रेसका तत्कालीन अध्यक्ष स्व. विश्वेश्वर प्रसाद कोइराला (बीपी) ले देशवासीका नाममा ३० डिसेम्बर १९७६ का दिन जारी गरेको अपिल ।) 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

captcha