केन्द्रीय संस्करण

राष्ट्रिय मेलमिलाप र राजनीतिको किनारमा पुगेको काँग्रेस

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0

राष्ट्रिय मेलमिलापको आह्वानसहित नेपाल प्रत्यागमनको औचित्य अर्थात प्रजातन्त्र बहाली नहुँदै बीपी कोइरालाको निधन भयो । हुन त कुनै पनि राजनीतिज्ञको जीवनमा सबै कुरा उसैले चाहेमुताविक सम्भव पनि छैन ।

तर आफुखुसी इतिहास नबन्ने भएकाले इतिहास निर्माण गर्न पनि एउटा कुशल राजनीतिज्ञले गहिरो जँघार तर्ने आँट लिनै पर्छ । त्यही आँटको एउटा महत्त्वपूर्ण मोडका रूपमा लिन सकिन्छ २०३३ साल पुस १६ गतेको घटना । जुन दिन बीपी कोइराला राष्ट्रिय स्वाधीनताको जगेर्नाका सन्दर्भमा नेपालभित्र फाँसीको सजाय पर्वाह नगरी भारतबाट नेपाल फर्किए । हुन त अन्धोले हात्ती छामेझैँ बीपीको राष्ट्रिय मेलमिलापकाबारे आआफ्नै व्याख्या छ । फाँसीसहितका आठआठवटा मुद्दाको तरबार  आफूमाथि हुँदा पनि निर्भयतापूर्वक नेपाल फिर्तीलाई बीपीको एउटा  दुस्साहसका रूपमा पनि लिइयो त्यतिबेला । तर बीपीले आफ्नो ज्यानलाई भन्दा राष्ट्रियताको सवाललाई केन्द्रभागमा राखेका थिए भनेर बुझ्न कठिन छैन । 

१६ पुस २०३३ मा जब बीपी नेपाल फर्कने  निचोडमा पुगे, त्यसअघि उनले नेतृत्वसँगै कार्यकर्ता तहमा समेत व्यापक बहसको विषय बनाए । एकातिर राष्ट्रियता नै गुम्ने खतरा र अर्कोतिर स्वम् आफै फाँसीमा लड्कनुपर्ने जोखिमका बीचबाट निर्णय लिनुपर्दा बीपीमा आन्तरिक रूपमा कम्ता दबाब थिएन होला । तर, राष्ट्रियतालाई नै केन्द्र भागमा राख्दै नेपाल फर्कन गरिएको आह्वान वास्तवमै नेपालको इतिहासमा एउटा जोखिमसँगै नेपालको अस्तित्व अक्षुण्ण राख्ने कदम थियो । पृष्ठभूमिको अध्ययन गर्ने हो भने इन्दिरा गान्धीले इमर्जेन्सी मात्र लागाएकी थिइनन्, नेपालप्रति छड्के आँखा नै लगाउन पुगेकीले बीपीमा राष्ट्रियतानै नरहे कसरी होला राजनीति भन्ने भावना उठन पुग्नुलाई असामान्य मान्न मिल्दैन । 

उच्च कोटिका राजनीतिज्ञ भएकाले बीपी त्यो कालखण्डको राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमलाई नजिकबाट अध्यान गरेर नेपाल फर्कने निचोडमा बाध्य भएर पुगे । उसो त बीपीको जीवनकाल नै एउटा उथल पुथल घटनाहरूको सँगालो मान्न सकिन्छ । सशस्त्र क्रान्ति र राष्ट्रिय मेलमिलाप दुवैमा प्रत्यक्ष रूपमा बीपी भेटिन्छन् । मेलमिलाप नाम दिएर नेपाल फिर्तीको त्यो समय वास्तवमै बीपीको जीवनका निम्तिसमेत त्रासदीपूर्ण समय थियो त्यो । त्यही समय बर्मा, चिल्ली, बङ्गलादेश, पाकिस्तान आदिको राजनीतिसमेत त्रासदीपूर्ण नै थियो । त्यहाँका राजनेताहरू उनु र उवा स्वे, सालवाडर, मुजिवर रहमान, भुट्टो आदीको राजनीतिक घटनालाई लिँदा बीपीको नेपाल आगमनलाई सामान्य मान्न मिल्दैन । तर बीपीमा पटक्कै विचलन आएन । आफ्नो कालखण्डमा वासिङटन, लिङ्कन, चर्चिल र गान्धीले

जसरी इतिहास निर्माण गरे, नेपालका सन्दर्भमा गौरवमय इतिहास रच्न बीपी पनि सफल भए । 

तर तिनैै बीपीले परिकल्पना गरेको पार्टीले स्थापनाको लामो कालखण्ड सङ्घर्षमय रूपमा पार गरिसकेको छ । त्यो पार्टीको नेतृत्व आज भाषणका समय दर्जनौँ पटक बीपी कोइरालाकै नाम लिन्छ । तर यतिबेला समीक्षा गर्ने बेला आएको छ– बीपीद्वारा परिकल्पना गरिएको काँग्रेस इतिहासको समीक्षाको घडीमा आज कहाँनिर छ ? 

बीपी कालीन समयमा व्यवहार समावेशी थियो, अहिले विधान समावेशी छ तर व्यवहार भने आफूसँग वैचारिक रूपमा असहमतलाई दुस्मन ठान्ने प्रवृत्ति हाबी छ । राजनीति गर्ने व्यक्तिको जीवन बीपी कोइरालाकोझँै पारदर्शी हुनुपर्ने हो ।

तर अहिले काँग्रेस मात्र नभई सबै राजनीतिक दलका केही अपवादलाई छाडेर सबै नेताको जीवनशैली सम्भ्रान्त कुलीन वर्गमा रूपान्तरण भइसकेको छ । फाँसीको फैसलाको बाबजुद बीपीमा दृढ विश्वास थियो । बीपी स्वयम् आफैमा एउटा गति थिए । राष्ट्रियताका सन्दर्भमा मेरो एकता राजासँग तर लोकतन्त्रका सन्दर्भमा हाम्रो सङ्घर्ष स्वयम् तिनै राजासँग भन्ने मान्यतामा प्रष्ट देखिन्छन बीपी । तर त्यही पार्टीका नेताले तिनै राजाले दिएको प्रधानमन्त्री पदसमेत स्वीकार गर्न पुगे ।  पदका खातिर पार्टीसमेत टुट्फुट् गराउनुलाई सामान्य मानियो ।  यसले देखाउँछ आजका काँग्रेसको चित्र र चरित्र । 

काँग्रेसको आजको नेतृत्वले आफैभित्रको फरक विचारलाई समेत स्वीकार गर्न सकेको देखिँदैन । पार्टीभित्रको फरक विचारको समेत अस्तित्व स्वीकार गर्न नसक्ने नेतृत्वकाट राष्ट्रिय÷ अन्तर्राष्ट्रिय विश्वास आर्जनको कल्पना व्यार्थ छ । अर्कातिर जनजीविकाको सवालमा संसद र सडक दुवैतिरबाट नेकपाको सरकारलाई सच्याउन दबाब दिनुपर्ने काँग्रेस स्वयम् आफै सत्ताकै डिनरमा रम्न पुगेको छ । सरकारको नीति तथा कार्यक्रममा समेत आलोचनात्मक टिप्पणी गर्न नसक्ने काँग्रेसबाट धेरै आसा राख्नु नै मूर्खतापूर्ण हुने ठम्याइ लोकतन्त्रवादीहरूको छ । हिजो सत्ताको पर्खाल बाहिरबाट सत्तालाई हल्लाउन काविल मानिने बीपीको पार्टी आज प्रतीपक्ष भएर पनि सत्ताकै अङ्गको रूपमा देखापर्दैछ । यो अवस्था स्वयम् काँग्रेसकै लागि समेत दुभाग्यपूर्ण हो । 

इतिहासको खातामा वर्तमानमा समेत  प्रतिष्ठा थप्दै जानुपर्ने काग्रेस यतिबेला इतिहासको प्रतिष्ठा समेत माइनस गराउँदै छ । बीपीमा समय सापेक्ष नीति लिन सक्ने इच्छा शक्ति थियो । जनमत सङ्ग्रहको परिणामलाई स्वीकार गर्ने बीपीले त्यस पछिको पञ्चायतको चुनाव बहिष्कार गरेर गतिशील विचार निर्माण गरे । तर आजको काँग्रेस गति र दृढताभन्दा ज्योतीषीय शास्त्रमा विश्वास गर्दैछ । आज देशैभरका काँग्रेस जनमा पार्टीप्रति विश्वास भए पनि शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता नेतृत्वप्रतिको विश्वास र भरोसा गुम्दै गएको छ ।

बीपीप्रतिको श्रद्धा सुमन वा बीपीले लिनुभएको मेलमिलापको नीतिको सार्थकता त्यतिबेला रहन्छ, जतिबेला राष्ट्रिय राजनीतिको मियो शक्तिका रूपमा काँग्रेस केन्द्र भागमा रहेर बाँकी राजनीतिलाई आफ्नो वरिपरि घुमाउन सफल हुन्छ । महासमिति बैठकमा भएका छलफल, त्यसअघि केन्द्रीय समितिमा भएका छलफल, काँग्रेसले संसद र सडकमा खेलेको भूमिका हेर्दा लाग्छ काँग्रेस राष्ट्रिय राजनीतिका किनारामै पुगिसक्यो । काँग्रेस र काँग्रेसको विचारलाई राजनीतिको केन्द्र विन्दुमा ल्याउन अब काँग्रेसलाई पुनः एउटा बीपी चाहिएको छ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ