केन्द्रीय संस्करण

स्वतन्त्र र सार्वभौम नेपालको आधार, राष्ट्रिय एकता र मेलमिलाप !

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0

 कुनै पनि देश स्वतन्त्र, अखण्ड र सार्वभौम सम्पन्न बन्न त्यस देशका जनता भावात्मक एकतामा कार्यात्मक हुनु जरुरी हुन्छ । मन, वचन र कर्मकै त्रिभुजमा उद्देश्य र लक्ष्यले आकार ग्रहण गर्छन् । यसरी जनताको एकता निर्माणको मूल आधार स्वप्नदर्शी निस्पृह राजनेताहरूको चिन्तन, सोच र समय सान्दर्भिक विश्लेषणबाट उब्जिएका उदात्त दृष्टिकोण नै हुन्छन् । मूलतः एकतालाई सबल बनाउन मेलमिलाप, सहनशीलता, समावेशिता र हर आस्था मूल्य तथा मान्यताका जनसमुदायमा अपनत्व महशुस गराउन सक्नु अनिवार्य छ ।

जननायक बीपीले यिनै कुरा विश्लेषण गरेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त मूर्त एवम् सशक्त ढङ्गले अभ्यासमा उतार्न तीसको दसकपछि उब्जाएको सिर्जनात्मक अभियानको नयाँ अप्रोज वा दृष्टिकोणको नाम हो राष्ट्रिय एकता र मेलमिलाप । यतिखेर ने.का. बयालीसौँ राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने तरखरमा छ । भर्खरै एघार दिने महासमितिको बैठक सकेर दलभित्र औपचारिक एकताको घोषणासाथ नेता कार्यकर्ताहरू आफ्नो दलमा पुनर्जीवन दिने वाचासहित गाउँगाउँमा जाने प्रण लिएर फर्किएका छन् । पार्टीभित्रको गुटीय गञ्जक तोडिएको कुरा अब उनीहरूले व्यावहारिक रूपमा कत्तिको देखाउन सक्छन्, यो उनीहरूको परीक्षणको विषय छ । 

नेपालको भूराजनीति, दक्षिणपूर्व एसियाको तत्कालीन अवस्थाको विषम राजनीतिक दशा, विविधताको नेपाली समाज, युरोपियन मुलुकहरूको नेपालप्रतिको बढ्दो चासो आदिलाई मध्य नजर गरेर नै बीपीले राष्ट्रिय एकता र मेलमिलापको नीति रच्न पुगेका थिए । मूलतः त्यति बेला नेपाली काङ्ग्रेसलाई एकातिर नेपालको कमजोर हुँदै गएको राष्ट्रियतालाई जगेर्ना गर्न निरङ्कुश शासनसत्ता विरुद्ध सङ्घर्ष गर्नुपर्ने थियो भने त्यही तानशाही तागतसित मिलेर राष्ट्रिय अस्तित्वलाई सुरक्षित राख्नुपर्ने बाध्यता पनि थियो । मतलव राष्ट्रियताको सुरक्षार्थ ‘राष्ट्रिय मेलमिलाप’ र प्रजातान्त्रिक वा लोकतान्त्रिक अधिकारको सम्प्राप्तिमा ‘सङ्घर्ष’ अर्थात् ‘मिलाप र सङ्घर्ष’– दुईमुखे जटिल नीति तय गर्नुपर्ने कारण बीपीको राजनीतिक यात्रा खुकुरीको धारमाथिको साहसपूर्ण दौड जस्तै थियो । १९९७ वि.सं.देखि ०३२ सम्मका काल खण्डमा बीपीको नायकत्वले थुप्रै सशस्त्र र निःशस्त्र क्रान्ति र आन्दोलनलाई संवरण गरेको अनुभव र बदलिँदो विश्व राजनीतिकै सन्दर्भको उपज थियो राष्ट्रिय मेलमिलाप । 

राष्ट्रिय एकता र मेलमिलापको औचित्यलाई स्पष्ट पार्दै भारतमा निर्वासित रहेका आफ्ना साथीहरूलाई सम्झाउँदै बीपीले भने– हाम्रो देश आज राष्ट्रिय सङ्कटमा छ । यता केही वर्षदेखि यो सङ्कट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरूले पनि स्वीकार गरेका छन् । महाराजधिराज तथा अन्यले समेत बखत बखतमा राष्ट्रिय अस्तित्वमाथि परेको खतराको चर्चा गरेका छन् ।

यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कँदै छौँ । मेलमिलाप भनेको २०१७ सालमा जुन राजा र जनताको बीचमा एउटा ठूलो पर्खाल खडा गराइयो, त्यो पर्खाललाई तोडेर राजालाई जनताका समक्ष ल्याउने प्रयास नै मेलमिलापको प्रयास वा यत्न हो । यसैले मेलमिलापको दुईवटा अडान रहेको छ–१ राष्ट्रियता, २ प्रजातन्त्र, जसको राजासितको सम्बन्धमा यसको अन्तरविरोधी सम्बन्ध छ । राष्ट्रवादी र प्रजातन्त्रवादीलाई एक स्थानमा एकत्रित हुन आह्वान नै मेलमिलापको अन्तर्य हो ।

अझ अघि बढेर बीपीले भने– ‘आदर्श निर्विकल्प हुन्छ, साधन निर्विकल्प हुँदैन । हामीले अहिले जुन नीति लिएका छौँ, त्यो परिस्थितिले निर्धारित गरेको सङ्घर्षको एउटा रूप हो ।’ मूलतः बीपीले राष्ट्रियतालाई आदर्श, प्रजातन्त्रलाई सिद्धान्त र समाजवादलाई कार्यक्रमका रूपमा बुभ्mने बुझाउने प्रयत्न गरेका थिए । उनी यो निक्र्योलमा पुगे कि राष्ट्रियताको रक्षाका लागि प्रजातन्त्र गौण हुन्छ । राष्ट्रियताको प्रथम र अन्तिम तत्व जनता नै हुन् भनेर निक्र्यौल गरेका बीपीले राष्ट्रियताका तीन स्तम्भलाई यसरी उभ्याए : १. जनता, २. तिनका अगाडि उपस्थित भएका समस्या र समाधानको सामूहिक प्रयत्न, ३. अनि प्रयत्न गर्दा अनुभूति भएको एकताको भावना । बीपी धूर्त तानशाह र भ्रष्ट राजनीतिज्ञले आफ्नो स्वार्थ सिद्धि गर्न र जनअधिकार कुल्चन राष्ट्रियतालाई हतियार पनि बनाउँन सक्छन् भनेर सचेत पनि गराउनुभएको छ ।

आजको सन्दर्भमा राष्ट्रिय मेलमिलाप 
दिवस, जयन्ती वा उत्सव मनाउनु भनेको विगतप्रतिको कर्मकाण्डीय आस्था नभएर ती अभियान र व्यक्तित्वहरूले देशको बहुपक्षीय उन्नयनमा प्रदत्त देनलाई स्मरण गर्दै हाम्रो वर्तमान र आगामिताको सही गन्तव्य के हो ? भनेर जिज्ञासा तथा कार्यान्वयनको दिग्दर्शन गर्नु नै हो ।

यतिखेर नेपालमा क्रियाशील भएका मूल धारका दलहरू आवरणमा दल भनेर सम्बोधित भए पनि यथार्थमा गुटहरूको महासङ्घ प्रतीत भइरहेको छ । सबै नायकहरू गुट बलियो बनाएर पार्टी कब्जा गर्ने र त्यहीमार्फत सरकारको निर्माण गरी संविधालाई नै गलत ढङ्गले प्रयोग गर्ने रणनीतिमा छन् । हिजो एकजुट भएर लक्ष्य प्राप्तिका लागि सहयोद्धा बनेका राजनीतिक दलहरू आज विभक्त मात्र हैन, एकअर्कालाई पाएसम्म सिध्याउने तल्लो स्तरको खेलमा सक्रिय देखिएका छन् ।

राष्ट्रिय मेलमिलाप आजको सन्दर्भमा सन्तुलित राजनीतिको आभा बन्न सक्नुपर्छ । वर्गीय, लिङ्गीय, जातीय, क्षेत्रीय, धर्मिय अधिकारका लागि सङ्घर्ष र राष्ट्रिय हितका लागि मेलमिलाप यो पहिलो पक्ष हो । दोस्रो पक्ष दुईतिरका छिमेकी देश र युरोपियन मुलुकसितको हाम्रो सम्बन्धलाई नयाँ शिराबाट सम्बोधन गर्नसक्ने रणनीति बनाउनु हो । स्वस्थ, सन्तुलित तथा शालीन रूपमा हाम्रो राजनय (कूटनीति) प्रकटीकृत गराउने क्षमताको विकास राष्ट्रिय एकतामार्फत हुन जरुरी छ । बीपीले आदर्शको प्रतीक राष्ट्रियता कमजोर पार्न देशी वा विदेशी गलत तागत सलबलाएर हामीलाई भ्रमित बनाउन सक्छन्, जसले हामीमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशीको मुख ताक्ने आजको भाषामा भन्नुपर्दा लम्पसारवादले गाँज्ने थिति आउन सक्छ । यसैले त्यस्तो अवस्थामा हामी व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतरासामु गौण मान्दै देश वा राष्ट्र रहेन भने हामी रहन्नौँ भन्ने कुरा हेक्का गर्नुपर्छ । किनकि राष्ट्र बचाउने दायित्व सबैको साझा हो । वास्तवमा नेपालको सन्दर्भमा राष्ट्रिय एकता र मेलमिलाप नेपाली राजनीतिको मौलिक र सार्वकालिक सिद्धान्त हो भन्दा फरक पर्दैन ।

हो समय क्रममा पात्र र प्रणालीमा फेरबदल होला तर एकता र मेलमिलापविनाको राजनीतिले न त आन्तरिक एकताको सबलता पाउँछ, न त बाह्य देशको शुभेच्छा तथा सहयोग नै । आजको भूमण्डलीकरणको संसारमा राष्ट्रलाई समृद्धिको दिशातिर लैजान अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रिय एकतामार्फत अनुमोदित मुद्दाहरू मुखर गराउन सक्नु कुनै पनि देशको कूटनीतिक खुबी ( डिप्लोम्याटिक ट्यालेन्सी) हो । बिस्तारै आर्थिक परनिर्भरता हटाएर नेपालको जल, जमिन, जङ्गल र जनशक्तिको उपयोग गर्नु भरिलो राष्ट्रवाद हो । यस्तो अवस्था मेलमिलापकै धरातलमा टेकेर हुनसक्छ । राष्ट्र समृद्ध र जनता सुखी त्यो बेला हुन्छन्, जब राष्ट्रमा क्रियाशील राजनीतिक शक्तिगृहहरू एकीकृत राष्ट्रिय दृष्टिकोणबाट अनुबद्ध भई देशको सर्वाङ्गीण विकासमा हातेमालो गर्छन् ।

विद्यमान संविधानका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, सीमान्तकृत एवम् पिछडिएका वर्गहरूको पहुँचलाई स्थापित गर्न सरकार प्रमुख प्रतिपक्षीलगायत प्रतिपक्षी दलहरू, नागरिक समाज, विभिन्न जनसमुदाय राष्ट्रिय एकता र मेलमिलापको अभियानमा मन वचन तथा कर्मले लाग्नै पर्छ । त्यसैले स्वतन्त्र अखण्ड र सार्वभौम नेपालको आधार मात्र एकता र मिलाप हो । यो दिवस सार्थक पार्नु आज सबै दलको लागि अनिवार्य कर्तव्य हो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...