केन्द्रीय संस्करण
विचार

इतिहास किन पढ्ने ? कसरी बुझ्ने ?

हाम्रो इतिहास राजामहाराजाहरुका वंशावली, तिनिहरुले जितेका लडाइहरु वा तिनको श्रीमतीहरु बीचमा भएको झगडा पढाउने कुरामा सीमित

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0
आहुति

रातोपाटी

नेपालमा इतिहास भनेर जे विषयलाई लामो समयसम्म पढाइयो वा जोड दिइयो, इतिहासको दायरा त्यति मात्र हुँदो रहेनछ । इतिहास कसले लेख्यो र किन लेखियो भनेर प्रश्न उठाउनुपर्ने पनि रहेछ । पहिलो साहित्यिक कृतिमा लेखक सबैभन्दा बढी व्यक्त हुन्छ भनेजस्तै, इतिहासमा पनि लेखक वा इतिहासकार आफू व्यक्त हुने प्रयत्न गर्छ, सचेत रुपमा र अचेत रुपमा पनि । जस्तै बाबुराम आचार्यले सगरमाथा भनेर नाम राख्नुभयो । त्यसमा के व्यक्त भयो त ? जबकी त्यसको परम्परागत नाम त चोमोलोङ्मा थियो । स्थानीय भाषामा अहिले पनि छ । बाबुराम आचार्यले त्यसलाई सगरमाथा भन्नुभयो । त्यहाँ बाबुराम आचार्य हुर्किएको सभ्यता व्यक्त भयो । उहाँ हिन्दु हुनुहुन्थ्यो । संस्कृत परिवारबाट आउनु भएको थियो र खस नेपाली भाषी हुनुहुन्थ्यो । त्यसैले बाबुराम आचार्य इतिहासकार व्यक्त हुनुभयो ।

अङ्ग्रेजहरुले नाम राखे एभरेस्ट । एभरेस्ट भन्ने व्यक्ति सगरमाथा मापनका जर्नेल थिए । त्यहाँ उनको नाम व्यक्त भयो । इतिहासको सन्दर्भमा इतिहास कसले लेख्छ, किन लेखिन्छ भन्ने कुराले ठूलो महत्त्व राख्छ ।

म सानो कुराबाट सुरु गर्न चाहन्छु । पूर्व पश्चिम राजमार्ग वि.पि को पालादेखि नै १५÷ १६ सालतिर बनाउने भनेर रुसीहरुसँग छलफल भयो र महेन्द्रले २०१९ सालमा गैँडाकोटमा त्यसलाई सिलन्यास गरे । अहिलेसम्म हामीलाई के पढाउँदै आइएको छ भने राजनेताहरुले, जुन कुरा गर्दा पूर्व पश्चिम राजमार्गले नेपाललाई पुँजीवादी ढङ्गले जोड्यो, पश्चिम र पूर्वलाई जोड्यो, तराई र पहाडलाई जोड्यो भन्ने एउटा पक्षमा छलफल गरिन्छ । तर, पूर्व पश्चिम राजमार्ग त्यहाँ किन बनाइयो, जहाँ अहिले छ । जहाँ बनाइएको छ, त्यहाँ परम्परागत शहर कुनै पनि थिएन । भन्नै पर्याे भने बुटवलपारिको खस्यौली अलि नजिक थियो । कृष्णनगर, जुन ठूलो परम्परागत शहर पर्दथ्यो, त्यसलाई पूर्व पश्चिम राजमार्गले छुनै मानेन । अरु त अरु गौतम बुद्ध जन्मेको ठाउँ त छोएको भए हुन्थ्यो, त्यो पनि छुन मानेन । भैरहवा परम्परात रुपमा शहर थियो । कपिलवस्तु, भैरहवा जान पनि मानेन । लुम्बिनी पनि गएन र त्यो बुटवलबाट आयो । त्यो लगातार आयो र चितवन प्रवेश गर्याे । चितवनको नारायणघाट शहर त्यस्तो थिएन, जस्तो अहिले छ । त्यहाँ थारुहरुको बस्ती थियो । वीरगञ्जलाई पनि छोएन । वीरगञ्ज काठमाडौँ पछिको मुख्य नाका र काठमाडौँपछिको राज्यले लगानी गरेको मुख्य शहर हो । तराईमा बयलवास भन्ने शहर थियो । त्यो सर्लाहीमा पर्छ । त्यहाँ पनि गएन । लालबन्दी हुँदै गयो । अहिले सीता र जनकको ठूलो– ठूलो कुरा गरिन्छ तर त्यो राजमार्ग जनकपु्र गएन । त्यो ढल्केबरबाट सिधै लाग्यो । यसरी हुँदाहुँदा त्यसले बिराटनगर पनि छोएन । माथि माथि हुँदै काँकडभिट्टा पुग्यो ।

यो सडकको इतिहासलाई मात्र अध्ययन गर्याै भने आजको मधेशी जीवन ध्वस्त हुनुको एउटा मुख्य कारण यही हो । मधेशी जनताले बनाएका जति पनि मुख्य शहरहरु थिए, त्यसलाई मूल सडकले छोएन । पहाडका मानिसहरु झरेर जहाँ बस्ती बसाउन सम्भव थियो, त्यहाँ ल्याएर सडक बनाइदियो । ठूलो राजमार्ग जहाँ हुन्छ, त्यही मान्छे केन्द्रित हुने हो । त्यसकारण पुराना शहर सुक्न थाले । बयलबास, कृष्णनगर, लुम्बिनी, भैरहवा पनि छाँयामा परे । तर, बुटवल अगाडि आयो । त्यसपछि नारायणगढ, बर्दिबास अगाडि आयो । भनेपछि पूर्व पश्चिम राजमार्गको सडक निर्माणको इतिहासलाई मात्र पनि हामीले आलोचनात्मक ढङ्गले हेर्यौ भने यो कसरी संरचित गरियो? कुन स्वार्थले गरियो ? भन्ने कुरा बुझ्न सकिन्छ । हेर्दा सडक तर त्यसले नेपाली समाजलाई उलटपुलट गरिदियो । मधेशममा हुने झगडा, जुलुस आदिको कारण हो पूर्व पश्चिम राजमार्गको निर्माण  ।

इतिहास वर्तमानको गर्व हो । जहाँबाट वर्तमान जन्मिन्छ । वर्तमान फेरि इतिहास हुन्छ भविष्यका निम्ति । यसरी हेर्ने हो भने हाम्रो इतिहासलाई राजामहाराजाहरुका वंशावली पढाउने बढीमा तिनिहरुले जितेका लडाइहरु पढाउने वा तिनको श्रीमतीहरु बीचमा भएको झगडा पढाउने कुरामा सीमित गरिदियो ।

नभएको कुराहरु भन्ने परम्परा छ । जस्तै बिसे नगर्ची चर्चित छन् । राष्ट्रिय सङ्ग्रहालय स्वयम्भुमा गयो भने बिसे नगर्चीको फोटो देखिन्छ । हातले बनाएको होइन, क्यामराले खिचेको । जबकि पृथ्वीनारायण शाहको पनि फोटो छैन । मेरो अध्ययनमा पहिलो फोटो चन्द्रशमशेरको हो । १८८३ मा गोरखापत्रमा उनको जन्मदिनको शुभकामना दिएर छापिएको थियो । पृथ्वीनारायण शाहको पालामा क्यामरा नै आइसकेको थिएन । संसारमा त्यस्तो क्यामरा  विकसित नै भएको थिएन । सङ्ग्राहलयमा त्यस्तो क्यामराको प्रयोग गरेर बिसे नगर्चीको फोटो टाँसिएको छ । त्यो सत्य होइन । अरु मान्छेको फोटो प्रयोग गरेर बिसे नगर्चीको फोटो टाँसिएको हो । त्यसलाई ऐतिहासिक शृङ्खलासम्म जोडेर हेर्र्यौ भने राज्यले एउटा झुट बिम्बको निर्माण गरेको रहेछ । यो उदाहरण किन राखिएको हो भने कसरी इतिहासलाई तोडमोड गरिन्छ ? बिसे नगर्ची पृथ्वीनारायण शाहको राज्यविस्तारमा सहयोग गरेको मानिस हुनाले उनको इतिहासलाई गौरवान्वित गराउने प्रयत्न हो  । त्यसको निम्ति राज्य नै झुटको लागि खडा भयो । त्यसैले मेरो विचारमा इतिहासको अध्ययन आलोचनात्मक हुनु जरुरी छ ।

जस्तो कि समृद्धि गर्छौ भनेर हल्ला चलेको छ । तर राज्यका मानिसले भन्दैनन् नेपाल गरिब हुनको इतिहास के हो ? यसको ऐतिहासिक शृङ्खला होला नि । हाम्रो देश गरिब पैदा भएको त होइन । हामीसँग गरिबीको इतिहास नै छैन । यो देश किन गरिब भएको हो भन्ने उत्तर दिएर त्यो कमजोरी हटाएपछि  धनी हुने होला । जस्तो, म सँग पैसा छैन भनेपछि किन छैन भन्ने थाहा भएपछि मात्र पैसा जोगाउने उपाय आउने होला नि । देश किन गरिब भएको कोही पनि भन्नेवाला छैनन् । सबैले समृद्धि गरिदिन्छु भनेका छन्, कसैले किन गरिब भएको भन्दैनन् । संसारमा भारतको पटनालाई पूर्वको राजधानी भनिन्थ्यो । नेपालको बाग्मती उपत्यकालाई एउटा समृद्ध शहर मानिन्थ्यो । यहाँको ललितकला देखि लिएर हरेक चिजमा चीन र भारत एकदम लोभिन्थे । त्यति सानदार ठाउँ थियो यो । उब्जनीको हिसाबले पनि र सबै हिसाबले पनि । गरिबी कहाँबाट सुरु भयो त ? यसको इतिहास के हो ? वास्तवमा सरल कुरा के हो भने जंगबहादुर जुनवेला बेलायत गए, त्यो बेला आफ्नो सत्ता टिकाउन बेलायतीको सहयोग मागे । बेलायतीहरुको हरेक सर्तहरु मान्न तयार भए । त्यसैको शृङ्खलामा १८८२/८३ मा चन्द्रशमशेर जब बेलायत गए, बेलायतीको चार पाँचओटा सर्त मानेर आए ।

पहिलो सर्तः फलाम खानी र तामा खानी नेपालमा बन्द गर्नुपर्याे । फलाम र तामा खानी बन्द गरेपछि त्यो बेला मुख्य चाहिने भनेको ज्यावल, भाँडाकुडा हो । त्यो त अब ब्रिटिस इन्डियासँग किन्नु पर्याे । कृषि युगको निम्ति महत्त्वपूर्ण फलाम हो । त्यो नभई हाम्रो जीवन चल्न सक्दैन । एक टुक्रा फलाम पनि हामीले चन्द्र शमशेरको पालापछि ब्रिटिशसँग किन्नुपर्ने भयो । हामीले कमाएको सम्पत्ति अब उता बुझाउनु पर्ने भयो ।

दोस्रो निर्णयः कपास खेती बन्द गर्ने । अहिलेको पर्सादेखि सुनसरीसम्म कपास खेती थियो । कपास लगाउन मगरहरु एकदमै खप्पिस भएको हुनाले पश्चिमबाट मगरहरुको बस्ती त्यहाँ सारिएको थियो । कपास खेती बन्द भयो । अहिले पो प्लाष्टिकको लुगा आयो । त्यतिबेला नेपालमा मुलतः सुतीका कपडा कपासबाट बन्दथ्यो ।  कपास बाहेक सिस्नु, केरा, ऊन बाट बन्दथ्यो । प्रत्येक जातीले आफ्नो ठाउँबाट बनाउँथे । हाम्रो पैसा त हामीसँगै रहिरहन्थ्यो । कपास खेती बन्द भएपछि जब सुती किन्न पर्ने भयो, हामीले कमाएको पैसा फेरी ब्रिटिस इण्डियालाई दिनुपर्याे ।

तेस्रो निर्णयः उनले गाँजा खेती बन्द गरे । अहिले त गाँजालाई धेरै नराम्रो चिज मानिन्छ । त्यतिवेला गाँजा र कागती नेपाली समाजको विशिष्ट औषधि थिए । प्रत्येक घरमा कागतीको बोट र प्रत्येक घरमा गाँजा । गाँजाको अचार खाए पनि हुन्थ्यो, औषधिको रुपमा ग्यास्ट्रिकमा प्रयोग गरे पनि हुन्थ्यो । मात्नै मन लागे पनि शान्तिपूर्वक मात्ने चिज हो । गाँजा खाएर कोही पनि झगडा गर्दैन । अत्यन्त शालीन प्रकारको मद हो त्यो । त्यसले उत्तेजित बनाउँदैन । त्यो हाम्रो परम्परागत औषधिसँग सम्बन्धित थियो । तर,गाँजा बन्द गर्याे । किनकि ब्रिटिसले  हामीलाई चुरोट बेच्न चाहन्थ्यो । गाँजा बन्द भएको एक महिनापछि नेपालमा सित्तैमा चुरोट बाँड्न थालियो । चुरोटको बानी परेपछि जत्ति पैसा बढाए पनि भयो । त्यहाँबाट हाम्रो पैसा बाहिर गयो । त्यसरी सुरु हुन्छ हाम्रो गरिबीको इतिहास । 

त्यो घर गरिब हुन्छ, जसको घरमा कमाएको पैसा रोकिदैन । अहिले नेपालीहरुले पैसा नकमाएको भएर धनी नभएको हो र ? पचास लाख नेपालीहरु विदेशमा छन् । के पैसा सबै उतै राखेका छन र ? पठाइरहेका छन् । इण्डियामा मात्र ४०/५० लाख कमाइरहेका छन् । केही न केही पैसा उनीहरुले ल्याइरहेका छन् । नेपालभित्र शिक्षक, कर्मचारी, सिपाही सबैले पैसा कमाइरहेका छन् । तर, कोरियामा ४ वर्ष बसेर एक करोड पैसा लिएर आएको तर एयरपोर्टमा ओर्लेदेखि त्यो पैसा कोरिया पढाउन थाल्नुपर्याे । जबकि तपाईले गाग्रीमा पानी हाल्नुभयो र तल प्वाल पार्नुभयो । कति रहन्छ ? तपाइसँग फलाम पनि छैन, तामा पनि छैन, सुती पनि छैन । केही पनि चिज हामी उत्पादन गर्दैनौँ । 

समृद्धिको आशा कसलाई हुँदैन ? त्यो सबैलाई एकदमै प्यारो लाग्ने नारा हो । यसपालिको बजेट भाषण सुन्नुभयो भने बजेटमा रुग्ण उद्योगलाई फेरि अगाडि ल्याउन शीर्षक नै छैन । जब केही चिज यहाँ उत्पादन नै हुँदैन भने पैसा बच्छ कहाँबाट ? कसरी समृद्धि भयो ? बिद्वानले भनेको सुन्छु पर्यटन हाम्रो निम्ति समृद्धिको मूल बाटो हो । पर्यटन भनेको सेवा क्षेत्र हो । पर्यटनबाट रोजगारी बृद्धि हुन्छ, तर देशको समृद्धि हुँदैन । माल्दिभ्स जस्तो बन्छ देश ।

नेपालको उद्योगधन्दाको इतिहास पनि रोचक छ । पहिले मलाई पनि धेरै समयसम्म नेपालको पहिलो उद्योग भनेको विराटनगर जुट मिल हो भनेर पढाइयो । हेर्दै जाँदा त्यो दोस्रो रहेछ । पहिलो उद्योग कुन रहेछ भने चिनियाँ सम्राटले जङ्गबहादुरलाई चियाको बोट सहित चिया उपहार पठाए । त्यसपछि जङ्गबहादुरको एउटा ज्वाई इलाममा बडा हाकिम थिए । उनले इलामको जमिनमा चिया रोपे । चीनबाट ल्याएर कम्पनी खडा गरियो । चिया प्रशोधन गर्ने मेसिन सुनको जलप लगाएको उपहार दिएका थिए । चिया उत्पादन गर्न थालियो । त्यो पहिलो उद्योग थियो । त्यहाँ अहिले पनि व्यापार चलिरहेको छ । त्यो पहिलो चिया उद्योग थियो । त्यो चिया बगान सहित नेपाल सरकारका नाममा भएका सात ओटा चिया बगान २०५८ सालमा नेपालको सरकारले सिङ्घाई थर भएको भारतको चिया व्यापारीलाईसम्झौता गरेर दियो । सिङ्घाईलाई हजारौँ बिगाहा जमिन दियो । उसले नेपाल सरकारलाई एक पैसा बुझाएको पनि छैन र त्यहाँ चिया फल्न पनि छाडेको छैन । त्योे के सम्झौता हो भनेर सुचना आयोगसँग एउटा पत्रकारले माग्न जाँदा सुचना आयोगमा पनि छैन भन्यो । समृद्धिवाला कुरा यहाँ ठोकिन्छ । 

नेपालमा उद्योग धन्दा किन भएन ? रुसले जनकपुर चुरोट कारखाना बनाइदियो । चीनले हेटाँैडा कपडा उद्योग, बाँसबारी छाला जुत्ता कारखाना बनाइदियो । बाँसबारी छाला कारखाना वर्षभरि छालाका जुत्ता उत्पादन गरेर बेच्ने, जति बिक्दैन त्यो वर्षको अन्त्यमा चीनले किनेर लैजाने । घाटामा जान्छ त अब ? नेपालमा जति पनि ठूला उद्योग भए, ती सबै मागेर ल्याइएका उद्योग थिए । आफ्नो कर्मले निर्माण गरिएको उद्योग थिएनन् । भिख मागेर ल्याएको हो । नेपालको सत्ताले नेपालको अर्थतन्त्र निर्माणमा भने घुस र तलब बाहेक केही पनि खाएन । तलब, कमिसन र घुस । मुल पक्ष हो यो । यसभित्र इमान्दार पर्दैन भन्न खोजिएको होइन । नेपालले चिया उद्योग पनि बेचेर खायो । जुट मिल सकिनै लागेको छ । जनकपुर चुरोट कारखाना, हिमाली सिमेन्ट, हेटौँडा कपडा उद्योग पनि खाइहाल्यो । नेपालको सत्ताले अर्थ निर्माणमा गर्याे के त ? नेपालको सिंगै इतिहासमा सत्ताले गरेको के ? पूर्व पश्चिम राजमार्ग रुसले बनायो । अरनिको राजमार्ग, पोखरादेखि बाग्लुङ चीनले बनायो । त्रिभुवन राजपथ इण्डियाले बनायो । २००७ सालदेखि आजसम्म करिब ६८ वर्षको बीचमा नेपाली जनताले तिरेको करबाट यो सत्ताले बनायो के ?यसरी उद्योग धन्दाको इतिहासलाई हेर्दै जाने हो भने नेपालको सत्ताले विदेशीहरुले दिएको खाने र विदेशीहरुसँग गुलामी गरेर बाहेक काम केही पनि गरेन । रिङ्ग रोड चीनले बनायो । भक्तपुरसम्मको सडक चाइनाले बनायो । के गर्याे त यहाँको सत्ताले? पैसा मात्र उठायो । कर पनि उठायो । फिल्म हेरेको समेत कर छाडेको छैन । दशरथ रङ्गशाला मर्मत गर्न सक्दैन, अर्काले बनाइदिएको हो । इतिहासलाई हेर्दै जाँदा हामी कस्तो ठाउँमा पुग्छौं भने हाम्रो मुल पेचकिला कहाँबाट फुस्किएको छ भने हामी आफ्नो ठाउँमा उत्पादन नगरी विदेशीको भर पर्दै गयौँ ।

समृद्धिको आशा कसलाई हुँदैन ? त्यो सबैलाई एकदमै प्यारो लाग्ने नारा हो । यसपालिको बजेट भाषण सुन्नुभयो भने बजेटमा रुग्ण उद्योगलाई फेरि अगाडि ल्याउन शीर्षक नै छैन । जब केही चिज यहाँ उत्पादन नै हुँदैन भने पैसा बच्छ कहाँबाट ? कसरी समृद्धि भयो ? बिद्वानले भनेको सुन्छु पर्यटन हाम्रो निम्ति समृद्धिको मूल बाटो हो । पर्यटन भनेको सेवा क्षेत्र हो । पर्यटनबाट रोजगारी बृद्धि हुन्छ, तर देशको समृद्धि हुँदैन । माल्दिभ्स जस्तो बन्छ देश । माल्दिभ्समा तीन लाख जनताहरु छन् । बाह्र लाख पर्यटक आउँछन् । प्रत्येक एक जनाको निम्ति खर्च चार जना पर्यटकले दिन्छ । पर्यटक आउँछ, पैसा त दिन्छ तर सबै पैसा उतै फर्केर जान्छ । सेवा क्षेत्रको विस्तारले मुख्य रुपमा समृद्धि हँुदैन । समृद्धिको लागि उत्पादन चाहिन्छ । नेपालमा कस्तो इतिहास रह्यो भने अनुदान लिने चलन भयो । जसले सबैभन्दा बढी अनुदान लियो, त्यो नेता च्याम्पियन भयो । जसले भिख माग्न सक्यो, त्यो एकदम राम्रो भयो । यस्तो दृष्टान्त भयो । विदेशीहरुले हामीलाई पैसा दिएर मात्र हामी धनी हुन्छौँ भन्ने दिमागमा परि नै सक्यो । कुरा त्यसो होइन, तपाईले श्रम गर्नुभएको छ । त्यसबाट पुँजी आउँछ । त्यो पुँजी आफ्नै देशमा कसरी जोगाउने भन्ने पो सबाल भयो । अरुले दिएर त उतै जान्छ । भुकम्पमा भारतले यति दिन्छु र उति दिन्छु भन्छ । जति दिए पनि के भयो र ? आखिर त्रिपाल किन्न त उतै जाने  हो । चामल पनि उतैबाट किन्ने हो  । प्लेनबाट ल्याएर पानी खन्याइदिए जस्तो भयो । आखिर बगेर त उतै जाने हो । प्रत्येक विदेशीलाई के थाहा छ भने हामीले पैसा दिए पनि फर्केर जाने त उतै हो । त्यसले ऐतिहासिक रुपमा हाम्रो अवधारणा नै बिगार्यो । विदेशीको सहयोग लिएर हामी विकास गर्छौ भन्ने ऐतिहासिक दृष्टान्त बनाइदियो । तपाइले महिना दिनभरि काम गरेर ल्याएको पैसा खर्च नगरी जोगाउन थाल्नुभयो भने त तपाई धनी हुनुभयो नि ।

नेपालमा  अनुदान लिने पनि इतिहास छ । शासकहरुले मोटो रकम कमिसन पाउने रहेछन् । अहिले नेपालमा एघार हजार जति साना जलविद्युत सम्भव छन् । त्यसबाट विद्युत निकाल्ने हो भने दश हजार मेगावाट दश वर्षमा बिजुली निकाल्न केही गाह्रो छैन् । हाम्रै पुँजीले नै  निकाल्न सकिन्छ  । यो देशलाई चाहिएको बिजुली कति ? अहिले ७०० मेगावाट निकालिएको छ तर नेपाललाई आवश्यक १३०० मेगावाट छ । तपाईले घर चलाउने हो भने योजना  बनाउँदा अहिलेको बनाउनुहुन्छ कि ५० वर्ष पछि म कति कमाउने भन्ने सोच्नुहुन्छ  ? तपाईले सुरुमा त तीन महिनाको प्लान गर्नुहुन्छ ।  तपाईले दश वर्षपछि यति कमाउछु भनेर अहिले सोच्नुहुन्छ र ?

इतिहासको अध्ययन गर्ने भनेको आलोचनात्मक चेतसहित हुनुपर्याे । राजमार्गबाट सुरु गरें । अनुदानको इतिहासमा गएर अन्त्य गर्दैछु । त्यसकारणले हाम्रो देशमा इतिहास भनेर जे चिज भँिरदै गयो त्यो खास वर्ग खास जमातहरुको निकै ठूलो फाइदाको डिजाइन भित्र पर्दछ । त्यहाँ भन्दा बढी अरु केही पनि होइन । त्यसकारण जति पनि इतिहास भनेर पढाइन्छ त्यो मात्र इतिहास होइन । त्यसलाई पनि पुरानो भाषामा ‘कप्परछान’ गर्ने भन्छ ।

१३०० मेगावाट बिजुली भए हामीलाई पुगिहाल्यो । २००० मेगावाट बनाउने हो भने पाँच वर्षमा बनाइहाल्छौँ । पहिला त यो देशलाई जति चाहिन्छ त्यति बनाउनुपर्याे  । अनि पो विदेशलाई बेच्ने सोच्नुपर्याे । १००० मेगावाट बनाउन पर्याे भने न्युनतम पनि २०/२५ अर्ब पैसा चाहियो । २०/२५ अर्ब लिएर जो आउँछ बैधानिक रुपमा नै अन्तराष्ट्रिय स्तरमा तीन प्रतिशत कमिसन खान्छ । जब भ्रष्ट देशमा आइसकेपछि वैधानिक यहाँ चल्दैन्,ा अवैधानिक दिनुपर्छ भनेर ५/१० प्रतिशत छुट्टै दिन्छन् । २० अर्बको पाँच प्रतिशत कति भयो ? कसैले चुनाव लड्नुपरेको छ, प्रधानमन्त्री हुनु परेको छ  सात पुस्तादेखि नकमाएको पैसा कमाउनु परेको छ । अब कसले ३० मेगावाट बनाउन जान्छ ?  ७०० मेगावाट ताक्छ । अनि जनताको अगाडि मै हुँ बन्यो । जबकि ७०० मेगावाट जानेको मान्छेलाई के थाहा छ भने अन्तराष्ट्रिय स्तरमा आइसकेपछि त्यो बनाउन १५ देखि २० वर्ष लाग्छ । ३० वर्ष उसले खान्छ र ५० वर्षपछि मर्मत गर्ने भाग हामीलाई छाडेर जान्छ ।  । अबको ५० वर्षपछि हामीले नाफा कमाउने हुन्छ  ? अबको ५० वर्षपछि पनि दुनियाँमा पानीबाट विजुली निकाल्ने भन्ने विज्ञान होला त ? प्रत्येक महिना विज्ञान प्रविधि यसरी फड्को मारिरहेको छ,  ५० वर्षपछि उसले खाइसकेपछि हामीले नाफा कमाउँला भनेर ५० वर्षपछि यही हाइड्रोपावर कुरेर बस्ला त विश्व ? बस्दैन । अहिलेको विज्ञान प्रविधिको विकासलाई हेर्दा ५० वर्षपछि ठूला ठूला पोखरी खनौँला, टर्वाइन घुमाउला, बिजुली निकालौंला अनि भारतलाई बेचाँैला भन्ने हाम्रो मूल दृष्टिकोण नै खतम,  अवैज्ञानिक र कचकचे छ । यो भाषण गर्न मात्र काम लाग्छ । मानिलिऔं, ५० वर्षपछि पनि यही जलविद्युत बाँकी रह्यो भने २ ओटा खतरा छन् । एउटा हाम्रो देश हिमाली, पहाडी, भित्री मधेश र तराई क्षेत्र भएको देश हो । सबै ठूला पोखरीहरु हामी पहाडमा बनाउनुपर्ने हुन्छ । तराईमा बनाएर विजुली निस्किन्न । महाकालीमा, अरुणमा, तामाकोशीमा, बुढीगण्डकी, पश्चिम सेती, करौडौ लिटर पानी जम्मा गर्ने । हामी पहाडमा यति ठूला ठूला जलाशय बनाउँदै छौँ भुकम्पीय जोखिम भएको देशमा । च्छोरोल्पा फुट्न लाग्यो भने जनकपुरमा पनि हाहाकार मच्चिन्छ । च्छोरोल्पा भन्दा ५/६ सय गुना बढी ठूला तालहरु पहाडभरि बनायो भने यो देशको हालत के हुन्छ ?  वास्तवमा यसको इतिहास भनेको उत्पिडित राष्ट्रका भ्रष्ट मानिसले पैसा कमाउने तरिका हो, अरु केही पनि होइन । पैसा आयो बाँसवारी छाला जुत्ता कारखाना बेचिदियो । अस्ति एउटा नेताले भन्दै थियो बाँसवारी छाला जुत्ता कारखाना नीजिकरण गरेर के भयो ? पहिला छालाको जुत्ता सिलाइन्थ्यो अहिले मान्छेका मुटु सिलाइन्छ । के भन्या त्यो ? कस्तो बुझाइ ? कसरी दिमाग निर्माण भएको ? कसरी सुचनाहरु संकलन गरेको ? कसरी प्रशोधन गरेको सुचना ? 

मेरो यत्ति मात्र भनाइ छः इतिहासको अध्ययन गर्ने भनेको आलोचनात्मक चेतसहित हुनुपर्याे । राजमार्गबाट सुरु गरें । अनुदानको इतिहासमा गएर अन्त्य गर्दैछु । त्यसकारणले हाम्रो देशमा इतिहास भनेर जे चिज भँिरदै गयो त्यो खास वर्ग खास जमातहरुको निकै ठूलो फाइदाको डिजाइन भित्र पर्दछ । त्यहाँ भन्दा बढी अरु केही पनि होइन । त्यसकारण जति पनि इतिहास भनेर पढाइन्छ त्यो मात्र इतिहास होइन । त्यसलाई पनि पुरानो भाषामा ‘कप्परछान’ गर्ने भन्छ । जडीबुटी भुटेर कपडामा छानेर झोल निकाल्नेलाई कप्परछान भनिन्थ्यो । त्यो सबै तथ्यहरुमाथि हामीले कप्परछानको विधि अपनाउनुपर्छ । त्यसो हो भने वर्तमानलाई हामी गति प्रदान गर्न सक्छौँ । वर्तमानलााई अगाडि लिएर जान सक्छौँ । 

डिस्कोर्स डबलीमा २०७५ पुस १३ गते आयोजित ‘इतिहासः किन पढ्ने ? कसरी बुझ्ने ?’ शीर्षकको अन्तक्र्रियामा आहुतिद्वारा व्यक्त विचार । प्रस्तुतिः सुनिता न्यौपाने)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...