शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ल्होसार घरमा मान्ने कि टुँडिखेलमा ?

आइतबार, १५ पुस २०७५, १२ : ४५
आइतबार, १५ पुस २०७५

पे म्ह्स्या, छ्या म्हमु, छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु,
अर्थात्, शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, अनि परम्परा हराए मान्छे नै हराउँछ ।

गुरुङ (तमु) समुदायमा माथिको भनाइ निकै लोकप्रिय छ । पछिल्लो समय ल्होसारको पहिचान हराउँदै गएको छ । यस्तै हो भने मान्छे नै हराउन कति बेर ? क्यालेन्डरमा रातो नहुनु मात्रै चिन्ता कुरा होइन । गुरुङहरूको आफ्नै कारण र राज्यको कारण आज ल्होसारको अस्तित्व घट्दो छ । 

देशमा सङ्घीय गणतन्त्रको स्थापनापश्चात् पहिचान र अधिकारका नाममा आदिवासी जनजातिहरूले टुँडिखेलमा आफ्नो नितान्त मौलिक पर्वहरू मान्न थालेका छन् । घर–घरबाट टुँडिखेल आइपुगेको मौलिक चार्ड पर्वहरूले संस्कृतिक रूपमा अबको पिढीमा कस्तो प्रभाव पार्ला ? टुँडिखेलबाट हाम्रो संस्कृतिहरू कता जाने हो ? प्रश्न भावनात्मक मात्रै होइन, उत्तिकै सैद्धान्तिक छ । 

संस्कृति एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुने प्रक्रिया हो । यस्तै रवैया कायमै रहे कुनै दिन ल्होसार भन्ने पर्व इतिहासमा मात्रै सीमित बन्न पनि समय नलाग्ला । ल्होसारको संस्कृतिक र धार्मिक अस्तित्वलाई बचाइराख्ने हो भने यति बेला गुरुङ समुदायले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने समय आएको छ । समग्रमा टुँडिखेलमा पर्व मान्ने अन्य आदिवासी जनजातिहरूले पनि सोच्नैपर्ने भएको छ । टुँडिखेल आफ्नो मौलिक पर्वहरूको व्यापार गर्ने स्थान होइन । किन हराउँदै छ, ल्होसारको पहिचान ? चर्चा गरौँ । 

ल्होसार के हो ?
मेरो काकाको छोरो ९ वर्षको छ । केही हप्तायता उसको काम स्कुल जानुअघि र फर्केपछि घरको भित्तामा झुण्ड्याएको क्यालेन्डर हेर्नेबाहेक अरू छैन । उसले ल्होसारको मिति अर्थात् (पुस १५) लाई पेन्सिलले चिनो लगाइराखेको छ । ऊ ल्होसारमा टुँडिखेल जाने भन्दै उफ्रदै हिँड्छ । अर्काेतर्फ ऊभित्र (पुस १५) मा क्यालेन्डरमा रातो चिन्ह नभएर स्कुल जानुपर्छ भन्ने चिन्ता पनि उत्तिकै छ । बाल मस्तिष्कमा परेको प्रभावलाई मध्यनजर गर्दै उसलाई मैले प्रश्न गरेर “ह्वाट इज ल्होसार ?” उसको उत्तर सहज थियो ‘ल्होसार इज अ काइन्ड अफ फेस्टिभल, हु इज् सेलिब्रेट्स एट टुँडिखेल’ । 

प्रश्नको उत्तरले निकै भावुक बनायो । प्रश्नको उत्तरमा संस्कृति माथिको दीर्घकालीन असरको गन्ध राम्रै मिश्रित थियो । अर्काेतर्फ नयाँ पुस्ताको संस्कृतिप्रतिको गलत बुझाइ प्रतिविम्बित छ । उत्तरले केही प्रश्नहरू पनि उठायो । ल्होसारको पहिचान हराएकै हो त ? माथिको भनाइ जस्तै शास्त्र, संस्कृति, परम्परा हराउँदै गएकै हो ? ल्होसार घरमा मान्ने पर्व कि टुँडिखेलमा ?

ल्होसार गुरुङ, तामाङ, शेर्पा र हिमाली आदिवासीहरूको मौलिक पर्व हो । ल्होसार तीन किसिमका हुन्छन् । तमू ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमू ल्होसार गुरुङहरूले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिहरूले आआफ्नो तिथिमितिअनुसार मनाउँछन् । समग्रमा ल्होसारको अर्थ भने एउटै छ । 

ल्होसार शब्द ल्हो र सार गरी दुई शब्दले बनेको छ । जसको अर्थ, ल्हो भन्नाले वर्ग र सार भन्नाले सुरुवात भन्ने जनाउँछ । यसको अर्थ हुन्छ नयाँ वर्गको सुरुवात अर्थात् नयाँ वर्षको प्रारम्भ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरूको प्रतीक स्वरूप रहने यस तमु वर्षमा गएको वर्ष कुकुरको (खि–ल्हो) को वर्ष थियो भने यस वर्ष (फो–ल्हो) मृग वर्ष रहनेछ । 

यस अर्थमा तमु समुदायले सम्पूर्ण समय अर्थात् ल्होलाई १२ वटा भाग गरी जनावर या चराको आधारमा बाँढेका छन् । यस वर्ष भने (फो–ल्हो) मृग शुभ वर्षले तमु संस्कारमा आफ्नो प्रभाव राख्नेछ । यो वर्षभरी जन्मनेहरू अब (फो–ल्हो) अर्थात् मृग वर्गको रहने छ । ल्होसार मान्ने जातिहरूमा वर्षको भूमिका वर्गले खेल्ने गर्छन् । 

ल्होसार कता मान्ने ?

हामी जनजातिहरूले पुर्खैदेखि कुनै पनि चाड पर्वलाई टुडिँखेलमा मनाउने संस्कार छैन । पहिचान र आधुनिकताको नाममा चार्ड पर्वको स्वरूप बिगार्नु हुँदैन । तर पछिल्लो समय ल्होसारको रौनक तमुहरूको घर–घरमा देखिनु पर्नेमा काठमाडौंको टुँडिखेलमा देखिने गरेको छ । अझ गुरुङहरूको साझा संस्थाका रूपमा परिचित तमु ह्यूला छोज् धीँ गुरुङ राष्ट्रिय परिषद्ले यसको नेतृत्व गर्दै संस्कार र संस्कृति जगेर्ना गर्नुको सटो आफ्नै अगुवाइमा ल्होसारलाई टुँडिखेलमा मनाउनुले संस्थाको कार्यशैली र भूमिकामाथि समेत प्रश्न खडा गरेको छ । 

माथिको प्रश्नको उत्तर जस्तै नयाँ पुस्ताले ल्होसारको परिचय टुडिँखेलसँग जोडिदियो भने त्यसको उत्तर कसले दिने ? त्यसैले उपल्लो तहमा बसेर जातीय राजनीति गर्नेहरूले यसको उत्तर खोज्ने समय आएको छ । ल्होसारमा हजारौँ गुरुङहरूलाई टुँडिखेलमा भेला गराएर राजनीतिक भाषण छाँट्ने प्रवृत्तिले ल्होसारको महत्त्व र सांस्कृतिक पक्षमाथि ठूलो हस्तक्षेप भएको छ । अर्को अर्थमा भन्दा यो संस्कृतिमाथिको बलात्कार नै हो । गुरुङहरू टुँडिखेलमा भेला भई संस्कृतिको जगेर्नाका गर्ने हो कि नेताको भाषण सुन्ने हो ? त्यसैले नजिकिँदै गरेको ल्होसार मनाउन तम्तयार भएर बसेका समग्र गुरुङहरूले यतिबेला ठण्डा दिमागले सोच्ने बेला आएको छ । 

बाहिर बसेर ब्राह्मणवाद मूर्दावाद भन्नेहरूले तिनै ब्राह्मणलाई राष्ट्रप्रमुखको नाममा ल्होसारको कार्यक्रको प्रमुख व्यक्ति बनाएर लैजानु कत्तिको सान्दर्भिक छ ? कुनै पनि राष्ट्रको प्रमुखले कुनै पनि जाति विशेषको प्रमुख कार्यक्रममा गएर सम्बोधन गर्नुले खास महत्त्व राख्दैन । महत्त्व त त्यसबेला राख्दछ जुन राष्ट्रप्रमुखले उक्त जनजातिहरूको आवश्यकता र पहिचानलाई राष्ट्रिय मान्यता दिन्छ । त्यसैले अब गुरुङहरूले सोच्ने समय आएको छ, ल्होसारको महत्त्व र अस्तित्व घरमा मानेर जोगिन्छ न कि टुँडिखेलमा । 

टुँडिखेल यस्तो ऐतिहासिक स्थान हो, जहाँ विशेष अवसरमा मात्रै कार्यक्रम हुने गर्छ । कुनै समय शासकहरूले विजय प्राप्त गरेपश्चात हर्ष बढाइँ गर्नका लागि प्रयोग गरिने स्थान हो टुँडिखेल । त्यसैले जनजातिहरूले पहिचान र एक हुने नाममा टुँडिखेलमा आफ्नो मौलिक पर्व मान्नुको कुनै अर्थ छैन । न जनजातिहरूले आफूले भनेको जस्तो जातिय राज्य पाएको छ न त राजा । त्यसैले हर्ष बढाई गरेर आफ्नो नितान्त मौलिक पर्वलाई टुडिँखेलमा किन मान्ने ? अब हामीसँग एउटै विकल्प रहेको छ, घर–घरबाट टुँडिखेल आइपुगेको ल्होसारलाई पुनः फर्काएर घर–घरमै ल्याउनु । होइन भने अबको पिढीका लागि माथिको उत्तर जस्तै ल्होसार टुडिँखेलमा मान्ने पर्व नहोला भन्न सकिन्न । 

किन काटियो सरकारी बिदा ? 

सरकारले सङ्घीयता कार्यान्वयनमा जटिलता थपेको भन्दै यो वर्षदेखि धेरै चाडपर्वको बिदाहरू कटौती गरेको छ । बाहिरबाट हेर्दा निर्णय निकै स्वागतयोग्य छ । ३६५ दिनमा एक तिहाई समय बिदामा खर्चेको देशका लागि त्योभन्दा उपलब्धि र स्वागतयोग्य कुरा अरू कुनै हुन सक्दैन । यस्ता कार्यको विरोध गर्नुको पनि कुनै अर्थ नहोला । तर अर्काे पाटोबाट हेर्दा विगतमा भएका कतिपय आन्दोलनहरू पहिचान, धर्मनिरपेक्षता, समावेशी र उत्पीडित समुदायको पक्षमा पनि पक्कै थियो । गणतन्त्रभित्र पहिचान, समावेशी, धर्म, संस्कृति, उत्पीडित समुदायको अधिकारलगायतका कुराहरू पनि राम्रै अटेको छ । 

देशमा गणतन्त्रपछि उपलब्धिका रूपमा प्राप्त गरेका बिदाहरू कटौती हुँदा, पहिचान र पहिचानाधारी समुदायमा अन्याय पर्ने गएको छ । अर्काेतर्फ राज्य आफै धर्मनिरपेक्ष बनेको बेलामा केही धर्महरूलाई मात्रै बिदा दिँदा विभेदको गन्ध चाहिँ पक्कै आएकै छ । जनजातिहरूले हालसम्म प्राप्त गरेको उपलब्धि गुमाएका छन् । यसले पहिचानवादीहरूलाई मात्रै असर पु¥याएको छैन, हालसम्म प्राप्त गरेको सिङ्गो उपलब्धिहरूलाई समेत हानी गरेको छ । गणतन्त्रको मूल्य, मान्यता र परिभाषालाई समेत यसले अपुरो बनाएको छ । ल्होसारलगायत अन्य जातिहरूको चाड पर्वको बिदा कटौती गर्नु नै उपलब्धिको पाटो गुमाउनु हो । त्यसैले सरकारले सम्बन्धित धर्म मान्ने मानिसहरूलाई आफ्नो चार्ड पर्व अनुसारको बिदा दिए न्यायोचित हुन्छ भन्ने बिर्सनै हुँदैन ।

बिदा कटौती हुनुमा जनजातिहरूको पनि आफ्नै कमजोरी रहेका छन् । जनजातिहरूको मुख्य समस्या भनेको परेको बेला जुट्न नसक्नु हो । टुँडिखेल भरिभराउ गरेर आफ्नो चार्ड पर्व मान्न जम्मा हुन सक्ने जनजातिहरू पहिचान माग्न भने कहिल्यै त्यतिको मात्रामा जम्मा हुन सक्दैनन् । न तीनका अगुवा गर्ने ठालुहरूसँग त्यतिको मात्रामा आफ्नो समुदायको मानिसहरूलाई भेला गराउने क्षमता छ । 

अगुवाहरूको काम भनेको राजनीतिक दलसँग मिलेर कोटा खानेबाहेक दोस्रो छैन । यसले पनि के प्रष्ट पार्छ भने कि जनजातिहरूले पहिचान बुझेको छैनन् या पहिचान चाहिएको छैन । ल्होसार मात्रै तीनवटा छन् । साझा ल्होसारको बारेमा गुरुङ, तामाङ, शेर्पा र हिमाली आदिवासीका बीचमा एउटा बहस भने पक्कै चलेको हो । तर आआफ्नो तिथिमिति छाड्न नसक्ने भएपछि एउटै ल्होसार मान्ने बहस पनि त्यतिकै ओझेलमा पर्यो । साझा ल्होसारमा सहमति भएको भए सरकारले पनि एउटा बिदा चाहिँ दिन्थ्यो होला सायद ।

जातीय पर्व कि राष्ट्रिय ?
कुनै विशेष जाति वा समुदायले मात्र मान्ने भएपछि ल्होसार सोझो अर्थमा हेर्दा जातीय पर्व हो । तर धर्मनिरपेक्षताको विश्वव्यापी मान्यता त्यस्तो छैन । धर्म निरपेक्षताको परिभाषालाई आधार मान्ने हो भने ल्होसार पनि राष्ट्रिय पर्व हो । तर सरकारको कार्यशैली र व्यवहार हेर्दा चाहिँ ल्होसार कुनै सामुदायको मात्रै पर्व बन्न पुगेको छ । सदियौँदेखि राज्यमा धर्ममाथिको विभेद कायमै रहेको छ । 

गणतन्त्रपछि देशको सङ्क्रमणकालीन अवस्थामा राष्ट्रिय मान्यता पाएको ल्होसारले पुनः केही समयपछि त्यसको मान्यता गुमाउनु दुःखको कुरा हो । त्यसले राज्यको नितिनियम माथि नै प्रश्न चिन्ह खडा गरेको छ । के हामी पुरानै अवस्थामै फर्किएका हौँ ? कि हाम्रो गणतन्त्रले धर्मनिरपेक्षतालाई पचाउन सकेन ? बहस गर्नैपर्छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवराज गुरुङ
देवराज गुरुङ
लेखकबाट थप